पशुपतिमा बाँदरआतंक रोक्न सर्वोच्चमा रिट, धार्मिक पर्यटनमा असर पर्ने चिन्ता

काठमाडौं । पशुपतिका बाँदरको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । ती दुवै धार्मिक क्षेत्रका बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र विभिन्न रोग सर्ने जोखिम बढेको भन्दै मंगलबार अधिवक्ता मधुर पाठकले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । बाँदरआतंकले पशुपति मन्दिर परिसरमा पूजा गर्न आउने भक्तजनहरूमा असुरक्षा बढेको तथा सहज रूपमा पूजाआजा गर्न वञ्चित हुँदै आएको रिट निवेदनमा उल्लेख गरिएको छ । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष र कोष सञ्चालक समितिलाई विपक्षी बनाइएको छ । पशुपतिमा पूजाआजा गर्न आउने भक्तजनलाई दिनहुँ बाँदरहरूले आक्रमण गर्ने, घाइते बनाउने एवं पूजा सामग्री लुट्ने, लत्ताकपडा च्यातिदिने तथा पूजाआजा गर्न बाधा व्यवधान उत्पन्न गर्ने गरेको भन्दै त्यस्ता क्रियाकलापलाई रोक्नुपर्ने रिटमा उल्लेख गरिएको छ । पशुपति क्षेत्रमा आउने आन्तरिक तथा विदेशी भक्तजन बाँदरको आतंकका कारण भयमुक्त वातावरणले घुम्न र दर्शन गर्ने वातावरण बिथोलिएकाले समाधानका लागि अदालतमा रिट दायर गरेको पाठकले बताए । केही समयअघि नयाँ पत्रिका दैनिकमा ‘पशुपति र स्वयम्भूका बाँदरमा क्यान्सर र एचआइभी संक्रमण’ भन्ने समाचार प्रकाशित भएपछि बाँदरबाट थप जोखिम सिर्जना भएको उनले रिटमा उल्लेख गरेका छन् । कुनै पनि नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा स्वतन्त्रपूर्वक घुम्न पाउने वातावरण बाँदरको आतंकले बिथोलिएको उनले बताए । बाँदरआतंक नरोके धार्मिक पर्यटनमा असर अधिवक्ता मधुर पाठक पशुपति क्षेत्रका बाँदरको आतंक समाधानको उपाय नखोजे धार्मिक पर्यटनमा असर पुग्ने बताउँछन् । सरकारले पशुपति क्षेत्रमा स्वतन्त्र र निर्भीक रूपमा हिँड्ने वातावरण सिर्जना गरोस् भन्ने उद्देश्यले रिट दायर गरेको उनले बताए । पशुपति क्षेत्रको अध्ययन, अवलोकन, भ्रमण र दर्शन गर्न जाने स्वदेशी तथा विदेशी नागरिकमा भय र त्रासको वातावरण सिर्जना हुन गएको अवस्था छ । ‘यस्ता संवेदनशील विषयमा राज्यले समयमै उचित व्यवस्थापन र सम्बोधन नगरेमा त्यसले धार्मिक र सांस्कृतिक पर्र्यटन र विकासमा नराकात्मक प्रभाव पर्न जाने निश्चित छ,’ रिटमा उल्लेख छ । उनले रिटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको साख गिर्न सक्ने खतरा रहेको जिकिर गरेका छन् । नयाँ पत्रिका दैनिकबाट ।

तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो सम्पन्न, ७३ लाख रुपैयाँ बढीको कारोबार

काठमाडौं । कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो सम्पन्न भएको छ । ‘शान्ति, सम्वृद्धि तथा स्वच्छ वातावरणको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सम्पन्न एक्स्पोमा मौसमी फूल, आलङ्कारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउबिजन, ग्रीन हाउस, कृषि औजार, सुक्ष्म तथा थोपा सिँचाइ प्रविधिलगायतको रु ७३ लाख भन्दा बढीको कारोबार भएको आयोजक समितिले जनाएको छ । अपेक्षा गरेअनुसार कारोबार भएको बताउँदै एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस पटकको अन्तर्राष्ट्रिय मेला कारोबारसँगै प्रवद्र्धन गर्न पनि सफल भएको बताए । मेलामा फ्लोरिकल्चर व्यवसायमा प्रयोगमा आएका अन्तर्राष्ट्रिय प्रविधिका बारेमा पनि अवलोकनकर्ताले जानकारी पाएको उनले बताए । मेला अवधिभर ६६ हजार भन्दा बढी फूलका पारखी मेला अवलोकनका लागि आएको जानकारी गराउँदै एसोसिएसनका संयोजक जेवी तामाङले अघिल्लो वर्षमा भएका मेलामा भन्दा यस वर्ष फूल तथा बोटबिरुवा खरिद गर्नेहरु धेरै रहेको बताए । प्रविधि विस्तारका लागि भारत, बङ्गलादेश, श्रीलङ्का, चीन र दक्षिण कोरियालगायत मुलुकबाट पुष्प व्यवसायीलाई मेलामा सहभागी गराइएको थियो ।

हिमालय एअरलाईन्सले भित्र्यायो तेस्रो विमान ए-३२०, दिल्ली र बेइजिङ उडान छिट्टै

काठमाडौं । नेपाल चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले आफनो तेस्रो नयाँ विमान ए-३२० नेपालमा भित्र्याएको छ । उक्त विमान कम्पनीले शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ । हैम्बर्ग, जर्मनीबाट उडान गरिएको, ९एन-एएलडब्लु रजिष्ट्रेशन नम्बरको उक्त विमानलाई पानीको तोपद्धारा सलामका साथ स्वागत गरिएको थियो । उक्त बस स्वागत कार्यक्रममा एअरलाईन्सका अध्यक्ष झाओगु ओकिङ्ग, प्रशासन–उपाध्यक्ष विजय श्रेष्ठ लगायत कम्पनीका पदस्थअधिकारीहरुको सहभागी थियो । कार्यक्रममा एअरलाईन्सका प्रशासन-उपाध्यक्षश्री विजय श्रेष्ठले भने, “तेस्रो जहाज ए-३२०को आगमनसँगै हामीले उडड्यन क्षेत्रमा विश्वव्यापी सञ्जाल विस्तार गर्ने र नेपालको हवाई सम्पर्कलाई अन्तर्राष्ट्रिय जगत्मा मजबूत तुल्याउने योजना बनाएका छौँ ।” १५८ सिट क्षमता रहेकोे ए३२०-ए२१४ सिरिजको नयाँविमानलाई दुई वर्गमा विभाजन गरिएको छ, जसमध्ये ८ वटा सिट विजनेस क्लासको लागि छुट्याइएको छ भने बाँकी १५० वटासिट इकोनोमी क्लासको रहेको छ । जसले ग्राहकहरुलाई आरामदायी उडानको सुनिश्चितता प्रदान गर्छ । यस विमानले अप्रिल २०१७ बाट सेवा प्रदान गर्न शुरु गर्नेछ । दमाम, दुवई, हङकङ, दिल्ली, चेन्नाई, वैङ्गक, बेइजिङ, जस्ता नयाँ क्षेत्रहरुमा सेवाको सुरुवातका साथै हाल उडान सञ्चालन भइरहेका क्षेत्रहरुमा पनि सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।