सगरमाथा आरोहणको सिजन सुरु, अाराेहण रुट बनाउँदै अाइसफल डाक्टर

काठमाडौं । यसपटकको वसन्त ऋतुमा सगरमाथा शिखर आरोहण गर्ने पर्वतारोहीका लागि आरोहणको याम सुरु भइसके पनि सगरमाथा शिखरतर्फको बाटो खुल्न अझै दुई साता लाग्ने भएको छ । फागुन २१ देखि आठजना आइसफल डाक्टरले बाटो निर्माण सुरु गरे पनि अप्ठ्यारो भएकाले समय लाग्ने भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का कार्यकारी निर्देशक कपीन्द्र राईले बताए । हिमाल आरोहणको मौसम सुरु भएसँगै दर्जनभन्दा बढी आरोहणदल सगरमाथा चढ्ने पर्खाइमा छन् । एसपीसीसीका अनुसार आधारशिविर (५,३३४ मिटर)देखि निर्माण सुरु गरिए पनि २१ दिनमा आधारशिविर र क्याम्प एकसम्म मात्र बाटो निर्माण भएको छ । पर्यटन विभागले क्याम्प दुईदेखि ६ हजार ४ सय मिटरसम्म सगरमाथा आरोहणको बाटो निर्माण गर्ने जिम्मा समितिलाई दिएको छ । आइसफल डाक्टरले बाटो मर्मत गरिनसकुन्जेल जोखिम हुने भएकाले आरोहणदल सगरमाथा आरोहणमा जाँदैनन् । भूकम्प र हिमपहिरोपछि बाटो व्यवस्थित र नयाँ बाटो निर्माण गर्न लागिएकाले सहज भए मात्र दुई साता लाग्ने र असहज भए अझै बढी समय लाग्नसक्ने आइसफल डाक्टरका संयोजक आङकामी शेर्पाले बताए । सन् २०१४ मा लोलाबाट हिमपहिरो आएपछि २०१५ देखि बाटो परिवर्तन गरी नुप्त्से लोला हुँदै नयाँ बाटो प्रयोग गर्न थालिएको जानकारी शेर्पाले दिए । आरोहणका लागि उपयुक्त समय मानिने चैत, वैशाख र जेठ तथा असोज, कात्तिक र मंसिरमा हिमपात कम भएसँगै बाटो मर्मत गर्ने प्रचलन छ । पुस, माघ, फागुन तथा असार, साउन र भदौ हिमाल आरोहणको उपयुक्त समय नमानिने भएकाले अफ सिजन भनिन्छ ।

एसइई दिएका विद्यार्थीले ३०० रुपैयाँमा चन्द्रागिरी केबल कार चढ्न पाउने

काठमाडौं । शैक्षिक सत्र २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले तीन सय रुपैयाँ ( रु. ३००) मा केबलकार चढ्न पाउने भएका छन् । यो छुट व्यवस्था थानकोटस्थित चन्द्रागिरि केबलकारले यही चैत मसान्तसम्मका लागि मात्र ल्याएको हो । यो सुविधा लिनका लागि परीक्षार्थीहरुले परीक्षाको प्रवेश पत्र अनिवार्य रुपमा साथमा लिई आउनुपर्नेछ । छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुनेछ भने यो छुट सुविधा लिने परीक्षार्थीहरुले अन्य छुट नपाउने कम्पनीले जनाएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

हवाई यात्रामा ल्यापटप, ट्यावलेट, क्यामेरा लगायत इलेक्ट्रोनिक सामाग्री प्रतिबन्द

काठमाडौं । हिजो बेलायतको राजधानी लण्डनमा आतंकबादीहरुले नयाँ तरिकाबाट हमला गरे । घट्नामा कम्तिमा ४ जना मारिए भने २९ जना घाइते भए  । अतिवादीहरुले अक्रमणको नौलो तरिका अपनाएपछि बेलायत सरकारले विमान यात्रुलाई साथमा ल्यापटप, ट्यावलेट, क्यामेरा, डीभीडी प्लेयर तथा इलेक्ट्रोनिक गेम्स राख्न प्रतिबन्द लगाउने तयारी गरेको बीबीसीले जनाएको छ । बेलायतमा मात्र होइन, यदि तपाई मध्यपूर्व तथा उत्तर अफ्रिकाका तोकिएका विमानस्थलबाट अमेरिका जाँदै हुनुहुन्छ भने आइन्दा तपाईले स्मार्ट फोनभन्दा ठूला कुनै पनि इलेक्ट्रोनिक उपकरण आफूसाथ क्याबिनमा लैजान पाउनुहुन्न । यो नियमले १० वटा विमानस्थलका ९ विमान कम्पनीलाई प्रभावित गर्नेछ । ती सबै मुसलमान बहुल देशमा पर्छन । जेट विमान हमला गर्न अतिवादीहरुले नौलो तरिका खोजिरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् । बमलाई ल्यापटप, ट्यावलेट, क्यामेरा, डीभीडी प्लेयर तथा इलेक्ट्रोनिक गेम्समा लुकाइन सक्ने उनीहरुको विश्वास छ । गत वर्ष बम राखिएका ल्यापटप पड्कँदा एक सोमाली विमानमा ठूलो प्वाल परेको थियो । उक्त विमान त्यतिखेरा भर्खरै मोगादिशुबाट उडेको थियो । विमानमै रहेका स्वीडेनका लागि सोमाली राजदूले घटनाको भिडियो खिचेका थिए । विमान धेरै माथि नउडिसकेको हुनाले पाइलटले सुरक्षित अवतरण गराउन सके । (बीबीसीमा अाधारित)