राराका होटलमा बास पाउनै गाह्रो, पुवाधार नहुँदा पर्यटक पुगेपनि बासको समस्या
काठमाडौं ९, कात्तिक । रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि रारामा रहेको एकमात्र डाँफे होटलसहित मुगुको ताल्चा विमानस्थलका होटल भरिभराउ हुन थालेका छन् । मंगलबारको कारोबारमा समचार छापिएको छ। रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि होटलहरु भरिभराउ भएका हुन् । रारा ताल घुम्न दिनहुँ हवाई तथा सडकमार्ग भएर ३ सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । मुगुका एकमात्रै पर्यटन व्यवसायी गोपाल बमको दुई दशक पुरानो होटल डाँफे रारा घुम्न आउने पर्यटकको संख्या पछिल्ला दिनमा निकै बढेपछि त्यसको चाप मुगुका होटलहरूले थाम्न सकेका छैनन् । रारा घुम्न आउने पर्यटकले न्यानो कपडा अन्य बन्दोबस्तीका सामान आफैं ल्याउने गरेको ‘भिजिट कर्णाली टुर्स एन्ड ट्राभल्स’का सञ्चालक राजु कार्कीले बताए । हवाईजहाज, बस, जिप र मोटरसाइकलमा आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । पर्यटकलाई बासस्थानको समेत समस्या हुने गरेको ताल्चा विमानस्थलका होटल व्यवसायी पूर्णादेवी बमले बताइन् । “एक्कासि पर्यटकको चाप निकै बढ्यो, पूर्व तयारी बिनै पर्यटकको चाप बढेकाले हामीले सेवा सुविधा दिन सकिरहेका छैनौं,” उनले भनिन् । रारा ताल छेउमै रहेको रारा राष्ट्रिय निकुञ्जको चमेना गृह, डाँफे होटल र रारा भिलेज रिसोर्टमा बास बस्न ठाउँ अपुग भएपछि पर्यटक डेढ घन्टा टाढाको ताल्चा विमानस्थल, सदरमुकाम गमगढी तथा माझघट्टका होटलमा बास बस्ने गरेका स्थानीय रामबहादुर बूढाले बताए । “रारा राष्ट्रिय निकुञ्जभित्र दुईवटा मात्र होटल छन्,” उनले भने, “रारा घुमेर टाढाको होटलमा बास बस्न जानु पर्यटकको बाध्यता छ ।” पर्यटकको बसाइ लम्ब्याउन रारा वरपरका क्षेत्रमा सुविधासम्पन्न होटल, तीव्र गतिको इन्टरनेट सेवा, विद्युत्, डुंगा, साइक्लिङ तथा जिल्लाका अन्य पर्यटकीय क्षेत्रहरु प्रवद्र्धनको आवश्यकता रहेको स्थानीय नरबहादुर भामले बताए ।
बिक्रीको दाउमा प्याराग्लाइडिङ कम्पनी, जोखिम मोलेरै पोखराका ६५ कम्पनीको उडान
काठमाडौं ८, कात्तिक । प्याग्लाइडिङ कम्पनी अनुमति लिँदै बिक्री गर्न थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजतपत्र (लाइसेन्स) लिने र बिक्रीको दाउमा राख्ने कम्पनी बढ्न थालेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतको भनाइ छ । पर्यटन मन्त्रालबाट लाइसेन्स लिएपछि उडान संचालन अनुमति (एओसी)का लागि नेपाल नागरिक उड्डयन प्राधिकरण जानुपर्छ । प्राधिकरण नपुग्दै कतिपय कम्पनीको किनेबेच भैइसक्ने गरेको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले बताए । मन्त्रालयका अनुसार किनबेच भएको खबर आइरहने गरेको भएपनि वायुसेवा कम्पनीसरह मन्त्रालयसम्म स्वामित्व परिवर्तन भएपछि आउने जानकारी भने आएको छैन । नेपालमा हाल प्याराग्लाइडिङ प्रशिक्षण स्कूल, अल्ट्रालाइट र प्याराग्लाइड गरी नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई उड्डयन सुरक्षा विभागबाट मात्रै ७१ वटा कम्पनीले अनुमति लिएका छन् । यस मध्ये बन्दिपुरको ब्लू स्काई र स्याङ्जाको बाबु एडभेन्चर प्रशिषण स्कूल हो । पोखरा, फिस्टेल र एभिया क्लव गरी तीन अल्ट्रालाईटका कम्पनी छन भने बाँकी ६५ वटा प्याराग्लाइडिङ रहेका छन् । मन्त्रालयबाट अनुमति प्राप्त प्याराग्लाइडिङका कम्पनीमध्ये स्याङ्जा, सुर्खेत र बन्दिपुरमा एकएकवटा, धरान र काठमाडौमा.दुईदुईवटा रहेको छन भने बाँकी सबै कम्पनी पोखरामा रहेका छन् । पोखरामा सराङ्कोटबाट उडान गर्ने प्याराग्लाइडिङ कम्पनी १९ वटा रहेका छन भने बाँकी सबै कम्पनी तोरेपानीमा रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणको हवाइ उड्डयन सुरक्षा विभागका अनुसार कम्पनीको किनबेच भएको सुचना आउने गरेको छ । अनुमति लिएर संचालन नआएका कम्पनीले ३० देखि ४० लाख रुपैयाँसम्म विक्री भएको सूचना आएको भएपनि कुनै पनि कम्पनीको स्वामित्व परिवर्तन भएको जानकारी भने आएको छैन, उड्डयन सुरक्षा विभागका उडान अनुमति शाखा प्रमुख देवेन्द्र पाण्डेले भने । उनका अनुसार कम्पनीको स्वामित्व परिवर्तन भएको जानकारी हामीको आउन जरुरी नभएको र उद्योग विभागमा जानकारी दिए पुग्ने भएकोले पनि प्राधिकरणमक्ष नआएको हुनसक्ने उनको बुझाई छ । प्राधिकरण स्रोतका अनुसार कम्पनीको किनेबेच हुनु सामान्य भएपनि अनुमति लिनकै लागि हुने यस्तो विक्रीले भने प्याराग्लाइडिङको भविष्यप्रति नै प्रश्नचिन्ह उठाउने उल्लेख छ । प्राधिकरणबाट अनुमति लिएका कम्पनीले हवाई नीतिमा भएको व्यवस्था अनुसार एक करोड रुपैयाँको चुक्ता पूँजी देखाएर मन्त्रालय र प्राधिकरणमा पनि आश्वयक शुल्क तिर्नुपर्ने भएकोले संचालनपछिको किनबेच सामान्य हो । मन्त्रालयका एक अधिकारीका अनुसार किनबेच सामान्य प्रक्रिया हो तर खरिद विक्रीको लागि पारदर्शी व्यवस्था अपनाउने र राज्यलाई तिर्नुपर्ने करको दायित्वभित्र पनि आउनुपर्छ । जोखिममा प्याराग्लाइडिङ पर्यटन मन्त्रालयले हवाई खेलकूदका कम्पनीको अस्वस्थ प्रतिस्र्धालाई बढाउन जोखिम मोलेरै एउटै स्थानका लागि पाँच दर्जन प्याराग्लाइडिङका कम्पनीलाई उडान अनुमति दिएको छ । पोखराको सराङ्कोट र तोरेपानीबाट उडान गर्ने यी सबै कम्पनी फेवाताल किनारमा अवतरण गर्ने गर्छन । हाल पोखरामा मात्रै झण्डै ६५ वटा कम्पनीले संचालन अनुमति पाएका छन । मन्त्रालयको अनुमतिपश्चात सबै हवाई उडानका कम्पनीले प्राधिरणबाट नै उडान सञ्चालन अनुमतिपत्र (एओसी) लिनुपर्छ। एकैपटक एउटै स्थानबाट धेरैवटा कम्पनी सञ्चालन हुँदा पोखराको हवाई खेलकूद नै जोखिममा पर्ने नेपाल हवाई खेलकूद नेपाल हवाई खेदकूद संघको भनाइ छ । संघका अनुसार पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा छ, विमानस्थल निर्माण पश्चात संचालनमा भएका सबै प्याराग्लाइडिङ हवाई उडान रुटमापर्ने भएकोले अनिवार्य विस्थापन हुनुपर्छ । अहिले नै पोखराको हवाई रुटमा असर पर्ने गरी प्राधिकरणले प्याराग्लाइडिङको उडान अनुमति दिएको उल्लेख छ । हवाई रुटमा प्याराग्लाइडिङ भएकै कारण यस अघि एक प्याराग्लाइडिङ यति एयरसँग ठोक्किएको थियो । पोखरामा बढेको प्याराग्लाइडिङको चापका कारण संघले हाल उडानमा रहेका प्याराग्लाइडिङका प्रत्येक प्याराग्लाइडले दैनिक तीन उडान मात्रै गर्न पाउने नियम बनाएको छ । संचालनमा रहेको सबै प्याराग्लाइडिङ ६ वटा प्याराग्लाइड रहेका छन् । यी प्याराग्लाइडबाट पोखरमा पर्यटकीय सिजनमा दैनिक ११ सय वटा उडान हुने गर्छ । यो उडान संख्या फेवाताल वरपरको सानो क्षेत्रका लागि अधिक भएको पनि संघको भनाइ छ । मनोरञ्जनपूर्ण हवाई खेल अन्र्तगत इन्जिन जोडिएर वा नजोडिकन हावाको माध्यमबाट तैरिने खेलका रुपमा प्राधिकरणले हवाई खेलकूदका संस्थालाई अनुमति दिने गरेको छ । यस अन्तर्गत अल्ट्रलाइट, माइक्रोलाईट, प्यारामोटर, स्ट्रङ्ग प्याराग्लाइडर, स्काइमोटरसहितका कम्पनी पर्छन् । यसलाई संचालन गर्न निवेदन दस्तुरवापत ५ हजार, बैंक धरौटि ५ लाख, इजातज शुल्क बापत ५० हजार तथा चुक्ता पूँजी १ करोड हुनुपर्ने प्रावधान मन्त्रालयले तोकेको छ ।
टर्कीसको जहाज कवाडिमा विक्यो, काठमाडौमै जहाजभित्र संग्राहालय संचालन गर्दै बेद उप्रेती
काठमाडौं ८, कात्तिक । उडान भर्न मिल्ने अवस्थामा कम्तीमा २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको डिजेबल एयरक्राफ्ट नेपाली पाइलट बेद उप्रेतीले खरिद गर्ने पक्कापक्की भएको छ । स्रोतका अनुसार, आइतबार उक्त जहाजको स्वामित्व लिएको टर्किस एयरलाइन्सको प्राविधिक कम्पनी टर्किस टेक्निकलले बेद उप्रेती ट्रष्टलाई जहाज बिक्रि गर्ने सम्झौता गरेको छ । मर्मत गरेर उडान गर्न नमिल्ने उक्त विमानको खरिद रकम भने दुवै पक्षले सार्वजनिक गरेका छैनन् । ‘हामीबिच खरिद रकम केही समयकालागी सार्वजनिक नगर्ने सहमति भएको छ,’ विमान खरिद गर्ने बेद उप्रेती ट्रष्ट निकट स्रोतले भन्यो । एटीआर विमानका परीक्षक तथा प्रशिक्षक पाइलट उप्रेती डडेल्धुराका हुन । हाल उनी इन्डोनेशियाको लायन एयरको विमान उडाउँछन् । दुई वर्षअघि कैलालीको धनगढीमा पाइलट उप्रेतीले डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम लोकप्रिय छ । बन्द भएको नेपाली एयरलाइन्स कस्मीक एयरको १ सय १० सिट क्षमताको फोकर विमानलाई काठमाडौंबाट तीन टुक्रा बनाई लरीट्रकमा राखेर उनले स्थापना गरेको म्युजियम त्यस भेगका स्थानिय तथा भारतको उत्तर प्रदेश र उत्तराखण्डका पर्यटकहरुकालागि अनिवार्य घुम्नै पर्ने थलो बनेको छ । यता टर्किससँग खरिद गरिने एयरबस ए–३३० विमान भने पाइलट उप्रेतीले काठमाडौं उपत्यकाभित्रै राख्ने बताएका छन् । ‘यो विमान बाहिर लैजान सकिँदैन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमै राखिने छ,’ उप्रेतीले भने । काठमाडौंमा स्थापना गरिने म्युजियमले सर्वसाधरणलाई नेपाली उडड्यन, यस्का चुनौती र अन्तर्राष्ट्रिय उड्डयनबारे जानकारी गराउने भनेको छ । ‘विश्वमै एभिएसन सम्बन्धित जनशक्तिको कमी हुँदै गएको छ, हामीले स्थापना गर्ने म्युजियमले आउँदो पुस्तालाई यस क्षेत्रमा आर्कषित गराउन उत्प्रेरणा दिने छ,’ एटीआर ७२–६०० सिरिजको विमान उडाउँदै आएका उप्रेतीले भने । कान्तिपुर दैनिकबाट ।