बुद्ध र यति एयरलाइन्स आक्रामक बजार बिस्तारमा, बुद्धलाई २ र यतिलाई ४ वटा एटीआर थप्ने स्वीकृति
काठमाडौं, मंसिर १२ । आन्तरिक वायुसेवा कम्पनी बुद्ध र यति एयर आक्रामक बजार बिस्तारमा लाग्न थालेका छन् । दुबै वायुसेवाले क्षमता बढाउने र बजार बिस्तारमा नयाँ रणनीति बनाएर अगाडि बढ्ने प्रक्रिया सुरु गरेका छन् । दुबै वायुसेवाले नेपाली आकासमा एटीआर नामक आधुनिक वायुसेवा थप गर्ने भएका छन् । हाल बुद्ध एयरले संचालन गरिरहेको ७२ सिट क्षमताको एटीचार ७२-५०० नामक जहाज थप गर्न दुबै वायुसेवा कम्पनीले अनुमति लिएका छन् । बुद्धले २ वटा एटीआर ७२ सिट क्षमताको ल्याउन अनुमति लिएको दुई महिनाभित्रमै यतिले पनि चार वटा सोही प्रकृतिको एटीआर जहाज नै ल्याउन अनुमति लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार यतिले भर्खरै चारवटा ७२ सिट क्षमतका जहाज एक वर्ष भित्र ल्याउने गरी अनुमति पाएको छ । यस अघि बुद्ध एयरले पनि सोही प्रकृतिको जहाज थप गर्न अनुमति लिएर प्रक्रिया अगाडि बढाइसकेको छ । माघको दोस्रो साता भित्रैमा नयाँ एटीआर ल्याउँदै बुद्ध एयर निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले आगामी माग दोस्रो साता भित्रमा नै एउटा एटीआर जहाज ल्याउने भएको छ । यो वायुसेवाले जहाज ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाएको र जहाज किन्ने पैसासमेत पठाउन लागिसकेको जानकारी बुद्ध एयरले दिएको छ । बुद्ध एयरका अपरेशन निर्देशक सुवर्ण खरेलका अनुसार पुसभित्रैको लागि तयारी गरिएको भएपनि प्रक्रिया मिलाएर काम गर्दा माघ दोस्रो सातासम्म लाग्न सक्ने देखिएको छ । उनका अनुसार बुद्धले थप गर्न लागेको दुईवटा एटीआर मध्ये पहिलो माघ दोस्रो साताभित्रमा र त्यसपछिको ६ महिनामा अर्को जहाज ल्याउने गरी रणनीति बनाएको पनि उनले बताए । हाल बुद्ध एयरसँग ४७ सिट क्षमताको तीन र ७२ सिट क्षमतको २ वटा एटिआर जहाज रहेको छ । नयाँ दुई वटा थप भएपनि ७२ सिट क्षमतकै ५ वटा हुने छ । थप जहाज आएपछि बुद्धले जनकपुरमा पनि ठूलै जहाजबाट उडान गर्ने तयारी गरिहरेको छ । हाल बुद्ध एयरले त्रिभुवन विमानस्थलमा ४५ मिनेटको फरकमा जहाज उडान गर्ने गरेको छ । नयाँ आएपछि एक घण्टा फरक गर्ने र कुनै पनि उडान रद्द तथा डिले नगर्ने रणनीति बनाएको पनि बुद्ध एयरले जानकारी दिएको छ । यो वायुसेवाले खरीद गर्ने दुई नयाँ जहाजका लागि करीब दुई अर्ब खर्च हुने उल्लेख छ । पछिल्लो समय आन्तरिक उडानका वायुसेवा कम्पनी साना जहाज विस्थापित गरेर ठूलो क्षमतामा जान थालेका छन्। आन्तरिकमा नियमित उडान गरिरहेका यती, बुद्ध, सिम्रिक, सीता, सौर्यलगायतका वायुसेवा क्षमता विस्तार गर्न ठूला जहाज भित्र्याउन थालेका छन्। यती एयरले २९ र ३० सिट क्षमताका जहाज विस्थापन गरेर एटिआर ७२ नामक ठूलो जहाज ल्याउने भएको छ। बजारक आवश्यकता अनुसार चलेको बुद्ध एयरले अझै थप २ वटा एटिआर जहाज खरिद गर्ने भएको छ। आन्तरिक वायुसेवाले बजार हिस्सा बढाउन यात्रु क्षमता बढी भएको जहाज ल्याउने गरी आक्रामक रणनीति तय भएको पनि बुद्धको भनाइ छ ।
तत्काल साधारणसभा गर्न माग गर्दै टान सदस्यहरुको विरोध
काठमाण्डौ, १२ मंसिर । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)मा समयमै सधारण सभा नभएको भन्दै सदस्यहरुले विरोध जनाएका छन् । विधानतः टानमा आर्थिक बर्ष सकिएको २ महिनाभित्रै साधारणसभा गर्ने उल्लेख गरिए पनि अझै साधारणसभा हुन नसक्नुले आशंका पैदा भएको र तत्कालै साधारण सभा गर्नुपर्ने माग राख्दै सदस्यहरुले विरोध गरेका हुन् । समयमै साधारण सभा नगरी समय थप गर्दै जानुले संस्थाको पारदर्शिता र व्यवस्थपनमा शंका लागि विरोध गर्नुपरेको टान आवद्ध सदस्य एवं पूर्वसचिव पासाङ शेर्पाले बताए । त्यस्तै टानका पूर्वसदस्य राजेन्द्र सापकोटाले पनि टानमा गैरकानुनी र अपारदर्शी गतिविधि बढ्दै गएको र यसको ढाकछोप गर्न साधारण सभाको मिति सार्ने काम भइरहेको बताए । साधारणसभा बिधानबमोजिम सम्पन्न गर्न नसक्ने र लापरबाही तवरले आफुखुशी टानलाई चलाउनु दुखद भएको पूर्व अध्यक्ष दिपक महतले बताए । उनले भने– ‘यसवाट टान नेतृत्वको असक्षमता प्रष्ट भएको छ ।’ यसले टानको आयस्रोत दुरुपयोग हुनेदेखि लिएर आन्तरी ब्यवस्थापनसमेत फितलो पारेको महतले दावी गरे । करिब १२ सय व्यवसायीहरुको छाता संगठन टानले समयमानै साधारणसभा गर्न नसक्नु सवै सदस्यहरुलाई गुमराहमा राखेजस्तै भएको पर्यटन व्यवसायी बोधराज भण्डारीको तर्क छ । उता टानका अध्यक्ष चन्द्र सिजालले केहि हदसम्म समयमै साधारण सभा गर्न नसकेको स्विकार गर्दै आन्तरीक तयारी र व्यवस्थापन भइरहेको जानकारी दिए । उनले यो साधारणसभा कुनै नेतृत्व चयन गर्नका लागि नभई कार्य प्रगति र आन्तरीक स्रोत ब्यवस्थापनबारे सदस्यहरुलाई जानकारी दिने भएकाले विरोधको अर्थ नरहेको बताए । रिजालले भने– ‘विगतको कार्यसमितीको पुर्ण लेखापरिक्षण नभएको कारण ढिला भएको हो ।’ सदस्यहरुलाई भ्रम नहोस भनेर आगामी डिसेम्वर २३ मा साधारण सभा गर्ने गरी जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट स्वीकृती प्राप्त भएको रिजालले बताए ।
पर्यटनको आम्दानी १० वर्षमै साढे तीन खर्ब बनाउने लक्ष्य, ६ लाखको पर्यटक संख्या २५ लाख पुग्ने
काठमाडौं १२, मंसिर । सरकारले अबको नौ वर्षमा नै नेपालको पर्यटन आगमन संख्या २५ लाख २२ हजार पुर्याउने अनुमानित लक्ष्य सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (सन् २०१६—२०२५)मा हाल ६ लाख हजारको हाराहारीमा रहेका पर्यटक आगामी सन् २०२५ मा नै २५ लाख २२ हजार पुराइने भएको छ । नेपालको पर्यटन क्षेत्रमा विदेशी मुद्रा सहटिबाट हुने हालको करीब ४९ अर्बलाई आगामी सन् २०२५ सम्ममा साढे तीन खर्ब (३ खर्ब ४० अर्ब) रुपैयाँ पुर्याइने भएको छ । सरकारले ल्याएको सन् १० वर्षे पर्यटन रणनीतिक योजनामा पर्यटन क्षेत्रबाट हुने आम्दानीलाई तीन अर्ब ४० करोड अमेरिकी डलर पुराउने लक्ष्य सार्वजनिक भएको छ । यो आम्दानी अहिलेकै अमेरिकी डलरको मूल्य एक सय सात रुपैयाँको तुलनामा तीन खर्ब ४० अर्ब रुपैयाँ हुने पनि उल्लेख छ । १० वर्षमा नेपाली मुद्रासँगको अमेरिकी डलरको मूल्य पनि बढ्ने भएकोल यस्तो आम्दानी चार खर्ब रुपैयाँसम्म नै बन्नसक्ने पनि उल्लेख छ । गत असार ३१ गते मन्त्रीपरिषद्को पूर्वाधार विकास समितिबाट स्वीकृत भएको यो रणनीति अनुसार आगामी १० वर्षमा वैदेशिक परिवत्र्य मुद्रा आर्जनबाट मात्रै पर्यटन क्षेत्रले दुई अर्ब ७५ करोड ५० लाख अमेरिकी डलर आम्दानी गर्ने तथ्यांक रणनीतिक योजनामा रहेको छ । विदेशी मुद्राको सटहिमार्फत हुने आम्दानीबाहेक नेपालमा नै हुने पर्यटन क्षेत्रको आम्दानी एक अर्ब १५ करोड हुने रणनीतिक योजनामा रहेको छ । सरकारले ल्याएको यो योजनामा पर्यटनको माध्यमबाट गरिबी निवारण गर्ने तथा स्थानिय स्तरसम्म आर्थिक लाभ लिने प्रमुख उद्देश्य रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता घनश्याम उपाध्यायले बताए । उनका अनुसार पर्यटन नेपालमा संभावना भएको क्षेत्र हो भन्ने निष्कर्षलाई रणनीतिले पुष्टि गर्न खोजिएको छ । पर्यटन क्षेत्रबाट नै मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने भएकोले सरकारले प्राथमिकताका साथ यो १० वर्षे रणनीतिक योजना ल्याएको उपाध्यायको बुझाई छ । सन् २०१५ मा नेपाल आउने पर्यटक ५ लाख ३९ हजार रहेको छन् । यो संख्या सन् २०१९ मा सन् २०१८ को तुलनामा ९ प्रतिशतले वृद्धि हुने उल्लेख छ । सन् २०१८ मा वार्षिक १० लाख पर्यटक आउने सरकारी लक्ष्य रहेको छ । यही दर बढ्दै जाँदा सन् २०२० मा १३ लाख पर्यटक आउने तथ्यांकमा उल्लेख छ । सन् २०२४ मा नेपाल आउने विदेशी पर्यटकको संख्या साढे २२ लाख हुने र २०२५ मा २५ लाख नाघ्ने अनुमानित तथ्यांक पर्यटन रणनीतिले लिएको छ । दुईलाखको रोजगारी ८ लाख पुग्ने मन्त्रालयका अनुसार सन् २०१५ मा पर्यटनमा प्रत्यक्ष रोजगारी दुई लाख रहेको छ । यो संख्या विश्व पर्यटन परिषद्को तथ्यांक भने ६ लाख भन्दा बढि रहेको छ । आगामी सन् २०२५ सम्ममा पर्यटन क्षेत्रको प्रत्यक्ष रोजगारी साढे आठ लाख हुने पनि मन्त्रालयको अनुमान रहेको छ । नेपालको पर्यटन क्षेत्रले प्रत्यक्षको तुलनामा अप्रत्यक्ष रोजगारी सिर्जनालाई भने निकै उत्साहजनक रूपमा बढाउने गरेको छ । नेपालमा एक जना पर्यटक आउँदा नौ जनासम्मले अप्रत्यक्ष रोजगारी पाउने गरेको उल्लेख छ । प्रत्यक्ष रुपमा थोरैले रोजगारी पाएको देखिएपनि यसको अप्रत्यक्ष प्रभाव रहेको पनि मन्त्रालयको औल्याएको छ । रणनीतिक योजना अनुसार हाल नेपालमा प्रत्यक्ष रोजगारी पाउने साढे पाँच लाख भएपनि यस क्षेत्रमा हुने अप्रत्यक्ष रोजगारी भने साढे १२ लाख जना रहेको छ । यो संख्या सन् २०२५ सम्ममा करीब १९ लाख पुग्ने रणनीतिक योजनाको तथ्यांकमा उल्लेख छ । पर्यटन मन्त्रालयको अगुवाइमा तयार भएको यो रणनीतिक योजनामा १० वर्षको दीर्घकालिन र पाँच वर्षको अल्पकालिन विस्तृत योजना तयार पारेको छ । यस्तो योजनामा पहिलो पाँच वर्षमा नै आवश्यक लगानी र पूर्वाधारको काम गर्ने उख्लेख छ । नेपालका प्रमुख पर्यटकीय बजारमा नेपालको पर्यटकीय ब्राण्डको बजारीकरण, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकास पर्यटनको माध्यमबाट कुल गार्हस्थ उत्पादनमा उल्लेख योगदान दिनेसहितका योजना रणनीतिमा रहको छ । रणनीतिले सन् २०१४ को पर्यटकीय अवस्था र त्यसपछिको वर्षमा हुने पर्यटकीय लगानी तथा विकासको विश्लेषण गरेको छ । यो योजनालाई सन् २०१३ देखि २३ सम्मको १० वर्षे योजना बनाउने भनेर तयारी भएको भएपनि आवश्यक प्रक्रिया नपुग्दा सन् २०१६ बाट मात्रै सुरु हुने गरी सार्वजनिक भएको छ । रणनीतिक योजना सार्वजनिक हुँदा सन् २०१६ सकिन लागेकोले पनि छिटोभन्दा छिटो यसलाई कार्यान्वयन गरेर लक्ष्य भेट्टाउन चुनौति थपिएको पर्यटन मन्त्रालयकै बुझाई छ । निजी क्षेत्रसँग सहकार्य नै नभएको गुनासो सरकारले ल्याएको यस्तो रणनीतक योजनामा निजी क्षेत्रका पर्यटन व्यवासायीसँग सहकार्य नभएको टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का महासचिव कर्ण लामाले बताए । उनका अनुसार सरकारले १० वर्षको रणनीति तयार पार्दा पनि व्यवसायीसँग औपचारिक रूपमा कुनै पनि सहकार्य भएको छैन । निजी क्षेत्र र सरकारसँगसँगै अगाडि बढ्नुपर्ने पर्यटनमा सहकार्य नहुँदा सरकारी योजना र तथा कार्यक्रम घोषणामा मात्रै सिमित हुन पुगेको विगतको अनुभवले देखाइसकेको पनि व्यवसायीको बुझाई छ । सरकारले ल्याएको यो रणनीतिको महत्वकांक्षी योजना पूरा हुनेमा कुनै ठोस आधार नदेखिएको भएपनि जति पूरा गर्न सकिन्छ सरकारी तहबाट इमान्दारीपूर्वक लागू हुनुपर्ने बुझाई पनि लामाको छ । सन् २०२५ सम्मको पर्यटकीय अवस्था तथ्यांकमा शीर्षक २०१४ २०१५ २०२५ वृद्धि दर (%) (१) (३३) १२.५ पर्यटक आगमन संख्या (०००) ७९० ५३९ २,५२२ औसत बसाइँ दिन (२.७% वृद्धि) १२ १३ १५ प्रति पर्यटक आय प्रतिदिन (अमेरिकी डलर) ४८ ६९ ९० कूल विदेशी मुद्रा आय (अमेरिकी डलर १० लाखमा) ४७२ ४९८ ३,४०१ कूल विदेशी मुद्रा आय (ने.रु. करोडमा) ४,७२० ४,९७८ ३४०१२ जीडीपी वृद्धि रु. मा (अर्बमा) १९७७ २०३६ ३६६३ पर्यटनको आयको जीडीपीमा प्रतिशत २.३९ २.४४ ९.२९ पर्यटनमा रोजगारी (संख्या) ६१२.५ ६३३.४ ८९८ पर्यटनबाट जीडीपीमा प्रत्यक्ष योगदान प्रतिशत ४.४ ४.५ ५.२ तथ्यांक स्रोत: नेपालको राष्ट्रिय पर्यटन रणनीति सन २०१६-२०२५