पर्यटकको सङ्ख्यामा दोब्बर वृद्धि, तीन महिनामा १० हजार बढी पर्यटकको आगमन

सोलुखुम्बु, २८ मंसिर । पर्यटकको भीड लाग्ने शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर) महिनामा सगरमाथा क्षेत्रमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । भूकम्प तथा नाकाबन्दीका कारण अघिल्लो शरद ऋतुमा पर्यटक नआउँदा थलिएको सगरमाथा क्षेत्रको पर्यटन व्यवसायमा यस वर्ष सुधार आएको छ । अघिल्लो वर्ष सेप्टेम्बरमा एक हजार ५७४ जना, अक्टोबरमा पाँच हजार २१२ र नोभेम्बरमा तीन हजार ७७९ विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । यस वर्ष उक्त समयमा १९ हजार ४१७ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी जयराम न्यौपानेका अनुसार यस वर्षको सेप्टेम्बरमा ३ हजार १३० जना, अक्टोबरमा १० हजार १३ र नोभेम्बरमा ६ हजार २७४ विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सगरमाथा क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बर तथा मार्चदेखि मेसम्ममा पर्यटक दृष्यावलोकन तथा हिमाल आरोहणका लागि आउने गरेका छन् । छ महिना व्यवसाय सञ्चालन तथा बाँकी छ महिना बन्द रहने सगरमाथा क्षेत्रका व्यवसायी यस वर्ष पर्यटक आगमनमा भएको सुधारसँगै उत्साहित बनेका नाम्चेका होटल व्यवसायी कर्मा शेर्पा बताउछन् । रासस

पर्यटकका लागि चारवटा वनमा हात्ती सफारीको अनुमति, दैनिक आठवटा हात्ती सञ्चालन गरिने

चितवन, २७ मंसिर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत चारवटा सामुदायिक वनले हात्ती सफारीका लागि अनुमति पाएका छन् । पर्यटकलाई हात्तीमा चढाएर वन्यजन्तु अवलोकनका लागि सौराहा आसपासमा हात्ती सफारी हुँदै आएकामा अहिले चितवनको पश्चिम क्षेत्रमा समेत सफारीको अनुमति दिइएको हो । निकुञ्जको बरन्डाभार उपभोक्ता समितिअन्तर्गत बाटुली मध्यवर्ती सामुदायिक वन, दक्षिणकाली मध्यवर्ती सामुदायिक वन, नवज्योति र वनदेवी मध्यवर्ती सामुदायिक वनलाई पनि हात्ती सफारीको अनुमति दिइएको हो । यहाँ आठवटा हात्ती सञ्चालन गर्ने अनुमति पाइएको र केहीदिनमै हात्ती सफारी सुरु गरिने दक्षिणकाली मध्यवर्ती सामुदायिक वनका कोषाध्यक्ष विष्णु तिवारीले जानकारी दिए । उनका अनुसार चितवनको टिकौली करिडोर क्षेत्रमा रहेको विश्व रामसार सूचीमा सूचीकृत विसहजारी ताल आसपास क्षेत्रमा हात्ती सफारी गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले सामुदायिक वनको कार्ययोजनाअनुसार हात्ती सफारीको अनुमति दिइएको बताए । चितवनमा आउने अधिकांश पर्यटकले हात्तीमा चढेर बाघ, गैँडा, भालु, गौरीगाई, चित्तल मृग, जरायोलजस्ता दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी र गोही हेर्न मन पराउँछन् । हात्ती सञ्चालको अनुमति पाएको चारवटा सामुदायिक वनमा दुर्लभ एकसिङ्गे गैँडाको राम्रो वासस्थान छ । यस्तै विभिन्न तालतलैया तथा मनोरम क्षेत्र भएकाले पनि पछिल्लो समयमा यहाँ पर्यटक आगमन वृद्धि हुँदै आएको छ । अघिल्लो वर्षदेखि यहाँ पर्यटकलाई लक्षित गरेर सुविधायुक्त होटल लेक ट्वाइटी थाउजेन्ड रिसोर्ट सञ्चालनमा आएपछि पर्यटन गतिविधि बढ्दो छ । सौराहा क्षेत्रमा रहेको बाघमारा, चित्रसेन र कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी हुँदै आएको छ । हात्ती सफारी गराएबापत चितवन निकुञ्जमा छुट्टै राजस्वस्वरुप विदेशीले एक हजार ५००, सार्क देशका पर्यटकले ७०० र नेपालीले १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यहाँ हरेक दिन बिहान ८ बजे र दिउँसो १ तथा ३ बजे हात्ती सफारी हुने गरेको छ । रासस

विश्व रामसार सूचीमा सूचीकृत पोखराका नौ तालको व्यवस्थापन योजना तयार

पोखरा, २६ मंसिर । विश्व रामसार सूचीमा सूचीकृत पोखरा उपत्यकाका नौ तालको व्यवस्थापन योजना तयार भएको छ । सिमसारको एकीकृत ताल बेँसी व्यवस्थापन योजना विषयको राष्ट्रिय कार्यशाला गोष्ठीमा संरक्षण विकास फाउन्डेसनका अध्यक्ष शैलेन्द्र पोखरेलले विभिन्न चरणका छलफलपछि योजनाको अन्तिम मस्यौदा तयार गरिएको जानकारी दिए । उनले रामसार सूचीमा सूचीकृत यस क्षेत्रका ताल प्राकृतिक एवम् मानवीय अतिक्रमणको चपेटामा परिरहेको हुँदा त्यसबाट जोगाउनु सरोकार भएका सबैको कर्तव्य भएको बताए । स्थानीयवासीको सक्रियताबिना तालको संरक्षण सम्भव नभएको बताउँदै उनले संरक्षणका साथसाथै आसपासका बासिन्दाको आर्थिक समृद्धि र विकासका लागि योजना तयार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। व्यवस्थापन योजनामा ताल संरक्षणका लागि सीमाङ्कन, जलाधार क्षेत्रमा हुने बाढीपहिरोजन्य प्रकोपको नियन्त्रण, बाँध निर्माण, जैविक विविधता तथा वातावरणीय संरक्षण लगायत कुरालाई समेटिएको छ । उनका अनुसार पोखराका नौ तालको संरक्षण गर्न लगभग १३ अर्ब रुपैयाँ लाग्ने योजनामा उल्लेख छ । वन तथा भूसंरक्षण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले सङ्घीय संरचनामा स्थानीय प्राकृतिक सम्पदा आर्थिक समुन्नतिका लागि महत्वपूर्ण आधार बन्ने बताउँदै पोखरा क्षेत्रका ताल आर्थिक समृद्धि र विकासका लागि महत्वपूर्ण सहयोगी बन्नुपर्नेमा जोड दिएका छन्। उनले तालको संरक्षणका लागि स्थानीयवासीकै महत्वपूर्ण भूमिका हुने बताउँदै स्थानीयवासीको सक्रियताका आधारमा सरकारका तर्फबाट संरक्षणमा सक्दो सहयोग गरिने आश्वासन दिए। राष्ट्यि ताल संरक्षण समितिका अध्यक्ष नानीकाजी थापाले मुलुकमा पाँच हजार ३५८ वटा ताल रहेको जानकारी दिँदै तालको माध्यमबाट स्थानीयवासीको आयआर्जन गर्न सकिएमा मात्र संरक्षण प्रभावकारी बन्नसक्ने बताए । स्थानीय विकास अधिकारी बलराम ढकालले जिविसले यहाँका तालको संरक्षणलाई प्राथमिकतामा राखेको बताउँदै पर्यटकीय रुपमा तालको उपयोग गर्दै आर्थिक समृद्धिसँग जोडिनुपर्नेमा जोड दिए । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले दीर्घकालीन सोचका साथ संरक्षण तथा विकास योजना निर्माण गर्नुपर्ने औँल्याउँदै तयार भएको योजना कार्यान्वयनमा जोड दिइने बताए। पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनालले तालको सीमाङ्कन तत्काल टुङ्ग्याउँदै लामो समयदेखि राष्ट्रिय ताल संरक्षण समितिले रोक्का गरेका स्थानीयवासीका जग्गा फुकुवा गरिदिनुपर्ने माग गरेका छन् । जिविसका अधिकृत अर्जुन न्यौपानेका अनुसार रामसार सूचीमा सूचीकृत फेवा र कमलपोखरी पोखरा उपमहानगरपालिकामा तथा वेगनास, रुपा, मैदी, दिपाङ, गुँदे, खाष्टे र निउरेनी ताल लेखनाथमा पर्छन् । रासस