सुन्तला उत्पादनमा १० प्रतिशतले कमी, मूल्य प्रतिकिलो १८ रुपैयाँदेखि २५ रुपैयाँसम्म

बनेपा, ८ पुस । काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले घटेको अनुमान गरिएको छ । विभिन्न गाविसमा रहेका सुन्तलाको बोटमा क्रमशः पात, हाँगा, डाँठ सुक्ने समस्या देखिएपछि सुन्तला उत्पादन कमी हुने जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिए । कृषकले बगैँचा व्यवस्थापनमा ध्यान नदिएकाले खाद्य तत्वको कमी र बगैँचामा काटछाँटको अभावले सुन्तलाको दानाको आकार पनि घटेको उनले बताए । जिल्लाको पनौती नगरपालिकास्थित, सुन्थान, खरिबोट, र्याले, बालुवापाटीलगायतका गाविसमा त्यस्तो समस्या देखिएको छ । र्याले गाविसका कृषक उपेन्द्र तिमल्सिनाले सुन्तला पाकेर बोटबाट आफैँ खस्ने समस्या देखिएको छ भने । उनले कतिपय स्थानमा कृषककै लापर्बाहीले समस्या आएको बताउँदै सुन्तलाको पकेट क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । सुन्तला उत्पादनमा समस्या देखिएपछि मूल्य पनि घटेकाले यसको मार आफूहरुले सहनु परेको उनले बताए। सुन्तलाको दानाको आकार पनि घटेकाले यसको मूल्य प्रतिकिलो १८ रुपैयाँ देखि २५ रुपैयाँसम्म पुगेकोे छ । सुन्तलाको पकेट क्षेत्रमा बर्सेनि जिल्ला कृषि विकास कार्यालयले बगैँचा व्वस्थापनलगायतका काममा ५० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म खर्च गर्दै आएको छ । कार्यालयका अनुसार जिल्लामा कुल एक हजार ३०२ हेक्टर जमिनमा सुन्तालका लागि योग्य जमिन भए पनि गत वर्ष ८८६ हेक्टर जमिनमा १० हजार १५८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । रासस

नेपाललाई थप एयर रुट दिन भारत सहमत, नेपालमा अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण गर्न सहज

काठमाडौं ६, पुस । नेपाललाई अन्तर्राष्ट्रिय उडानका लागि थप एयर रुट दिन भारत सरकार सैद्धान्तिक रूपमा सहमत भएको छ। दुवै देशका नागरिक उड्डयन मन्त्रालयका अधिकारीबीच मंगलबार नयाँदिल्लीमा सुरु भएको वार्तामा भारतले नेपाललाई थप एयर रुट दिन सैद्धान्तिक रूपमा सहमति जनाएको हो। दुई देशबीच थप एयर रुट तथा अन्य उड्डयन विषयमा छलफल भइरहेको छ। वार्ताको नेतृत्व नेपालका तर्फबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र भारतका तर्फबाट उड्डयन मन्त्रालयका सहसचिव अरुण कुमारले गरेका थिए। वार्ता बुधबारसमेत चल्ने छ। हाल सिमराको रुटबाट मात्र अन्तर्राष्ट्रिय जहाजहरू नेपाल भित्रिने गरेका छन्, जसका कारण नेपालले एयर ट्राफिकको समस्या झेलिरहनु परेको छ। नेपाली टोलीले जनकपुर, भैरहवा, नेपालगन्ज र महेन्द्रनगरबाट पनि नेपाललाई अन्तर्राष्ट्रिय एयर रुटहरू दिन भारतलाई आग्रह गरेको छ। वार्तामा सहभागी एक नेपाली अधिकारीका अनुसार भारतले जनकपुरबाट तत्काल एयर रुट दिन सकिने सकिने जनाए पनि अन्य रुटका सम्बन्धमा भने थप प्राविधिक आन्तरिक छलफल आवश्यक पर्ने अवगत गराएको छ। ‘हामीले राखेको प्रस्तावमा भारतीय पक्ष लचक देखिएको छ। दुवै पक्षको प्राविधिक टोलीले आगामी फेब्रुअरीमा वार्ता गरेर सैद्धान्तिक सहमतिलाई अन्तिम रूप दिने समझदारी भएको छ,’ आचार्यले भने। उनका अनुसार भारतीय पक्षले नेपालले मागेका एयर रुटका सम्बन्धमा आन्तरिक रूपमा अन्य सरोकारवाला निकायसँग छलफल आवश्यक पर्ने बताएको छ। विशेषतस् भारतको रक्षा मन्त्रालयसँग छलफल आवश्यक पर्ने भारतीय पक्षले जानकारी गराएको छ। भारतले चारवटै नाकाबाट दिन नसके पनि कम्तीमा २ अथवा ३ ठाउँबाट एयर रुट दिएमा नेपाललाई सहज हुने वार्तामा सहभागी नेपाली अधिकारीले कान्तिपुरलाई बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई वर्ष अगाडिको नेपाल भ्रमणको समयमा यो विषयलाई तत्काल समाधान गर्ने सहमति बनेको थियो। उच्च तहमा पटक पटक वार्ता भए पनि यस विषयमा सहमति हुन सकेको थिएन। त्यतिबेला भारतले नागरिक उड्डयन मन्त्रालयका सहसचिव सहसचिव अरुण कुमारको नेतृत्वमा एउटा समितिसमेत बनाएको थियो। भारतले थप एयर रुट दिएमा नेपालले निर्माण गर्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाजस्ता क्षेत्रीय विमानस्थलहरूबाट अन्तर्राष्ट्रिय उडान गर्न सहज हुने विश्वास नेपाली अधिकारीको छ। गत अगस्टमा भारतले नयाँ उड्डयन नीति ल्याएको छ। भारतले सार्क मुलुकबीचमा खुला आकाश नीति अपनाउने विषयमा सम्झौता गर्ने भएको छ। उक्त नीतिका अनुसार मंगलबारको वार्तामा भारतले खुला आकाश नीतिमा सम्झौताका लागि समेत आग्रह गरेको छ। नेपालले भने पर्याप्त रूपमा पूर्वाधार विकास भइनसकेका कारण अहिले नै यो नीतिमा जान नसकिने बताएको बैठकमा सहभागी एक अधिकारीले बताए। नेपालले अध्यागमनमा भोगिरहेका समस्या समाधानका लागि पनि भारतीय पक्षलाई आग्रह गरेको छ। कान्तिपुर दैनिकबाट ।

पर्यटन क्षेत्र लयमा फर्कंदै, २०१६ को ११ महिनामा १ लाख १६ हजार पर्यटक थपिए

काठमाडौं ५, पुस । भूकम्प र नाकाबन्दीका कारण गत बर्ष निकै समस्यामा परेको पर्यटन क्षेत्र यस बर्ष भने लयमा फर्केको छ । भूकम्पपछिको नकारात्मक प्रचार र नाकाबन्दीले सिर्जना गरेको हाहाकारका कारण गत बर्ष पर्यटन आगमनमा गम्भीर असर परेको थियो । सन् २०१५ मा ३२ प्रतिशतले घटेको आगमनदर यस बर्ष भने पहिलेकै अवस्थामा फर्कने संकेत देखिएको छ । सन् २०१६ को ११ महिनामा गत बर्षको भन्दा १ लाख १६ हजार १ सय ७४ बढी पर्यटक भित्रिसकेका छन् । डिसेम्बरमा पर्यटन आगमन दर २०१४ को हाराहारीमा पुग्ने देखिएको छ । सरकारले सन् २०१६ मा ६ लाख ५० हजार पर्यटक आउने लक्ष्य प्रक्षेपण गरेपनि ११ महिनामै प्रक्षेपण गरिएभन्दा बढि पर्यटक नेपाल भित्रिसकेका छन् । २०१५ को ११ महिनामा ४ लाख ८० हजार ६ सय ६६ पर्यटक नेपाल भित्रिएका थिए भने २०१६ को ११ महिनामा ६ लाख ५५ हजार १ सय ४४ पर्यटक भित्रिएका छन् । यो ३४ प्रतिशतको वृद्धि हो । सन् २०१५ मा ५ लाख ३८ हजार ९ सय ७० पर्यटक भित्रिएका थिए । जुन अघिल्लो बर्षको भन्दा ३२ प्रतिशतले कमी हो । सन्र २०१४ मा ७ लाख ९० हजार १ सय १८ पर्यटक नेपाल भित्रिएका थिए । “२०१६ को ११ महिनाको तथ्यांक हेर्दा नेपाल अब भूकम्पअघिको पर्यटन आगमनको चरणमा प्रवेश गरेको छ” नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले भने । कारोबार दैनिकबाट ।