फिदिममा भ्यू टावर बन्ने, पाथिभरा मन्दिरदेखि चीन र भारतको सिमाना हेर्न सकिने
पाँचथर । आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका दश नमुना सहरमध्ये सदरमुकाम फिदिम पनि एक भएकाले गुरुयोजना बनाएर नयाँ सहरको कार्यालयले भ्यू टावर निर्माण गर्न लागेको हो । भ्यू टावरको निर्माण कार्य यस आर्थिक वर्ष २०७३÷७४ बाट सुरु हुने नयाँ सहर कार्यालयका कार्यालय प्रमुख दिनेश पोटेले जानकारी दिए । यस वर्ष भ्यू टावर निर्माणका लागि १४ लाखसमेत विनियोजन भइसकेको उनले बताए । भ्यू टावर निर्माण हुनेभएपछि स्थानीयवासीले ६ रोपनी जग्गासमेत रजिस्ट्रेसन पास गरिदिइसकेका छन् । यस ठाउँमा भ्यू टावर निर्माण भएपछि पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथीभरा, पाँचथरका विभिन्न स्थान, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भारत र चीनका सिमानासमेत दृश्यावलोकन गर्न सकिने स्थानीयवासी सुकपाल तुम्वापोले बताए । यस ठाउँमा भ्यू टावर निर्माण भएपछि पूर्वका विभिन्न ठाउँबाट तथा बाह्य पर्यटकसमेत आउने अर्का स्थानीयवासी सन्तोष श्रेष्ठले बताए । रासस
सडकको धुलोले आकाशमा हवाइजहाज जाम, उडान रद्द हुने र यात्रुले सास्ती पाउने घटनामा वृद्धि
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमित भौतिक संरचना तथा चुस्त व्यवस्थापनको अभावले आकाशमा जहाज होल्ड हुनु या उडान ढिला हुनु नौलो घटना होइन । तर, पछिल्लो समय आकाशमा जहाज होल्ड हुने र डिले हुने समय बढेको छ । सोही कारण काठमाडौंको आकाशमा ट्राफिक जाम हुने, उडान रद्द हुने र यात्रुले सास्ती पाउने घटना बढेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आकाशमा ट्राफिक जाम बढ्नुमा धेरै कारणले भूमिका खेलेको हुन्छ । त्यसमध्ये पछिल्ला दिनमा काठमाडौंका सडकबाट निस्किएको धुलो एक कारण बनेको छ । के हो भिएफआर र आइएफआर रुल ? प्राधिकरणका अनुसार विमानस्थलहरूमा सामान्यतया दुई नियमअनुसार जहाज उडान–अवतरण गरिन्छ । एउटा भिजुअल फ्लाइट रुल (भिएफआर) र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) । सामान्य अवस्थामा भीएफआर नियमबाट उडान अवतरण गरिन्छ । यस नियमअनुसार काठमाडौंमा भिजिबिलिटी ५ हजार मिटर आवश्यक पर्छ । यो नियमअनुसार जहाजको उडान अवतरण छिटो हुन्छ । किनकि यसमा पाइलटले आफैँ हेरेर कन्ट्रेल टावरसँगको समन्वयमा जहाज उडान–अवतरण गराउन सक्छन् । खराब मौसमका कारण भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआर उडान गर्न सकिन्छ । यसका लागि काठमाडौंमा २ हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । काठमाडौंबाहेकका विमानस्थलमा आइएफआर नियमअनुसार उडान–अवतरण गर्न २ हजारदेखि २५ सय मिटरसम्मको भिजिबिलिटी आवश्यक पर्छ । तर, भिएफआरको तुलनामा आइएफआरमा उडान–अवतरणको समय बढी लाग्ने भएकाले जहाजहरू ग्राउन्डमा भए डिले हुने र आकाशका भए होल्ड गर्नुपर्ने समस्या देखिन्छ । स्लट म्यानेजमेन्टमा चुक्यो विमानस्थल व्यवस्थापन काठमाडौंको आकाशमा हुने उडान–अवतरणमा देखिएको भद्रगोल अवस्था सिर्जना हुनुमा धुलो या मौसम अल्पकालीन समस्या हुन् । तर, यसको दीर्घकालीन समस्या भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनले गर्ने अव्यवस्थित स्लट म्यानेजमेन्ट (जहाजहरूलाई दिइने उडान र अवतरण अनुमतिको समय) हो । खासगरी वाइडबडी जहाजमा २ सय ५० देखि ३ सयजनासम्म यात्रु बोकेर आउने जहाजहरूलाई विमानस्थल कार्यालयले दिउँसोको पिक आवरमा उडान अनुमति दिएको छ । जसले गर्दा एकातर्फ टर्मिनल भवनमा अत्यधिक भीडभाड हुन्छ भने एयरसाइड व्यवस्थापनमा पनि विमानस्थल कार्यालयलाई हम्मेहम्मे परिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको ठम्याइ छ । त्रिभुवन विमानस्थल कार्यालयले अन्तर्राष्ट्रियतर्फ दिउँसो ११ बजेदेखि ३ बजेसम्म धेरै उडान–अवतरण हुने गरी स्लट उपलब्ध गराएको छ । त्यसपछि ७ बजेसम्म फाट्टफुट्ट मात्र उडान–अवतरण हुन्छन् । ७ बजेपछि पुनः चाप बढ्छ । नेपाल आउने भए हामीले दिएको समयमा आउ, नत्र उडान अनुमति नै दिँदैनौ भनी अन्तर्राष्ट्रिय कम्पनीसँग अडान लिन नसक्दा स्लट व्यवस्थापनको समस्या उत्पन्न भएको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता श्रेष्ठ बताउँछन् । त्रिभुवन विमानस्थलबाट आन्तरिक तथा बाह्य गरी दैनिक साढे ४ सय उडान–अवतरण हुने गरेको छ । त्यसमध्ये ७० हाराहारी अन्तर्राष्ट्रिय उडान–अवतरण हुन्छन् । कारण के हो ? काठमाडौंको सडक विस्तार तथा मेलम्ची खानेपानी आयोजनाका लागि खनिएको सडकबाट निस्किएको धुलो वेलैमा व्यवस्थापन गर्न नसक्दा त्यसले काठमाडौंको वातावरण प्रदूषित बनाएको छ । प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठका अनुसार अघिल्ला वर्षहरूमा भिजिबिलिटी कम भएकै कारण चैत–वैशाख महिनामा उडान रद्द, डिले या होल्ड हुने समस्या कम थियो । तर, यस वर्ष चैत–वैशाखमै भिजिबिलिटी कम भएकै कारण जहाजहरू उडान अवतरणमा समस्या भोग्नुपरेको छ । सोहीकारण सामान्य अवस्थामा भिजुअल फ्लाइट रुल (भिएफआर)बाट हुने उडान–अवतरण इन्स्ट्र्युमेन्टल फ्लाइट रुल (आइएफआर)का माध्यमबाट गर्नुपरेको छ । भिएफआरको तुलनामा इएफआरबाट हुने उडान–अवतरण आधा कम हुन्छ । जसले गर्दा निर्धारित समयमा आएका जहाज होल्ड गर्ने र ग्राउन्डमा भएका जहाज डिले हुने समस्या बढेको हो । प्रतिकूल मौसम र त्यसमा पनि हुस्सु लागेका वेला हुने अवस्थाकै अवरोध काठमाडौंको धुलोका कारण हुने गरेको प्राधिकरणको भनाइ छ । विमानस्थलबाट जहाज उडान हुने र अवतरण गर्ने स्थाननजिकै बौद्ध–जोरपाटी सडक तथा कोटेश्वर क्षेत्र आसपास चक्रपथ विस्तारका क्रममा उड्ने धुलोले बढी असर गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । (नयाँ पत्रिकाबाट)
कोटेश्वर काठमाडौमा खुल्यो ‘हिमालयन फ्रेस अरबिका कफिशप’
काठमाडौं । राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफिशप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँच जनाको समूहले कोटेश्वरमा आधुनिक कफिशप सञ्चालनमा ल्याएका हुन । कफि शपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा बेकरी राखिएको छ । बढ्दो कफिकल्चरलाई मध्यनजर गर्दै बैंक, पूर्वाधार निर्माण, सामाजिक कृयाकलाप तथा पर्यटन क्षेत्रमा सक्रिय पाँच जनाको लगानीमा ‘हिमालयन फ्रेस अरबिका कफिशप’सञ्चालनमा आएको हो । राजधानीकै उत्कृष्ट कफिशपका रुपमा विकास गर्दै अन्य क्षेत्रमा समेत शाखाविस्तार गर्ने लक्ष्य कफि शपले लिएको छ । बैंकिंग पेशामा डेढ दशक लामो अनुभव बटुलेका उद्धवराज थपलिया, पर्यटन पेशामा सक्रिय ध्रुवराज न्यौपाने, निर्माण क्षेत्रमा सक्रिय सागर पाण्डे, सामिाजिक अभियन्ता मनोज अर्यालको समूहले कफि सप सुरु गरेको हुन । हिमालयन फ्रेस अरेबिका कफिशप कफिका पारखीहरुका लागि उत्कृट गन्तव्य बन्ने विश्वास लगानीकर्ताले लिएका छन् ।