नेपाल र श्रीलङ्काबीच पर्यटन प्रवद्र्धनका सम्बन्धमा साझा अवधारणा

काठमाडौं । नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्णा परेराले दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न साझा अवधारणा अगाडी बढ्नुपर्ने बताएका छन् । पर्यटक तान्न दुई मुलुकबीच सिधा हवाई सम्पर्क विस्तार गरी प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइनुपर्ने खाँचो औँल्याउँदै कार्यक्रम बनाएर प्रवद्र्धन गर्नु पर्ने भनाई रहेको छ । नेपालका पूर्वपर्यटन राज्यमन्त्री याङकिला शेर्पा, टानका पूर्वअध्यक्ष चन्द्र रिजाल, पर्यटन व्यवसायी मोहन लम्साल लगायतले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धन गर्न साझा कार्यक्रम बनाएर जानुपर्ने बताएका छन् । सन् १९२० देखि कूटनीतिक सम्बन्ध रहेपनि पर्यटन प्रवद्र्धन नभएकाले दुई देशबीचका ‘टूर अपरेटर’ को सम्मेलन गराई प्रचारप्रसार गरिएको खण्डमा पर्यटक आवागमन वृद्धि हुने बताएका छन् । करीब ७४ बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काबाट वर्षेनी भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा वार्षिक ५० हजारको हाराहारीमा श्रीलङ्काका पर्यटक आउने गर्दछन् । दुई देशबीचको प्रवद्र्धनात्मक कार्यक्रमले सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्ष अभियानलाई सार्थक तुल्याउन महत्वपूर्ण सहयोग पुग्ने बताएका छन् । श्रीलङ्काको पर्यटन विकास प्राधिकरणका अनुसार सन् २०१६ मा ५७ हजार ५२७ र सन् २०१७ मा ४५ हजार ३७१ पर्यटक नेपाल आएका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले कमी हो । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार नेपालबाट सन् २०१६ मा १२ हजार ८३८ र सन् २०१७ मा ५९ प्रतिशतले घटेर जम्मा पाँच हजार १४४ पर्यटक श्रीलङ्का पुगेका छन् ।  रासस

पर्यटन मन्त्री अधिकारी भन्छन्ः ११ वर्षपछि नेपाल विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०३० सम्म नेपाललाई संसारकै पहिलो गन्तव्य बनाइने बताएका छन । नेपाल पर्वतारोहण सङ्घले पोखरामा आयोजना गरेको पाँचौं ‘ग्रेट हिमालय’ महोत्सवको उद्घाटन गर्दै उनले ११ बर्ष नेपाल संसारका एक नम्बर पर्यटन गन्तव्य बन्ने घोषणा गरेका हुन् । उनले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको पनि बताए । मुलुक सङ्घीयतामा गइराख्दा पर्वतारोहण सङ्घलाई दिएको जिम्मेवारी एवं सरकारको विश्वासलाई पूर्णरुपमा पालना गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले पर्वतारोहण सङ्घले ऐननियम बनाएर हिमाल आरोहणमा अनुमति प्रदान एवं राजश्व सङ्कलन गर्ने अधिकारसमेत पाएको स्मरण गराए । पर्वतारोहण सङ्घलाई अझै व्यवस्थित बनाउन सरकार तत्पर रहेको बताउँदै उनले मेला र महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा विश्व प्रसिद्ध हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिललाई कुमार खड्गविक्रम शाह साहसी अवार्ड–२०१८ र सर एड्मड हिलारी लेगेसी अवार्ड–२०१८ बाट डेनियल मज्युरलाई सम्मान प्रदान गरिएकोे थियो । विश्व प्रसिद्ध कुमार खड्गविक्रम साहसी अवार्ड–२०१८ बाट सम्मानित हिमाल आरोही कोरियन नागरिक होङ्ग गिलले आफूले पाएको अवार्ड दिवङ्गत आरोहीप्रति समर्पित गरे। नेपाललाई आफ्नो दोस्रो घरका रुपमा आफूले लिएको भन्दै विभिन्न ग्रामीण क्षेत्रमा स्कूलको समेत स्थापना गरिसकेको उनले बताए । महोत्सवमा गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, थकाली, तामाङलगायत जनजाति तथा समुदायबीचको सांस्कृति नाच एवं ४० वटा खाना एवं अन्य स्टलको निरीक्षण गरी उत्कृष्ट तीनलाई पुरस्कार प्रदान गरिने सङ्घका कोषाध्यक्ष सुदर्शन न्यौपानेले जानकारी दिए । रासस

पोखराको भलाम खोलामा २ करोड लागतमा पक्की पुल निर्माण

पोखरा। पोखरा महानगरपालिका–२० स्थित भलामखोलामा रु एक करोड ९२ लाख ६८ हजार ९४७ लागतमा पक्की पुल निर्माण गरिएको छ । नेपाल सरकारको रु एक करोड ७३ लाख ४२ हजार ५२ र रु १९ लाख २६ हजार ८९४ स्थानीय जनसहभागितामा पुल निर्माण सम्पन्न गरिएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शनिबार नवनिर्मित पुलको उद्घाटन गर्दै पुल निर्माणसँगै यस क्षेत्रको विकासको ढोका खुलेको बताए। प्रदेश सरकारले गौरवको योजनाअन्तर्गत पोखरा ११ देखि २० को भलाम, चण्डी देउराली, हरिहर गुफा, डाँडागाउँ हुँदै वडा नं १६ को अर्मलासम्म जोड्ने पक्की सडक निर्माण गरिने बताउँदै उनले उक्त योजना सम्पन्न गर्न स्थानीय वासिन्दाको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन्। गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले सडक पूर्वाधार विकास पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै विकास निर्माणमा सबैको सहयोग अपरिहार्य रहेको बताए । अर्का प्रदेशसभा सदस्य प्रभा कोइरालाले पुल निर्माणसँगै पोखराको भलामदेखि मौजासम्म उत्पादित कृषि उपज बजारीकरणमा सहयोग पुग्नुका साथै त्यस क्षेत्रका कृषकको समृद्धिमा सहयोगी बन्ने बताए। पुलबाट पोखरा ११ को फूलबारी मणिपाल, भलाम मौजा र बाटुलेचौरसम्मका स्थानीय वासिन्दा लाभान्वित हुने पोखरा २० का वडाध्यक्ष सीम गुरुङले जानकारी दिए। पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन खत्री, वडा सदस्य भीमप्रसाद बास्तोला, जिल्ला समन्वय समिति कास्कीका जिल्ला प्राविधिक इञ्जिनीयर नारायण बराल र नेकपा कार्यदल कास्कीका सदस्य सुशील बस्नेतले सडकको महत्वमाथि प्रकाश परेका थिए। रासस