नेपाल र उत्तरप्रदेशबीच आर्थिक व्यापारिक तथा पर्यटन विस्तारमा जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको एफएनसीसीआईको १९ सदस्यीय व्यवसायिक प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथस“ग भारतको लखनउमा भेटवार्ता गरेको छ । नेपाल र उत्तरप्रदेशबीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, पर्यटन प्रवद्र्धनमा सहकार्यका क्षेत्रहरूका सम्भाव्यता पहिल्याउन एफएनसीसीआई प्रतिनिधिमण्डल यतिखेर उत्तर प्रदेशको भ्रमणमा रहेको छ । महासंघसँगको भेटवार्तामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नती र भन्सार नाकामा भइरहेको ढिलाई कम गर्न कामको सुरुवात गरेको बताएका छन् । भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म पुगेर विकास तथा व्यापार सहजीकरणको काम अनुगमन गर्ने जानकारी दिएका छन् । नेपाल भारत बीच हालसम्मको साँस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा विस्तार गर्नु आवश्यक रहेको बताउँदै नेपाली प्रतिनिधिमण्डलले राखेका समस्याको जवाफ दिंदै मुख्यमन्त्री योगीले भनेका हुन् । भारतबाट नेपाल प्रवेश गर्ने मालबाहक गाडी १० मिनेट भन्दा बढी रोकिन नहुने साथै, गौरीफण्टा र अलिगढवा सीमानाकाको स्तरोन्नतिमा पनि उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने मुख्यमन्त्री योगीले बताएका छन् । एफएनसीसीआईका अध्यक्ष राणाले दुई मुुलुक बीच भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालको धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा उत्तर प्रदेशको सहयोग महत्वपूर्ण हुने बताएका छन् । दुई मुलुक बीचमा व्यापार मात्र नभई पर्यटनका क्षेत्रमा पनि सहयोग आदान प्रदान हुन आवश्यक रहेको बताउँदै नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्र, विकासमा पछि परेको हुँदा त्यहाँको विकासमा उत्तर प्रदेश सरकारको सहयोगको अपेक्षा गरेको अध्यक्ष राणाले बताएका छन् । एफएनसीसीआईका अध्यक्ष राणाको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डलले मुख्यमन्त्री योगीसँग भेटवार्ता गरेको थियो ।
पोखरादेखि सिमरा सिधा हवाई सेवा, प्रदेश सरकारको पहलमा होटल व्यवसायीले गरे स्वागत
पोखरा । पर्यटकीय नगरी पोखराबाट बाराको सिमरा र मनाङको हुम्दे विमानस्थलसम्म सिधा हवाई सेवा प्रदानका लागि गण्डकी प्रदेश सरकारले गरेको पहलकदमीको पश्चिमाञ्चल होटल सङ्घ पोखराले स्वागत गरेको छ । बाराबाट आएका व्यवसायी तथा सरकारी अधिकारीसँग प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको छलफलमा पोखरालाई ती दुई क्षेत्रसँग जोड्ने निर्णय गरिनु यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि स्वागतयोग्य भएको सङ्घका अध्यक्ष विकल तुलाचनले बताए । उनका अनुसार आगामी पुस २४ देखि हुम्दे विमानस्थल र माघ १५ बाट सिमरा विमानस्थलसँग पोखराबाट सिधा हवाई सेवा जोडिन लागेको हो । प्रदेश सरकारले चालू आवकोे नीति तथा कार्यक्रममा पर्यटकीय नगरी पोखरालाई सात वटै प्रदेशसँग हवाई सेवामार्फत जोड्ने विषय उल्लेख गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी र गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीले जनप्रतिनिधिसँग बसेर गरेको छलफलमा उल्लिखित दुई विमानस्थलसम्म हवाई सेवा पोखराबाट सञ्चालन गर्ने निर्णय गरेका थिए । अध्यक्ष तुलाचनले झापाको भद्रपुर र नेपालगञ्जबाट समेत पोखरालाई सिधा हवाई सेवामार्फत जोड्न सरकारसँग माग गरे । आन्तरिक उडान विस्तारका साथै भारतका केही मुख्य शहरसम्म हवाई सेवामार्फत पोखरालाई जोड्न सके सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
गत बर्षकाे तुलनामा चितवन राष्ट्रिय निकुञ्ज आउने पर्यटकमा बृद्धि
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको पाँच महीनाको तुलनामा यस वर्षको सोही अवधिमा बढेको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पाँच महीनामा ७१ हजार ७२० पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आर्थिक वर्ष २०७४ /७५ को सोही अवधिमा ५३ हजार ८५ जना मात्रै पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । घिमिरेका अनुसार चालु आर्थिक वर्षको साउनमा ८ हजार ३९४, भदौमा सात हजार ३६३, असोजमा १२ हजार ७९६, कात्तिकमा २६ हजार १६४ र मङ्सिरमा १७ हजार ९७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । यीमध्ये विदेशी ५० हजार ७६४, सार्क मुलुकका सात हजार ३८७ र नेपाली १३ हजार ६५९ जना रहेका छन् । गत आर्थिक वर्षको साउनमा ६ हजार ५२२, भदौमा तीन हजार ८५९, असोजमा ११ हजार ९६९, कात्तिकमा १८ हजार १७१ र मङ्सिरमा १२ हजार ५६४ जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । तीमध्ये विदेशी ४० हजार ५३, सार्क मुलुकका चार हजार ४९६ र नेपाली आठ हजार ५३६ रहेका थिए । सबैभन्दा बढी आर्थिक वर्ष २०७१/७२ मा १ एक लाख ८४ हजार पर्यटकले निकुञ्ज घुमेका थिए । सोही आर्थिक वर्षको वैशाखमा भूकम्प गएपछि, नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक समस्या लगायतका कारण पर्यटकको सङ्ख्या लगातार घट्दै गएको थियो । गत आर्थिक वर्षमा २०७४/७५ मा एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए । आव २०७३र७४ मा एक लाख ३९ हजार ९७८ र २०७२/७३ मा ८७ हजार ३९१ पर्यटकले निकुञ्ज घुमेका थिए । यो तथ्याङ्कलाई हेर्दा गत वर्षभन्दा यसवर्ष पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यस वर्षको पर्यटक आशालाग्दो देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताएका छन् । निकुञ्जको सौराहा, घटगाई, कसरा पुलगेट र देवनगर, वनकट्टा, लौखानी, अमलटारी, कुजौली क्षेत्रबाट पर्यटक मध्यवर्ती क्षेत्र र निकुञ्ज प्रवेश गर्ने गर्दछन् । अङ्ग्रेजी नयाँ वर्षलाई बुकिङ राम्रो क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरे विगतका वर्षको तुलनामा यसवर्ष पर्यटक आगमन राम्रो रहेको बताएका छन् । अङ्ग्रेजी नयाँ वर्षको आसपासको समयका लागि ९० प्रतिशतभन्दा बढी होटल बुक भइसकेका छन् । उक्त समयमा होटल शतप्रतिशत भरिभराउ हुने घिमिरेको भनाई रहेको छ । पुस ११ गतेदेखि सौराहामा हात्ती महोत्सव हुनेभएकाले उक्त समयमा पनि पर्यटक आगमन निकै राम्रो हुने अपेक्षा गरिएको बताउँदै जनवरी पर्यटकीय हिसाबले त्यति राम्रो नभए पनि त्यसपछि पर्यटक आगमन क्रमशः बढ्दै जाने अपेक्षा गरिएको जानकारी दिएका छन् । विगतमा भारतीय नाकाबन्दी, भूकम्पका कारण सुस्ताएको पर्यटन व्यवसायमा नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नति कार्यले सडक यातायात असहज हुँदा पर्यटक आगमन निराशाजनक रहेको थियो तर अवरोध सबै हटेसँगै पर्यटक आगमनमा राम्रो सुधार हुने अपेक्षा व्यवसायीको रहेको छ । घिमिरेले हालसम्म सबैभन्दा बढी आर्थिक वर्ष २०७१/७२ मा चितवन पर्यटक आएकोमा त्योभन्दा बढी पर्यटक यसवर्ष भित्रिने अपेक्षा गरिएको बताउँछन् । अहिलेसम्मको तथ्याङ्क सकारात्मक रहेको भन्दै पर्यटकीय वातावरण नबिग्रिएमा यस आर्थिक वर्ष पर्यटन क्षेत्रका लागि उपलब्धी पूर्ण हुने भनाई व्यक्त गरेका छन् । चितवन आउने पर्यटक सौराहा, जगतपुर, पटिहानी, मेघौलीमा बस्ने गर्दछन् । रासस