वायुसेवा निगमलार्इ जहाज भाडामा दिन भुटान एयरलाइन्स मात्रै तयार, हिमालयले आवेदन नै दिएन

काठमाडौं । नेपाल वायुसेवा निगमले एउटा ठूलो जहाज भाडामा लिन मागेको ग्लोवल टेण्डरमा एउटा मात्रै कम्पनीको आवेदन परेको छ । निगमले जहाज भाडामा लिन गत बैशाख २७ मा गरेको सार्वजनिक प्रस्ताव आव्हानको समय गत मंगरलबार सकिएको हो । वायुसेवा निगमले माग यस्ताे सार्वजनिक प्रस्तावमा भुटान एयरलाइन्सले मात्रै आवेदन दिएको छ । वायुसेवा निगमलाई जहाज भाडामा दिन नेपालकै हिमालय एयरलाइन्सले पनि इच्छा देखाएको भएपनि यसले आवेदन भने दिएको छैन् । वायुसेवासँग निगम पदाधिकारीले आवश्यक छलफल पनि गरेको भएपनि अन्तिम सयमसम्म पनि हिमालयले निगमले मागेको जहाज भाडामा लिने प्रस्तावमा आवेदन दिएन । हिमालयले आवदेन दिएको भए यी दुई वायुसेवाबीच मूल्यांकन गरेर उचित प्रस्ताको टुंगो लाग्ने थियो तर, एउटा मात्रै प्रस्ताव परेकोले निगमले एक साताको समय थप गरेर प्रस्तावमा पेश गर्न अाग्रह गरेकाे छ । हिमालयले इच्छा देखाएको हो भने थप भएको एक साताको समयमा पनि आवदेन दिन सक्ने वायुसेवा निगमका एक उच्च अधिकारीले बताए । उनका अनुसार हिमालयसँग निगमका साथीहरुले कुरा त गर्नुभएको हो । हिमालय एयरलाइन्स सकारात्मक पनि थियो । तर, यो वायुसेवाले आवेदन नै नदिएपछि पुन: एक साताको सयम थप गर्नुपरेको निगमले जानकारी दिएको छ । वायुसेवा निगमको विनियमावलीमा एउटा कम्पनीसँग मात्रै आवेदन दिएमा पुनः समय थप गर्नुपर्छ । सोही अनुसार निगमले एक साताको समय दिएको हो । विहिबारदेखि दिइएको एक साताको समयमा पनि कुनै वायुसेवाले आवदेन नदिए निगमले एउटै कम्पनीको प्रस्तावलाई अगाडि बढाउने उल्लेख छ । निगमका अनुसार हाल भुटान एयरलाइन्स एउटाले मात्रै आवेदन दिएको छ । एक साताको समयमा पनि अरु कुनै वायुसेवा नआए र यसैले दिएको प्रस्ताव उपयुक्त भए भुटान एयरलाइन्सकै जहाज भाडामा लिएर निगमले कम्तिमा २ महिनासम्म नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने छ । हिमालय एयरलाइन्सले यो वायुसेवाले श्रीलंकाको कोलम्बो उडान यात्रु नपाएर दुई महिनादेखि बन्द गरको र आगामी एक महिनापछि साउदी अरेवियामा उडान गर्ने तयारी गरेकोले निगमलाई जहाज भाडामा दिन सकिने सकारात्मक प्रतिकृया दिएको थियो । हिमालयसँग युरोपको एयरबसमा उत्पादित १ सय ५८ सिट क्षमतायुक्त तीनथान ए३२०–२१४’ सिरिजको जहाज छन् । तीनवटै जहाजमा ८ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट छन् । आफैले उडान थप गर्ने भन्दै निगमले जहाज भाडामा नदिएको उल्लेख छ । एक साताको समय रहेकोले याे बीचमा दिनसक्ने अावेदनका विषयमा हिमालयले कुनै प्रतिकृया भने दिएको छैन् । यो वायुसेवाले हाल श्रीलंकाको कोलम्बो उडान रद्द गरेको छ । यसले कतारको दोहा र म्यानमारको यांगुन र मलेसियाको क्वाललम्पुरमा भने नियमित उडान गरिरहेको छ । यो वायुसेवाले साउदी अरबको दमामा, युएईको दुबई, हङकङ, भारतको नयाँदिल्ली, चेन्नाई, थाइल्यान्डको बैंकक, चीनको बेइजिङलगायत नयाँ गन्तव्यमा उडान गर्ने योजना पनि अगाडि सारेको छ । वाइडवडिको पैसा पठाउने समय एक साता सर्यो निगमले दुई वटा लामो दुरीको गन्तव्यमा उडान गर्न सक्ने क्षमताको जहाज वाइडवडि खरिद गर्न पहिलो किस्ता पठाउने समय पनि एक सातालाई सारेको छ । कर्मचारी संचय कोषको सञ्चालक समितिको बैठकले निगमलाई ऋण दिने निर्णय गर्न ढिलो गरेकोले निगमले बुझाउने पहिलो किस्ताको समय पनि एक साता धकेलिएको हो । स्रोतका अनुसार कोषको आज शुक्रबार बोर्ड बैठक बस्दै छ । कर्मचारी संचय कोषको बोर्ड बैंठकले निर्णय गरेपछि गरेपछि निगमलाई ऋण प्रवाह गर्ने र निगमले अगामी शुक्रबारसम्ममा रकम पठाइसक्ने जानकारी दिएको छ । निगमले कर्मचारी संचाय कोष र नागरिक लगानीकोष दुबै संस्थाबाट निगमले आधाआधा ऋण लिदैँ छ । यो ऋण लिएर निगमले अागामी शुक्रबार भित्रै जहाज विक्रेता अमेरिकी कम्पनी एएआरालाई पहिलो किस्तावपत ८ अर्ब रुपैयाँ पठाउने भएको छ । निगमले दुईवटा ठूला वाइडबडी खरिद गर्न एएआर कर्पोरेशनलाई पहिलो किस्तावपतको ८ करोड अमेरिकी डलर (८ अर्ब रुपैयाँ) पठाउँन यस अघि गरेको गृहकार्य अनुसार ऋण सम्झौतामा भएको ढिलाइकै कारण एक साताको समय थप गरेको थियो । निगमका अनुसार हाललाई दुईवटा वाइडवडिमध्ये एउटाको चार अर्ब र अर्कोको चार अर्ब गरी आठ अर्ब रुपैयाँ पठाउन लागिएको हो । निगमका अनुसार वैना रकम पठाइसकेकोले एक दुई साताको ढिलाईले जहाज आउने तालिकामा कुनै असर गर्दैन । निगमले बैनामार्फत पक्का गरिसकेकोले पैसा पठाउने अनुकुल समय मात्रै मिलाइरहेको उल्लेख छ । निगमले २१ अर्ब ५८ करोडमा २ वटा नयाँ वाइडवडी खरिद गर्दै छ । यसका लागि १० करोड रुपैयाँ बैना पठाइसकेको छ । बाँकी रकम पहिलो किस्ताको पैसा बुझाएपछि जहाज आउने सुनिश्चितता हुन्छ । त्यसपछि बाँकी रकम जहाज दिने बेलामा दिएपनि हुने निगमकाे भनाइ छ ।

वायुसेवा निगमको बोइङ विकेन, बजारमा नयाँ किन्दा ५ अर्ब पर्ने जहाज १७ करोडमा किन्न कोही आएनन्

काठमाडौं । नेपाल वायुसेवा निगले तीन दशक पुरानो एकथान १९० सिट क्षमताको बोइङ जहाज विक्रीमा राखेको भएपनि कोही किन्न आएनन् । निमगले पहिलोपटक आवेदन गरेको ग्लोवल टेण्डरमा एउटापनि आवेदन नपरेपछि पुनः आवेदन गरेको वायसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार जहाजको न्युनतम मुल्य १७ करोड रुपैयाँ राखिएको थियो । जेठ १० सम्मको समय दिएर मागेको प्रस्तावमा कोही नआएपछि फेरि जेठ २९ सम्मको लागि प्रस्तावमा मागिएको छ । निगमको यही क्षमताको जहाज खरिद गर्नुपर्दा अहिले ५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुन्छ । नागरिक दैनिकबाट ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकलाई जेट एयरवेजको हवाईभाडामा १५ प्रतिशतसम्म छुट

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकले जेट एयरवेजमा यात्रा गर्दा हवाई टिकेटमा १५ प्रतिशत छुट पाउने भएका छन् । जेट एयरवेजले बैंकका ग्राहकलाई प्रिमियर र इकोनोमिक दुबै टिकटमा छुट दिने गरी एयरवेज र बैंकबीच सम्झौता भएको छ । ट्राभल्स स्कीम सार्वजनिक गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत जोसेफ सिलभानुस र नेपालका लागि जेट एयरवेजका कन्ट्री म्यानेजर तानाय रघुराज काठमाडौंबाट भारतको नयाँ दिल्ली, मुम्बई तथा अन्य क्षेत्रका प्रत्यक्ष उडानमा यो सुविधा रहने जेट एयरवेजले जनाएको छ । बैंकका ग्राहकले जेट एयरलाइन्सको वेवसाईटबाट अनलाईन टिकेट बुक गरी सुविधा लिन सक्नेछन् । ‘बैंकका खाता होल्डरले टिकटको १५ रकम फिर्ता पाउनेछन् । त्यसका अतिरिक्त सबैका डेविट तथा क्रेडिट कार्ड होल्डर्सले भाडामा १० प्रतिशत छुट पाउनेछन्’ स्ट्याण्डर्ड चार्टर्ड बैंक र जेट एयरवेजले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यो सुविधा सन् १०१७ को डिसेम्बर ३१ तारिकसम्म लिन सकिने छ । टिकट भने अक्टोबर १५ सम्म बुक गरिसक्नु पर्नेछ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत जोसेफ सिलभानुसले आफ्ना ग्राहकको लागि नयाँ र विशिष्ट सेवा दिन सकेकोमा खुशी व्यक्त गरेका छन् । ‘स्ट्याण्डर्ड चार्टड बैंकले आफ्ना ग्राहकका लागि संस्थागत रुपमा कसरी फरक सेवा दिन सक्छ भन्ने यो एउटा उदाहरण हो’ उनले भने । यो बैंक १५० वर्षभन्दा बढी लामो इतिहास भएको बहुराष्ट्रिय कम्पनी हो जहाँ ८४ हजार मानिसले काम गर्छन् । जेट एयरवेजका सेल्स एण्ड मार्केटिङ सिनियर भाईस प्रेसिडेन्ट कोलिन न्युवोर्नरले जेट एयरवेजमा यात्रा गर्ने अथितिहरुको लागि विशेष सुविधा दिने कम्पनीको प्रतिवद्धतामा स्ट्याण्डर्ड चार्टर्ड बैंकसँगको सहकार्य कम्पनीको यात्रामा महत्वपूर्ण कदम भएको बताइन् । उनले एयरवेजले दिएको विशेष फेयर बैंकका ग्राहकले उपयोग गर्ने र उनीहरु सन्तुष्ट हुनेमा आफू विश्वस्त रहेको बताईन् ।