सौराहालाई केन्द्रविन्दु बनाउने पर्यटकीय गुरुयोजना अन्तिम चरणमा

काठमाडौं। पर्यटकीय नगरी सौराहालाई केन्द्रविन्दु मानेर जिल्लाको समग्र पर्यटकीय क्षेत्र जोड्ने गरी थालिएको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी २० वर्षमा सौराहासहित जिल्लाका पर्यटकीय गन्तव्यस्थलहरूको विकास कार्यलाई गुरुयोजनामा समावेश गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले दुई वर्षअघि थालिएको गुरुयोजना निर्माणको काम फागुन ७ गते सार्वजनिक गर्ने तयारी गरिएको बताए। उनका अनुसार सौराहा आउने पर्यटकको बसाई लम्ब्याउने गरी पर्यटकीय पूर्वाधारको विकास गर्ने विषयमा गुरुयोजना केन्द्रित भएको छ । आउँदो ५, १०, १५ र २० वर्षमा के–कस्ता काम गर्ने भन्ने विषय गुरुयोजनामा समावेश गरिएको छ । क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालका अनुसार पर्यटन बोर्ड र क्षेत्रीय होटल सङ्घको संयुक्त लगानीमा करीब रु २० लाख खर्च गरेर गुरुयोजना निर्माण गरिएको हो । सो क्रममा विभिन्न सरोकारवाला निकायसँग विस्तृत छलफल गरिएको छ । गुरुयोजनामा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरिने पर्यटकीय गतिविधिको विस्तार, पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास, पानीसँग सम्बन्धित क्रियाकलापको विकास, स्वदेशी र विदेशी क्षेत्रमा यहाँको पर्यटकीय महत्वको प्रचारप्रसारलगायतका विषय समावेश गरिएका छन् । माउण्टेन हेरिटेज प्रालिले गुरुयोजना निर्माणको काम गरिरहेको छ । प्रालिका विज्ञ विश्व सुवेदीका अनुसार सौराहा क्षेत्र शहरीकरण हुँदै गएकाले पर्यापर्यटनतर्फ लैजानुपर्ने गुरुयोजनामा उल्लेख छ । सौराहाका होटलमा प्रकृतिसँग मिल्दाजुल्दा एकै खालका रङ्ग प्रयोग गर्ने, हरियाली बढाउने जस्ता विषय गुरुयोजनामा उल्लेख छ । गुरुयोजनामा चितवनको प्रवेशद्वार सौराहालाई मानेर उकालो पदयात्राका लागि उपरदाङगढी, सिराइचुलीजस्ता पहाडी क्षेत्र, धार्मिक पर्यटनका लागि देवघाट, मौलाकालिका, कृषि र पर्यापर्यटनका लागि माडी क्षेत्र, सूर्याेदय र दुर्लभ वन्यजन्तु अवलोकनका लागि सौराहासँगै पटिहानी, जगतपुर र मेघौली क्षेत्रको विकास गर्नुपर्ने उल्लेख छ । सुवेदीले गुरुयोजनाअनुसार काम गर्न सकेमा चितवनमा पर्यटकको बसाई लम्बिने र यहाँको पर्यटकीय क्षेत्रको विकास हुने बताउनुभयो । हाल वार्षिक दुई लाख हाराहारी पर्यटक चितवन आउने गर्दछन् । यो सङ्ख्यालाई पाँच लाख पु¥याउने गरी गुरुयोजना निर्माण गरिएको छ । जिल्लामा १५० भन्दा बढी पर्यटकीय होटल रहेका छन् । तीमध्ये सौराहामा ११० रहेका छन् । पछिल्लो समय जिल्लामा होटल थप्ने क्रम बढ्दै गएको छ। रासस

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लविङ, बुद्ध एयरकाे नयाँदिल्ली उडानमा समस्या

राँझा । नेपालगञ्जस्थित राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विस्तार गर्न स्थानीयस्तरबाट पहल शुरु भएको छ । विमानस्थललाई आवश्यक पूर्वाधारसहितको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थल स्वीकृत गराउन र यहाँबाट भारतको नयाँदिल्ली हवाई उडान अनुमतिका लागि पहल गर्न आइतबार स्थानीयस्तरमा छलफल भएको हो । छलफलमा विमानस्थल विस्तार र दिल्ली उडान अनुमतिका लागि प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्ने निर्णय भएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले जानकारी दिइन् । उक्त विमानस्थललाई विस्तार गर्दै भारतको दिल्लीसम्म उडान गर्नसके नेपालगञ्जको विकास हुने भएकाले यसमा जिल्लास्थित राजनीतिक दल, उद्योगी व्यापारीसमेत एकताबद्ध भएको छलफल आयोजक नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बताए । क्षेत्रीय अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन उक्त विमानस्थललाई अन्तर्राष्ट्रिय उडानयोग्य विमानस्थलका रुपमा विस्तार गर्नुपर्ने नेकपाका जिल्ला नेता अकलबहादुर बमले बताए । उक्त विमानस्थलबाट भारतको नयाँदिल्ली उडान भर्नका लागि बुद्धएयरले अनुमति पाइसके पनि भारतीय पक्षबाट ‘स्लट’ व्यवस्थापनमा समस्या भएको जनाएकाले त्यसलाई हटाउन सङ्घीय सरकारसमक्ष स्थानीयस्तरबाट पहल गरिएको उनले जानकारी दिए । रासस

काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन

काठमाडौं। दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभलले आजदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै जनकपुरसम्म बस सञ्चालनमा ल्याएको हो । प्रालिका सञ्चालक टङ्क थापाले प्रदेश नं २ र नेपालकै प्रमुख धार्मिकस्थल जनकपुरलाई पर्यटनसँग जोड्न उक्त बस सञ्चालनमा ल्याएको बताए। काठमाडौँको सोह्रखुट्टेबाट बस बिहान ७ बजे छुट्ने उनको भनाइ छ । टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष प्रह्लाद लोहनीले मुलुकको पर्यटन विकासका लागि काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन सेवाले ठूलो सहयोग पुग्ने बताए। सन् २०२० सम्म २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न यस्ता सेवाले सहयोग पुग्ने उनको भनाइ छ । दैनिक आन्तरिक तथा बाह्य हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको छ । काठमाडौँको कान्तिपथबाट पर्यटक बोकेर देशका विभिन्न पर्यटकीय भूभाग जाने गरेका पर्यटकीय बस यतिबेला बसपार्कको अभावका कारण सोह्रखुट्टे सडकबाट यात्रु बोकेर जान बाध्य छन् । पर्यटन विकासका लागि एशोसिएसनले यसअघि पोखरा, सौराह र लुम्बिनीमा पर्यटक बस सञ्चालनमा ल्याइसकेको छ । आगामी दिनमा बर्दियामा समेत बस लैजाने लक्ष्य राखिएको अध्यक्ष लोहनीको भनाइ छ । हाल काठमाडौँबाट देशका विभिन्न भागसम्म पर्यटकलाई ओहोरदोहोर गराउन एक सयको हाराहारीमा पर्यटक बस सञ्चालनमा रहेका छन्। रासस