नागरिक लगानी कोषले वाईडबढी एयरबस खरिदको लागि १२ अर्ब ऋण दिने
काठमाडौं । नागरिक लगानी कोष र नेपाल बायु सेवा निगमबीच वाईडबढी एयरबस (ए३३०-२००) जहाज खरिद गर्ने योजना अनुसार कोषले एउटा वाइड बढी एयरवस खरिद गर्न ऋण दिने सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रवन्धक सुगतरत्न कसांकारले हस्ताक्षर गरेका छन् । नेपाल सरकारको जमानतमा कोषले जहाज खरिदको लागि १२ अर्ब रुपैया ऋण दिन लागेको हो । कोषले प्रदान गर्ने ऋण रकमको ब्याजदर ९ प्रतिशत रहेको छ । त्यसैगरी जहाज खरिदको लागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो ब्यवसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने ब्यवस्था गरिएको छ । उक्त जहाज खरिदको लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि १५ बर्षको राखिएको छ । उडान क्षेत्रको ब्यवसायिक योजनामा कोषले निगमलाई ऋण दिने कार्य पहिलो पटक गरेको हो । यसबाट प्रत्यक्ष रुपमा आर्थिक सम्वृद्धि, रोजगारी सृजना, पर्यटन क्षेत्रमा थप बिकास हुने आशा कोषले गरेको छ ।
मेघौली सेराईलाई रोव रिपोर्टस् वेस्ट अफदि वेस्ट अवार्ड
काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सिजीहोटल्स एण्ड रिसोर्टद्वारा संचालित मेघौली सेराई ताज सफारी रिसोर्टले रोव रिपोर्टस् २०१७ को वेस्ट अफदि वेस्ट अवार्ड प्राप्त गरेको छ । मेघौली सेराईले विश्वकै उत्कृष्ट एडभेन्चर जंगल सफारी रिसोर्टका रुपमा उक्त अवार्ड प्राप्त गरेको हो । यसअघि मेघौली सेराई ट्राभल एण्ड लिजरको वेस्ट जंगल सफारी रिसोर्ट २०१७को सूचिमा परिसकेको छ । आफ्नो विशिष्ट निर्माण शैली, अत्याधुनिक संरचना र उत्कृष्ट सेवाका कारण स्थापनाको छोटो समयमै चितवनको मेघौलीमा स्थापित उक्त रिसोर्टले अन्तर्राष्ट्रिय पर्यटन बजारलाई नेपालतर्फ आकर्षित गर्न सफल भएको छ । ‘नेपाली पर्यटन उद्योगकालागि यो विशिष्ट सम्मानहो । मेघौली सेराईमार्फत् हामीले नेपालकालागि यो सम्मान प्राप्त गर्नमा योगदान गर्न सकेकोमा म प्रशन्न छु’, चौधरी ग्रुपका कार्यकारी निर्देशक एवं सिजीहोटल्स एण्ड रिसोर्टका प्रवन्ध निर्देशक राहुल चौधरीले भने, ‘यो अवार्डले हामीलाई हस्पिट्याालिटी क्षेत्रमा अझै उत्कृष्ट सेवाहरु नेपालमा भित्रयाउन प्रोत्साहन गरेको छ । आगामी प्रोजेक्टको रणनीति तय गर्दा हामीले यसलाई मनन गर्नेछौं ।’ ‘मेघौली सेराई ताज सफारी रिसोर्टले रोव रिपोर्टस्को वेस्ट अफदि वेस्ट अवार्ड प्राप्त गरेकोमा हामी गौरवान्वित छौँ । ताज ग्रुपले उच्चस्तरका गन्तब्यहरुको सिर्जना गर्दै आईरहेको छ जसमा मेघौली सेराई पनि एक हो जहाँजंगल सफारीको अद्भुत् आनन्दलिन सकिन्छ । यो रिसोर्ट जंगल सफारीका शौखिनहरुकालागि उत्कृष्ट गन्तब्य हो’, ताज होटल, प्यालेस, रिसोर्ट, सफारीका अपरेशन भाईस प्रेसिडेन्ट रोहित खोसलाले भने । प्रवन्ध निर्देशक चौधरीले हस्पिटालिटी क्षेत्रमा ताजसँग आफ्नो ग्रुपको साझेदारी विशेष महत्वको रहेको बताए । ताज र सिजीहोटल्स एण्ड रिसोर्टको साझेदारीमा विश्वकै उत्कृष्ट होटल एवं जंगल सफारी रिसोर्टहरु संचालित छन् ।
निगमकाे संचयकोषसँग १२ अर्बको ऋण सम्झौता, आज नागरिक लगानी कोषसँग हुँदै
काठमाडौं । नेपाल वायुसेवा निगमले आइतबार कर्मचारी संचयकोषसँग वार्षिक ९ प्रतिशत व्याजदर दिने गरी १२ अर्ब रुपैयाँको ऋण सम्झौता गरेको छ । दुई वटा लामो दुरीको गन्तव्यमा उडान गर्न सक्ने क्षमतको जहाज (वाइडवडि) खरिद गर्न निगमले दुई वटा संस्थाबाट बराबर ऋण लिने भएपनि संचयकोषसँग सम्झौता गरेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज नागरिक लगानी कोषसँग सोही अनुपातमा ऋण र व्याजदरमा ऋण सम्झौता हुँदै छ । उनका अनुसार दुबै संस्थासँग समान रकम र समान व्याजदरमा सम्झौता हुने भएपनि पहिले संचयकोषसँग भएको हो । त्यसपछि आज नागरिक लगानीकोषसँग सम्झोता गर्ने र तत्काल जहाज खरिद गर्ने कम्पनीलाई पहिलो किस्ता वापतको ८ अर्ब रुपैयाँ पठाउने पनि श्रेष्ठले जानकारी दिए । निगमले एयरवस कम्पनीको ए ३३० नामक २८० सिट क्षमताको जहाज खरिद गर्दै छ । निगमले यो जहाज किन्न गत चैत २५ गते गरेको सम्झौता अनुसार अबको एक वर्षमा नयाँ वाइडवडि जहाज पाउने भएको छ । २८० सिट क्षमतासम्मको यो जहाज आएपछि निगमले दशकौदेखि उडान रद्द गरेका गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ ।