बाक्लो हिमपात भएसँगै दोलखामा पर्यटकको घुइँचो, पहिलाे रोजाइ कालीञ्चोक
काठमाडौं । दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै हिउँ खेल्ने पर्यटकको घुइँचो लागेको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालीञ्चोक, शैलुङ, खरिढुङ्गा, जिरी, च्योर्दुङ, खावालगायत उच्च भूभागमा बाक्लो हिमपात भएको छ । हिमपात पछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइ कालीञ्चोक परेको छ । पर्यटक प्रायः कालीञ्चोकको कुरी जाने, हिउँसँग रमाउने र केबुलकार चढ्ने उद्देश्यले दोलखा आउने गरेको पाइएको छ । शुक्रबार र शनिबार मात्र करीब १० हजार पर्यटक हिउँ खेल्न दोलखा आएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुन्दर कार्कीले बताएका छन् । कालीञ्चोकको कुरीमा मात्र करीब तीन हजार पर्यटक राख्न सकिने होटल सञ्चालनमा छन् । ती सबै होटल एक सातासम्मका लागि बुकिङ भइसकेको होटल सुनपातीका सञ्चालक हरि ओलीको भनाई रहेको छ । होटल सबै बुकिङ भए पनि बाक्लो हिमपातका कारण गाडी पाँच किमी तलबाटै कुरीसम्म पुग्न नसकेकोलो समस्या भएको जनाएका छन् । हिउँका कारण कुरीसम्म पुग्नका लागि समस्या भएपछि चरिकोटक होटल समेत भरिभराउ छन् । निरन्तर हिउँ परिरहेको हुँदा कालीञ्चोकमा पिउने पानीको सबैभन्दा ठूलो समस्या भएको स्थानीय होटल व्यवसायी सोनाम शेर्पाले बताएका छन् । ट्याङ्करबाट पानी ल्याउने गरिएकामा हिउँका कारण यातायात अवरुद्ध भएकाले खाद्यान्नसमेत अभाव हुन थालेकाले कालीञ्चोकका सबै होटल बन्द गर्नुपर्ने स्थिति आउँन सक्ने बताएका छन् । कालीञ्चोकमा यातयात सञ्चालन गरी खाद्यान्न तथा पानीको आपूर्ति सहज बनाउन प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख वासुदेव पाठकले बताए । केही दिनदेखि लगातार हिमपात भएसँगै कुरी तथा कालीञ्चोक मन्दिर आसपासमा तीन फिटभन्दा बढी हिँउ जमेको छ । अठ्तीस हजार बयालिस मिटरको उचाइमा रहेको कालीञ्चोकमा पुसदेखि फागुनसम्म हिमपात हुने गर्छ । राजधानी काठमाडौँबाट १३३ किमी को सडक यातयताबाट चरिकोट पुगेपछि १७ किमी दूरी पार गरेर कालीञ्चोक पुग्न सकिन्छ । हिमपातसँगै सय थुम्का रहेका शैलुङमा पनि हिउँ खेल्न आउने पर्यटको सङ्ख्या वृद्धि भएको शैलुङ गाउँपालिका प्रमुख भरत दुलालले बताएका छन् । जिल्लाको खरीढुङ्गा, च्योर्दुङ, खावा, डाँङ्डगे डाँडालगायत क्षेत्रमा पनि हिउँ खेल्ने आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ । रासस
पश्चिम नवलपरासीमा पर्यटकीयस्थल कञ्चनगढी उत्खनन गर्न स्थानीयवासीकाे माग
काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ स्थित पर्यटकीयस्थल कञ्चनगढी उत्खनन गर्न स्थानीयवासीले माग गरेका छन् । पर्यटनको प्रचुर सम्भावना रहेको यो स्थल उत्खनन, उचित प्रचारप्रसार तथा संरक्षण नहुँदा ओझेलमा परेको हो । यस स्थललाई धार्मिक तथा पर्यटकीयस्थलको रुपमा विकास गर्न सक्रियता देखाएको छ । स्थानीयवासी उत्खनन हुन नसक्दा महत्व र ऐतिहासिक वस्तुस्थितिबारे प्रचार गर्न नसकिएको स्थानीयवासीको भनाई रहेको छ । खजुराटोलबाट करीब ७०० मिटर उत्तरतर्फ जङ्गलको काखमा अवस्थित कञ्चनगढी खजुरा खोलाको किनारमा अवस्थित हुनाका साथै त्यहाँ हरियाली वातावरण पनि छ । मनोरम वातावरणले भरिपूर्ण ऐतिहासिकस्थलमा अहिले आन्तरिक पर्यटकको आवागमन बढेको छ । तीन तलाजस्तै रहेको उक्त क्षेत्रको माथिल्लो खण्डमा युद्ध सामग्री राख्न तथा मन्दिर निर्माण गर्न मिल्ने, दोस्रो खण्डमा समथर जमीन र रुख बिरुवाले भरिपूर्ण फूलबारी बनाउन मिल्ने र पहिलो खण्डमा वनभोज स्थलको रुपमा विकास गर्न सकिने देखिन्छ । डेढ बिघा क्षेत्रमा फैलिएको उक्त क्षेत्र उत्खननका क्रममा भेटिएका प्राचीन कलाकृतिका ढुङ्गा, वनभोजका लागि दुई वटा ट्रष्ट र आँप, कटहर, अम्बालगायत फलफूलको बगैँचा पनि बनाइएको छ । विसं २०४७ मा मात्रै पत्ता लागेको उक्त स्थानमा शिवरात्रिका बेला त्यहाँ मेला लाग्नाका साथै साउन महीनामा जल चढाउनेको पनि घुइँचो लाग्छ । अठ्ठाइस वर्षअघि स्थानीय परमेश्वर थारूले सपनामा सो स्थानमा शिवलिङ्ग गाडिएको देखेपछि उत्खनन गर्दा त्यहाँ शिवलिङ्ग लगायत बुद्ध र अन्य भगवान् आकृतिका मूर्ति भेटिएको थियो । पर्यटकीय दृष्टिले निकै सम्भावना बोकेको ठाउँ भएर पनि प्रचारप्रसार र विकास हुन नसक्दा अहिलेसम्म यो क्षेत्र ओझेलमा छ, अब नगरपालिकाले गुरुयोजना बनाएर धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्ने स्थानीयको माग रहेको छ । वडा कार्यालयको पहलमा एक लाख १७ हजार बजेट विनियोजन गरे पनि स्थानीय गाउँलेको सहयोगसमेत गरी रु पाँच लाखमा एक हजार २०० मिटर बाटो निर्माण गरिएको वडाध्यक्ष रेश्मीराज भट्टराई बताएका छन् कञ्चनगढीको विकास र विस्तारका लागि नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिँदै नगरप्रमुख धीरज शर्मा बस्याल भन्छन् यहाँको वातावरण र भौगोलिक बनावट हेर्दा इतिहासको कुनै कालखण्डमा युद्ध भएको हुनसक्ने देखिएकाले यसलाई हामी उत्खनन गरेर मनोरमस्थलको रुपमा विकास गर्ने योजनाका साथ अघि बढेका छौँ । खजुरा खोलामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा यसैवर्ष झोलुङ्गे पुल निर्माण हुँदैछ भने सिँचाइ विभागको सहयोगमा सोही खोलामा डेढ करोडको लागतमा बाँध निर्माण गरिँदै छ । केही वर्षभित्रै त्यहाँ पर्यटकलाई आकर्षित गर्न झोलुङ्गे पुल, कृत्रिम तलाउ, फूलबारी लगायत संरचना बन्ने जानकारी दिएका छन् ।रासस
हवाई सुरक्षा सम्बन्धी छलफल, ‘नेपालमा हवाई उडान उच्च जोखिममा’
काठमाडौँ । एयरबस हेलिकोप्टर्स र युरोपियन नागरिक उडड्यन सुरक्षा एजेन्सी(इएएसए) ले यही माघ १० र ११ गते काठमाडौंमा हवाई सुरक्षा सम्बन्धी गोष्ठीको आयोजना गरेको छ । उक्त गोष्ठीमा उडानका क्रममा बजारमा चुनौतीका रुपमा देखा परेका विश्वको उत्कृष्ट अभ्यासहरु र जोखिम न्यूनीकरणका विषयमा छलफल गरिएको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरण (सिएएएन) को संयोजकत्व रहेको सो गोष्ठी विशेष गरेर हेलिकोप्टर उडानमा केन्द्रित रह्यो । जसमा एयरबस हेलिकोप्टर्स र इएएसएका विज्ञहरु, ग्राहकहरु र हवाई उद्योगका विशेषज्ञहरुबीच नेपालमा हवाई सुरक्षालाई अझ बढी सशक्त बनाउने उपायका सन्दर्भमा विचार विमर्श भएका थिए । “यहाँको उच्चभौगोलिक अवस्था, असुविधाजनक भूभाग र कठिन मौसमी अवस्थाहरुको कारण नेपालको हेलिकोप्टर उडान सम्भवतः विश्वको अप्ठ्यारा उडानहरु मध्येकै एकमा पर्दछ ।”सिएएएनका महानिर्देशक सञ्जय गौतमले भने । एयरबसले नेपालको हेलिकोप्टर बजारको ६३ प्रतिशत हिस्सा ओगटेको छ । हाल, देशमा २७ वटा एयरबस एक्यूरियुल हेलिकोप्टरहरुले उडान भरिरहेका छन् । आफ्ना सबै उडानहरुमा सुरक्षाप्रबन्धलाई विशेष चासो दिने हाम्रो कटिबद्धतालाई ध्यानमा राखेर एयरबस हेलिकोप्टर्सले विश्वभर नै सुरक्षा सडक प्रदर्शनीहरु संचालन गर्दै आइरहेको छ । सन् २०१६ पछि नेपालमा एयरबसले आयोजना गरेको यो दोस्रो सुरक्षा गोष्ठी हो ।