सिल्भर हेरिटेजको तीन अर्ब विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकले दियो स्वीकृत, चार महिनामा होटल सञ्चालनमा आउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिल्भर हेरिटेजको तीन अर्ब पाँच करोड रुपैयाँ लगानी भित्र्याउन स्वीकृति दिएको छ । हङकङको सिल्भर हेरिटेज ग्रुपले नेपालमा पाँचतारे होटल खोल्नको लागि सो रकम अष्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जबाट करिब ५ महिना अघि नेपाल भित्र्याएको हो । रकम निकासाको लागि आवश्यक डकुमेन्ट पूरा गर्न नसकेपछि बैंकमै उक्त रकम थन्किएको थियो । विदेशबाट आएको यो रकम स्वीकृत गर्न आवश्यक पर्ने डकुमेण्ट पूरा भएपछि रकम निकासाको अनुमति दिएको राष्ट्र बैंक विदेशी विनिमय विभागका प्रमखु भीष्मराज ढुंगानाले बताए । ‘राष्ट्र बैंकले रकम निकाल्न बाटो खोलिदिएको छ,’ होटलका अध्यक्ष राजेन्द्र बजगाइँले भने । अबको चार महिनामा होटल सञ्चालनमा आउने छ । राष्ट्र बैंकले रोकिएको रकम निकासा गर्न अनुमिति दिएपछि बजागाईँले अन्य विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने बताए । अब छिट्टै विभिन्न क्षेत्रमा लगानी गर्नका लागि १५ अर्ब रुपैयाँ नेपाल भित्र्याउँदै छु,’ उनले भने । अहिले निकासा हुन लागेको रकमसहित होटल निर्माणको लागि कुल ५ अर्ब रुपैयाँ विदेशी लगानी भित्र्याएको बजगाइँले जानकारी दिए । होटलमा पूर्ण विदेशी लगानी रहेको छ । हेरिटेज गु्रपले रुपन्देहीको कोटीहवामा ५ तारे होटल निर्माण गरिरहेको छ । हङकङमा केन्द्रीय कार्यालय रहेको सिल्भर हेरिटेज ग्रुपले क्यासिनो र होटलको क्षेत्रमा लगानी गर्ने ठूलो कम्पनी हो । रुपन्देहीमा सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिको नाममा निर्माणाधिन उक्त अत्याधुनिका सुविधा सम्पन्न ५ तारे होटलको प्रत्येक कोठाबाट सुईमिङ पुलसम्मको पहुँच रहेको बजगाइँले बताए । क्यासिनो सहित उक्त होटल निर्माण गरिएको हो । १५ विघाह जमिनमा उक्त होटल फैलिएको छ । ग्रुपले झापामा टाइगर प्लालेस रिसोर्ट संचालन गर्ने तयारी गरेको छ । काठमाडौंमा अर्को होटल खोल्ने पनि ग्रुपको तयारी छ ।

रणनीतिक साझेदारमा आउन लुफ्थान्साले माग्यो नाफाको ४२ प्रतिशत हिस्सा

काठमाडौं । नेपाल वायुसेवा निगमको रणनीतिक साझेदारीका लागि इच्छुक जर्मन कम्पनी लुफ्थान्सा कन्सल्टिङले वार्षिक नाफाको ३५ देखि ४२ प्रतिशत आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ । कम्पनीले निगमको नाफाबाट पहिलो वर्ष ३५ प्रतिशत, दोस्रो बर्ष ४० र तेस्रो वर्ष ४२ प्रतिशत नाफा आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ । लुफ्थान्साले गरेको यो प्रस्तावसँगै यसले तीन वर्षको रणनीतिक साझेदारी शुल्कबापत ६८ करोड ६८ लाख ७६ हजार ४ सय ७१ रुपैयाँ पनि प्रस्ताव गरेको छ । लुफ्थान्साले पहिलो चरण र दोस्रो चरणको लागि २४ करोड ७६ लाख ५० हजार रुपैयाँ दिनुपर्ने प्रस्ताव गरेको छ । भने यसले तेस्रो चरणका लागि ३३ करोड ६८ लाख २५ हजार रुपैयाँ प्रस्ताव गरेको उल्ल्ेख छ । कारोबार दैनिकबाट ।

एयर काष्टमण्डपको एओसी खारेज, एउटै जहाज दुर्घटनाबाट सकियाे उडान भविष्य

फाइल फाेटाे काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर काष्टमण्डपको उडान अनुमति (एओसी) खारेज गरेको छ । काष्टमण्डपले सन् २००९ मा दुई जहाजमार्फत उडानको लागि अनुमति पाएको थियो । नेपालगन्ज र सुर्खेतबाट कर्णाली क्षेत्रमा चार्टर उडान गर्दै आएको यो काष्टमण्डपको एओेसी गत जेठ २६ मा नै खारेजी भयाे । यसकाे जानकारी प्राधिकरणले तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयलाई दिएको छ । यो वायुसेवासँग २ वटा जहाज भएपनि एउटा जहाज दुर्घटना भएपनि प्राधिकरणले सुरक्षाको लागि उडान अनुमति सस्पेन्समा राखेको थियो । यो वायुसेवाले त्यसपछि अर्को जहाज उडा नै गर्न सकेन र यसको उडान भविष्य नै सकियो । काराेबार दैनिकबाट ।