पर्यटक भित्र्याउन भौतिक पूर्वाधार निर्माण जोड दिनुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुर बेदकोट नगरपालिका–४ स्थित शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्रको विहान स्थलगत अवलोकन गरेका छन् । भौतिक पूर्वाधार निर्माण गर्न सके आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उल्लेख गर्दै धार्मिक पर्यटकका लागि उच्च सम्भावना बोकेको यस क्षेत्रको विकासका लागि सम्बन्धीत सबैको सहयोग, समन्वय र सहकार्यको खाँचो रहेको बताए । शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको छ । टाढाबाट दृश्य नियाल्दा ढुङ्गालाई ठाउँ ठाउँमा ठिङ्ग उभ्याई दिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटोबाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेका छन् । यस क्षेत्रमा नगरपालिकाले सेल्फी प्वाइन्ट निर्माण गरिदिएपछि सेल्फी लिन यहाँ युवायुवतीहरुको भीड लाग्ने गर्छ । रासस

तराईको लुक्ला भनेर चिनिने भरतपुर विमानस्थल विस्तार गर्ने तयारी

चितवन । भरतपुर विमानस्थल विस्तार गर्ने प्रक्रिया शुरु भएको छ । तराईको लुक्ला भनेर चिनिने जोखिमपूर्ण मानिएको यस विमानस्थलको विस्तारका लागि सरोकार पक्ष सक्रिय रुपमा लागि परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण, भरतपुर महानगरपालिकासँगै चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सबैको ध्यान विमानस्थल विस्तारमा केन्द्रित भएको छ । जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र संरचना बनेपछि अवतरण र उडानमा अवरोध हुँदै आएको छ । भरतपुर विमानस्थल प्रमुख पवनकुमार गौतमका अनुसार हाल धावनमार्ग एक हजार दुई सय मिटर लामो भए पनि संरचनाको अवरोधले ९०० मिटर मात्र प्रयोग भएको छ । जसका कारण जहाजले सहज उडान र अवतरण गर्न कठिन भएको छ, भने जहाजभरी यात्रु बोक्न सकेका छैनन् । यसले पाटपूर्जामा समेत असर पारेको छ । विमानस्थल जोखिममा रहेकाले विस्तार गर्न नसकेमा बन्द गर्नुपर्ने अवस्था आएपछि सरोकार पक्ष विस्तारका लागि सकारात्मक रुपमा अघि बढेको उनले बताए । गौतमका अनुसार मन्त्री अधिकारीसहित स्थानीय तहका प्रमुख विमानस्थल विस्तारका लागि सकारात्मक भएर लागि परेका छन् । दुई साताअघि यहाँ आएनु भएका मन्त्री अधिकारी चढेकै जहाज सहज अवतरण हुन कठिन भएको थियो । त्यसपछि मन्त्री अधिकारीले तत्कालै महानगर प्रमुख र स्थानीय सुरक्षा निकायका प्रमुखसँग छलफल गरी यसको विस्तार प्रक्रिया अघि बढाउन आवश्यक निर्देशन दिनुभएको गौतमले बताए । गौतमको नेतृत्वमा समिति गठन गरी जहाज अवतरण र उडानमा समस्या परेका संरचना अध्ययनका लागि काम गर्न निर्देशन दिइएको छ । समितिले छिट्टै काम सम्पन्न गरी तत्कालको समस्या हल गर्ने गौतमले बताए । केही घरका छतमा रहेको ट्रस्ट हटाएर विद्युतीय तार भूमिगत गर्न सकेमा हालको समस्या समाधान हुने उनले बताए । दीर्घकालीन विस्तारका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी गरिएको छ । सो ठाउँ विस्तार गर्दा ८ सय देखि एक हजार मिटर धावनमार्ग थप गर्न सकिने छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कार्यपालिकाको बैठकले विमानस्थल विस्तारका लागि पहल गर्ने निर्णय गरेको बताए । भरतपुरबाट करीब १५० किलोमिटरको दुरीमा चारै तर्फ अन्तर्राष्ट्रिय विमानस्थल रहेकाले भरतपुरको विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउने पहल शुरु भएको दाहालले बताए । नजिकै रहेको सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि विभागीयमन्त्री समेत लागिरहनु भएकाले यो विमानस्थललाई चाँडै विस्तार गर्न सकिने प्रमुख दाहालले बताए । जिल्लामा क्रिकेट रङ्गशाला, सिटी हलजस्ता ठूला पूर्वाधार बन्ने तयारीमा रहेको र पर्यटकीय केन्द्र भएकाले ७२ सिट क्षमता भएको जहाज अवतरण गर्नसक्ने गरी विमानस्थल विस्तार गर्नुपर्ने दाहालको भनाइ छ । उनका अनुसार पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड समेत विमानस्थल विस्तार गर्न लागि परेका छन् । प्रचण्डको निर्वाचन क्षेत्र र गृहजिल्ला चितवन नै भएकाले यस विमानस्थललाई विस्तार र सुरक्षित गर्नुपर्नेमा उनको पनि जोड छ । नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोख्रेलको नेतृत्वमा आएको एक टोलीले विमानस्थलको अध्ययन गरी फर्किएको छ । पोख्रेलका अनुसार अहिले विमानस्थल जोखिमपूर्ण ढङ्गले सञ्चालनमा आएको छ । विस्तार गर्न नसकिए बन्द गर्नुपर्ने अवस्था रहेकाले सरोकारवाला सबैको ध्यान विमानस्थलतर्फ केन्द्रीत भएको बताउँदै उनले यसलाई स्तरीय विमानस्थल बनाउन सकिन्छ भने । प्राधिकरणले देशका अन्य विमानस्थलको स्तरोन्नती गरिरहेको भन्दै उहाँले विस्तार गर्ने ठाउँ पाएमा रात्रिकालीन उडान भर्नसक्ने गरी स्तरीय विमानस्थल बनाउन सकिने बताए । उच्च पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विकास र समृद्धिका लागि पनि ठूला जहाज अवतरण गर्नसक्ने गरी विमानस्थल विस्तार गर्नुपर्नेमा उनले जोड दिए । विस्तार गर्ने ठाउँ उपलब्ध भएमा गुरुयोजना निर्माण गरी प्राधिकरणले काम गर्ने पनि उनले बताए । विसं २०१५ मा निर्माण थालेर तत्कालीन हवाई विभागले विसं २०१८ मङ्सिर १२ गतेबाट भरतपुर विमानस्थल सञ्चालनमा ल्याएको थियो । नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणका समयमा निकै चाप बेहोरेको यस विमानस्थलबाट हाल नौवटा उडान काठमाडौँ र एउटा उडान पोखरा गरिँदै आएको छ । विमानस्थलले दैनिक ७५० देखि आठ सय जनालाई सेवा दिँदै आएको छ ।

‘भ्यालेनटाइन डे’ मा चन्द्रागिरिमा विशेष कार्यक्रम, प्रत्येक जोडीले ४००० सम्मको प्याकेज पाउने

चन्द्रागिरि । चन्द्रागिरि हिल्सले प्रणय दिवस(भ्यालेनटाइन डे)को अवसरमा आगामी फागुन २ गते (१४ फेब्रुअरी) मनोरन्जनात्मक कार्यक्रम गर्ने भएको छन् । कार्यक्रममा सहभागी हुन आउने पर्यटकले प्रतिजोडी ३,९९९ रुपैयाँ तथा प्रतिव्यक्ति २,४९९ रुपैयाँको प्याकेज पनि प्राप्त गर्न सक्नेछन् । उक्त प्याकेजमा पर्यटकले छुट्टै केबलकार, लाइभ म्युजिक, विशेष प्रकारका खाना तथा लक्की ड्र मार्फत गिफ्ट प्राप्त गर्ने छन् । आयोजकका अनुसार कार्यक्रम दिउँसो १२ बजे देखि ३ बजेसम्म चन्द्रागिरिको टप स्टेशनमा अवस्थित बारमा संचालन हुने छ ।