हिमालय एअरलाइन्सको दोहा-कतार उडान सङ्ख्या थप, हप्तामा चार दिन
काठमाडौं । हिमालय एअरलाइन्सले यही आउँदो साउन १९(अगष्ट ३, २०१७) गते देखि कतारको दोहामा हप्ताको थप दुई उडान मंगलबार र बिहिबार गर्ने भएको छ । साथै, उक्त एअरलाइन्सले भदौ १७ (सेप्टेम्बर २, २०१७) गतेबाट थप चार उडान गरी हप्ताको ११ उडान पुर्याउने जनाएको छ । उक्त थप उडान मंगलबार, बिहीबार, शनिबार र आइतबार हुनेछ । सो थप उडान आगामी कात्तिक ११ (अक्टोबर २८, २०१७ )गते सम्मलाई रहने छ । थप गरिएका नयाँ उडान काठमाडौंबाट बिहान १०ः१५ मा उडान गरी कतारको राजधानी दोहामा सोही दिन त्यहाँको समय अनुसार १२ः२५ मा अवतरण गर्नेछ । सोही दिन १३ः१५ मा दोहाबाट उडान भरि साँझ २०ः५०मा काठमाडौं अवतरण गर्नेछ । नेपालीहरुको महानपर्व दशैं तथा दिपावलीलाई ध्यानमा राखि नेपाली यात्रुलाई सेवा प्रदान गर्ने उद्देश्य रहेकोमा, उक्त कम्पनीका भाइस प्रेसिडेन्ट प्रशासन विजय श्रेष्ठ भन्छन् “दोहा उडान गरेको १ वर्षमा यात्रु समाज बाट हामीले प्राप्त गरेको सद्भाव तथा सहयोग एवं हवाई सेवाको मागलाई मध्यनजर गर्दै आगामी दशै तथा दिपावलीमा यात्रा गर्नेलाई सरल, सुलभ, सजिलो होस् भनेर थप उडानको घोषणा गरिएको हो ।”
ग्रिनकार्डधारी पाइलटलाई मासिक १० लाख तलब, अन्य पाईलटलाई डेढलाख मात्रै
काठमाडौं । नेपाल वायु सेवा निगमका उच्च अधिकारीहरूको मिलेमतोमा विज्ञताको नाम दिएर पाईलट आङ्नुरी शेर्पालाई प्रतिमहिना १० लाख रूपैयाँ तलब दिएको खुलाशा भएको छ । विज्ञ भन्दै नवौँ तहमा वरिष्ठ क्याप्टेनका रुपमा नियुक्त गरिएको शेर्पाले अहिले आन्तरिक सेवामा रहेका १७ सिटे चिनियाँ जहाज वाई १२ ई उडाउँदै आएका छन् । उनी जस्तै यही जहाज उडाउने अन्य पाईलटलाई भने निगमले मासिक १ लाख ८० हजार रुपैयाँसम्म तलब दिएको छ। निगमको ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा ‘निगमका उच्च अधिकारीको मिलेमतोमा शेर्पालाई तलब र उडान भत्तासहित मासिक १० लाख रूपैयाँ दिने गरी चार वर्षका लागि नियुक्त गरिएको छ,’ निगम उच्च स्रोतले उनको नियुक्ति पत्र देखाउँदै भन्यो,‘यो निगमको नीति नियमको ठाडो उल्लंघन हो।’ स्रोतका अनुसार शेर्पाको मात्र योग्यता र अनुभव मेल खाने गरी निगम व्यवस्थापनले पाइलट आवश्यकताको सार्वजनिक सूचना प्रकाशित गरेको थियो। त्यसपछि शेर्पालाई महाप्रवन्धक निर्णय अनुसार गत जेठ २६ गते नियुक्ति गरिएको हो। स्रोतका अनुसार निगम व्यवस्थापनले शेर्पालाई मासिक ६ लाख रूपैयाँ तलब र प्रतिमहिना ७० घन्टा जहाज उडाएवापत प्रतिघन्टा ६ हजार रूपैयाँ भत्ता दिने गरी नियुक्ति पत्र दिइएको छ। करार सम्झौता अवधि रहुन्जेल तलबभत्ता बाहेक शेर्पा उनकी श्रीमती, छोराछोरी र अभिभावकलाई निगमका चिकित्सकले प्रमाणित गरे स्वास्थ्य उपचार खर्चवापत ५ हजार रूपैयाँ पनि उपलब्ध गराउने छ। त्यसबाहेक उनलाई दुर्घटना बिमा, निगम जाने जुनसुकै गन्तब्यमा उनी र उनको परिवारलाई वर्षको दुईवटा टिकट निशुल्क दिने सुविधा पनि छ। क्याप्टेन शेर्पाले अमेरिकी ग्रिनकार्ड पनि लिएका छन्। उनका छोरा अमेरिकी जलसेनाका अधिकृत हुन्। नागरिक दैनिकबाट ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २४ लाख रुख काट्नु पर्ने
काठमाडौं । प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि साना,मझौला र ठुला गरी २४ लाख रुख कटान गर्नुपर्ने देखिएको छ । विमानस्थल निर्माणको लागि तयार भएको वातावरणीय प्रभाव मुल्यांकन ईआईए प्रतिवेदनले उक्र संख्यामा रुख कटान गनुपर्ने उल्लेख गरेको छ । प्रतिवेदनले विमानस्थल निर्माणका लागि ८ हजार हेक्टर जमिन आवश्यक पर्ने औंल्याएको छ । प्रतिवेदनले विमानस्थल निर्माणका लागि ८ हजार हेक्टर जमिन आवश्यक पर्ने औल्याएको छ । नेपाल नगारिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको निजगढ विमानस्थल निर्माण आयोजनालाई केही समय अगाडि प्रतिबेदन बुझाएको थियो । एकमात्र अन्तर्राष्टिय विमानस्थलको चाप धान्न नसक्ने अवसथमा पुगेपछि सरकारले महत्वका साथ निजगढ विमानस्थल बनाउन थालेको हो ।कारोबार दैनिकबाट ।