यतिले एटिआर विमानबाट व्यावसायिक उडान थाल्यो, पहिलो उडान भैरहवामा
काठमाडौ । पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको यति एयरलाइन्सले व्यावसायिक उडान शुरु गरेको छ । विमानले शुक्रबार पहिलो उडान भैरहवा भरेको थियो भने व्यावसायिक उडान नेपालगञ्जबाट शुरु गरेको कम्पनीले जनाएको छ । निजी वायुसेवा कम्पनी यतिले कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले रु एक अर्बको लगानीमा गत साउन ७ गते काठमाडौँ ल्याएको थियो । फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको थियो । यो विमानले विराटनगर, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान भर्ने जनाइएको छ । यतिसँग एटिआरसहित सातवटा विमान छन् । यतिले बेलायतमा निर्मित ३० सिट क्षमताको जेटस्ट्रिम–४१ सिरिजका छ थान जहाज सञ्चालन गरिरहेको छ । यतिले यसवर्षभित्र थप दुई एटिआर विमान ल्याउँदैछ । अहिले खरिद गरेको कम्पनीबाटै थप दुई विमान ल्याउने तयारी छ । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वटा वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।
नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान, अध्ययन रिपोर्ट कृषि व्यवसायका लागि पनि उपयोगी
काठमाडौं । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट करिब २५० वैज्ञानिक टोली मौसम अध्ययन गर्न आएका थिए । उक्त वैज्ञानिकको टोलीले नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठान (नास्ट) को समन्वय तथा नेपालका लागि जर्मन राजदूतावासको सहकार्यमा मौसमी अध्ययन गरेको थियो । युरोपली संघको लगानी रहेको यो आयोजनाको कूल लागत करिब रु एक अर्ब ४५ करोड २० लाख (१२ मिलियन यूरो) रहेको बताइएको छ । यस किसिमको अध्ययन नेपालको नागरिक उड्डयन र कृषि व्यवसायका लागि उपयोगी हुने विज्ञ बताउँछन् । नास्टका उपकूलपति प्रा डा जीवराज पोखरेलले उचाइमा जलवायुको प्रकृति कस्तो हुन्छ भनी अध्ययन गरी तथ्य पत्ता लगाउने र त्यसको आधारमा आउँदा दिनमा विपद् व्यवस्थापनमा प्रयोग गरिने बताए । उनले अध्ययनको विस्तृत विवरण आइसकेपछि सरकारले के गर्न सक्छ भनेर भावी रणनीति तय गर्न उपयोगी हुने बताए । नाष्टले यो परियोजनाको लागि केही समयअघि समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । करिब ७० हजार फिट उचाइसम्म उड्ने सो विमान नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलोपटक नेपाल आएको थियो । जर्मनीबाट आएको ‘एम–५५ जिओफिजिका’ नामको यो विमानको ‘ग्राउण्ड ह्यान्डलिङ’ निजी वायुसेवा कम्पनी बुद्ध एयरले गरेको थियो । विमानले नेपालको हिमाली तथा दक्षिण तराई भेगको अध्ययन गरेको थियो । झण्डै एक वर्षभित्र मात्र अध्ययनको विस्तृत विवरण आउने छ । एकजना विमान चालक (पाइलट) मात्र बस्न मिल्ने विमानमा अत्याधुनिक मौसमी उपकरण जडित थिए । विमानस्थलबाट दैनिक चार घण्टाको आठवटा उडान भएको थियो । अध्ययनमा संलग्न वैज्ञानिक समूहका संयोजक जर्मनी नागरिक प्रोफेसर मार्कस रिक्सले प्राकृतिक र भौगोलिक अनुकूलताले अध्ययन गर्न सहज भएको र यो अध्ययनबाट आफूहरु निकै उत्साहित भएको बताए । नेपालको उच्च भेगमा मनसुनी अवस्था र यसको विकसित प्रक्रियाबारे अध्ययन गरी सतर्कताका उपायबारे रणनीति बनाउन सहज हुने उहाँको भनाइ छ । यो अध्ययनमा प्राध्यापक रिक्स, थोमस पिटर, फ्रिड स्ट्रोचलगायतका वैज्ञानिकको नेतृत्व खटिएको थियो । स्वचालित उपकरण जडित यो विमानले ७० हजार फिटको उचाइमा गएर उडान भरी स्वचालित विवरण रेकर्ड गरेर फर्केपछि अध्ययनमा संलग्न वैज्ञानिकले उपकरणको व्यवस्थापन गर्ने गरेका थिए । रुसको जहाज निर्माता कम्पनी मायसिस्चेभले उत्पादन गरेको यस्तो जहाजले सन् १९८८ मा पहिलो उडान गरेको थियो । सुरुमा यो जहाज रुसी सरकारी वायुसेवा कम्पनी एरोफ्टले सञ्चालन गरेको थियो । यस्तो जहाजले २१ हजार ३६० मिटर ९७० हजार ८० फिट० उचाइसम्म उडान गरेको रेकर्ड छ । यो जहाजको लम्बाइ २२ मिटर र चौडाइ (एक पखेटाबाट अर्को पखेटासम्म)३७ मिटर छ । यसको उचाइ भने करिब पाँच मिटर छ । खाली अवस्थामा जहाजको तौल १३ हजार ९९५ किलो हुन्छ । अधिकतम १० हजार किलो तौल बोकेर उड्न सक्छ । यस्तो विमान विश्वमा दुईवटा अमेरिकामा एक र रुसमा एक रहेको छ । यो विमान विश्वयुद्धताका प्रयोग गरिएको बताइन्छ । युरोपेली संघको आर्थिक सहयोगमा जर्मनीको ‘अल्फ्रेड वेग्नर इन्स्टिच्युट’ ले यो जहाजलाई काठमाडौँं ल्याएको हो । यही संस्थाले सञ्चालन गरेको मौसमसम्बन्धी अभियान ‘स्ट्राटोक्लिल क्याम्पेन’ पूरा गर्न जहाज नेपाल आएको थियो । यो जहाजले नेपाली आकासमा ७० हजार फिटसम्मको उचाइमा गएर मौसमसम्बन्धी विस्तृतमा अध्ययन गरी तथ्यांक संकलन गरेको थियो । संकलित तथ्यांकलाई वैज्ञानिकले थप अध्ययन गरी अन्तिम विवरण पठाउने छन् । यहाँस्थित युरोपेली संघका वरिष्ठ कार्यक्रम प्रबन्धक रञ्जनप्रकाश श्रेष्ठका अनुसार यो आयोजनामा साझेदार गर्ने ११ देश क्रमशः जर्मनी, फ्रान्स, नेदरल्याण्ड, इङल्याण्ड, नर्वे, स्वीटजरल्याण्ड, डेनमार्क, स्पेन, इटाली, हंगेरी र रुसी महासंघ छन् । युरोपेली संघको ‘सेभेन रिसर्च फ्रेमवर्क प्रोग्राम’ (एफपी–७ ) अन्तर्गतको परियोजना सन् २०१३ मा सुरु भएको थियो । यसको कूल बजेट ५० विलियन युरो रहेको बताइएको छ । इयुमा ‘होराइजन २०२०’ जस्ता थुप्रै अवसर रहेको र अनुसन्धानका लागि नेपाली वैज्ञानिकले लाभ लिनसक्ने प्रबन्धक श्रेष्ठको भनाइ छ । जर्मनी वैज्ञानिकको संलग्नतामा भएको अध्ययन नेपाली वैज्ञानिकका लागि ठूलो अवसर भएको र यसलाई व्यावहारिक प्रयोग गर्नसकेको खण्डमा फाइदा पुग्ने नास्टको भनाइ छ । रासस
१२६ प्रतिशतले नाफा बढाउने सोल्टीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ मात्रै, होटलले कमाइ भने १८ करोड
काठमाडौं । पाँचतारे होटल सोल्टीले गत आर्थिक वर्षमा १२६ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो होटलले गत वर्ष १० करोड २० लाख रुपैयाँले नाफा बढाएर १८ करोड २९ लाख पुराएको छ । यस्तो नाफा अघिल्लो वर्ष ८ करोड ८ लाख रुपैयाँ मात्रै थियो । २०७२ को भूकम्पपछि पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावका कारण अघिल्लो वर्ष सोल्टीको नाफा घटेको थियो। गत वर्ष पर्यटकीय आगमनमा सुधार भएसँगै होटलले आफ्नो नाफा पनि बढाएको छ । यो होटलको कर अघिको नाफा २३ करोड ६६ लाख छ । होटलले गत आवको करका लागि पाँच करोड ३६ लाख छुट्याएको छ । यो होटलको सेयर पुँजी ५७ करोड ९१ लाख रुपैयाँ छ । यसको लगानी ८ करोड ३९ लाख रहेको छ । यो होटलको प्रति सेयर आम्दानी ३ रुपैयाँ १६ पैसा मात्रै रहेको छ । यसको प्रति सेयर अंकित मूल्य १० रुपैयाँ हो । प्रति सेयर नेटवर्थ २३ रुपैयाँ ९७ पैसा रहेको छ ।