मनाङमा विदेशी पर्यटक र प्रदर्शकको हिउँपहिरोमा निधन
मनाङ । यही फागुन ९ गतेदेखि सम्पर्कविहीन एक विदेशीसहित एक नेपाली पथप्रदर्शकको हिउँपहिरोमा परी निधन भएको छ । अन्नपूर्ण पदमार्गमा आएका हल्याण्डका नागरिक डोलोमा डेसीलेन्ट र उनका पथप्रदर्शक अजय ढकालको मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत पर्ने ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिमपहिरोमा परी मृत्यु भएको हो । थोरङपासका लागि माथिल्लो भेग गुम्छाङ हुँदै लेदरसम्म पुगेर फर्कने क्रममा ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिउँपहिरोमा परी निधन भएका दुबैको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक सर्वेन्द्रकुमार विकले बताए । शव परीक्षणका लागि आजै हेलिकप्टरबाट शव काठमाडौंँमा लैजाने तयारी भएको प्रहरी निरीक्षक सर्वेन्द्रकुमार विकले जानकारी दिए । रासस
सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति, शुरु भयो उडान
काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले पुनः उडान शुरु गरेको छ । विमानस्थलको बक्यौता नबुझाएपछि झण्डै तीन महिना ग्राउण्डेड भएको उक्त एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा शुल्कवापत ५० लाख भुक्तानी गरेपछि पुनः उडान अनुमति पाएको हो । सौर्यले काठमाडौँबाट पहिलो उडान भैरहवा भरेको थियो । विराटनगरलगायत अन्य गन्तब्यमा पनि उडान भरेको विमानस्थलले जनाएको छ । एयरलाइन्सले विमानस्थललाई गत मङ्गलबार पहिलो चरणको किस्तावापत रु ५० लाख तिरेको थियो । बाँकी रकम एक महिनाभित्र तिरिसक्ने कम्पनीका प्रवक्ता मुकेश खनालले जानकारी दिए । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सो कम्पनीले विमानस्थललाई जरिवानासहित चार करोड बक्यौता रकम तिर्नुपर्नेछ । दुई महीनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले बचन दिएको उनले उल्लेख गरे । नयाँ व्यवस्थापनका साथ उडान सुरु गरेको सौर्यले शनिबारदेखि नियमित तीन स्थानमा उडान सुरु गर्दैछ । यो कम्पनीसँग हाल दुई बम्बार्डिएर जहाज छन् । सौर्यले अबको ६ महिनाभित्र तीन एटिआर जहाज भित्र्याउने तयारी गरेको बजार व्यवस्थापक प्रमुख खनालले जानकारी दिए । हाल विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान भर्दै आएको सौर्यले नयाँ जहाजबाट पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान भर्ने जनाएको छ ।
मनकामना मन्दिर पुनःनिर्माणमा १४ करोड खर्च, छाना, गजुर र झ्यालढोकामा १८ किलो सुन
गोरखा । भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि १४ करोडभन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् चार करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु श्रेष्ठले जानकारी दिए । “मन्दिर निर्माणका लागि कूल १४ करोड ६४ लाख खर्च भएको छ”, उनले भने, “सरकारले उपलब्ध गराएकोबाहेक सबै रकम भक्तजनबाट सहयोग सङ्कलन भएको हो ।” मन्दिर निर्माणका लागि सबैभन्दा धेरै खर्च सुनमा भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । मन्दिरको छाना, गजुर, झ्यालढोका लगायतमा सुनको मलम्बा लगाउन १८ केजी सुन खर्च भएको छ । मन्दिर निर्माण गर्दा कर्मचारीतर्फ कूल ५५ लाख ६५ हजार र प्रशासनिकतर्फ ६२ लाख ४१ हजार खर्च भएको छ । त्यस्तै मन्दिर निर्माणको ज्याला, निर्माण सामग्री, सुनलगायत गरी १३ करोड ४६ लाख ८० हजार खर्च भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । मन्दिर जीर्णोद्धार समितिले चन्दा बाकस, बैंकमार्फत र विभिन्न रसिदमार्फत मन्दिर निर्माणका लागि सहयोग सङ्कलनको अभियान चलाएको थियो । अभियानबाट नगद तथा जिन्सी गरी १५ करोड २७ लाख २१ हजार ९२८ सङ्कलन भएको र बाँकी रकम एक करोड ४० लाख ४४ हजार ७०४ बैंक ब्याजबाट आम्दानी भएको थियो । मन्दिर जीर्णोद्धारपछि समितिको खातामा अहिले कूल रु पाँच करोड ८६ लाख मौज्जाद रहेको बताइएको छ । करीब ३०० वर्ष अघि निर्माण भएको मनकामना मन्दिर विसं १९९० को भूकम्पले दक्षिण पश्चिमतर्फ छ इञ्च ढल्किएपछि २०६८ सालमा मन्दिर जीर्णोद्धारका लागि छलफल चलेको थियो । विसं २०७२ को भूकम्पले मन्दिर पूर्णरुपमा क्षति पुर्याएपछि पुनःनिर्माण गरिएको हो । विसं २०७२ जेठ २५ गते शुभसाईत पारी मन्दिरको गजुर झिकेर साउन ६ गते जगपूजा गरी मन्दिर पुनःनिर्माणको काम अघि बढाइएको जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए । समितिले तत्कालीन अवस्थामा जीर्णोद्धारका लागि आठ करोड ४८ लाख लाग्ने प्रारम्भिक अनुमान तयार गरेको भए पनि निर्माणका क्रममा लागत बढेको हो । समितिले राष्ट्रिय पुरातत्व विभागले तोकेको मापदण्डअनुसार मन्दिर निर्माण गरेको संयोजक श्रेष्ठले जानकारी दिए । “यसअघि मन्दिरको छानामा तामाको जलप लगाइएको थियो, अहिले मन्दिरको गजुर, छाना, मूलढोकामा सुनको जलप लगाएर झकिझकाउ परिएको छ,” उनले भने । मन्दिरको छानामा सुनको जलप लगाउँदा नाइट्रिक एसिड प्रयोग गरेर लगाउने गरेको भए पनि आफूहरुले सुनको जलप लगाउँदासमेत पुरानै प्रविधिअनुसार चुक, नुन, अमिलो र इँटाको ढुटो प्रयोग गरेर लगाइएको उनले जानकारी दिए । विसं २०७४ चैत महिनाभित्रै मन्दिर पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि भूकम्पपछि नाकाबन्दी, मन्दिरलाई चाहिने आकारको काठको अभाव लगायतका कारण करीब आठ महीनापछि निर्माण सम्पन्न भएको हो । मनकामना मन्दिरमा नेपालसहित भारतलगायतका देशबाट समेत भक्तजन आउने गरेका छन् । मन्दिर दर्शन र पूजाआजाका लागि वार्षिक १२ लाखसम्म भक्तजन आउने गरेका छन् । रासस