सौर्य एयरलाइन्सले तिर्यो १ करोड बक्यौता, दुई महिनाभित्र बाँकी ३ करोड तिर्ने
काठमाडौँ । निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करीब एक करोड बक्यौता तिरेको छ । पहिलो चरणको किस्ताबापत ५० करोड तिरेर यही फागुन २४ गतेबाट पुनः उडान शुरु गरेको सौर्यले आइतबारसम्म ९८ लाख ५० हजार बुझाएको विमानस्थलले जनाएको छ । कम्पनीले फागुन २१ गते पहिलो किस्ताको ५० लाख बक्यौता तिरेको थियो । दुई महिनाभित्र सबै बक्यौता तिर्ने वचनपछि विमानस्थलले सौर्यलाई उडान अनुमति दिएको थियो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सो कम्पनीले विमानस्थललाई जरिवानासहित चार करोड बक्यौता रकम तिर्नुपर्नेछ । दुई महिनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले वचन दिएको उनले उल्लेख गरे । सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । उसले आगामी वैशाखभित्र नयाँ जहाज भित्र्याउने तयारी गरेको छ । उक्त एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले अप्रिल १५ भित्र सिआरजे २०० सिरिजको जहाज ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । हाल सौर्यले विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको छ । यो कम्पनीसँग अहिले दुई बम्बार्डिएर जहाज छन् । सौर्यले अबको ६ महीनाभित्र तीन एटिआर जहाज भित्र्याउने योजना बनाएको छ । रासस
चन्द्रगिरि रिसोर्ट चैत्र १ देखि सञ्चालनमा आउने, केबुलकार र हेलिकप्टर यातायातकाे सुविधा
काठमाडौं । धुलाम्मे काठमाडौं खाल्डोको व्यस्तताबाट ३० मिनेटको यात्रापछि पुगिन्छ थानकोट प्रहरी चौकी । त्यो चौकीबाट ३ सय मिटर बायाँ लागेपछि आउँछ चन्द्रगिरि केबलकारको बटम स्टेशन । समुन्द्री सतहबाट १४ सय मिटरको उचाईमा रहेको काठमाडौं खाल्डोबाट १५ मिनेट केबलकारको यात्रा गरेपछि पुगिन्छ, चन्द्रागीरी डाँडो जहाँ छ भालेश्वर मन्दिर । यो त्यहि ठाउँ हो जहाँबाट पृथ्वीनारायण शाहले काठमाडौंलाई पहिलो पटक नियालेका थिए र सोही पहिलो नजरबाटै यहाँको राजा हुने सपना देखेका थिए । पृथ्वीनारायण शाहले सपना देखेको त्यहि चन्द्रगिरि डाँडोमा बसेर यतिबेला बर्षेनी लाखौं आगन्तुकले सपना देखिरहेका छन् । अब त्यहिँ थपिँदैछ बुटिक रिसोर्ट । र, त्यो बुटिक रिसोर्टको ‘सफ्ट ओपनिङ’ चैत्र १ गते गर्ने तयारीमा चन्द्रागिरि व्यवस्थापन लागेको छ । ‘एउटा रेष्टुरेन्ट, एउटा बार र केहि फुड आईटमसहित रिसोर्टको सफ्ट ओपनिङ गर्दैछौं’, चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेश प्रताप शाहले भने । त्यसका लागि हाल २ वटा ब्लकमा ४८ वटा रुम पूर्णत तयार भएका छन भने एउटा रेष्टुरेन्ट पनि । स्वीट रुम र अर्काे रेष्टुरेन्ट भने केहि समयपछि मात्रै खुला हुनेछ । रिसोर्ट सञ्चालनका लागि केहि समय ढिला भैसकेको निष्कर्षसहित चैत १ गतेलाई पहिलो चरणको सेवा आरम्भ गर्ने साइतका रुपमा अघि सारेको पनि शाह बताउँछन् । त्यसको ठिक ३ महिनापछि चन्द्रागिरि हिल्स रिसोर्ट पूर्ण रुपले सञ्चालनमा आउनेछ । चैत, बैशाख र जेठ महिनाको पर्यटकीय सिजनलाई मध्यनजर गरेर ‘ट्रायल ओपनिङ’ पछि सेवामा विस्तार र मूल्य निर्धारण हुनेछ । ‘बुटिक रिसोर्ट’का रुपमा पाँच तारे होटलको सुविधासहित सञ्चालनमा आउने रिसोर्टले ‘सर्भिसमा कम्प्रोमाइज’ नगर्ने अठोट कसेको छ । शाह भन्छन–‘पछिल्लो समय फाइभ स्टार होटलहरुको सेवा र गुणस्तरमा प्रश्नहरु उठ्ने गरेका छन्, हामी यी दुबै पक्षमा कुनै सम्झौता गर्दैनौं ।’ गत वर्ष ७ लाख स्वदेशी तथा विदेशी पर्यटक केबलकार चढेर चन्द्रागिरि हिल्सको टुप्पोमा पुगेका थिए । त्यसरी केबलकार चढेर चन्द्रागिरि पुग्नेहरुलाई त्यहि बास बसेर प्रकृतिसँग स्पर्श गराउने अवसर दिन भन्दै रिसोर्ट निर्माण गरिएको हो । २, ५५१ मिटर उचाईमा रहेको रिसोर्टमा मौसम चिसो र हल्का पानी वर्षासँगै हिउँ पनि पर्छ । यस वर्षको हिउँदमा मात्र छ पटक चन्द्रागिरिमा हिमपात भयो भने निर्माणाधिन रिसाेर्ट घरीघरी हिउँले ढपक्क ढाक्यो । उच्च हिमश्रृंखला, घना वनको आनन्दका साथमा शान्त काठमाडौं उपत्यकाको दृश्यावलोकन समेत रिसोर्टबाट गर्न पाइन्छ । हिउँले ढपक्क भएकाे चन्द्रागिरि रिर्साेट जसरी पोखरा, चितवन, अत्रपूर्ण राउण्ड जस्ता पर्यटनका प्याकेज बनिरहेका छन्, त्यसरी नै चन्द्रागि रिलाई पूर्णतः नयाँ गन्तव्यका स्थापित गराउने सोँच बनेको छ । वैवाहिक समारोह, हनीमुन र कर्पारेट ईभेन्ट हब पछिल्लो समय नेपालमा विवाह, पार्टी, कर्पाेरेट इभेन्ट, मिटिङहरुका उपयुक्त गन्तव्य खोज्ने क्रम बढेको छ । त्यति मात्रै होइन, हनिमुन र सप्ताहन्त (विकेन्ड) मनाउने चलन पनि बढिरहेको छ । यसैलाई आफ्नो उपयुक्त बजारका रुपमा विस्तार गर्ने योजना रिसोर्टले बनाएको छ । ‘भारतमा विवाहका लागि राज भिल्ला, ओमर भिल्ला जस्ता ठाउँहरु रोजिन्छन, हामीले पनि चन्द्रागिरि हिल्स रिसोर्टलाई त्यस्तै गन्तव्यका रुपमा स्थापित गराउन चाहेका हौं’, शाहले सुनाए । कस्तो हुनेछ रिसोर्ट ? रिसोर्ट कुल १ सय रुम क्षमताको हुनेछ । जसमा स्वीट रुम, डिलसक्स रुम, एक्युटिभ रुम रहनेछन् । त्यसका अलवा नेपाली पन झल्कने र विश्वस्तरीय सेवा उपलब्ध हुने कफि शप र फुड कोर्ट हुनेछ । नेपाली फुड आइटमहरुलाई बिशेष प्राथमिकतामा राखिनेछन् । रिसोर्टमा एउटा बार, एउटा बोर्ड रुम र ३ वटा कन्फ्रेन्स हल हुनेछन् । त्यस बाहेक स्वीमिङ पुल, स्पा र हेल्थ क्लब पनि हुनेछन् । त्यस्तै, भिआईपी गेष्टहरुका लागि २ वटा हेलिप्याडको व्यवस्था पनि गरिएको छ । विदेशबाट आउने पर्यटकहरुलाई विमानस्थलबाट सिधै चन्द्रागिरि लैजाने सुविधा समेत प्रदान गरिनेछ । साथै विवाह समारोहमा बेहुला बेहुलीलाई हेलिकप्टरबाट आवतजावतको सुविधा प्रधान गर्ने कम्पनीको योजना छ । अधिकांश मानिस केबुलबार चढेर पुग्नेछन् । साथै, रिसोर्टका सबै संरचनाहरु ह्विलचेयरमैत्री छन् । अपाङ्गता भएका यात्रुहरुलाई चन्द्रागिरी केबुलकारदेखि मन्दिरसम्म सबै स्थानमा भ्रमण सक्ने गरि पूर्वाधार निर्माण गरेकोले नेपाल अपांगता महासंघले चन्द्रागिरीलाई अपांग मैत्री भनेर प्रमाणित गरिदिएको छ । सर्भिस स्ट्याण्डर्ड चन्द्रागिरिले हाललाई विदेशी चेन होटलसँग साझेदारी गर्ने योजना बनाएको छैन । विदेशी होटल तथा रिसोर्टको चेन लिँदा पनि सर्भिस दिने नेपाली नै भएकाले अब आफ्नै ब्राण्ड स्थापित गर्ने अठोट देखिन्छ । ‘नेपालीपन झल्कने मौलिक रिसोर्ट बनाउन खोजेका छौं । हामीमा अतिथि देवो भवःको संस्कृति नै छ । आत्मियतासहितको नेपाली स्ट्याण्डर्डको सर्भिस दिन्छौं । बेलायत वा अमेरिकाको जस्तो होइन, नेपाली मोडलको चन्द्रागिरिको जस्तो सर्भिस होस भन्ने हाम्रो चाहना हो । त्यसैले हाललाई चेनमा जाने सोच छैन’–शाहले भने । नेपाली फुड, आत्मिय सेवा नेपाली फुडलाई वेष्टर्न स्टाइलमा शोकेस गर्ने प्रयास गर्ने शाह बताउँछन् । खाना र सर्भिसलाई फिडब्याक अनुसार थप परिस्कृत गर्दै जाने उनी बताउँछन् । पूर्वाधारमा सम्झौता नगरेकाले सर्भिसमा पनि सम्झौता नगर्ने उनको भनाई छ । त्यसकारण यतिबेला उनको टिम ‘सिग्नेचर डिस’बारे केही अध्ययन गरिरहेको छ । नेपालको हस्पिटालिटी विश्व बजारमा राम्रो मानिन्छ । त्यसैलाई आत्मसाथ गर्दै रिसोर्टले शतप्रतिशत जनशक्ति नेपाली नै परिचालन गर्दैछ । केबलकारमा ८० स्थानीयले नै रोजगारी पाएका छन् । नेपालीपनको प्रवद्र्धन गर्ने भनेपछि स्थानीयलाई बिशेष ग्राह्यता दिएको उनले बताए । हाल केबल कारमा २ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । रिसोर्टले अझै थप रोजगारीको अवसर ल्याउँछ । ‘वातावरण, पूर्वाधार, सुविधालाई मिल्ने गरि मूल्य निर्धारण हुनेछ । सेवा सुविधामा सम्झौता नगरेपछि मूल्यले खासै अर्थ राख्दैन् । फेरी पनि यसलाई न्यायसंगत नै बनाउने छौं, मूल्यमा गुनासो आउँदैन’–शाहले भने । ४ अर्ब लगानी २ अर्ब ५० करोड चुक्ता पुँजी भएको कम्पनीले हालसम्म ४ अर्ब लगानी गरेको छ । कम्पनीले बार्षिक साधारण सभाबाट १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्ने निर्णय गरिसकेको छ । साधारण सेयर निष्काशन गर्ने सम्बन्धमा नियमित प्रक्रियागत काम भईरहेको छ । ‘सम्बन्धीत निकायहरुबाट अनुमति जति चाँडो आउँछ त्यति चाँडो नै सार्वजनिक सेयर निष्काशन हुन्छ’ उनले भने । पाराग्लाईडिङसहितका थप योजना चन्द्रागिरिमा ७ सय मिटर लामो जिप लाइन निर्माण हुँदैछ । त्यो भन्दा पहिले मिनी जिप लाइन र बालबालिकाका लागि केन्द्रित गरेर छुट्टै परियोजना पनि आउँदैछ । त्यति मात्रै होइन, क्लाम्बिङ बनाउने योजना पनि तय भएको छ । पाराग्लाईडिङ पनि विकास हुँदैछ । चन्द्रागिरिबाट उडेको पारागलाईडिङलाई चित्लाङ लैजाने योजना छ । हावाको चाप र भूगोलको बनोटबारे विस्तृत अध्ययन गर्ने, परीक्षण उडान भर्ने तयारी भईरहेको छ । स्थानीय विकासमा प्रभाव गत वर्ष ७ लाख भन्दा बढीले चन्द्रागिरी केबलकारको यात्रा गरेका थिए । यसपाली दैनिक २ हजारको हाराहारीमा आगन्तुकहरुको संख्या पुगिरहेको छ । मानिसहरुको आवागमन वृद्धिसँगै स्थानीय तहमा नयाँ बजारको विकास भएको छ । केबलकारको तल्लो स्टेशनमा ९० वटा भन्दा बढी क्याफे, होटल र रेष्टुरेन्ट खुलेका छन् । त्यहाँ सैयौंले रोजगारी पाएका छन् । चन्द्रागिरि नगरपालिका, इन्द्रसरोबार गाउँपालिका र थाहा नगरपालिकालाई छोएको चन्द्रागिरि हिल्सले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि नयाँ उत्साह थपिएको छ । चित्लाङलाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउन चन्द्रागिरि हिल्सले ठूलो योगदान पुर्याएको छ । २ वर्ष भन्दा बढी समय भयो केबलकार सञ्चालनमा आएको । ‘३ वटै सरकारसँग राम्रो सम्बन्ध छ । ३ वटा स्थानीय तहसँग हामीले निरन्तर सहकार्य भैरहेको छ । सबैको सहयोगबाट नै यस परियोजनाले सफलता पाईरहेको छ’ शाहले भने ।
भरतपुर विमानस्थलमा लगेज स्क्यान गर्ने ९० लाखको मेशिन जडान गरिंदै, अब यात्रुले झोला खोलेर देखाउनु पर्दैन
चितवन । भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको छ । विमानस्थलमा अत्यावश्यक तर हालसम्म जडान नभएका उपकरण भित्र्याइएको छ भने विभिन्न संरचना निर्माण कार्य भइरहेका छन् । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सञ्चार तथा सहायक उड्डयन विभागले लगेज स्क्यान गर्ने उपकरण खरिद गरी पठाएको छ । सो उपकरणलाई ९० लाख पर्ने गौतमले बताए । एक साताभित्रमा उपकरण जडान भई सक्ने उनले बताए । विमानस्थलमा लगेज स्क्यानर नहुँदा यात्रुले झोला खोलेर देखाउनुपर्ने बाध्यता रहेको छ । विमानस्थलको स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइएको छ । यसै क्रममा धावनमार्ग ‘ओभर ले’ गरिँदैछ । एक हजार २०० मिटरको धावनमार्गलाई निर्माण पछि हालसम्म ‘ओभर ले’ गरिएको छैन । यससँगै पार्किङ क्षेत्र साँघुरो भएकाले विस्तार गरिँदै छ । अहिले साना जहाज चारवटा अटे पनि एटिआर र जेट स्टिम एक साइडमा एउटा मात्रै अटाउन सक्छन् । पार्किङ निकै साँघुरो भएको महसुस विगतदेखि नै हुँदै आएको बताउँदै गौतमले दुवैतर्फ कम्तीमा पनि २०÷२० मिटर थप गर्न लागिएको छ । एउटा हेलिप्याड छुट्टै बनाउने र बाँकी चारवटा विमान सजिलैसँग अटाउने गरी पार्किङको व्यवस्थापन गर्न लागिएको हो । सबै काम यसै आर्थिक वर्षमा शुरु हुने उनले बताए । बुद्ध, यती र सिम्रिक एयरलाइन्सले भरतपुर–काठमाडौँ दैनिक १० जहाज उडाउँदै आएका छन् । भरतपुर विमानस्थल आसपासका क्षेत्रमा ठूला संरचना बनेसँगै उडान र अवतरण कठिन हुँदै आएको छ । विमानस्थलको धावनमार्ग विस्तार गर्न पहलसमेत शुरु गरिएको छ । धावनमार्ग विस्तारसँगै ठूला जहाज अवतरण गर्न र रात्रिकालीन सेवासमेत दिन सकिने जनाइएको छ ।