श्री एयरलायन्सको काठमाडौँ–धनगढी हवाई उडान शुरु
कैलाली, १९ भदौ । साउन २७ गतेदेखि काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले आजबाट फेरि थप एक उडान शुरु गरेको छ । श्री एयरलायन्सको थप उडानपछि काठमाडौँ–धनगढीका लागि दैनिक छवटा उडान हुने भएका छन् । साेमबारबाट थपिएकोे उक्त एयरलायन्सको पहिलो उडान काठमाडौँबाट बिहान ९ः५५ उडेर १०ः५० मा आइपुगेको थियो भने दोस्रो उडान दिउँसो २ः०० बजे हुने धनगढी विमान स्थलका प्रमुख छविसिंह ठकुल्लाले बताए । उहाँले श्री एयरलायन्सले दशैँका बेला यात्रुको सुबिधाका लागि पनि दैनिक दुई उडान गर्न थालेको जानकारी दिए । यात्रुको चाप बढ्दै गएकाले आजदेखि सो एयरलायन्सले दैनिक दुई उडान गर्न थालेको एयरलायन्सका धनगढी इञ्चार्ज गजेन्द्रबहादुर चन्दले बताए । यसअघि धनगढी विमानस्थलबाट नेपाल एयरलायन्सले एक, निजी क्षेत्रको बुद्ध एयरलायन्सले दुई, सौर्य एयरलायन्सले एक र श्री एयरले आज थप एक गरी जम्मा दैनिक छवटा उडान हुने भएका छन् । सडक यातायातबाट काठमाडौँसम्मको यात्रा गर्न सास्ती खेपिरहेका यस क्षेत्रका उपभोक्तालाई एकपछि अर्को गर्दै हवाई सेवा थपिन थालेपछि अब भने राहत हुने विश्वास गरिएको छ । विमानस्थलमा दुईवटा जहाजका लागि मात्र पार्किङ र नयाँ रिपिटर पावर भए पनि हाल भने दैनिक उडान थपिन थालेपछि आवश्यक पूर्वाधारको अभाव हुने देखिएको छ । रासस
कात्तिक १८ मिस टुरिजम–२०१७ आयोजना गरिने, सोमबारदेखि आवेदन खुल्ने
काठमाडौं । प्वाइन्ट मिडिया प्रालिले आगामी कात्तिक १८ गते ‘मिस टुरिजम – २०१७’ आयोजित गर्ने भएको छ । यसपटक “मिस टुरिजम–२०१७” मा सहभागी हुन चाहनेहरुका लागी भोलि भाद्र १९ गते सोमवार वाट असोज ६ गते शुक्रवार सम्म देशभर आवेदन खुल्ला गरिएको छ । “मिस टुरिजम–२०१७” का लागी १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाहरुले आवेदन दिन पाउनेछन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले “मिस टुरिजम–२०१७” को आयोजना गर्न लागिएको प्वाईन्ट मिडिया प्रा.लि का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए । मिस टुरिजम–२०१७ लाई नगद पचास हजार रुपैयाँ, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गर्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै मिस टुरिजम फस्ट रनर अप–२०१७ लाई नगद ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१७ लाई नगद २० हजार रुपैयाँ प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसर हरु पनि प्रदान गरिने आयोजकले जनाएको छ । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र प्रसाद रिजालले मिस टुरिजम रुपमा मात्र नभएर विचारमा पनि योग्य रहेको आँफुहरुले अघिल्लो वर्ष नै देखेको वताउँदै रुप ज्ञान दुवैमा योग्य व्यक्ति मिस टुरिजम हुनुपर्ने वताए ।
दुबै हात नभएकी पाइलट जेसिकालाई स्वागत
काठमाडौं । जन्मदेखि नै दुई हात नभएकी तर १० हजार फिटमाथि प्लेन उडाएर वल्र्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई काठमाडौं नयाँ वानेश्वर स्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजि (नाट)ले सम्मान गरेको छ । उड्डयन क्षेत्रमा जेसिका विश्वकी एकमात्र विशाल प्रतिभासहित उत्प्रेरणाको स्रोत रहेको जनाउँदै नाटले उनलाई सम्मान गरेको छ । ह्यान्डिकेप्ट इन्टरनेशनलकी विश्व सद्भावना राजदूत जेसिकाले उड्डयन एउटा जोखिम र जनभावनाको पेशा रहेको सम्मानका क्रममा बताइन् । अमेरिकन तेक्वान्दो एशोसीएशनकी व्ल्याक बेल्ट समेत रहेकी जेसिको जन्म नै ‘कठिन’ मध्येको एक मानिन्छ । एरिजोना विश्वविद्यालयबाट साइकोलोजीमा स्नातक जेसिकाले सूचनाको विषयमा पनि अध्ययन गरेकी छिन् । उनले १४ वर्षको उमेरदेखि कृत्रिम हातको साहरा छाडेकी जेसिका खुट्टाले गाडी चलाउने, प्रति मिनेट २५ शव्द टाइप गर्ने क्षमता राख्छिन् । उनले २००५ मा प्लेन उडाएकी थिइन् । २००८ मा उनलाई पाइलटको लाइसेन्स दिइएको थियो । जेसिका विश्वका लागि उदाहरणीय पात्र रहेको बताउँदै सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा पाइलट विजय लामाले उनलाई खादा लगाएर सम्मान गरेका थिए । नाटका विद्यार्थी र सञ्चालक समुहले जेसिकालाई कलेजले सम्मान गर्न पाउनु निक्कै गर्वको अवसर रहेको बताएका थिए । नेपालमा पहिलो पल्ट कलेजका रूपमा नै उड्डयनप्रति चासो हुनेलाई सुविधा दिएकोमा लामाले नाटलाई धन्यवाद पनि दिए । ‘उड्डयन क्षेत्रको अध्ययन गर्न नेपालमा कठिन थियो । तर, नाटले यो सुविधा दिएको छ ।’, उनले भने,‘जेसिका कक्स जस्तो प्रेरणाको स्रोतलाई ल्याएर स्वागत पनि गर्नुभयो । यो सुविधा दिएकोप्रति कलेजलाई धन्यवाद दिन चहान्छु ।’