यती एअरलाइन्स भित्र्यायो दोश्रो एटीआर विमान, भैरहवा र भद्रपुरमा सेवा विस्तार

काठमाडौं । यती एअरलाइन्सले ट्विन ईञ्जिन सहितको आधुनिक प्रविधियुक्त एटीआर७२-५०० विमानको सेवा थप विस्तारित गर्ने क्रममा दोश्रो एटीआर विमान नेपालमा भित्र्याएको छ । एअरलाइन्सद्धारा उक्त विमान सोमबार त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलमा अवतरण गरिएको हो । एटीआर ७२-५०० फ्रेञ्च-ईटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो । उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनीका कारण एटीआर ७२–५०० विश्व बजारमै सर्वाधिक सफल क्षेत्रीय विमानका रुपमा स्थापित हुँदै गइरहेको छ । त्यसैगरी, वैदेशिक बजारमा निरन्तर विस्तारित हुँदै विश्वका नयाँ बजारमा समेत प्रवेश पाइरहेको छ । एटीआर ७२–५०० लाई ह्यामिल्टन सन्डस्ट्रान्ड कम्पोजिट ब्लेड प्रोपेलर सुसज्जित दूई ओटा प्राट एण्ड ह्विट्ने पीडब्ल्यू १२७ ईञ्जिनले शक्ति प्रदान गर्दछ । यी अत्याधुनिक प्रविधि सुसज्जित ईञ्जिन र प्रोपेलरले अद्वितिय कार्यक्षमता प्रदर्शन गर्नुका साथै, ईन्धन मितब्ययी, न्यून ध्वनी र न्यून ग्रिनहाउस ग्यास उत्सर्जन गर्दछ । एयर न्यूजिल्याण्ड, एयर लिंगस, एसएएस, एचओपी, फ्लाइबी, अजुल, बैंकक् एयरवेज, जेट एयरवेज, मालिन्डो लगायत एटीआर ७२–५०० विमानका वैश्विक रुपमा परिचित हवाई सेवा प्रदायकहरु हुन् । यस एटीआर ७२–५०० विमान नोर्डिक एभिएसन क्यापिटलबाट वित्तिय पट्टा अन्तर्गते खरिद गरिएको हो। ४७ देशका ७० एयरलाइन्सले उपभोक्तालाई सेवा प्रदान गरिरहेको एनएसी उद्योगकै अग्रणी क्षेत्रिय पट्टादाता हो । एयरोमेक्सिको, एयर क्यानाडा, ब्रिटिस एयरवेज, एलवोटी, एयर बर्लिन, आजुल, गरुडा, फ्लाइबी, एचओपी लगायत अग्रणी एयरलाइन्स तथा प्रमुख क्षेत्रीय वाहक एयर नोस्ट्रम, जेट टाइम, ईटिहाद रिजनल, बिन्टर, एयर केबीजी लगायत यसका सेवा ग्राहीका रुपमा रहेको छन् । एनएसीको हालका ३ सय ५० भन्दा बढी ओटा स्वामित्व प्राप्त र ३९ ब्यवस्थापन सम्हालिएका विमानमा एटीआर ४२, एटीआर ७२, बम्बारडियर ड्याश ८, सीआरजे९००, सीआरजे१०००, सीएस३००, ई१७०, ई१७५, ई१९० र ई१९५ पर्छन् । एटीआर र बमर्बािर्डयर विमानका लागि एनएसी विश्वकै अधिक स्वामित्व प्राप्त तथा पट्टादाताका रुपमा परिचित छ । यती एयरलाइन्सले आफ्नो यो दोश्रो विमान थप भएपश्चात भैरहवा र भद्रपुर स्टेशनमा समेत आफ्नो सेवा विस्तार गर्ने छ ।

अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि त्रिदेशीय सम्झौता

काठमाडौं । अन्तरदेशीय पर्यटन प्रवद्र्धन सहकार्यको दायरालाई फराकिलो बनाउँदै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रीयस्तरमा पुर्याई पर्यटन प्रवद्र्धन गर्न त्रिदेशीय सम्झौता भएको छ । होटल एशोसिएशन नेपाल (हान), फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डिया र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानकाबीच हालै बैंगलोरमा समझदारी भएको हानले एक विज्ञप्ति मार्फत जनाएको छ । उक्त समझदारीपत्रमा हानका अध्यक्ष अमरमान शाक्य, फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डियाका अध्यक्ष के श्यामा राजु र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानका अध्यक्ष थिन्ले पाल्देन दोर्जीले हस्ताक्षर गरेका थिए । सो समझदारीपत्रमा तीनै देशका होटल एशोसिएशनमार्फत नेपाल, भारत र भुटानबीच अन्तरदेशीय पर्यटन प्रवद्र्धनलगायत होटल उद्योगमा बढ्दै गइरहेको आतिथ्यतासम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम आदान प्रदान गर्ने कुरा उल्लेख छ । पर्यटन विकासका लागि दक्ष जनशक्ति नै मुख्य आधार रहेकाले तीनवटै मुलुकका होटल एशोसिएशनको समन्वयमा अन्तरदेशीय तालिम, गोष्ठी, प्रवद्र्धनात्मक कार्यक्रम, वार्षिक बैठक पालैपालो आयोजना गरिने समझदारी भएको छ । यस्तै, अन्तर्राष्ट्रियस्तरको आतिथ्यता प्रदान गर्नका लागि आवश्यक पर्ने तालिम, पुस्तिकालगायत यस उद्योगमा संलग्न जनशक्तिबीच तीनै देशमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिनेछ । तीनवटै मुलुकका पर्यटन योजना तर्जुमाका लागि आवश्यक तथ्यांक संकलन तथा व्यवस्थापन गर्न आपसी सहकार्य गरिने उल्लेख छ । रासस

हवाई मार्गले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित

चितवन । देशका प्रमुख चार पर्यटकीय शहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ । काठमाडौँबाट तीन वटा शहरमा हवाई यातायात सुविधा भए पनि एक शहरबाट अर्को शहरमा सिधा हवाई सेवा थिएन । अहिले पोखरा–भरतपुर र पोखरा–भैरहवा हवाई सेवा शुरु भएको छ । बुद्ध एयरले यी तीन शहर हवाई यातायातमार्फत् जोडेको हो । यससँगै छोटो समयका लागि नेपाल आउने विदेशी पर्यटक लाभान्वित हुने भएका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे नारायणगढ–मुग्लिन सडक बिग्रिएको अवस्थामा पोखरासँग हवाई यातायातले जोडिंदा निकै उत्साहित भएको बताउँछन् । यहाँ आएका पर्यटक हवाई माध्यमबाट पोखरा जान थालेको र पोखराबाट यहाँ आउन थालेको उनले बताए । चितवन आएका पर्यटक पनि पोखरा हुँदै लुम्बिनीसम्म जहाजमै जानसक्ने भएका छन् । यसअघि काठमाडौँबाट जुन शहरमा गए पनि पुनः काठमाडौँ गएर अर्को शहरमा जानुपर्ने बाध्यता रहेको थियो । पछिल्ला वर्षमा विदेशीको तुलनामा नेपाली पर्यटकको संख्या उल्लेख्य रहेको छ । हवाई सुविधासँगै नेपाली पर्यटक पनि एक अर्को गन्तव्यमा आवतजावत गर्न थालेको घिमिरेले बताए । चितवनमा चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न र यहाँका थारु संस्कृति हेर्न वर्षेनी २ लाखको हाराहारीमा पर्यटक आउने गर्दछन् । पोखराबाट चितवन पर्यटक पठाउन अप्ठ्यारो परिरहेको अवस्थामा हवाई सम्बन्ध जोडिएपछि पोखरेली पर्यटन व्यवसायी पनि खुशी भएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन सडकका कारण समस्या भइरहेका बेला हवाई सम्बन्ध जोडिएपछि समग्र नेपालको पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताउँछन् । चारवटै सहरसँगको ‘एयर कनेक्टिभिटी’पछि स्तरीय पर्यटक बढ्ने उनको अनुमान छ । छोटो समयका लागि नेपाल आउने पर्यटकले महत्वपूर्ण पर्यटकीय गन्तव्य घुम्न पाउने उनले बताए । नारायणगढ–मुग्लिन सडकका कारण दयनीय अवस्थामा रहेको चितवनको पर्यटनलाई पनि यसले उकास्ने तुलाचनको भनाइ छ । पोखरामा वर्षेनी चार लाखको हाराहारीमा विदेशी पर्यटक आउने गर्दछन् । पोखरा र चितवनमा होटल सञ्चालन गर्नेको संख्या पनि बढ्दो छ । त्यसमध्येको एक होटल बाराहीका प्रबन्ध निर्देशक विप्लव पौडेल प्रमुख शहरमा हवाई सम्बन्ध जोडिएसँगै व्यवसायिक हिसाबले फलदायी हुने बताउँछन् । पोखराका पर्यटक चितवन ल्याउन र चितवनका पर्यटक पोखरा लैजान हवाई मार्ग उपयोगी हुने उनको भनाइ छ । भारतीय ट्राभल्स एजेन्सीले बुद्धको जन्मभूमि भन्दै लुम्बिनीसम्म पर्यटक ल्याएर त्यहीँबाट फर्काउने गरेका छन् । जसका कारण लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई पनि आफू नेपाल आएको थाहासम्म नहुने गरेको छ । सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ सहज हवाई सम्बन्ध नेपालका पर्यटकीय गन्तव्यमा हुनसकेमा सोझै पर्यटक आउने बताउँछन् । एक रातसम्म नेपाल नबसी बिहान आएर बेलुका लैजाने भारतीय ट्राभल्सका कारण अन्य शहरमा पर्यटक नजाने गरेको उनले बताए । भिसा लगाउन नपार्ने भएपछि भारत हुँदै आएका पर्यटकलाई लुम्बिनी कुन देशमा पर्दछ भन्नेसमेत थाहा नभएको उनको भनाइ छ । बुद्धको दर्शन गर्न आउने पर्यटकले पोखरा, सौराहा र काठमाडौँका पर्यटकीय स्थलको दर्शन गर्ने अवसर एयर कनेक्टिभिटीबाट प्राप्त हुने उनले बताए । लुम्बिनीमा म्यानमार, थाइल्याण्ड, भियतानाम, श्रीलंका, कोरिया, जापान, चीनलगायतका देशबाट आउने बौद्ध धर्मावलम्बी त्यहीँबाट फर्किने गरेका छन् । यातायातको सुविधा प्रबद्र्धन गर्न सकेमा ती पर्यटक सोझै यहाँ आउने र प्रमुख गन्तव्यको भ्रमण गर्ने पनि उनले बताए । सन् २०१६ मा लुम्बिनीमा १ लाख ३६ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म १ लाख ५६ हजार पर्यटक भित्रिएका छन् । होटल एसोसिएसन अफ नेपाल हानका महासचिव विनायक शाह पर्यटकीय शहरको बीचमा हवाई यातायात हुँदा पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने बताउँछन् । सानो जहाजबाट यातायात जोडेको भए पनि यात्रुको चाप बढाउन सकेमा ठूला जहाज चल्ने बताउँदै उनले छोटो समयका लागि आएका पर्यटकलाई धेरै ठाउँमा देखाउन सकिने पनि बताए । विदेशी ट्राभल एजेन्सीहरुले आफ्नो नेपाल आउने भ्रमण प्याकेजमा चितवनलाई हटाउने गरेकामा अब सहज भएको उनले बताए । हाल बुद्ध एयरले मात्र सेवा विस्तार गरेकामा अन्य एयरलाइन्सलाई पनि यसमा आकर्षित गर्नुपर्ने शाहको भनाइ छ । सन् २०१६ मा नेपालमा सात लाख ५३ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म चार लाख ५० हजार पर्यटक नेपाल भित्रिएको बताउँदै उनले यो वर्ष नौ लाखको हाराहारी पर्यटक भित्रिने अपेक्षा गरिएको बताए । यसअघि सन् २०१२ मा सबैभन्दा बढी आठ लाख तीन हजार पर्यटक नेपाल भित्रिएका थिए । नेपालको पहिलो पर्यटकीय गन्तव्य काठमाडौँ हो भने दोस्रो पोखरा, तेस्रो चितवन र चौँथो लुम्बिनी हो । रासस