नौ समूहलाई हिमाल आरोहणको अनुमति, चार दिनमै ४ करोड राजश्व सङ्कलन
काठमाडौँ । पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब चार करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड ९० लाख नौ हजार २९७ राजश्व उठेको विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिए । यीमध्ये सबैभन्दा बढी सगरमाथाबाट रु तीन करोड ५३ लाख राजश्व उठेको छ । विभागले यो सिजनको गत फेब्रुअरी २७ मा पहिलो आरोहण पर्मिट जारी गरेको थियो । पछिल्लो मार्च २३ देखि २५ सम्म तीन दिनमै रु तीन करोड ८७ लाख राजश्व उठेको छ । वसन्त ऋतुको यो याममा हिमाल आरोहणका लागि १५ भन्दा बढी आरोही दलले पर्मिटका लागि निवेदन दिएकामा विभागले सोमबारसम्म नौ समूहलाई आरोहण अनुमति दिएको छ । यीमध्ये तीन सगरमासहित ल्होत्से, अन्नपूर्ण, कुम्भकर्ण, पुमरी, थापा पिक र छोपबमरी रहेका छन् । वैशाख महिनासम्म आरोहण अनुमति लिने भएकाले आरोहीको सङ्ख्या बढ्ने विभागको अनुमान छ । सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सगरमाथा आरोहणको रोयल्टी ऋतुअनुसार फरक–फरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । विभागका अनुसार सन् २०१८ को वसन्त ऋतुमा ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको छ । योमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको छ । सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ, अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेका छन् । रासस
ट्रेकिङ एजेन्सिज् एशोसिएसनले भन्यो-पदयात्रामा विदेशी लगानी अमान्य
काठमाडौँ । पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)ले पदयात्रा व्यवसायमा वैदेशिक लगानी मान्य नहुने बताएको छ । टानका अध्यक्ष नवराज दाहालले आज एक विज्ञप्ति जारी गरी पदयात्रा क्षेत्रमा पूर्णरुपमा विदेशी लगानी गर्न दिने भन्ने समाचारप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्वदेशी पदयात्रा व्यवसायीलाई निरास बनाउने किसिमको निर्णय कार्यान्वयन नगर्न सरोकारवालालाई आग्रह गरेका छन् । “पदयात्रा नेपालको एकमात्र मौलिक व्यवसाय हो । चार दशकभन्दा बढी सयम यो क्षेत्रमा लगानी गर्ने सक्षम नेपाली व्यवसायी नै हुन् त्यसैले विदेशी लगानीकर्ताको आवश्यकता पर्दैन । यदि त्यस्तो निर्णय कार्यान्वयन भए व्यवसायी सङ्घर्षमा जान बाध्य हुनेछौँ”, विज्ञप्तिमा भनिएको छ । विदेशी लगानीकर्ताई पदयात्रा व्यवसायमा लगानी गर्न दिने भन्ने निर्णय स्वदेशी पदयात्रा व्यवसायी हितविपरीत हुन जाने र विदेशी लगानीकर्ताको मात्र एकाधिकार हुन जाने टानको आशङ्का छ । पर्यटन विभागको ट्रेकिङ शाखाका अनुसार मुलुकभर दुई हजार ६७५ ट्रेकिङ कम्पनी दर्ता छन् । रासस
धनगढी-अछाम पहिलोपटक हवाई सेवा शुरु, भाडादर ३ हजार ३ सय ५० रुपैयाँ
अछाम । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो । यस क्षेत्रका यात्रुको सहजताका लागि आजदेखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न शुरु गरिएको समिट एयरका अछाम प्रतिनिधि दीपक दुवालले जानकारी दिए । समिट एयरमा धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न सकिने भन्दै उनले यात्रुको चाप र मागलाई मध्यनजर गरी हप्तामा सातै दिन उडान भर्न सकिने बताए । धनगढीदेखि साँफेबगरसम्मका लागि तीन हजार ३५० भाडादर कायम गरिएको छ । धनगढी–साँफेबगर नियमित हवाई सेवा सञ्चालन हुँदा अछामसहित बाजुरा र डोटी जिल्लाका यात्रुलाई पनि सहज हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि साँफेसम्म निरन्तर दोहोरो उडान सञ्चालन गरिरहेकामा फागुन २२ गतेदेखि समिट एयरले पनि नेपालगञ्जदेखि साँफेबगर उडान शुरु गरेको थियो । नेपाल एयरलाइन्सले हरेक आइतबार र बिहीबार उडान भर्दै आएको छ ।