धार्मिक पर्यटनको गन्तव्य स्थल बन्दै सुपा देउराली, मन्दिरको संरक्षण र विकासमा राज्यस्तरबाट ध्यान जाओस्

  काठमाडाैं । नेपालका विभिन्न तीर्थस्थल जसको आआफ्नै महत्व छ । तीमध्येको एक हो अर्घाखाँचीको सुपा देउराली । जे भाकल गर्योे त्यो पुग्ने जनविश्वासका आधारमा यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमि दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला पहाडको खोचमा प्राचीन शैलीमा निर्मित सुपा देउरालीको मन्दिर छ । प्राकृतिक रुपमा अत्यन्त रमणीय, शान्तियुक्त स्थानमा रहेको यस मन्दिरमा मनोकांक्षा पूरा हुने विश्वासका कारण दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष प्रितम थापाले जानकारी दिएका छन् । यस तीर्थस्थलको स्थापनाका सम्बन्धमा विभिन्न किंवदन्ती पाइन्छ । मन्दिर परिसरमा भगवान् रामकी पत्नी सीताले बनाएको चुलो, जातो, विभिन्न शिलासमेतले यसको अस्तित्व त्रेता युगदेखि नै भएको विश्वास गरिन्छ । बाइसे चौबिसे राज्यका समयमा खाँचीकोट राज्यका राजकुमारी र भारतको बलराम पुरकी राजकुमारबीच विवाह गरी घरतर्फ ल्याउँदा बाटोमा केही कुरा ढाँटछल गरी विवाह गरेको हल्ला दुलहीले सुनिछन् । डोलीमा बोकेर ल्याएकी दुलहीलाई हालको मन्दिर भएको स्थानभन्दा करिब ५० मिटर दक्षिणमा ल्याई पुर्याउँदा रगतको थोपा झरेछ । अनि सुपा देउराली मन्दिर रहेको ठाउँमा आई डोलीमा हेर्दा दुलही मृतावस्थामा थिइन् । सो घटनापछि खाँचीकोटमा विभिन्न रोगव्याधी महामारी फैलियो । पछि एकजना खनाल थरका ज्योतिषीले धामीझाँक्री गर्दा त्यहाँ दैवी शक्ति उत्पत्ति भएको र कालो पाठी बलि दिनुपर्छ भने पछि त्यही समयदेखि हालसम्म त्यस राज्यका राजा ठकुरी (शाह) राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कूल पूजा गर्दै आएको पाइन्छ । मन्दिरमा मनकामना पूरा होस् भनी भाकल गर्नेले विभिन्न जिन्सी सुन, ध्वजा, वस्त्र, रातो फूलमाला चढाउने र पाठापाठीको बलि पूजाका साथै परेवा उडाउने प्रचलन छ । अर्को किंवदन्तीमा खाँची घर भएका एक व्यक्ति धन कमाउन भारत जानुभन्दा अघि सुपामाईसँग राम्रो जागिरको लागि प्रार्थना गर्दै फर्केर आउँदा भेटी चढाउनेछु भनी ढोगी गएछन् । भारत बसाईमा उनले राम्रै धन कमाए । फर्केर आउँदा भेटी नचढाई मन्दिरमाथिको जङ्गलको बाटो हुँदै जान लाग्दा जङ्गलबीच बाटोमा सुपामाईले पहाडको चट्टानमा लाहुरेलाई टाँसेको किंवदन्ती छ । मन्दिरमा दर्शन गर्न आउनेमध्ये अधिकांशले लाहुरे टाँसेको ठाउँ हेरेर फर्कने गर्दछन् । मन्दिरमा विशेषगरी शनिबार अत्याधिक भीड लाग्ने गरेको स्थानीयवासी चन्द्र खनालले जानकारी र्दिए । मन्दिरमा आउने भक्तजनबाट उठेको भेटी दानदातव्यबाट हुने आम्दानीले खाँचीको आदर्श मावि, सीतापुरको शान्ति माविलाई सहयोग गर्नुका साथै गाउँमा बाटाघाटोे, बिजुली, खानेपानी, दैवीप्रकोप राहतलगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिएको अध्यक्ष थापाले जानकारी दिएका छन् । खनाल थरका बह्माण मूल पुजारी रहेको यस मन्दिरमा दैनिक व्यवस्थापनमा दुई जना, पुजारी दुई जना र सहयोगी एक जना गरी पाँच जना खटाइएको अध्यक्ष थापाले जानकारी दिए । मन्दिरमा २२ जना खनाल पालैपालो खटिँदै आएका छन् । हाल रहेको मन्दिर नरनारायण बाबाको विशेष सक्रियता एवं भक्तजनको सहयोगमा २०६५ सालमा निर्माण भएको अध्यक्ष थापाले जानकारी दिएका हुन् । मन्दिरका कर्मचारी हरिप्रसाद घिमिरेका अनुसार मन्दिरमा गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही, प्युठानलगायत देशभर तथा भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् । दिन प्रतिदिन धार्मिक पर्यटकको आकर्षण बन्दै गएको सुपा देउरालीको प्रबर्धनमा पर्यटन सम्बद्ध सङ्घ संस्थाले पनि चासो दिन थालेका छन् । नेपाल पर्यटन बोर्डको प्रबर्धन एवं पर्यटन यातायात समिति, पोखराको आयोजनामा हालै सुपा देउरालीको प्रबर्धनात्मक भ्रमण गरिएको समितिका अध्यक्ष बोबरजङ्ग गुरुङले बताए । धार्मिक पर्यटकको आकर्षणयुक्त यस्ता स्थलको विश्वास एवं महत्वलाई उजागर गर्दै राज्यस्तरबाटै संरक्षण र विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । रासस

हेलम्बुमा ६० किलोमिटर लामो पर्यटकीय पदमार्ग, लागत तीन अर्ब, हालसम्म १०० मिटर मात्रै

चौतारा । पर्यटकीय दृष्टिले चर्चित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ६० किलोमिटर लामो हिमालयन हेलम्बु ग्रेट ट्रेल (पदमार्ग) निर्माण गर्ने सिलसिलामा हालसम्म १०० मिटरको काम सम्पन्न भएको छ । बहुवर्षीय योजनाअन्तर्गत कूल रु तीन अर्ब बजेट लाग्ने सो योजनाको चालू आर्थिक वर्षभित्र जम्मा १२० मिटर मात्र पदमार्ग निर्माण गर्ने योजना राखिएकामा हालसम्म १०० मिटर सम्पन्न भएको पालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । उक्त कामका लागि प्रदेश नं ३ बाट रु ५० लाख अनुदान निकासा भएको थियो । त्यसैबाट पालिकाकै प्राविधिकद्वारा हाल १० किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन तयार गरी बाँकी बजेटबाट पदमार्गको निर्माणकार्य शुरु गरिएको पालिकाका सव–इञ्जिनीयर शेरबहादुर राईले जानकारी दिए । पहिलो ‘रुट’मार्गअन्तर्गत हाल निर्माण शुरु गरिएको हेलम्बु–१ स्थित बुद्धपार्क, सेर्माथाङ, ज्यामोथाङ, आमायाङ्ग्री, भेमटाङ हुँदै ग्याङजाला भञ्ज्याङमा गएर टुङ्गिने छ । त्यसैगरी दोस्रो रुटमा हेलम्बु–६ को इचोकस्थित घोप्टेग्याङ, पाकेडाँडा, ढाडेपाटी, सेमी सिदाङ हुँदै ग्याङजालामै गएर टुङ्गिने कार्यक्रम छ । दुवैतिरबाट शुरु गरी अन्तिम विन्दुमा पुगेपछि उक्त पदमार्ग अङ्ग्रेजी अक्षरको ‘सी’ आकार अर्थात् अर्धचन्द्र आकारको हुनेछ । सम्पूर्ण निर्माणकार्य सम्पन्न भएपछि दुवैतर्फबाट रसुवाको चर्चित धार्मिकस्थल गोसाइँकुण्ड जान पनि सरल र सहज हुने बताइएको छ । कडा चट्टाने ढुङ्गालाई काटेर इँटाको रुपमा तयार गरी निर्माण गरिएकाले एक मिटर पूरा गर्न रु ३० हजार लाग्नुका साथै समय पनि बढी लाग्ने गर्दछ । सिमेन्टको जोडाइमा दुई मिटर चौडाइको सिँढी बनाइएको छ भने दुवैपट्टि ६० सेन्टिमिटर उचाइको पर्खाल निर्माण गरिएको छ । झण्डै चीनको ‘ग्रेटवाल’को झल्को दिने उक्त पदमार्ग हेर्दा आकर्षक देखिन्छ । हेलम्बुको ढाडेपार्टीभन्दा माथि मानवबस्ती नभएको र प्रायः हिउँले ढाकिने ग्याङजाला पुग्न बस्तीबाट झण्डै दुई दिनको पैदलयात्रा गर्नुपर्ने पालिकाका अर्का सव–इञ्जिनीयर हरिबहादुर श्रेष्ठले बताए । रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पर्यटक उताबाट एक दिनमै ग्याङजाला पुग्ने भए पनि अति खराब बाटोका कारण उतै फर्किने गरेको बताइएको छ । यदि उक्त गोरेटो बाटोलाई सुधार गरी सहजरूपमा पर्यटकलाई ग्याङजाला हुँदै हेलम्बु घुम्न आउने वातावरण मिलाउन सके विदेशी मुद्रा आर्जनमा थप सघाउ पुग्ने स्थानीयवासीको विश्वास छ । रासस

मर्मत भयो धावनमार्ग, आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन

काठमाडौँ । तोकिएको समयमै काम सम्पन्न नहुने रोग नयाँ होइन । जतिसुकै ठूला परियोजना पनि विभिन्न बहानामा पर सार्ने, समय लगाउने र लागत बढाउने प्रवृत्तिले विकास निर्माणका लागि बाधक बन्दै आएको छ । गर्नुपर्ने निकायले काम नगर्ने र सरकारले कामै गरेन भन्ने आलोचना सहनुपर्ने बाध्यता उत्तिकै व्याप्त छ । जिम्मेवार निकायले इमान्दार भएर प्रयास गर्यो भने कठिनभन्दा कठिन काम पनि तोकिएको समयमा पूरा हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत कार्यले । सरकारको सार्थक प्रयास तथा प्रधानमन्त्री स्वयम्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीसहित विशेष चासो तथा राष्ट्रिय आवश्यकताले विमानस्थल मर्मतको काम सकिएको छ । हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको एउटा सपनासमेत पूरा भएको छ । सरकारी निकायले ध्यान नदिँदा ठूला आयोजनामा रुग्ण बनिरहेका छन् । निर्माण व्यवसायीले पनि समय बढाउन पाए अनेक फाइदा हुन्छ भन्ने लालसा राख्ने गरेका छन् । निर्माणाधीन ठूला आयोजनाको हविगतले यही भन्छ र तथा तथ्य तथ्याङ्कले पनि त्यही देखाउँछ तर विमानस्थल मर्मतको काममा भने निराशाका कुरा सुन्नु परेन । एकाध दिन निर्माण सामग्रीको आयातमा समस्या देखिए पनि दृढ इच्छाशक्ति, नेपाल नागरिक उड्डयन प्राधिकरणको सचेत पहल तथा निर्माण व्यवसायीको मिहिनेतले काम तोकिएको समय अर्थात् ९० दिनमा नै पूरा भयो । नेपालको परिचय अन्तर्राष्ट्रियजगत्मा स्थापित गर्ने एक मात्र विमानस्थल धावनमार्गको स्तरोन्नति गर्ने काम निर्धारित समयमै सकिएको छ । विमानस्थलको मर्मतको काम सकिएपछि सोमबारदेखि नै २१ घण्टा सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलले जनाएको छ । मर्मतको काम शुरु हुँदा निर्माण सामग्री उपलब्ध होला कि नहोला भन्ने चिन्ता पनि उत्तिकै थियो । निर्माण व्यवसायीले जटिल मानिएको सो काम पूरा गर्ला त भन्ने आशङ्का पनि त्यत्तिकै थियो । एक दिन पनि विमान उडान र अवतरण बन्द गर्ने अवस्था पनि थिएन । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडाका कारण पनि उडान र अवतरण रोकेर काम गर्ने स्थिति सरकारसँग पक्कै पनि थिएन । न त कुनै विकल्प नै थियो । मर्मतको काम बढीमा ९० दिनभित्र सकिने लक्ष्य निर्धारण गरिए पनि जटिल काम आफैँमा थियो नै । त्योभन्दा बढी काम शुरु भएपछि लगातार भइरहेको वर्षाका कारण पनि जटिलता उत्पन्न होला भन्ने चिन्ता व्याप्त थियो । काठमाडौँ क्रमशः निन्द्रामा मस्त निदाइरहेको बेला धावनमार्ग भने धमाधम भत्काइन्थ्यो । तीन सय नेपाली र चिनियाँ कामदार रातभर खट्थे, भत्काएको धावनमार्गमा निर्माण सामग्री हालिन्थो र कालोपत्र गरेर जस्ताको तस्तै बनाइन्थ्यो । बिहान ८ बजे विमानस्थल खुल्थ्यो, जहाजको उडान र अवतरण शुरु हुन्थ्यो । रातभर कहाँ काम गरियो भन्ने आम मानिसले खासै हेक्का पाउँदैनथे तर जटिल मानिएको तीन हजार ५० मिटर लामो धावनमार्ग मर्मतको काम तोकिएको समयमा नै पूरा गरेर काम नहुने प्रवृत्तिमा सुधार आएको उदाहरण प्रस्तुत भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले असाध्यै जटिल मानिएको धावनमार्गको मर्मत कार्य आइतबार राति पूर्णरुपमा सम्पन्न भएको जानकारी दिए । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा जहाज उडान र अवतरणमा समस्या पर्दै आएको थियो । विशेषगरी वर्षायाममा बढी समस्या देखिन्थ्यो । मालिन्दो र टर्किस एयरलाइन्स दुर्घटनामा पर्दा लामो समयसम्म विमानस्थल बन्द भएको नमीठो उदाहरण सबैको दिमागमा परेकै थियो । चिनियाँ निर्माण कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेशनले सरकारको अपेक्षा र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर तोकिएको समयमा नै सम्पन्न गरेको छ । बाँकी रहेको छिट्फुट काम भने केही बाँकी रहे पनि त्यसलाई पनि छिट्टै सम्पन्न गरिनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पोखरेललाई पनि काम नसकिएका कि भन्ने उस्तै चिन्ता थियो । बीचमै केही गडबढी भइहाल्यो भने त मुलुकको प्रतिष्ठामा नै समस्या आउँछ । त्यसको जवाफ कसरी दिने भन्ने छटपटीले पोखरेललाई सताएको थियो । काम कसरी समयमै सम्पन्न गर्नुभयो त भन्ने जिज्ञासामा पोखरेल भन्छन्, “हामीले आवश्यकता र बाध्यतालाई केन्द्रमा राख्यौँ । निर्माण व्यवसायीलाई सोहीअनुसार आग्रह गर्यौँ । निर्माण सामग्रीको जोहो पनि त्यसरी नै गर्यौँ । त्यसले हामीलाई जटिल काम समयमै सक्ने वातावरण बनायो ।” धावनमार्गमा आवश्यकताअनुसार नयाँ कालोपत्र राखिएको छ । आयोजनाका निर्देशक भन्छन्, “तीन हजार मिटर लामो धावनमार्गमा आवश्यकताका आधारमा २० देखि २५ सेन्टिमिटर नयाँ पिच हालिएको छ ।” निर्माण कम्पनीले मूल्यअभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा धावनमार्ग स्तरोन्नतिको जिम्मा लिएको थियो । मर्मत कार्यको प्राविधिक रेखदेखका लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनियरिङ कर्पोरेशन कोरियाले जिम्मा लिएको थियो । धावनमार्ग मर्मतको काम कोटेश्वरतर्फको ‘जिरो टू’देखि शुरु गरिएको हो । प्राधिकरणका अनुसार एक हजार ६०० मिटरसम्म धावनमार्गमा अत्यन्तै बिग्रिएको थियो । विमानस्थल मर्मतमा पहिलो पटक ‘मेलिङ मेशिन’ प्रयोग भएको निर्देशक पोखरेल बताउँछन् । काम समयमै सकिँदा असाध्यै खुशी देखिनुभएका पोखरेलले भने, “ठूलो काम सम्पन्न भएको छ । बाँकी रहेका केही काम भने क्रमशः अगाडि बढाइनेछ ।” सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो । काठमाडौँ निदाइरहेको बेला हरेक दिन ८० देखि १०० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामग्री फालेर विभिन्न तहमा निर्माण सामग्री राखिन्थ्यो । राति भत्काइएको धावनमार्ग बिहान ८ बजे उडान तथा अवतरणका लागि जस्ताको तस्तै बनाइयो । गौचरनबाट शुरु भएको विमानस्थलको ७० वर्षे इतिहासमा निकै उतारचढाव पूर्ण अवस्था पनि व्यहोर्यो । सन् १९७५ मा स्तरीकरण गर्दै धावनमार्गलाई तीन हजार ५० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बनाएपछि उक्त विमानस्थलमा प्रायः सबै प्रकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय विमान उडान र अवतरण गर्न थालिएको थियो । हाल यो विमानस्थलबाट १९ सिट क्षमताका साना देखि बोइङ–७७७ जस्ता ठूला विमान उडान अवतरण हुँदै आएका छन् । ‘गोरखा भूकम्प’ले अन्य स्थानमा ठूलो क्षति पुर्याएपनि विमानस्थलमा खासै प्रभाव पारेन तर विमानस्थलका जानकार तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय परामर्शदाताले धावनमार्ग र ट्याक्सी वेका ‘पेभमेन्ट’ उप्काएर नयाँ प्रविधि प्रयोग गरी नयाँ कालोपत्र राखी मर्मत गर्न सुझाएका थिए । गत चैत १८ गतेदेखि शुरु गरिएको धावनमार्ग मर्मत आइतबार राति सम्पन्न भएको हो । विमानस्थलबाट हाल १०० भन्दा बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुने गरेका छन् । धावनमार्ग मर्मतको अवधिमा १५ प्रतिशत मात्रै उडान कटौती गरियो । जुन नगन्य जस्तै हो । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनाका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विश्वास लिइएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने लक्ष्यसमेत राखेको सन्दर्भमा विमानस्थल २४सै घण्टा पूर्ण सञ्चालनमा आउनु देशकै लागि पनि सुखद खबर हो । यसले नेपालमा समयमा काम हुँदैन भन्ने आम सोचाइमा समेत परिवर्तन ल्याइदिएको छ । जुन नेपालका अन्य ठूला भौतिक पूर्वाधार निर्माणमा यही उदाहरण अनुकरण गर्ने हो भने ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा हुन्छ भन्ने विश्वास गर्न सकिन्छ । रासस