विदेशी पर्यटकका ६०० उजुरी दर्ता, सञ्चालनमा ल्यायो ‘पर्यटक प्रहरी मोबाइल एप्स’

काठमाडौं । नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले आफूहरु माथि चोरी, ठगी, लुटपाट, पाकेटमार, दुव्र्यवहारलगायतका घटना भएको भन्दै उजुरी दिन थालेका छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र पर्यटकलाई पर्ने समस्या समाधान गर्न विसं २०३५ माघ १२ गते स्थापना भएको पर्यटक प्रहरीमा विदेशी पर्यटकले उजुरी दिएका हुन् । पर्यटक प्रहरीमा चालू आर्थिक वर्षमा ६०० उजुरी दर्ता भएका हुन् । साउनमा ५०, भदौमा ३५, असोजमा ६५, कात्तिकमा ८०, मङ्सिरमा ५४, पुसमा ५३, माघमा ३७, फागुनमा ३२, चैतमा ५८, वैशाखमा ८२ र जेठमा ५४ उजुरी परेका छन् । पर्यटक प्रहरीले पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने, पर्यटकबाट आएका उजुरी निवेदन छानबिन र कारवाही गर्ने, इजाजत नभई पथप्रर्दशक कार्य गर्नेमाथि नियन्त्रण तथा कारवाही गर्ने, फौजदारी अपराध सम्बन्धमा सम्बन्धित दूतावासमा सम्पर्क राखी स्थानीय प्रहरीमार्फत कारवाही अगाडि बढाउने, होटल, ट्राभल, ट्रेकिङ, र्याफ्टिङ एजेन्सीमा निरीक्षण गर्नेलगायतका काम गर्दै आएको छ । पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी निरीक्षक अमृतबहादुर बस्नेत पर्यटक प्रहरीमा पर्ने उजुरीमध्ये सबैभन्दा धेरै सामान हराएको विषयमा पर्ने गरेको बताउँछन् । “सामान हराएको मात्र ४५४ उजुरी पर्यटक प्रहरीमा परेको छ”, उनी भन्छन् । पर्यटक प्रहरीमा सामान हराएको बाहेक चोरी ९८, ठगी २४, लुटपाट तीन, पाकेटमार छ, दुव्र्यवहार चार, दुर्घटना एक, क्षति चार र अन्य छ उजुरी दर्ता भएका छन् । पर्यटक प्रहरीले हाल काठमाडौँ उपत्यकाभित्र १० र उपत्यका बाहिर १६ स्थानबाट पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको छ । प्रहरी प्रधान कार्यालयमा २२७ को दरबन्दी कायम गरिएको छ । चालू आवमा मात्र काठमाडौँको बौद्ध, चितवनको पटिहानी र तनहुँको बन्दीपुरमा कार्यालयले सेवा विस्तार गरेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै पर्यटक प्रहरीको आवश्यकता र औचित्य बढ्दै गएको छ । पर्यटक प्रहरीले पर्यटकलाई आवश्यक पर्ने सेवा प्रदान गर्न रारा ताल, बाँके, कञ्चनपुर, इलाम, धनकुटालगायतका नौ प्रमुख पर्यटकीय गन्तव्यका लागि पर्यटक प्रहरी माग गरिएको पर्यटक प्रहरी प्रमुख बस्नेत बताउँछन् । पर्यटक प्रहरीले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि ‘पर्यटक प्रहरी मोबाइल एप्स’ सञ्चालनमा ल्याएको छ । एप्समा पर्यटक प्रहरी रहेको स्थान, पर्यटकले नेपालमा बस्दा गर्न हुने काम र गर्न नहुने काम, हटलाइन नम्बर, कुनै घटना घटिहालेमा प्रहरीलाई खबर गर्ने तरिका, पर्यटकका प्रतिक्रिया लेख्न मिल्ने बताइएको छ । विदेशबाट आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल भित्रिने भएकाले उक्त पर्यटकलाई लक्षित गरेर ठमेलमा ‘महानगरीय पर्यटक सूचना केन्द्र’ समेत सञ्चालनमा ल्याएको छ । उक्त केन्द्र सञ्चालनमा ल्याएसँगै पर्यटक प्रहरीको प्रधान कार्यालय भृकुटीमण्डपबाट दिने सेवा सुविधा ठमेलबाट प्रदान गरिने पर्यटक प्रहरीले जनाएको छ । पर्यटक प्रहरी नेपाल प्रहरीको भए पनि उनीहरुको सेवा सुविधा भने पर्यटन विभागमार्फत हुँदै आएको छ । पर्यटक प्रहरी परिचालन निर्देशिका नहुनु, विभिन्न मुलुकको भाषाको ज्ञान नहुनु, पर्यटक प्रहरीलाई आवश्यक तालिम नहुनुलगायत पर्यटक प्रहरीभित्र समस्याका रुपमा रहेका छन् । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे पर्यटक प्रहरीको आवश्यकतालाई हेरेर अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने बताउँछन् । “नयाँ स्थानमा पर्यटक प्रहरी राख्नका लागि आएका मागलाई अध्ययन गरी नेपाल प्रहरीमा पठाउने र प्रहरीले सदर गरेपछि उक्त ठाउँमा पर्यटक प्रहरी खटाउने गरेका छौँ”, उनी भन्छन् । नेपालको पर्यटन विकासमा पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । महानिर्देशक घिमिरे मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने कुरामा विभाग गम्भीर भएर लागेको बताए । रासस

पर्यटकीयस्थल तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माण हुँदै, तीन वर्षभित्र सक्ने लक्ष्य

खोटाङ । साकेला गाउँपालिका–३ खिदीमाको पर्यटकीयस्थल तावाभञ्ज्याङमा निर्माण गर्न लागिएको कृत्रिम तालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङमा रहेको खाली ठाउँमा १ नं प्रदेशकै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो । करिब रु ५६ करोड लागतमा निर्माण गरिने कृत्रिम तालका लागि प्रदेश नं १ सरकार र साकेला गाउँपालिकाको लगानी हुने गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । “प्रदेश सरकारसँगको सहकार्यमा साकेला गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने योजनाका साथ अगाडि बढेका छौँ”, उनले भने, “प्रदेश सरकारको क्रमागत योजनामा परेको तावाभञ्ज्याङमा निर्माण गरिने आधुनिक तथा नमूना कृत्रिम तालका लागि यस वर्ष गाउँपालिकाबाट रु ७० लाख बजेट विनियोजन गरिएको छ ।” समुद्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाइमा रहेको तावाभञ्ज्याङमा साढे ६०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ रहने गरी कृत्रिम ताल निर्माण हुने डिपिआरमा उल्लेख छ । प्राकृतिकरूपमै पर्यटकीयस्थल रहेको तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माण हुने भएपछि स्थानीयवासीसमेत हर्षित बनेका छन् । आगामी तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृत्रिम तालको काम आर्थिक वर्ष लाग्ने बित्तिकैबाट शुरु गरिने गाउँपालिकाले जनाएको छ । ताल निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई करिब तीन घण्टासम्म डुङ्गा सयर गराउने, पौडी खेल्न मिल्ने, तालभित्र माछा तथा हाँसपालनलगायतका क्रियाकलाप गर्न सहज हुने गाउँपालिका प्रमुख खड्काले बताएका हुन् । प्राकृतिक सौन्दर्य तथा विभिन्न वन्यजन्तु अवलोकन गर्नसमेत सकिने ठाउँमा रहेको तावाभञ्ज्याङको तल्लो भेगमा पर्यटकलाई थप आकर्षित गर्न रेन्बोट्राउटको स्रोत केन्द्र बनाउने काम शुरु गरिएको छ । गत वर्ष प्रदेशसभा सदस्य रामकुमार राईको संसदीय विकास कोषको रु आठ लाखबाट शुरु गरिएको स्रोत केन्द्रका लागि यस वर्ष प्रदेश सरकारबाट रु २५ लाख बजेट प्राप्त भएको छ । भोजपुरको पाँचधारे तथा टेम्केको फेदमा पर्ने तावाभञ्ज्याङको माथिल्लो भेगमा शहीद उद्यान निर्माण गर्ने योजना प्रदेश सरकारबाट स्वीकृत भएर आएको गाउँपालिकाले जनाएको छ । शहीद उद्यानका लागि प्रदेश सरकारबाट रु १५ लाख बजेट प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए । नेपाल सरकारले निर्धारण गरेको १०० मुन्धुम ट्रेल (पदमार्ग) पर्ने टेम्के, मैँयू, पाँचधारेलगायतका रमणीय स्थान नजिकै रहेको तावाभञ्ज्याङमा निर्माण गरिने कृत्रिम ताल आवतजावत गर्न सडकसमेत निर्माण गरिएको छ । चारैतिरबाट राष्ट्रिय सडक सञ्जालमा जोडिएको तावाभञ्ज्याङमा कृत्रिम ताल बनेपछि तराईका जिल्लाबाट समेत पहाडी भूगोल अवलोकन गर्न पर्यटक आउने अपेक्षा गरिएको छ । तावाखोलाको शिर थुनेर निर्माण गरिने कृत्रिम ताललाई (मुन्धुम ट्रेल) पदमार्गसँग समेत सम्बन्ध जोड्ने योजना बनाइएकाले यसको भविष्य उज्ज्वल रहेको पर्यटन व्यवसायीले बताएका छन् । आधुनिक तरिकाले निर्माण गरिने कृत्रिम तालको आसपास रहेको पर्यटकीयस्थल पुग्न पदमार्गसमेत निर्माण गरिने जनाइएको छ । ताल निर्माणपछि आसपासमा पानीको स्रोत बढ्नुका साथै पर्यावरणमा समेत सघाउ पुग्ने विज्ञहरुले बताएका छन् । मुहान संरक्षण अभावमा अधिकांश पानीका स्रोत सुक्दै गएको अवस्थामा कृत्रिम ताल निर्माणले आसपासका पानीको स्रोत पुनः बढ्ने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ । यसरी, जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने तावाभञ्ज्याङ वरिपरि राष्ट्रिय फूल लालीगुँरास, चिमाल, सुनाखरी, चाँप, सुनपाती, भैरुङपातीलगायतका फूल तथा जडीबुटी प्रशस्तै पाइन्छन् । लेकाली जीवजन्तु तथा चराचुरुङ्गी हरिण, मृग, घोरल, खरायो तथा मुनाल, सिमकुखुरा, कालिज, प्युरा, हलेसो, ढुकुरलगायत प्रशस्तै भेटिने पर्यटकीयस्थल तावाभञ्ज्याङमा अहिले पनि दैनिक आन्तरिक तथा बाह्य पर्यटक घुम्न र वनभोज खान आउने गरेको स्थानीयवासी रामकृष्ण राई बताउँछन् । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएपछि बजारसमेत विस्तार भएको तावाभञ्ज्याङमा अहिले सत्र घर स्थानीयवासीको बसोवास रहेको छ । होटल तथा अन्य व्यवसाय गर्दै आएका १७ घरमध्ये कृत्रिम ताल निर्माण गर्दा छ घर विस्थापित हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ । बहुउद्देश्यीय योजना रहेको कृत्रिम ताल निर्माणले विस्थापित हुने घरपरिवारलाई उचित क्षतिपूर्ति दिएर सुरक्षित ठाउँमा सार्ने पहलसमेत शुरु गरिएको गाउँपालिका प्रमुख खड्काले बताएका छन् । उनीहरुलाई आगामी दिनमा घरवास (होमस्टे) सञ्चालन गर्न तालिमको व्यवस्था गरिएको समेत जनाइएको छ । तावाभञ्ज्याङ आसपास होमस्टे सञ्चालनका लागि डिपिआर गर्ने कामसमेत शुरु गरिएको गाउँपालिकाले जनाएको छ । रेन्बोट्राउटको लागि निर्माणाधीन स्रोत केन्द्र आसपास होमस्टे सञ्चालन गरिने जनाइएको छ । रासस

फूलवारी रिसोर्टको १ अर्ब ३१ करोड खराव कर्जा अब असुल हुने, नेपाल बैंकको नाफा बढ्दै

काठमाडौं । पोखराको फूलवारी रिसोर्ट एण्ड स्पामा डुबेको करिव १ अर्ब ३१ करोड रुपैयाँ कर्जा असुली हुने सम्भावना देखिएको संयुक्त कर्जा लगानीको नेतृत्व गरेको नेपाल बैंकले जनाएको छ । उक्त रिसोर्टमा लगानी भएको सावा रकम १ अर्ब ३१ करोडमा ६५ प्रतिशत नेपाल बैंकको , बाँकी रकम राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी संचय कोषको हो । तत्कालीन एनआईडीसीसहित चार वटा संस्थाले २०५१ सालमा फूलवारी रिसोर्टमा संयुक्त कर्जा लगानी गरेका थिए । एनआईडीसी राष्ट्रिय वाणिज्य बैंकमा मर्ज भईसकेको छ । २०५३ सालदेखि नै उक्त कर्जाको सावा किस्ता र व्याज उठ्न छाडेको थियो । २५ वर्षसम्म खराव रहेको उक्त कर्जा असुलीको लागि पछिल्लो समय सकारात्मक प्रगति भएको नेपाल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिए । फूलवारी रिसोर्ट निर्माण गर्दा परियोजना बाहेक बैंकको धितोमा रहेको विरगञ्ज, काठमाडौं र सराङकोटको जग्गा बिक्री गर्ने, त्यसबाट आएको सबै रकम बैंक खातामा जम्मा गर्ने, उक्त रकमबाट बन्द अवस्थामा रहेको रिसोर्ट मर्मत सम्भार गर्ने, ६ महिनाभित्र रिसोर्ट सञ्चालन गर्ने, सञ्चालनमा आएपछि त्रैमासिक व्याज भुक्तानी गर्ने, एक वर्षपछि कर्जाको सावा किस्ता भुक्तानी गर्ने गरी बैंक र होटल व्यवस्थापन समूहबीच सहमति भएको उनले जानकारी दिए । उक्त समझदारी नेतृत्व गर्ने नेपाल बैंक सञ्चालक समितिले अनुमोदन गरिसकेका तर संयुक्त लगानी समिति (कन्सोर्टियम कमिटि)बाट अनुमोदन हुन बाँकी रहेको बताईएको छ । रिसोर्ट व्यवस्थापनले एक वर्षसम्म कर्जाको व्याज र सावा किस्ता बैंकलाई नियमित भुक्तानी गरेमा विगतमा कर्जा नतिरेका कारण लागेको पेनाल र कम्पाउण्ड व्याज मिनाह गर्ने सहमति पनि भएको उनले बताए । ‘व्याज छुट हुँदैन, पेनाल र कम्पाउण्ड व्याज छुट दिन्छौं’ कामु सीईओ अधिकारीले भने । कर्जा भुक्तानी गर्न नसकेपछि यो रिसोर्ट र यसका मालिक प्यूउसबहादुर अमात्य कर्जा सूचना केन्द्रको कालोसूचिमा रहेका छन् । कालोसूचिमा रहेका कुनैपनि व्यक्ति र संस्थासँग बैंकले नियमित कारोबार गर्न सक्दैन । बैंकको सिफारिसमा बढीमा ६ महिनाको लागि कर्जा सूचना केन्द्रले कालोसूचिबाट हटाउन सक्ने नियम भएकोले अमात्यलाई ६ महिनाको लागि कालोसूचिबाट हटाउने तयारी भएको पनि उनले जानकारी दिए । पाँच तारे होटल सरहको उच्च स्तरीय सेवा दिने लक्ष्यसहित खुलेको फूलबारी रिसोर्ट सशस्त्र द्वन्द्व र कमजोर व्यवस्थापनका कारण रुग्ण बनेको थियो । पछिल्लो समय यसको व्यवस्थापन अन्तराष्ट्रिय चेज होटल ‘म्यारियट अटोक्रयाफ्ट कलेक्सन रिसोर्ट’ले लिने गरी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल भ्रमण वर्ष २०२० आउँदैछ । पोखरामा क्षेत्रीय विमानस्थलपनि बन्दैछ । अब पोखरामा पर्यटकिय गतिविधि पनि बढ्ने, व्यवस्थापन राम्रो हुने अपेक्षासहित डेढ वर्षदेखि बन्द रहेको फूलवारी रिसोर्ट पुन: सञ्चालनमा ल्याउन सबैतिरबाट सहयोग मिलेको अधिकारीले बताए । यो रिसोर्ट एशिया कै सूविधा सम्पन्न पहिलो बुटिक रिसोर्ट मानिन्छ । बैंकको खराव कर्जालाई पुर्नसंरचना गरि असल कर्जा बनाउँदा विगतमा गरिएको प्रोभिजन राईटव्याक हुने र बैंकको नाफा बढ्ने जानकारहरु बताउँछन् । तर, प्रोभिजन गरिसकेको कर्जा एकैपटक राईट व्याक नभई क्रमशः हुने भएको पुरै राइटव्याक हुन करिव डेढ वर्ष लाग्ने बताईएको छ ।