ठमेल पर्यटन विकास परिषदको महासचिवमा अधिकारीको उम्मेदवारी

काठमाडौं । ठमेल पर्यटन विकास परिषदको महासचिव पदमा ध्रुव अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । आगामी २ वर्षे कार्यकालका हुने शनिबार हुने निर्वाचनमा अधिकारीले महासचिव पदमा उम्मेदारी घोषणा गरेका हुन् । विगत २ दशक भन्दा बढी समयदेखि ठमेलको पर्यटन विकासमा सक्रिय अधिकारीले सुन्दर र व्यवस्थित ठमेल निर्माणका लागि आफु उम्मेदवार बनेका बताए । ‘ठमेललाई स्वदेशी तथा विदेशी पर्यटकहरुको निर्विकल्प गन्तव्यका रुपमा स्थापित गराउन मैले परिषदको चुनावमा महासचिवमा उम्मेदवारी दिएको हुँ’, अधिकारीले भने । उनले ठमेलसँग आफ्नो नङ र मासुको जस्तै सम्बन्ध रहेको पनि बताए । ठमेलमा भिआईप पब सहित अधिकारीले स्पा,लगायतका आधा दर्जन भन्दा बढी क्षेत्रमा लगानी गरेका छन् । उनले ठमेलको गरिमा बढाउन आफुलाई मतादन गर्न आग्रह पनि गरे । शनिबार हुने निर्वाचनमा ठमेल क्षेत्रका करिब ८ सय व्यवसायीले मतदान गर्नेछन् । नयाँ नेतृत्वका लागि ३ वटा प्यानल चुनावी मैदानमा खडा भएको छ ।

हिमालयन ट्राभल मार्ट शुरु, ‘नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोगी’

काठमाडौँ । नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण विहीबारदेखि काठमाडौँमा शुरु भएको छ । नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ सन् २०१७ देखि नेपालमा ‘मार्ट’ को आयोजना हुँदै आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एशिया ट्रावल एशोसियशन (पाटा)ले सो ‘मार्ट’ आयोजना गर्दै आएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मार्टको बिहीबार साँझ एक समारोहबीच उद्घाटन गरे । उनले हिमालयको देश नेपाल प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य भएको बताए । उनले असिमिति पर्यटकीय ‘प्रडक्ड’लाई उजागर गर्न मार्ट उर्पयुक्त माध्यम भएको बताए , प्रधानमन्त्री ओलीले नेपालको आर्थिक समृद्धिमा पर्यटनको महत्वपूर्ण योगदान रहने र सरकारले समेत पर्यटनलाई उच्च प्राथमिकतामा राखेको बताए । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न समेत सहयोगी हुने विश्वास व्यक्त गरे । पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले मार्टले सरकार पर्यटनको विकासको लागि प्रतिबद्ध रहेको बताउँदै मार्टले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ हुँदै आइरहको बताए । उनले नेपालको पर्यटन विकासको लागि पूर्वाधार विकास, नीतिगत सुधार तथा जनशक्ति विकासमा ध्यान दिन सरकारलाई आग्रह गरे । उनले नेपालको पर्यटन विकासमा निजी क्षेत्र सधै सक्रिय रहेको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल पर्यटन उनले मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ‘ट्राभल ट्रेड’ मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने ‘बी–टु–बी’ कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए । उनले मार्ट नेपालमा सार्वजनिक निजी साझेदारीको उपर्युक्त नमूना भएको बताए । पाटा इन्टरनेशनलका उपाध्यक्ष वोङ्ग सुन ह्वाले नेपालको विकासमा पर्यटन महत्वपूर्ण माध्यम भएको बताउँदै नेपालको पर्यटन विकासमा पाटा इन्टरनेशनल सधैँ साथमा रहेको बताए । मार्टमा पर्यटन क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिबाट नेपालको पर्यटनका विविध पक्षमाथि अन्तरक्रिया तथा बी टु बी मिटिङ आयोजना हुने पाटा नेपाल च्याप्टरका महासचिव विभूति चन्द ठाकुरले जानकारी दिए । सम्मेलनमा नेपालसहित ४३ देशका करीब ७०० को सहभागिता छ । यसअघि सन् २०१७ मा ५३ देशका २२५ विदेशी प्रतिनिधि र सन् २०१८ मा सम्पन्न भएको ‘मार्ट’मा ३६ देशका १७० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । राजधानीमा शुरु भएको मार्ट आइतबारसम्म चल्ने छ । रासस

बाँदरमुढेमा १२ करोडको लागतमा स्मृति उद्यान बनाइने

रत्ननगर । चितवन माडीको बाँदरमुढे घटनाका मृतकको सम्झनामा स्मृति उद्यान बनाइने भएको छ । घटना भएको ठाउँदेखि ५०० मिटर पश्चिमपट्टिको विद्यालयको तीन बिघा क्षेत्रफलमा उद्यान बनाउन लागिएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बाँदरमुढे घटना भएको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न उद्यान बनाउन लागिएको बताए । उद्यान निर्माण गर्न रु १२ करोडको डिपिआर निर्माण भएको उनले जानकारी दिए । उद्यान निर्माण गर्न डिपिआर सम्पन्न भई अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ । “बहुवर्षीय योजनाका लागि शहरी विकास मन्त्रालयमा पेश गरेका छौँ”, उनले भने, “आगामी आर्थिक वर्षबाट काम शुरु हुन्छ, यो नेपालकै लागि ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा रहन्छ ।” प्रमुख ढकालका अनुसार यो उद्यानमा पर्यटकीय पूर्वाधार निर्माण हुनेछ । उद्यानमा फन पार्क, मृतक सबैका शीर कुँदिएका स्मारक बनाउने, माडीको संस्कृति, वेषभूषा झल्कने सङ्ग्रहालय बनाउने र सबैले पूजा गर्न मिल्ने गरी मन्दिर बनाउने योजना नगरपालिकाको छ । “मृतकका पीडितले बनाएको पुरानो स्मारक पनि यथावत रहन्छ”, उनले भने, “उद्यानले शान्ति प्रक्रियामा आइसकेपछि सो घटनालाई कसरी हेरिएको छ भन्ने सन्देश प्रवाह गर्छ । जसले गर्दा उद्यानमा ऐतिहासिक महत्व झल्किन्छ ।” राष्ट्रिय आधारभूत विद्यालय बाँदरमुढे र दिवाकर स्मृति विद्यालयसँग मर्ज हुन लागेकाले उद्यानलाई चाहिने जग्गा सहजरूपमा प्राप्त भएको उहाँको भनाइ छ । विस २०६२ जेठ २३ गते यात्रुबाहक बसमा शक्तिशाली एम्बुस पडकिएर ४२ ले ज्यान गुमाएका थिए । रासस