डाेल्पामा बढ्याे हवाई यात्रुको चाप, कारण के हाे ?
जाजरकोट । डोल्पालाई सडक सञ्जालले जोडे पनि हवाई जहाजमार्फत यात्रा गर्ने यात्रुको चापमा कमी आएको छैन ।जुफालस्थित विमानस्थलमा नेपाल वायुसेवा निगम, तारा एयर, समिट एयर र सीता एयरले उडान भर्ने गरेका छन् । जति जहाजले उडान भरे पनि यात्रुको चाप भने थेगी नसक्नुभएको युना ट्राभल्सका प्रतिनिधि श्रीया डाँगीले बताए । जाजरकोट–डोल्पा सडक सञ्जालभित्र अस्थायी कटान सकिए पनि सडकको स्तरोन्नति र पुल निर्माण नभएकाले हवाईमाध्यमबाट यात्रा गर्नेको सङ्ख्य दैनिक बढिरहेको छ । औषधि, अन्य सामग्रीसमेत जहाजमार्फत नै ढुवानी हुँदै आएको भिजिट कर्णाली टुर एण्ड टा«भल्सका प्रतिनिधि बालकृष्ण डाँगीले बताउँछन् । मौसम राम्रो हुनेबित्तिकै दैनिक तीन वटाभन्दा बढी उडान भर्ने गरेको नेपाल वायु सेवा निगमका जुफाल स्टेशन इञ्चार्ज सुमन विसीले बताएका छन् । उनले भने, “बिरामी, औषधि र आवश्यक काम सबै हवाईमाध्यमबाट हुने गरेको छ ।” सडक सञ्जालमा पुल निर्माण नभएका कारण सास्ती भोग्ने र दुःख पाउने भएपछि डोल्पा जाने र आउने यात्रु हवार्ईमार्गमार्फत यात्रा गर्न बाध्य छन् । वर्षायाममा खोेलामा पानीको मात्रा बढेका कारण ठाउँ, ठाउँमा यातायातका साधन फेर्नुपर्ने बाध्यताले गर्दा थप समस्या भएको डोल्पा ठूलीभेरी नगरपालिका– ६ का लक्ष्मीचन्द्र कार्कीले बताएका हुन् । जाजरकोट–डोल्पा सडकखण्डमा एक दर्जन पुल निर्माण गर्न बाँकी छ । डोल्पा आउने अधिकांश पर्यटक हवाईमार्गमार्फत नै आउने गरेका छन् । त्रिपुरासुन्दरी दर्शनदेखि उपल्लो डोल्पा, शे–फोक्सुण्डोमा जाने पर्यटक सबै हवाईमार्गमार्फत आउने गर्दछन् । जुफाल विमानस्थल स्तरोन्नतिको काम सम्पन्न भए पनि अहिले यात्रा थप सजिलो भएको छ । जुफाल विमानस्थलमा एक्स–रे मेसिन नहुँदा सुरक्षा जाँचमा समस्या भएको विमानस्थलका सुरक्षा प्रमुख कमल शाहले बताए । हातले छामेर, हेरेर दैनिक हवाईमार्गमार्फत पठाउने सामग्रीको जाँच हुँदै आएको छ । यसले सुरक्षा चुनौती भएको उनको भनाइ छ । डोल्पाबाट नेपालगञ्जका लागि रु पाँच हजार ११० हवाई भाडा लाग्ने गर्दछ । यातायातका साधनमा यात्रा गर्दा नेपालगञ्जबाट डोल्पा आउन रु पाँच हजारभन्दा बढी लाग्ने गरेको प्रचण्डविक्रम शाही बताउँछन् । दश ठाउँभन्दा बढी स्थानमा यातायातका साधन बदल्नुपर्ने बाध्यता भएको शाहीले उल्लेख गरे । जुफालबाट दुनै जानका लागि रुपगाड खोलाको पुल नहुँदा यात्रुले थप सास्ती भोग्दै आएका छन् । जहाजको टिकट पाउनका लागि पनि ठूलै युद्ध जिते झैँ हुने गरेको उनले बताए । सरकारले यो आर्थिक वर्षमा यो सडक खण्डको स्तरोन्नति र पुल निर्माणका लागि विशेष पहल गरिरहेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनाए । पहिलो चरणमा ट्र्याक खोल्ने काम पूरा भएको छ, अब स्तरोन्नति र पुल निर्माणमा ध्यान केन्द्रित हुने उनले भने । आज नै पूर्वशान्ति तथा पुनःनिर्माणमन्त्री सत्य पहाडीले सडक अनुगमन गरेका छन् । उता सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले सडकको काम जारी रहेको बताए । रासस
पर्यटन विभागद्वारा काठमाडौंका चार क्यासिनोको अनुगमन, बाँकीको पनि गरिने
काठमाडौं । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ । नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ । पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिएका छन् । बाँकी क्यासिनो पनि क्रमशः अनुगमन गरिनेछ । नेपालमा साना र ठूला गरी २० क्यासिनो सञ्चालनमा छन् । साना क्यासिनो सबै सर्वोच्च अदालतको निर्णयको प्रतिक्षामा छन् । प्रत्येक आर्थिक वर्षमा क्यासिनो नवीकरण गरिन्छ । ठूला क्यासिनोले रु चार करोड र साना (मिनी) क्यासिनोले रु एक करोड वार्षिक राजश्व बुझाउनुपर्छ । त्यस्तै नवीकरण दस्तुरबापत ठूला क्यासिनोले रु एक करोड र साना क्यासिनोले रु ५० लाख बुझाउनुपर्छ । ठूला क्यासिनोको निवेदन दस्तुर रु पाँच लाख र सानाको रु दुई लाख लाग्ने विभागले जनाएको छ । विभागको सगरमाथा हिमालपछि सबैभन्दा बढी राजश्व असुल हुने क्षेत्रमध्ये क्यासिनो नै प्रमुख हो । अघिल्लो आर्थिक वर्षमा विभागले रु एक अर्ब २० करोड राजश्व असुल गरेको थियो । क्यासिनोबाट मात्रै रु ४५ करोडभन्दा बढी राजश्व जम्मा हुने गरेको छ । क्यासिनो अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह-सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो । सो समितिका सदस्यमा विभागका महानिर्देशक डण्डुराज घिमिरे, विभागकै निर्देशक मीरा आचार्य, होटल तथा घरवास कार्यक्रम ‘होमस्टे’ शाखाका प्रमुख, होटल एशोसिएशन अफ नेपाल (हान) का प्रतिनिधि रहेका छन् । रासस
नेपाल वायुसेवा निगमको प्रवक्तामा चन्द
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का नायब महाप्रबन्धक गणेशबहादुर चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले चन्दलाई आइतबार निगमको प्रवक्ता तोक्नुभएको संस्थाका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमको आर्थिक विभागमा वरिष्ठ अधिकृतको रुपमा सेवा प्रवेश गर्नुभएका चन्दले संस्थागत विभागको प्रमुखको रुपमा पनि काम गरिसकेका छन् । बैतडी स्थायी घर भएका चन्दले त्रिभुवन विश्वविद्यालयबाट एमबिए अध्ययन गरेका छन् । यसअघि निगमको प्रवक्तामा वरिष्ठ क्याप्टेन विजय लामा थिए । नवनियुक्त प्रवक्ता चन्दले निगमको संस्थागत सुधारका लागि आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । निगमले राष्ट्रियतर्फ नौ विमानमार्फत २२ गन्तव्य तथा अन्तर्राष्ट्रियमा दुई वाइड बडी, दुई न्यारो बडी जहाजले छ मुलुकका विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएको छ । निगमले अन्तर्राष्ट्रियस्तरको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) प्रदान गर्दै आएको छ । रासस