गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७४ प्रतिशत, पाँच महिनामा सम्पन्न हुनेमा आशंका
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल ७४ प्रतिशत भौतिक प्रगति भएको छ । सन् २०१९ डिसेम्वर सम्म निर्माण कार्य पूरा गर्ने लक्ष्यका निर्माण कार्य भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले सिभिल र इलेक्ट्रो मेकानिकल गरी ८० प्रतिशतको हाराहारीमा भौतिक प्रगति भएको जानकारी दिए । अधिकारीले ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग, १ हजार ९ सय मिटर लम्बाई र २३ मिटर चौडाईको ट्याक्सी वे, अन्तराष्ट्रिय तर्फ ४ वटा र आन्तरिकतर्फ २ वटा पार्किङ निर्माण सम्पन्न भएको बताएका छन् । ‘समग्र रुपमा काम सकिएको छ’ उनले भने–‘छाना छाउने, कार पार्किङ, प्रवेशद्वारहरु निर्माण गर्न बाँकी छ, यदि विदेशबाट आयात गर्नु पर्ने उपकरणहरु समयमै आयो भने लिएको लक्ष्यमै हामी काम सम्पन्न गर्छौं ।’ पहिले केही प्राविधिक कारणले काम ढिला हुन गएको स्विकार्दै उनले शुरुका तीन वर्षमा एक तिहाई भन्दा कम काम भएको कारणले पनि समयमै कम हुन नसकेको बताए । सरकारले उल्लेख्य रुपमा बजेट विनियोजन गरेपनि केही प्राविधिक र उपकरणहरुको आयात ढिला हुँदा काम समयमै सम्पन्न गर्न चुनौती भएको बताए । तीन पटक म्याद थप गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माणको लागि तीन पटक म्याद थप गरिएको छ । तीन पटक म्याद थप गर्दा पनि निर्माण कार्य समयमै सम्मन्न हुने कुरामा आशंका थपिएको छ । निर्माणका लागि उपकरणहरु विदेशबाट आयात गर्नु पर्ने कारणले पनि निर्माण कार्य समय मै सकिन्छ वा सकिदैन भन्ने कुरामा आयोजना कार्यालय नै अन्यौलमा छ । आयोजना प्रमुख अधिकारी भन्छन्–‘विमानस्थल निर्माण कार्यमा बाहिरबाट आयात गर्नु पर्ने उपकरण आउँछ की आउँदैन यही आशंका छ ।’ भौतिक संरचना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनलाई तेस्रो पटक थप गरिएको हो । टर्मिनल भवनको फाइनल फिनिसिङ तथा टावर तथा अन्य पूर्वाधारको काम बाँकी रहने भएपछि जुलाईसम्म समय पाएको कम्पनीले सन् २०१९ को डिसेम्बरसम्मको समय पाएको हो । नेभिगेशन, कम्युनिकेशन तथा अन्य उपकरण जडानको काम अझै केही महिना लाग्ने र त्यो काम नभई कतिपय भौतिक पूर्वाधारको काम पनि नहुने भएकोले कम्पनीलाई समय थप गरिएको अधिकारीले बताए । यसअघि असारमै काम सम्पन्न गरी भदौबाट उडान शुरु गर्ने घोषणा गरेपनि थुप्रै काम बाँकी रहेकोले म्याद थप गरिएको हो । वि.स २०७१ सालबाट निर्माण शुरु भएको उक्त आयोजनाको काम २०७४ सालमा नै सक्नु पर्ने थियो । हालसम्म ३ अर्ब ६२ करोड खर्च विमानस्थल निर्माणमा हालसम्म ३ अर्ब ६२ करोड रुपैयाँ अर्थात ५३ प्रतिशत वित्तीय प्रगति भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार ६ अर्ब ८२ करोड बजेट लागत लाग्ने अनुमान गरिएको विमानस्थलमा हालसम्म उक्त परिमाणमा रकम खर्च भएको हो । शुरुका तीन वर्ष निर्माण कार्यमा त्यति प्रगति गर्न नसकेको बताउने आयोजनाले गत आर्थिक वर्ष २०७५/०७६ मा भने तीन वर्षकै जति प्रगति एक वर्षमै गरेर देखाएको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ६० करोड अर्थात ३६ प्रतिशत वित्तीय प्रगति भएको छ । गत आर्थिक वर्षको को कुल २ अर्ब ५ करोड बजेटमा विमानस्थलको निर्माणमा उक्त रकम खर्च भएको हो । गत वर्ष मात्रै भौतिक प्रगति २६ प्रतिशत भएको जनाएको छ । एसियाली विकास बैंकको ऋण तथा सहायतामा निर्माणधीन उक्त आयोजनाका लागि नेपाल सरकार र बैंकबीच सन् २०१० मे मा ऋण सम्झौता भएको थियो । के भन्छन् पर्यटन मन्त्री भट्टराई ? संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य डिसेम्बरमै सम्पन्न गराउन आफु लागि परेको बताउँछन् । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यो विमानस्थलको काम समयमै सम्पन्न गराउनका लागि समय समयमा निर्माण कम्पनीसँग बसेर छलफल पनि गर्ने गरेको मन्त्री भट्टराई बताउँछन् । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समयमै सम्पन्न हुनुपर्छ’ उनले भने, ‘त्यसमा हामी कुनै पनि कम्प्रमाइज गर्दैनौं, नेपाल सरकारबाट दिनु पर्ने दायित्वबाट पनि हामी कुनै कम्प्रमाईज गर्दैनौं, आजसम्मको काम हेर्दा समयमै सम्पन्न गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।’ विमानस्थल बनिसकेपछि त्यसको सञ्चालन, हयाण्डलिङको काम कसले गर्छ भन्ने कुराको आन्तरिक तयारीमा रहेको उनी बताउँछन् । विमानस्थललाई सञ्चालन गर्न जर्मनको युनिक कम्पनीले चासो देखाएको छ । उनीहरुसँग छलफल पनि भइसकेको उनले बताए । नेपाल नागरिक उडड्यन प्राधिकरणले हाल सम्मको समष्टिगत प्रगतिको विवरणमा उल्लेख गरे बमोजिम समस्याहरुमा मुख्य निर्माण कम्पनी र सहायक कम्पनीबीचको विवाद, ढुङ्गा, गिट्टी, बालुवा, माटो लगायतका निमार्ण सामाग्री उपलब्ध गराउने क्रममा समय÷समयमा विभिन्न कठिनाईहरु आइपरेको, नेपाल विद्युत् प्राधिकरणबाट अटुट विद्युत् प्रवाह डेडिकेटेड फिडर लाइन प्राप्त गर्न बाँकी छ ।
पर्यटन विकासका धेरै योजना शुरु नै भएनन्, ६४ प्रतिशत बजेट फ्रिज
चुरियामाई । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पर्यटन विकास आयोजनाले आर्थिक वर्ष २०७५/७६ मा पर्यटन क्षेत्रका लागि छुट्याइएको बजेट पर्याप्त खर्च गर्न सकेको छैन । आयोजना लेखाफाँटका अनुसार पर्यटन आयोजनाको लागि ढिलो गरी बजेटको अख्तियारी प्राप्त भएकाले बजेट न्यून खर्च भएको हो । पर्यटन विकासका लागि छुट्याइएको कूल बजेटमध्ये करीब ६४ प्रतिशत खर्च हुन नसकी फ्रिज भएको छ । आयोजनाका लागि कूल रु ८४ करोड ७३ लाख ५० हजार विनियोजन गरिएकामा रु ३० करोड ८२ लाख ३ हजार अर्थात् ३६ दशमलव ३७ प्रतिशत मात्र खर्च भएको छ । आयोजनाका लागि पूँजीगत तर्फ रु ७८ करोड ५४ लाख ४५ हजार छुट्याइएकामा रु २७ करोड २९ लाख ७३ हजार मात्र खर्च गरिएको छ । पूँजीगततर्फ प्रगति ३४ दशमलव ७५ प्रतिशत मात्रै छ । चालुतर्फ रु छ करोड १९ लाख छुट्याइएकोमा रु तीन करोड ५२ लाख मात्र खर्च भएको छ । चालुतर्फ प्रगति भने ५६ दशमलव ९१ प्रतिशत छ । आयोजनाका लेखा फाँटका सुमन घिमिरेका अनुसार आयोजनाअन्तर्गत पदमार्ग सञ्चालनको लागि रु दुई करोड २० लाख छुट्याइएकोमा खर्च हुन सकेन । त्रिभुवन राजपथलाई पर्यटकीय मार्ग घोषणा तथा विकास कार्यक्रमअन्तर्गत झिरघारीमा रु २३ लाख ३३ हजार खर्च गरी मैत्री बगैँचा निर्माण गरिएको छ । लामिडाँडा र टिस्टुङमा रु २८ लाख ४४ हजारखर्च गरी विश्रामघर निर्माण गरिएको छ । आयोजना कार्यालयको तथ्याङ्क अनुसार १० जिल्लामा पर्यटकीय क्षेत्रको पहिचानसहितको हिल स्टेशन निर्माण गर्ने भनिए पनि त्यसले सार्थकता पाउन सकेन । हिल स्टेशनका लागि छुट्याइएको रु ३७ करोडमध्ये सर्भे, डिजाइनलगायतमा रु दुई करोड २१ लाख मात्र खर्च भएको छ । अन्य रकम खर्च हुन सकेन् । प्रदेश मन्त्रालयले सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, धादिङको सोम्दाङग, रुबी भ्याली, मकवानपुरको चित्लाङ, सिमभञ्ज्याङ, रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको चिम्टेश्वर र ककनीलाई हिल स्टेशनको रुपमा विकास गर्न बजेट विनियोजन गरेको थियो । ऐतिहासिक तथा पुरातात्विक विकास कार्यक्रमअन्तर्गत स्वयम्भू गीता परिसरस्थित गीता मन्दिर भवन निर्माण, मकवानपुरगढी, चिसापानीगढी, हरिहरपुरगढी र सिन्धुलीगढी प्रवद्र्धन कार्यक्रम आयोजना कार्यालयले गरेको छ । सूर्यगढी, रसुवागढी, दुगुनागढी, उपरदाङगढीलगायत पर्यटन विकास गुरुयोजना निर्माण गरिएको छ । राष्ट्रिय व्यक्तित्वको जन्मस्थान पहिचान तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत सिन्धुलीको दुम्जामा बिपी कोइराला र रामेछाप डाँडामा पुष्पलालको स्मृति उद्यान निर्माण गरिएको छ । चिवतनको परेवाकोटमा जेपी स्मृति उद्यान र गोलघर धर्मशाला सञ्चालनमा ल्याइएको छ । पोष्टबहादुर बोगटी स्मृति बाटिकाका साथै पिसकर–भिमान र दोरम्बा स्मृति उद्यान पनि निर्माण गरिएको छ । मन्त्रालयले गत आवमा पर्यटनतर्फ २१ ठूला आयोजनाकोे डिपीआर तयार भएको छ । प्रदेश सरकारले सिन्धुपाल्चोकमा सबैभन्दा बढी सात डिपीआर तयार गरेको छ । आयोजनाले पर्यटकीय पार्क निर्माण, भ्यू टावर, पर्यटकीय पदमार्ग निर्माण, बगैँचा, पार्किङस्थल, पदमार्गको स्तरोन्नति, धार्मिक पर्यटकीय सर्किट निर्माण, तातोपानी क्षेत्रको संरक्षणलगायत कार्यको डिपिआर तयार भएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले मकवानपुरको दामान, कुलेखानी, मार्खु, चित्लाङ, सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, रामेछापको शिवालय, ललितपुरको कालेश्वर, नुवाकोटको ककनी, धादिङको रुभीभ्याली, रसुवाको सोमदाङ र सिन्धुलीको सिन्धुलीगढी खुर्कोटलाई ‘एक जिल्ला एक पर्यटकीय गन्तव्य’को रुपमा विकास गर्ने योजना अगाडि बढाएकोमा करीब रु पाँच लाख मात्र खर्च भएको छ । रासस
श्री एयरलाइन्सले भित्र्यायो ८० सिट क्षमताको नयाँ जहाज
काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको टर्बोजेट क्वू ४०० सिरिजको जहाज ल्याएको छ । उक्त जहाज ओमन हुँदै भारतको अहमदाबादबाट आइतबारत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यसहित नयाँ जहाज थपिएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । योसँगै श्रीसँग पाँच जहाज भएका छन् । यसअघि आन्तरिक उडानमा ५० सीट क्षमताका सिआरजे २०० जहाज दुई थान, ७० सीट क्षमताका सिआरजे ७०० जहाज दुई थान थिए । सो जहाजल पोखरा, सिमरा र जनकपुर उडान गर्ने एयरलाइन्सको योजना छ ।