ठूलाे दुर्घटना हुनबाट जोगियाे सीता एयरकाे जहाज

सोलुखुम्बु । लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरको जहाजको इञ्जिन तीन मिनेटमै फेल भएको छ । लुक्लाबाट बिहान ८ः२१ मा उडेको’नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इञ्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ । विमानको एउटा इञ्जिन फेल भए पनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गराइएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका इञ्चार्ज इमानाथ अधिकारीले जानकारी दिएका छन् । सो जहाजमा चालक दलका तीनजना मात्रै सवार थिए । काठमाडौंबाट पर्यटक लिएर लुक्ला आएको विमान फर्कदा खाली फर्किएको नागरिक उड्यन प्राधिकरण लुक्लाले जनाएको छ । प्राधिकरण लुक्लाका प्रमुख अधिकारीका अनुसार उडिसकेपछि इञ्जिन फेल भएकाले दुर्घटनाबाट जोगिएको हो । जहाज उड्ने समयमा यस्तो भएको भए केही दुर्घटना हुनसक्ने उनको भनाइ छ । क्याप्टेन भरत थापाले उडाएको जहाज बिहान ८ः५१ बजे सकुशल अवतरण गरिएको बताइएको छ । रासस

५० हजार पर्यटक भित्र्याउने अभियानसँगै शुरु भयो प्याराग्लाइडिङ उडान

गाईघाट । उदयपुर जिल्लाको बेलका नगरपालिकाले नगरपालिकाको बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याराग्गाइडिङ उडान सञ्चालन गर्ने अभियान तीव्र रुपमा शुरु गरेको छ । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट डाँडाबाट पटक–पटक प्याराग्लाइडिङ उडान परीक्षण गरेर सप्तकोशी बगरसम्म अवतरणको परीक्षण भएपछि अब यो क्षेत्रलाई एक नम्बर प्रदेशकै एक नम्बर प्याराग्लाइडिङ ‘हब’को रूपमा विकास गरेर वार्षिक ५० हजारसम्म पर्यटक भित्र्याउने गरी यो अभियान शुरु गरिएको बेलका नगरपालिकाले बताएको छ । यसभन्दा अघि पनि बेलका क्षेत्रका २०० भन्दा बढी युवा तथा पर्यटक उद्यमीले प्याराग्लाइडिङ उडानको तालिम लिइसकेको र बेलका मैनामैनीको बोपताङ र चम्पाकोटबाट पटक–पटक प्याराग्लाइडिङ उडान सफल भएपछि अब आगामी कात्तिक महिनादेखि नै स्थायी र व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सञ्चालनमा ल्याउन अहिले अन्तिम तयारी कार्य भइसकेको नगपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताएका छन् । बेलकाको मैनामैनीको चम्पाकोट र बोप्ताङबाट सप्तकोशीको बगरसम्म उडान गर्नका लागि चाहिने आवश्यक भौतिक पूर्वाधार र निर्माण व्यवस्थापनको कार्य अहिले भइरहेको र यसका लागि बेलका प्याराग्लाइडिङ सङ्घ, सुनसरी चतरा प्याराग्लाइडिङ, पोखरा प्याराग्लाइडिङ तथा एशियन प्याराग्लाइडिङ समूहको आर्थिक लगानी र बेलका नगरपालिकाको पहलमा प्याराग्लाइडिङ सञ्चालन गर्ने कार्य तयारी तीव्र रुपमा भइरहेको पनि नगरपालिका प्रमुख थापाले बताए । बेलकामा अहिले आर्थिक समृद्धि हासिल गर्न कृषि र पर्यटन दुई क्षेत्र महत्वपूर्ण रहेको र पर्यटनका लागि सप्तकोशीमा बोटिङ र प्याराग्लाइडिङ महत्वपपूर्ण रहेको कारण पनि अब आगामी कात्तिक महिनादेखि पोखरामा जस्तै बेलकामा पनि व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान शुरु गर्ने उनले बताएका छन् । प्याराग्गाइडिङ र सप्तकोशीमा बोटिङबाट वार्षिक ५० हजारभन्दा बढी पर्यटक बेलकामा भित्रन सक्ने नगरपालिकाको अनुमान छ । प्याराग्लाइडिङ उडानका लागि पूर्वाधार तयार गर्न अहिले मैनामैनीको चम्पाकोटसम्म सडक व्यवस्थापन तथा पर्यटकको लागि खाने बस्नेसहितको होटल तथा घरबाससमेतको व्यवस्थापन कार्य भइरहेको नगरपालिकाले बताएको छ । मैनामैनीको बोपताङ तथा चम्कोट डाँडासम्म पुगेर पर्यटकले भोजपुर धनकुटा, खोटाङ तथा सुनसरी र सप्तरी जिल्लाहसहित उत्तरपट्टिको हिमालय अवलोकन गर्दै प्याराग्लाइडिङबाट उडेर मधेशको सप्तकोशीसम्म झर्न सक्ने र यसले पर्यटकलाई आकर्षण गर्नेसमेत बेलकाका पर्यटन व्यवसायी प्रवीन राई बताउँछन् । भारतको दार्जिलिङ, विहार, पश्चिम बङ्गाल, भूटान तथा नेपालको एक नम्बर प्रदेशका धेरै पर्यटक यसक्षेत्रमा प्याराग्लाइडिङ उडानका लागि आकर्षित हुने नगरपालिका प्रमुख थापाले बताए । प्याराग्लाइडिङ सञ्चालनबाट बेलका क्षेत्रका २ सय ५० युवाले प्रत्यक्ष रोजगारी पाउने, होटल, घरबास सञ्चालन हुँदा स्थानीयसमेत स्वरोजगार बन्ने र यसक्षेत्रको सांस्कृतिक तथा भौगोलिक अवस्थाको प्रचारप्रचार हुने अपेक्षा नगरपालिकाले गरेको छ । रासस

नाराको निर्वाचन भदौ २४ मा

काठमाडौं । नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्ट (नारा) को निर्वाचन यही भदौ २४ मा हुने भएको छ । जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्न स्थापना भएको नाराको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन हुन लागेको हो । नाराका कोषाध्यक्ष शिशिर खनालले वार्षिक साधारणसभा तथा निर्वाचनको तयारी तीव्रगतिमा भइरहेको जानकारी दिएका छन् । विसं २०४६ मा स्थापना भएको नारामा १०० हाराहारीमा व्यवसायी आबद्ध छन् । नाराको हरेक दुई वर्षमा निर्वाचन तथा प्रत्येक वर्ष साधारणसभा हुँदै आएको छ । जलयात्राका लागि साहसिक गन्तव्यको परिचय बनाएको त्रिशूली नदी विश्वका उत्कृष्ट नदीमध्ये एक हो । त्रिशूली नदीमा अहिले व्यावसायिक रूपमा जलयात्रा सञ्चालनमा छ । यस्तै, भोटेकोशी नदीमा पनि धेरै जलयात्री मनोरञ्जन लिन जाने गरेका छन् । नेपालमा रहेका छ हजार नदीनालामध्ये त्रिशूली, कर्णाली, कालीगण्डकी, मस्र्याङ्दी, भोटेकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएका छन् । राजधानीबाट नजिक भएका कारण त्रिशूली नदीबाट नेपालको पहिला साहसिक जलयात्रा शुरु गरिएको थियो । रासस