पर्यटन वर्ष २०२० को प्रचार–प्रसारमा निस्के साइकलयात्री
गोरखा । सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०२०’ को प्रचार–प्रसारका लागि देशभरिका सबै जिल्ला पुग्ने योजनासहित साइकलयात्रामा निस्केका खोटाङका कर्णबहादुर श्रेष्ठ गोरखा आइपुगेका छन् । सबै जिल्लामा रहेका ऐतिहासिकस्थलको प्रचार–प्रसार गर्न साइकलयात्रामा निस्केका श्रेष्ठ ३६औँ जिल्लाका रूपमा साइकल चढेर मङ्गलबार गोरखा आइपुगेका हुन् । साइकलयात्री श्रेष्ठलाई गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले स्वागत तथा सम्मान गरेको छ । पर्यटन वर्ष २०२० को प्रचार–प्रसार एवं ‘भ्रष्टचारमुक्त समाज निर्माण गरौँ, धार्मिक एवं पर्यटन क्षेत्रको प्रवद्र्धन गरौँ’ भन्ने नारा लिएर आफू साइकलयात्रामा निस्किएको श्रेष्ठले बताए । गएको चैत ३ गतेबाट यात्रा शुरु गरेका श्रेष्ठ १४९ दिन लगाएर गोरखा आइपुगेका थिए । श्रेष्ठले आउँदो असोजभित्रै देशका ७७ वटै जिल्लाको भ्रमण गरेर सक्ने लक्ष्य लिएको बताएका छन् । “साइकलको अगाडि दायाँबायाँ राष्ट्रिय झण्डा फहराउँदै, नेपाली राष्ट्रिय पोशाक दौरासुुरुवालमा साइकलयात्रामा हिँडेका श्रेष्ठले गोरखा सदरमुकाममा जिल्लाका ऐतिहासिक एवं धार्मिकस्थलको बारेमा जानकारीसमेत लिएका छन् । यात्राका क्रममा जिल्ला सदरमुकाममा पुगेर त्यहाँ रहेका उद्योग वाणिज्य सङ्घ, विद्यालय, क्याम्पस विद्यार्थी एवं पत्रकार महासङ्घसँग अन्तक्र्रिया गरेका हुन् । गोरखाका पत्रकारसँग कुराकानी गर्दै श्रेष्ठले देश भ्रमणका लागि साइकल सस्तो यात्रा भएको र स्वास्थ्यका लागि समेत फाइदा भएकाले साइकलयात्रा रोजेको बताए । रासस
अवैध रूपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढ्दै
चिप्लेढुंगा । पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ । त्यसमा रुसका धेरै छन् भने अन्यमा लेवनान, फ्रान्स, टर्की, केन्या, पोल्याण्ड, बेलायत, यमन, चीन, नेदरल्याण्डस्का नागरिक छन् । उनीहरुलाई लेकसाइड आसपासका क्षेत्रबाट पक्राउ गरिएको हो । आव २०७४/७५ मा अवैध बस्ने पर्यटकको सङ्ख्या ६ जना रहेको थियो । पर्यटक प्रहरी प्रमुख भगवती तिमिल्सिनाका अनुसार पछिल्लो समय विदेशी पर्यटकमा निगरानी बढाएको कारणले सङ्ख्या बढेकोे उनको भनाइ छ । “पहिला कहीबाट आएको सूचनालाई आधार मानिन्थ्यो, अहिले हामी आफैँले विशेष चासोसाथ निगरानी बढाएपछि पक्राउ पर्ने बढेको हो”, तिमिल्सिनाले भने । फिलिपिन्सका नागरिक अल्बर्टले १९ वर्षदेखि कास्कीको ठूलाखेतमा कुखुरापालन व्यवसाय गर्दै आएको भेटिएको छ भने नेदरल्याण्ड्सका रुवेन १० वर्षदेखि लेकसाइडकै एक होटलमा गैरकानूनी रुपमा काम गर्दै आएको भेटिएको उनको भनाइ छ । पक्राउ पर्ने अधिकांशको राहदानी र प्रवेशाज्ञा छैन । पक्राउ परेका विदेशीलाई अध्यागमन कार्यालय पोखरामार्फत विभागमा पठाइएको छ । अवैध बसोबास गर्ने अधिकांश नागरिक शहर भित्रका होटलभन्दा बाहिर अपार्टमेन्ट र हामेस्टेमा बस्ने गरेको होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली बताउँछन् । “हामीले अधिकांश पर्यटकको राहदानीको फोटोकपी र प्रवेशाज्ञा हेर्ने गर्छौै तर अवैध बस्नेहरु आर्थिक रुपमा कमजोर रहेका पर्यटक हुन्छन् । उनीहरु शहरभन्दा अलि टाढा सुरक्षित स्थान खोजेर बस्ने गर्छन् ।” पराजुलीले अब हरेक होटलमा राहदानीसँगै प्रवेशाज्ञा पनि निगरानी गर्न आवश्यक रहेको बताए । त्यसैगरी, गैरकानूनी रुपमा ड्रोन क्यामेरा प्रयोग गर्ने विदेशी नागरिकलाई पर्यटक प्रहरीले पक्राउ गरेको छ । आव २०७५ /७६ मा तीन त्यस्ता नागरिक पक्राउ परेका छन् । त्यसअघि २०७४÷७५ मा ११ विदेशी नागरिकलाई पक्राउ गरिएको थियो । पक्राउ परेकालाई नागरिक उड्डयन कार्यालय पोखरामा बुझाइएको तिमिल्सिनाले जानकारी दिएका छन् । रासस
अन्तरराष्ट्रिय क्षेत्रमा श्री एयरलाइन्सकोे चार्टर्ड उडान शुरु
काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय क्षेत्रमा चार्टर्ड उडान शुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै कम्पनीले भारतको वनारसमा आज परीक्षण उडान (प्रभिङ फ्लाइट) गरेको एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । उनका अनुसार ५० सिट क्षमताको सिआरजे २०० र ७० सिट क्षमताको सिआरजे ७०० जहाजबाट बनारस गन्तब्यको उडान भर्नेछ । उडान अनुमति पाएपछि भारतका अन्य गन्तब्यमा पनि उडान विस्तार गर्ने कम्पनीको योजना छ । श्री एयरलाइन्ससँग चार वटा दुई सिआरजे २०० र सिआरजे ७०० जहाज छन् । वनारसमा चार्डर्ड उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट श्री एयरलाइन्सले अनुमति पाएको थियो । यो परीक्षण उडानपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट विमान उडान अनुमतिपत्र (एओसी) पाउनेछ । अन्तरराष्ट्रिय गन्तब्यमा उडानका लागि पर्यटन मन्त्रालयलाई निवेदन दिएको सोही आधारमा परीक्षण उडान भरेपछि मन्त्रालयको प्रक्रिया पूरा गरी प्राधिकरणले एओसी दिने जनाइएको छ । एयरलाइन्सले व्यावसायिक उडान गर्नुपूर्व नियामक निकायको मापदण्डबमोजिम सक्षमता परीक्षण उडान गर्नुपर्ने हुन्छ । भारतका विभिन्न गन्तब्यमा उडान सञ्चालनका लागि छ महीनाअघि अनुमति पाएको र सोही आधारमा परीक्षण उडान गरिएको कम्पनीले उल्लेख गरेको छ । सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको एयरलाइन्सले हाल आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर, नेपालगञ्जलगायत गन्तब्यमा उडान भर्दै आएको छ । रासस