चैत्र १९ गतेदेखि हेलिकप्टर सेवा बन्द, नाजायज माग राख्दै व्यवसायीहरू

काठमाडौं । बायुसेवा सञ्चालक संघ नेपालले अप्रिल १ देखि हेलिकप्टर सेवा बन्द गर्ने घोषणा गरेको छ । यात्रुहरु नभएको जनाउँदै यसअघि प्रतिवद्धता जनाएको उडान मात्र उडान गर्ने र सबै हेलिकप्टरहरु ग्राउण्डेट (भूमिस्थ) गरिने संघले जनाएको छ । त्यस्तै, कम्पनीको खर्च कम गर्न कम्पनी पुर्नसंरचना गर्ने र कर्मचारीहरु हटाउने कार्य चैत १८ गतेदेखि शुरु गर्ने संघले जनाएको छ । कोरोना भाइरसको कारण हवाई सेवा प्रदायक कम्पनीहरुलाई ठूलो क्षति भएको जनाउँदै हवाई कम्पनीहरुलाई भ्याट, आयकर, टीडीएस, बैंकको व्याज, बीमा शुल्क, ल्याण्डिङ शुल्क, पार्किङ, रात्री विसान शुल्कमा छुट दिनुपर्ने माग संघको छ । त्यस्तै, स्वदेशी तथा विदेशी बैंकबाट लिएको कर्जाको कम्तिमा एक वर्षको व्याज मिनाह गर्नुपर्ने, एक वर्षलाई कर्जाको किस्ता स्थगित गर्नुपर्ने, ऋण पुर्नतालिकीकरण गर्नुपर्ने जनाएको छ । चैत ६ गते बसेको संघको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको प्रबक्ता याेगराज कँडेलले जानकारी दिए । संघकाे धेरै माग नाजायज भएकाे जानकारहरू बताउँछन् । काेराेनाकाे कारण हवाइ सेवा नराम्ररी प्रभावित भएता पनि सबै कर छुटदेखि बैंक व्याज र बीमा शुल्कमा छुट सम्भव नभएकाे उनीहरू बताँछन् ।

मनकामना केवुलकार चैत ८ गतेदेखि बन्द

काठमाडौं । नेपालको पहिलो केबुलकार सञ्चालक मनकामना दर्शन प्रा.लि.ले आगामी चैत ८ गते शनिबारदेखि मनकामना केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउने उद्देश्यले सो दिनदेखि यो महिनाभरि उक्त सेवा बन्द गर्न लागेको हो । स्वास्थ्य नै सर्वोपरी हो भन्ने मनकामना दर्शनले हालको परिपेक्षमा यस भाइरसको संक्रमण फैलिन नदिन थप सहयोग पुगोस् भन्ने हेतुले केवुलकार सेवा चैत महिनाभरिको लागि केवुलकार सेवा स्थगित गरिएकाे जानकारी दिएकाे छ ।

अर्थमन्त्री भन्छन्ः जीडीपीमा पर्यटनको योगदान ३ प्रतिशत मात्र छ, त्यसले अर्थतन्त्रमा धक्का पर्दैन

काठमाडौं । अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पर्यटनमा भएको नोक्सानले अर्थतन्त्रमा खासै धक्का नपर्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले काेराेनाकाे प्रभावले पर्यटनमा असर पर्ने भए पनि त्यसले अर्थतन्त्रमा त्यति धक्का नपर्ने बताएका हुन् । बिहीबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा भएकाे पत्रकार सम्मेलनमा बोल्दै डा.खतिवडाले पर्यटनको जीडीपीमा ३ प्रतिशत मात्र योगदान भएकाले पर्य काेराेना असर त्यति परिमाणमा मात्रै पर्ने भन्दै त्यसले अर्थतन्त्रमा खासै असर नपर्ने बताएका हुन् ।