सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा शुरु गर्ने पहल

सुदूरपश्चिम । दशकाैँपछि धनगढी विमानस्थललाई आधार बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाईसेवा सञ्चालनको प्रयास थालिएको छ । प्रदेशको धनगढी विमानस्थलबाट बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनका लागि आज संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले तयारी उडानको शुभारम्भ गरे । मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लामा रहेका विमानस्थलमा नियमितरूपमा जहाज सञ्चालन गरिने बताए । प्रदेशका पहाडी जिल्लाको विमानस्थलमा प्राविधिक दृष्टिले उडान सम्भव भए/नभएकोबारे अध्ययन गर्नका लागि मन्त्रालयको एक टोलीसमेत आएको थियो । निजी क्षेत्रको विमान कम्पनी समिट एयरले धनगढीबाट यी तीन जिल्लामा उडान सञ्चालन गर्न लागेको बताइएको छ । केही हप्तादेखि उक्त विमानले नेपालगञ्ज–बाजुरा–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जसम्म चार्टर्ड उडान गरिरहेको छ । बैतडी, बझाङ, डोटी जिल्लामा रहेका विमानस्थलको स्तरोन्नतिको काम पूरा भएसँगै हवाई सेवा शुरु गर्ने पहल भएको हो । विमानस्थल उद्घाटन गरिएसँगै यहाँका पहाडी जिल्लामा निमियतरूपमा जहाज चल्नेमा यहाँका स्थानीयवासी निकै खुशी भएका छन् । प्रदेशका पहाडी जिल्लामा गम्भीर बिरामी हुने व्यक्तिलाई तत्काल उपचारका लागि चर्को भाडामा हेलिकप्टर अथवा जहाज चार्टर्ड गरेर सुविधा भएका अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यताको अब अन्त्य हुने उनीहरुके विश्वास छ । समयमै उपचार नपाई कतिपयको मृत्युसमेत हुने गरेको अवस्थामा धनगढी विमानस्थलबाट पहाडी जिल्लाका विमानस्थलमा शुरु भएको हवाई सेवाले ठूलो राहत हुने भन्दै स्थानीयवासी खुशी देखिएका हुन् । बैतडीको पाटन बहुमुखी क्याम्पसका प्रमुख उत्तम भण्डारीले हवाई सेवा शुरु गर्ने पहल हुँदा जनता उत्साहित देखिएको बताउँछन् । “हवाई सेवा शुरु भएमा आकस्मिक काम पर्दा समयमै गन्तव्यमा पुग्न नसकिने समस्याबाट जनता मुक्त हुनेछन्, भण्डारीले भने, “यसबाट व्यापार, व्यवसाय र पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने देखिन्छ ।” नेपालगञ्ज विमानस्थलबाट सुदूरपश्चिमको बाजुरा र अछामको कमलबजार विमानस्थलसम्म भने हवाई सेवा सञ्चालन छ । प्रदेशको महेन्द्रनगर, टीकापुर र दार्चुलाको गोकुलेश्वरमा रहेका विमानस्थल बन्द अवस्थामा छन् । हाल सुदूरपश्चिमको धनगढी विमानस्थलमा मात्रै काठमाडौँ–धनगढी–काठमाडौँ नियमित हवाई सेवा सञ्चालनमा छ । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि गएको चैतदेखि बन्द गरिएको धनगढी विमानस्थलबाट यही असोज पहिलो हप्ताबाट काठमाडौँ–धनगढी–काठमाडौँसम्म हवाई सेवा पुनः सञ्चालन गरिएको थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निजी क्षेत्रको बुद्ध एयर र श्री एयरलायन्सले दैनिक काठमाडौँ–धनगढी–काठमाडौँसम्मको हवाई सेवा सञ्चालन गरिरहेका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको धनगढीस्थित कार्यालय भने बन्द गरिएको छ । निगमसँग धनगढी रुटमा चल्ने जहाजको अभाव भएकाले काउण्टर बन्द गर्नुपरेको जनाइएको छ । देशभरका नाफा कमाउने १० वटा विमानस्थलमध्ये धनगढी विमानस्थल पनि हो । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि विमानस्थलमा हवाई सेवा बन्द हुँदा परेको प्रभावको असर विमानस्थलको आम्दानीमा पनि परेको छ । धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले भने, “महिनामा २५ लाखदेखि ३० लाखको आम्दानी हुने गरेकामा हवाई सेवा बन्दा हुँदा यो आम्दानी गुमाउनुपरेको छ ।” धनगढी विमानस्थलको स्तरोन्नतिको कार्य केही वर्षदेखि भइरहेको छ । यस क्रममा विमानस्थलको एक हजार ८०० मिटर लामो र ३० मिटर चौडा धावनमार्गको कालोपत्रको स्तरोन्नति भइसकेको छ । यो विमानस्थलमा जहाज पार्किङ गर्ने एप्रोनको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । फायर विल्डिङ (दमकल राख्ने घर) र ओभरहेड ट्याङ्की निर्माणाधीन छ । विमानस्थलमा रात्रिकालीन उडान र अवतरण गर्ने व्यवस्थाका लागि भिओआर÷डिएमइ (जहाजलाई बाटो देखाउने उपकरण) जडान कार्य पूरा भइसकेको छ । यसको परीक्षण हुन भने बाँकी छ । लामो धावनमार्गको दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि धनगढी विमानस्थल दोस्रो हो । रासस

पर्यटनमन्त्री भट्टराईद्वारा सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन

डाेटी । संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन् । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लामा रहेका विमानस्थलमा नियमितरूपमा जहाज सञ्चालन गरिने बताए । उनले भने, “यहाँका पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनका लागि भए पनि हामी नियमितरूपमा जहाज चलाउने छौँ, स्थानीय नागरिकको पनि सहयोग आवश्यक पर्ने छ ।” मन्त्री भट्टराईले यहाँका पहाडी जिल्लामा नियमितरूपमा विमानस्थल सञ्चालनका लागि समिट एयरसहितका केही निजी विमान कम्पनीसँग सम्झौताको तयारी भइरहेको समेत जानकारी दिए । यहाँका विमानस्थलको टर्मिनल भवन तथा एटिसी भवन नयाँ निर्माणका लागि पनि आवश्यक पहल भइरहेको उनले बताए । यात्रु अभावको कारण देखाई लामो समयदेखि बन्द अवस्थामा रहेका यहाँका विमानस्थलको थप स्तरोन्नतिसमेत गरिने मन्त्री भट्टराईले प्रतिबद्धता जनाए । त्यसैगरी ४९० मिटर लम्बाइको रनवे रहेको डोटीको दिपायल विमानस्थलको रनवेलाई एक हजार मिटर बनाउनका लागि अध्ययन गर्न मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण विभागबाट तत्कालै प्राविधिक टोली पठाइने मन्त्री भट्टराईले बताए । उनले थप भने, “दिपायल विमानस्थल कूल एक हजार मिटर रनवेसहितको निर्माण गरिने छ, यसका लागि हामी छिट्टै प्राविधिक टोली पठाउँछौँ, केही प्राविधिकहरु आइसक्नुभएको छ ।” सोही कार्यक्रममा डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले दिपायल विमानस्थलको स्तरोन्नतिपछि यहाँका नागरिकको सहजता तथा पर्यटक भित्र्याएर आयस्तर वृद्धि गर्नका लागि भए पनि नियमितरूपमा जहाज सञ्चालन हुनुपर्ने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक राजन पोखरेलले दिपायललगायतका यहाँका अन्य विमानस्थलमा नियमित जहाज सञ्चालनका लागि पहल भएको र अर्को हप्तादेखि यहाँ जहाज चल्न शुरु हुने बताए । उनले भने, “दिपायल, पाटन, चैनपुरमा नियमित विमान सञ्चालनका लागि सबै प्रक्रिया पूरा भएको छ, अर्को हप्तादेखि जहाज नियमित हुनेछ ।” कालोपत्रको काम सकेर जहाजको पर्खाइमा रहेका यहाँका विमानस्थलमा नियमित जहाज सञ्चालन हुनसके यहाँको विकास हुनुका साथै पर्यटकको चहलपहल पनि बढ्नेमा यहाँका स्थानीयवासी निकै आशावादी भएको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताइन् । उनले भनिन्, “राजधानी खोसिएर कैलाली सरेपछि यहाँका नागरिकमा निराशा छाएको छ, व्यापार–व्यवसायमा पनि मन्दी छाएको छ, अब जहाज चलाउन सके यहाँको विकास अवश्य हुनेछ ।” उक्त विमानस्थल उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका पर्यटनमन्त्री माया भट्टलगायतको सहभागिता थियो । रासस

थाइ र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने भएको छ । सरकारले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिरकाले थाइ र एयर इण्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी भएको बताएको हो । बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा प्राधिरकणका महानिर्देशक राजन पोखरेलले आफ्नो ग्राउण्ड ह्याण्डलिङ आफै गर्ने गरेका थाइ एयर र एयर इण्डियाको अनुमति फिर्ता लिने बताए । अहिले कोरोनाका कारण ती विमान कम्पनीका अधिकारीहरुसँग वार्ता गर्न सम्भव नभएकाले छिट्टै वार्ता गरि अनुमति फिर्ता दिइने उनले बताए । ‘‘अब थाइ एयर र एयर इण्डियाले ग्राउण्ड ह्याण्डलिङको मौका दिने पक्षमा हामी छैनौं। अहिले कोभिडको बेला छ उहाँहरु उहाँ हुनुहुन्न आएपछि छलफल गरेर तपाईहरुले सेल्फ ग्राउण्डिङ गर्न पाउनुहुन्न । तपाईको क्राइट एरिया मिट गर्दैन भन्छौं । अब हाम्रो ग्राउण्ड ह्याण्डिलिङ सेवा दिने प्रदायक नेपाल सेवा निगम मात्रै हो यो कुरामा भ्रममा नपर्नुहोस् ।’’, पोखरेलले भने । उनले काठमाडौं बेस भएर नयाँ वायुसेवा कम्पनीलाई सञ्चालनको अनुमति नदिने पनि उनले बताए । हिमालय एयरलाइन्सलई नियमाअनुसार सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएकाले राष्ट्रिय मुद्दा बनाउन नहुने बताए ।