आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै, व्यवासायीमा जगायाे आशा

काठमाडौं । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताल लगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैं लागेसँगै पछिल्ला दिनमा भने आन्तरिक पर्यटककको आगमनले यहाँका पर्यटन व्यवसायीमा थोरै भने पनि आशा जगाएको छ । विगतका वर्षमा दशैं तिहारको समयमा पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतहीँ यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिने गरेको भए पनि पोखरा अहिले भने कोरोनाको कहरले जकडिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङ्कोट, विश्वशान्ति स्तूपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकनका लागि आउने पर्यटकका कारण विगतमा जस्तो चहलपहल नदेखिए पनि पछिल्ला दिनमा पोखराको लेकसाइड र आसपासका पर्यटकीय स्थलमा आन्तरिक पर्यटक फाट्टफुट्ट देखिएका छन् । लामो समयदेखि शून्यतामा रुमल्लिएको पोखरा दशैं तिहारको आगमनसँगै केही मात्रामा भने पनि चहलपहलमय बनेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । “दशैं तिहारको समय आन्तरिक पर्यटकको चहलपहल हुने समय हो”, उनले भने, “विगतमा जस्तै उल्लेख्य पर्यटक नदेखिए पनि फाट्टफुट्ट पर्यटक देखिँदा पनि पर्यटन व्यवासायीमा आशा जगाएको छ ।” पोखरा आएका आन्तरिक पर्यटक वरपरका पदयात्रा मार्ग एवं पर्यटकीय स्थल नखुल्दा भने समस्यामा पर्ने गरेको उनले बताए । कोरोनाको महामारी फैलन सक्ने अवस्थालाई दृष्टिगत गरी पोखरा हुँदै जाने धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ दर्शनार्थीका लागि खुल्ला गरिएको छैन भने विश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग मध्येको अन्नपूर्ण आधार शिविर जाने पदमार्ग यतिखेर त्यहाँका स्थानीय पर्यटन व्यवसायीले नै बन्द गरेका छन् । आसपासका पर्यटकीय गतिविधिलाई चलायमान बनाउन स्थानीय तह एवं प्रदेश सरकारसमेतले समन्वय गरी स्वास्थ्य सुरक्षा मापदण्डका साथ पर्यटनसम्बद्ध सबै क्षेत्र र गतिवधि खुल्ला गरिनुपर्ने उनले बताए । पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने याम हो । त्यस्तै मार्च, अप्रिल तथा नेपाली र अङ्ग्रेजी नयाँ वर्षको समयले पनि पर्यटकलाई पोखरामा लोभ्याउने गर्दछ । दशैंको समयमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा विगतदेखि नै पोखरामा आन्तरिक पर्यटकको चहलपहल हुने गर्दथ्यो । विगतका वर्षमा त दशैँको भोलिपल्ट लेकसाइडमा पर्यटकले कोठा पाउनसमेत मुस्किल हुने गर्दथ्यो । सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्दछन् । विश्वकै उत्कृष्ट १० पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग पोखरा हुँदै जाने भएका कारण पदयात्री पर्यटकका कारण पनि यहाँ पर्यटकको चहलपहल हुन्छ । दशैं तिहारजस्ता चाडबाडका कारण विगतमा पर्यटन बजार चलायमान हुने विगतलाई फर्केर हेर्दा कोरोना कहरका बाबजुद पनि यस अवधिमा यहाँको पर्यटन केही मात्रामा भए पनि चलायमान बन्ने विश्वास लिइएको छ । दशैं शुरु भएसँगै पोखरामा आन्तरिक पर्यटककको चहलपहल बढिरहेको पोखराको लेकसाइड सेदीडाँडामा ‘ढाकाटोपी रेष्टुरेन्ट एण्ड होटल फेवाबीच’ सञ्चालन गर्दै आएका युवा पर्यटन व्यवसायी महेश्वर अर्यालले बताए । “दशैं शुरु भएसँगै आन्तरिक पर्यटकको विस्तारै बढ्दै गएको आगमनले हामीलाई उत्साहित बनाएको छ”, अर्यालले भने, “सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै हामी पर्यटकलाई सेवा प्रवाह गरिरहेका छौं ।” यतिबेला पोखरा र आसपासको प्रकृति पनि पर्यटक स्वागतको पर्खाइमा रहेको उल्लेख गर्दै उनले आफूहरू पर्यटकको न्यानो आतिथ्यताको पर्खाइमा रहेको बताए । पर्यटकको स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै यहाँका पर्यटन व्यवसायीले होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई आत्मसात गरिहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखराका पर्यटनसम्बद्ध सङ्घ संस्थाले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन होटेल सञ्चालक तथा रेष्टुरेन्टमा काम गर्ने कर्मचारीलाई आवश्यक तालिमसमेत दिइसकेको उनले बताए । पोखराका होटेल खुले पनि आसपासका विन्ध्यवासनी, तालबाराही जस्ता धार्मिक स्थलका साथै विश्वशान्ति स्तूप, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय लगायतका स्थल एवं पर्यटकीय गतिवधि नखुल्दा भने पर्यटक समस्यामा पर्ने गरेको तुलाचनले बताए । “आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकीय स्थल एवं गतिविधि खुल्ला नगर्दासम्म पोखराको पर्यटन अपेक्षित चलायमान हुँदैन”, उनले भने, “पर्यटकीय गतिविधि बढाउनका लागि स्थानीय एवं प्रदेश सरकारले आवश्यक समन्वय गर्दै पर्यटकीय स्थल एवं गतिवधि तत्काल सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने देखिन्छ ।” पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीय स्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय दर्शनीय स्थल हुन् । त्यस्तै लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदे जस्ता तालले पनि पर्यटकलाई आकर्षित गरेका छन् । पछिल्ला समयमा पोखरा नजिकैको पुम्दीकोट, काहुँडाडा लगायतका स्थानमा धार्मिक पर्यटकीय गतिविधि बढ्ने गरी पूर्वाधार निर्माण कार्यले पनि गति लिएको छ ।

विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

बलेवा । कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत साहसिक खेल सञ्चालन हुने भएको हो । २०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो । यसअघि पुलसँगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सञ्चालनमा आउन नसकेको कम्पनीका द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए । ५२५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठिक माथि बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ । हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ । द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रुपमा आफूलाई दर्ज गर्ने छ भने यहाँको स्वीङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले बताए । बन्जी र स्वीङ दुबैको मूल्यरु सात हजार तोकिएको छ । पोखरादेखि कुश्माको दुईतर्फी गाडीको सुबिधासहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रुपैयाँ रहेको छ । टेण्डम (जोडी) स्वीङको १२ हजार छ । गुलेली शैलीको पिङ बन्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सोभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ । यसको परिकल्पनाकार राजु कार्की र फोलोरेन्स कार्की हुन् । रिसोर्टसहित रु २० करोड लगानी रहेको यो पुलले बाग्लुङको पर्यटनमा धेरै परिवर्तन ल्याउनेछ । एसियाकै अग्लो स्थानबाट बन्जीजम्प, प्राकृतिक सुन्दरता र कालीगण्डकी खोँचको सुन्दर दृश्य यो पुल र पुलसँग जोडिएका संरचना प्रयोग गर्दा लाग्ने खर्चको उपयोगिता पुष्टि गर्ने माध्याम हुन् । यहाँ सञ्चालनमा रहेको रिसोर्टले पोखरा काठमाडौंका सुविधासम्पन्न स्टार होटेल र युरोपका शहरहरूको रिसोर्ट बसाइको झल्को मेटाउने खालको छ । निजी क्षेत्रको लगानीमा बनेको यो पुलसँगैका संरचनाको प्रयोगमा निश्चित शुःल्क लाग्छ । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकदेखि आन्तरिक पर्यटकको केन्द्र बन्जीजम्प बन्न सक्छ । साहसिक पर्यटनका लागि यहाँ बनेका संरचना नेपालमै अद्भूत छन् । सामान्य लठ्ठेपिङ खेलाउनका लागि समेत प्रयोग भएको प्रविधिले सबैलाई लोभ्याउँछ । २२८ मिटरको उचाइ, कालीगण्डकीले चिरेको पहाडका परिदृश्यमा स्काई साइकिलिङ अर्को पर्यटक लोभ्याउने माध्यम हो । बन्जीजम्प गर्दा हिमालको दृश्य देखिने संसारकै एक मात्र स्थल यो बन्न सक्छ । नेपालमै पनि प्राकृतिक नदीमाथि बनाइएका बन्जीहरूबाट नदीको बहाव र हिमाल मुस्कुराएको दृश्य देख्ने अन्यत्र कुनै ठाउँ छैन । बलेवा विमानस्थल, कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग यसका आधार क्षेत्र हुन् । सहज यातायातको व्यवस्था हुँदा पर्यटकहरूलाई प्याकेजमा समावेश गरी यहाँ ल्याउन सकिन्छ । बन्जीजम्पले यहाँका अन्य व्यवसायको क्षेत्रलाई समेत सघाउनेछ भने राज्यको राजस्वमा समेत ठूलो योगदान गर्ने नै छ । रासस

दश‌ैंमा सीताको सहुलियत उडान

काठमाडाैं । चाडपर्वको समयमा महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य जुम्ली नागरिकले सीता एयरले सहुलियत उडान भरेसँगै राहतको महसुस गर्न थालेका छन् । सीता एयरले यही कात्तिक १ देखि सुर्खेत–जुम्ला–नेपालगञ्ज सहुलियत उडान गरिरहेको छ । कोभिड–१९ ले जनजीवन प्रभावित भइरहेका बेला सहुलियत उडान हुन थालेपछि उनीहरु निकै खुशी छन् । पहिले पाँच हजार ५०० मा तोकिएको भाडा अहिले घटाएर चार हजार १०० पु¥याइएको छ । पहिलेको तुलनामा अहिले एक हजार ४०० कममा उडान भइरहेको छ । ‘गो कर्णाली टुर एण्ड ट्राभल्स’का सञ्चालक ललित महतका अनुसार सहुलियत उडानले अब निरन्तरता पाउने छ । कर्णाली पर्यटन उत्थान समितिका संयोजकसमेत रहेका महतले दशैंमा जिल्ला बाहिर रहेका र जुम्लाबाट घर जाने तयारीमा रहेका नागरिकका लागि सहुलियत उडान शुरु भएको बताए । “कोरोनाका कारण सबै क्षेत्र प्रभावित छ । समयमै सस्तो भाडादरमा आवतजावत गर्न सकियोस् भन्ने उद्धेश्यले सहुलियत उडान गरिएको हो ।” उनले भने । सहुलियत उडानका लागि सीता एयर र गो कर्णालीबीच सम्झौता भएको छ । अन्य एयरलाइन्सले नेपालगञ्ज–जुम्ला वा सुर्खेत–जुम्ला हवाई भाडा पाँच हजार ५०० लिइरहेका छन् । सहुलियत उडान शुरु भएपछि झण्डै २०० बढीले यात्रा गरेका छन् । अहिले नेपालगञ्जका लागि दैनिक उडान भइरहेको छ । यस्तै बिहीबार र शुक्रबार सुर्खेत–जुम्लाको उडान तालिका सार्वजनिक गरिएको छ । सहुलियत उडानले जनतालाई थोरै भए पनि राहत भएको र यसलाई निरन्तरता दिने प्रयास भइरहेको सीता एयरले जनाएको छ । सीता एयरका नेपालगञ्ज क्षेत्रीय निर्देशक मनोज भारतीले अहिलेजस्तै सेवा अन्य समयमा समेत दिने जहाज र गो कर्णालीबीच समझदारी भएको बताए । अप्ठयारो परिस्थितिमा हवाई भाडामा सहुलियत दिनु निकै सकारात्मक कदम भएको अधिकारकर्मीको भनाइ छ । उपभोक्ता महासङ्घ नेपालका उपमहासचिव विष्णुप्रसाद तिमिल्सेनाले सहुलियत दरमा हवाई उडानका लागि आफूहरुले लामो समयदेखि आवज उठाउँदै आइरहेको बताए । रासस