यात्रु आफैंले टिकट काट्न थालेपछि ट्राभल एजेन्सी कामविहीन, अर्बौंको लगानी संकटमा

काठमाडौं । यात्रु आफै र एयरलाइन्स कम्पनीहरुले जहाजको टिकट काट्न थालेपछि ट्राभल एजेन्सीहरुको व्यवसाय नै धरापमा पर्ने देखिएको छ । ट्राभल एजेन्सीहरुले लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा यात्रुका लागि टिकट काट्ने तथा बुकिङ गर्दै आएको काम अब एयरलाइन्स कम्पनीहरुले आफै र यात्रुले गर्न थालेपछि व्यवसाय नै संकटमा पर्ने होकि भन्ने चिन्ता ट्राभल एजेन्सीहरुलाई परेको छ । अहिले यात्रुले देश तथा विदेशका विभिन्न ठाउँमा जहाजबाट जानका लागि आफैले अनलाइनबाट अर्थात सम्बन्धित एयरलाइन्सबाट लिन थालेपछि ट्राभल एजेन्सीहरु कामबिहिन हुन थालेका छन् । टिकट काट्न छिटो छरितो र समय पनि खर्च नहुने भएपछि उपभोक्ता अर्थात यात्रुहरुले अनलाइन माध्यमबाट नै टिकट खरिद गर्न थालेका हुन् । अनलाइन माध्यमको ट्रेण्ड बढेपछि अब आफुुहरुको व्यवसाय नै संकटमा पर्ने होकी भन्ने चिन्ता भएको व्यवसायीहरुले बताएका छन् । विगत ३ वर्षदेखि हवाई उडानका लागि काटिने टिकटको भुक्तानी ट्रेन्ड फेरिएको भएपनि अहिले लकडाउन पछि भने त्यसको ट्रेण्डमा धेरै परिवर्तन आएको छ । किनकी अहिले धेरै मानिस लकडाउन भइसकेपछि डिजिटल माध्यममा धेरै अभ्यस्त भइसकेका छन् । लामो समयदेखि टिकट काट्नेमा एकाधिकार गर्दै आएका ट्राभल एजेन्सीहरु अब कसरी व्यवसाय गर्ने भन्ने तनावमा परेका छन् । एकातर्फ कोरोना भाइरसले निम्त्याएको क्षति र अर्को तर्फ व्यवसाय नै एयरलाइन्स कम्पनीहरुले आफ्नो पक्षमा लिएपछि उनीहरु तनावमा परेका हुन् । पछिल्लो समय यात्रुहरुले आफुले जानु पर्ने गन्तव्यको लागि जहाजको टिकट सिधै एयरलाइन्सको वेबसाइट, विभिन्न ट्राभल ओटिटी र वालेटबाट खरिद गर्न थालेका छन् । यसको प्रयोग पछिल्लो समय बढ्दै गएको छ । श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पछिल्लो समय यात्रु आफैले अनलाइन अर्थात विभिन्न वालेट मार्फत टिकट खरिद गर्ने संख्या बढेको बताए । उनका अनुसार लकडाउन पछि जहाज खुलेदेखि त्यो संख्या झन बढेको छ । ‘अनलाइनबाट टिकट काटेपछि त्यसबाट पाउने छुट पनि ग्राहक आफैले पाउँछ, समय लगायत अन्य खर्च पनि त्यति हुँदैन,अहिले सबै डिजिटल माध्यममा अभ्यस्त भएको हुनाले पनि यो संख्या बढेको हो,’ उनले विकासन्युजसँग भने । उनले श्री एयरलाइन्सको कूल बिक्रीको आधाभन्दा बढी अनलाइन माध्यमबाट हुने गरेको बताए । उनले यात्रुले आफैले टिकट काटेपछि विभिन्न समयमा बढी भाडा तिर्नु पर्ने बाध्यता हट्ने बताए । सामन्य अवस्थामा नेपालमा आन्तरिक टिकट बिक्री १५ अर्ब बढीको हुने गरेको छ। व्यवसाय खोसियोः ट्राभल एजेन्सी लामो समयदेखि जहाजको लागि टिकट काट्दै आएका ट्राभल एजेन्सीहरुले एयरलाइन्सहरुले आफ्नो व्यवसाय नै खोसिएको गुनासो गरेका छन् । नेपाल एसाेशिएसन अफ टुर एण्ड ट्राभलका अध्यक्ष अच्युत गुरागाईँले ट्राभल एजेन्सीहले लामो समयदेखि गर्दै आएको व्यवसाय नै संकटमा परेको बताए । ‘टिकट सिस्टमबाट नै बेच्ने हो तर, प्याकेज एयरलाइन्सले बेच्ने काम नगरुन् भन्ने हाम्रो भनाई हो । जुन काम जुन क्षेत्रले गर्ने हो त्यही काम गर्नु पर्छ । ट्राभल एजेन्सीहरुले गर्दै आएको प्याकेज एयरलाइन्सले नै बुकिङ गर्न थालेपछि हामीले के गरेर खाने भन्ने हो । उनीहरुले त्यो काम छोड्नु पर्छ,’ उनले भने । अर्बौंको लगानी संकटमा ट्राभल क्षेत्रमा अर्बौंको लगानी रहेको व्यवसायीहरुले बताएका छन् । लामो समयदेखि टिकट काट्ने र टुर प्याकेजिटङको काम गर्दै आएका ट्राभल एजेन्सीहरुको काम अब यात्रु आफैले र एयरलाइन्सहरुले गर्दै आएपछि ट्राभल एजेन्सीहरु चिन्तामा परेका छन् । पर्यटन विभागका अनुसार हाल नेपालमा ३४ सय ट्राभल एजेन्सीहरु छन् । चालु अवस्थामा भने १४ रहेका छन् । गुरागाइँका अनुसार नाटामा मेम्बरका रूपमा ११ सय एजेन्सीहरु छन् । ती एजेन्सीहरुले नेपालमा अर्बौंको लगानी गरेका छन् । गुरागाइँले ५० प्रतिशतकाे सानै काम गरिरहेका ५० प्रतिशतको ठूलै धरौटी राखेर व्यवसाय गरिरहेको बताए । ‘कोरोना भाइरसको कारण पर्यटन क्षेत्रलाई धेरै समस्या तथा क्षति भएको छ, अहिले फेरि हाम्रो व्यवसाय नै धरापमा पर्ने अवस्था आएको छ,’ उनले भने ।

निगमको नौ गन्तव्यमा आन्तरिक उडान शुरु

काठमाडाैं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ । उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगञ्ज, बाजुरा, थामखर्क र फाप्लु रहेका छन् । त्यसमध्ये काठमाडौँबाट सोझै उडानका साथै रुकुम–नेपालगञ्ज, नेपालगञ्ज– जुम्ला, जुम्ला–नेपालगञ्ज, नेपालगञ्ज–रुकुम, नेपालगञ्ज–बाजुरा र बाजुरा–नेपालगञ्जका लागि पनि उडान निर्धारण गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । निगमले यात्रुको चाप र मागलाई ध्यानमा राख्दै कुनै गन्तव्यमा हप्ताको तीन दिन, कतिपय गन्तव्यमा हप्ताको दुई दिन र केही स्थानमा दुई दिन उडान तालिका निर्धारण गरिएको उल्लेख गरेको छ । रासस

सौराहामा चल्न थाले पर्यटक बस

चितवन । चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो । सोमबारदेखि बाबा ट्राभलले सौराहादेखि काठमाडौं र काठमाडौंदेखि सौराहाका लागि दैनिक बस सञ्चालन गरेको छ । झण्डै नौ महिनासम्म थन्किएका बस खासै यात्रु नभए पनि सरकारको निर्णयअनुसार सञ्चालन गरिएको ट्राभलका सञ्चालक गणेश दाहालले बताए । “बसको स्यानिटाइजेसन, यात्रुको सामाजिक दूरी, ज्वरो मापनसहितको उच्च स्वास्थ्य सुरक्षासहित सेवा थालिएको छ”, उनले भने । बाबा ट्राभल्सका दुई बस एउटा काठमाडौं जाने र एउटा काठमाडाैंबाट सौराहा आउने गरेका छन् । “सौराहा आउने पर्यटक छैनन्”, दाहालले भन्नुभयो“ परिस्थिति सामान्य हुने आशमा बस चलाएका हौं ।” मङ्गलबार चितवनबाट १० यात्रु लिएर काठमाडौँ गएको बसले आज आठ यात्रु मात्र ल्याएर आएको उनले बताए । सौराहाबाट चितवन सफारीले पनि काठमाडौंका लागि पर्यटक बस चलाउन शुरु गरेको छ । यस्तै संजोग ट्राभलले पोखराका लागि सौराहाबाट बस सञ्चालन गरेको क्षेत्रीय होटल सङ्घ सौराहाले जानकारी दिएको छ । सौराहामा पर्यटक बस चल्न थालेपछि केही आशा पलाएको सङ्घका अध्यक्ष दीपक भट्टराइले बताए । उनले आन्तरिक पर्यटक फाट्टफुट्ट आउन थालेकाले क्रमिक सुधार हुने अपेक्षामा व्यवसायी रहेको बताए । चितवनमा आन्तरिक पर्यटक बढ्दो अवस्था रहेको र अन्य जिल्लाबाट पनि आउन थालेका भट्टराइले जानकारी दिए । पर्यटक आउने वातावरण बनाउन सौराहाका व्यवसायीले आन्तरिक छुटसमेत दिइरहेको उनले बताए । सामान्य अवस्थामा चितवनको सौराहाबाट काठमाडौँका लागि दैनिक आठ र पोखराका लागि चारसम्म पर्यटक बस सञ्चालन हुँदै आएका छन् । रासस