सौराहामा पर्यटक भित्र्याउन अभियान चलाइने

चितवन । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो । यसका लागि व्यवसायी अन्तिम तयारीमा जुटेका छन् । नेपालको सातवटै प्रदेशमा पुगेर ‘सौराहा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्ने योजना बनाइएको छ । पर्यटन दिवसको दिनदेखि लामो समयदेखि बन्द रहेका यहाँ होटल तथा रेष्टुरेण्ट खुलेका थिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले दशैँअघि नै यो अभियान चलाउन छलफल भए पनि कोरोनाका कारण स्थगित गरिएको बताए । उनका अनुसार देशका विभिन्न शहरमा सौराहा आउन निमन्त्रणा दिने गरी यहाँका पर्यटकीय गतिविधिसहितको दृश्य देखाइने छ । कोरोनाका कारण सुनसान रहेको यहाँ आन्तरिक पर्यटक भने आउने क्रम भने छिटफुट देखिन थालेको छ । “दशैँ तिहारमा ठूलो अपेक्षा थियो तर पर्यटक आएनन् । स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर पर्यटकलाई सुरक्षित साथ राखिरहेका छौँ तर आवागमन कम छ”, भट्टराईले भने । यो समय सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याई हुन्थ्यो । होटल तथा रेष्टुरेण्टले कोभिड प्याकेजअन्तर्गत २५ देखि ३० प्रतिशतसम्म छुट भने दिइरहेका छन् । भट्टराईले पाँच देखि सात प्रतिशत मात्रै पर्यटक आएको जानकारी दिए । कोभिड–१९ र त्यसपछिको लकडाउनले रोजगार गुम्यो । व्यापार व्यवसाय ठप्प भए । त्यसैले नेपालीको क्रयशक्तिमा कमी आयो कि भनेर पर्यटन व्यवसायीले पनि साविकको दरमा २० देखि ३० प्रतिशत छुट दिइरहेका छन् । सामूहिकभन्दा व्यक्तिगत छुट प्याकेज गर्ने र त्यसबाट पर्यटक बढे सामूहिक कार्यक्रम ल्याउने सल्लाह भएको भट्टराइको भनाइ छ तर पनि छुटमा पर्यटक आकर्षित नभएको व्यवसायीको गुनासो छ । होटलभन्दा रेष्टुरेन्टमा पर्यटक केही धेरै छन् । रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले अन्तर जिल्लाका पर्यटकको आवागमन रहेको र करिब ३० प्रतिशत पर्यटक रेष्टुरेण्टमा आउने बताए । यद्यपि जुन अपेक्षा गरेर १५ प्रतिशतसम्म छुट दिइएको छ त्यो अनुरुप पर्यटक आएका छैनन् । छुटसहितका प्याकेज दिँदा पनि आन्तरिक पर्यटक आकर्षित नभएको भन्दै सरकारले चाँडै अन्तर्राष्ट्रिय हवाई उडान खोल्नुपर्नेमा व्यवसायीको माग छ । सौराहामा ठूला साना १४० वटा होटल छन् भने करिब ५० वटा रेष्टुरेण्ट सञ्चालनमा रहेका छन् ।

बन्दाबन्दीको आठ महिनापछि शुुरु भयो पर्वतीय उडान

काठमाडाैं । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान आजदेखि शुरु भएको हो । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले बन्दाबन्दीको करिब आठ महिनापछि पर्वतीय उडान शुरु गरेको हो । कोभिड महामारीकाबीच बुद्धले पहिलो पटक पर्वतीय उडान शुरु गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि पर्वतीय उडान सञ्चालन गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए । आज पहिलो उडानमा १८ नेपाली यात्रु थिए । पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन । यसअघि बुद्धले अङ्ग्रेजी वर्ष सन् २०२० को मार्च १७ मा अन्तिम पर्वतीय उडान शुरु गरेको थियो । त्यसपछि नेपालमा कोभिड नियन्त्रणका लागि देशभार लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तरराष्ट्रिय नियमित उडान शुरु भएको थियो । आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी बुद्धले आकर्षक छुट तथा अफरसहित पर्वतीय उडान सञ्चालन गर्ने निर्देशक जोशीले बताए । उनले हरेक शनिबार पर्वतीय उडान सञ्चालन गरिनेछ । पर्वतीय उडानका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । शरद ऋतु दृश्यावलोकन र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । अहिले अवस्था सामान्य हुन्थ्यो भने पर्वतीय उडानमा भीड लाग्ने थियो । तर परिस्थिति प्रतिकूल छ । पर्वतीय उडानमा एयरलाइन्सबीच पनि प्रतिस्पर्धा नै चल्ने गरेको थियो । जहाज तथा हेलिकप्टरलेसमेत पर्वतीय उडान गर्थे । पर्वतीय उडान काठमाडौँबाट आवतजावत गरी एक घण्टाको हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान शुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजङ्घा हिमाल नजिक पुगेर पुनःकाठमाडौँमा अवतरण हुन्छ । अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायीत हुन्छन् । पर्वतीय उडानका लागि बन्दाबन्दीअघि नेपाली र भारतीयलाई आठ हजार ८२५ र अन्य मुलुकका नागरिकलाई १९७ अमेरिकी डलर भाडा लाग्ने गरेको थियो । बुद्ध एयर, यती एयरलाइन्स र सिम्रिक एयरलाइन्सले पर्वतीय उडान भर्दै आएका छन् । वायु सेवा सञ्चालक सङ्घका अनुसार आन्तरिक उडानका लागि हाल १० हेलिकप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

पोखरा पर्यटन परिषद्काे अध्यक्षमा गोपी भट्टराई

पाेखरा । पर्यटन व्यवसायीको छाता सङ्गठन पोखरा पर्यटन परिषद्को ११ औँ अधिवेशनबाट अध्यक्षमा गोपी भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न सो अधिवेशनबाट उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका हुन् । त्यसैगरी सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भएका छन् । बाँकी दुई सदस्य कार्यसमितिले चयन गर्ने जनाइएको छ । परिषद्मा पोखराका पर्यटन क्षेत्रसँग सम्बद्ध १२ वटा संस्था आवद्ध छन् । निर्वाचित भएसँगै अध्यक्ष भट्टराईले कोरोना महामारीले अस्तव्यस्त बनेको पोखराको पर्यटनलाई चलायमान बनाउन परिषद् सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताए । कठिन अवस्थामा प्राप्त जिम्मेवारीलाई चुनौतीसँगै अवसरका रुपमा लिँदै पोखराको पर्यटन विकासका लागि तीनै तहका सरकारसँग समन्वय गरी नयाँ खोज र सोचका साथ अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।