यति एयरलाईन्सको पर्वतीय उडान असोज १० गतेबाट पुन: शुरु हुने
काठमाडौं । दोश्रो लकडाउनपछि रोकिएको यति एयरलाईन्सको पर्वतीय उडान असोज १० गते देखि पुन: सुरु हुने भएको छ । मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर-मार्च महिना उपयुक्त मानिने भएकोले उडान सुरु गर्न लागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । हालका लागि प्रत्येक आईतबार एक उडान गर्ने गरी बुकिङ खुल्ला गरिएको हो । ‘प्रत्येक आइतबारका लागि एटिआर-७२ विमान मार्फत एउटा पर्वतीय उडान हुने गरी तालिका तय गरिएको र यात्रुहरुको माग बमोजिम विस्तारै उडान संख्या थप गर्दै जाने नीति लिएकाे छौं,’ उनले भने । हालका लागि नेपाली तथा भारतीय नागरिकका लागि सगरमाथाको उचाई बराबरको ८ हजार ८४८ आकर्षक भाडादरमा पर्वतीय उडानको टिकट खरिद गर्न पाइने उनले बताए । आवासीय विदेशी नागरिकका लागि भने १३ हजार दुई सय ७५ भाडादर कायम गरिएको बर्तौलाले जानकारी दिए । पहिलो लकडाउन पछि खुलेको पर्वतीय उडानमा पनि यतिले यहि भाडा दरमा उडान भरेको थियो । नेपाली यात्रुहरू तथा आवासीय बिदेशी नागरिककालागी छुट्टाछुट्टै प्यागेज ल्याएको यतीले २ वटा टिकटका लागि क्रमशः ९ हजार ८ सय ४८ र १४ हजार सात सय पचहत्तर भाडादर तोकेको छ । यो टिकट खरिद गर्दा भने यात्रुहरुले एउटा झ्याल भएको र अर्कोसँगैको झ्याल नभएको सिट प्राप्त गर्नेछ्न । पर्वतीय उडानका टिकट हरु नजिकको ट्राभल एजेन्सी, यतीको मोबाइल एप्स र अनलाइन मार्फत खरिद गर्न सकिने कम्पनिले जानकारी दिएको छ ।
सगरमाथा बेस क्याम्पमा ‘फेसन शो’ हुँदै, नेदरल्याण्डका राजकुमारी र इटालीका राजकुमार सहभागी हुने
काठमाडौं । सगरमाथाको बेसक्याम्पमा बिहीबार हुने फेसन शोमा नेदरल्याण्डको राजकुमारी र इटालीका राजकुमार सहभागी हुने भएका छन् । हिमालको संरक्षण तथा जैविक संरक्षण गर्न विश्वको ध्यानाकर्षण गर्ने उद्देश्यले बेसक्याम्पमा फेसन शो आयोजना गर्न लागिएको हो । उक्त फेसन शोमा विश्वका १३ देशका अन्तर्राष्ट्रिय मोडलहरूले सहभागी जनाउने छन् । इटाली, डेनमार्क, बेलायत, पोल्याण्ड, रसिया, नेदरल्याण्ड, नेपाल र फिनल्याण्डका मोडल सहभागी हुने भएका छन् । सोही फेसन शो मा क्याप्टेन विजय लामाले वार्क र्याम्प गर्ने भएका छन् । कासा बुटिक डिजाइन, आर बी डायमण्ड र के फिल्मसले फेसन शोको आयोजना गरेको हो । उक्त शोको सहयोगी संस्थाहरूमा नेपाल पर्यटन बोर्ड, स्टार अस्पताल, ग्लोबल आइएइ बैंक, चिभास, द सोल्टी काठमाडौं र इन्टरनेशनल सेरीकल्चर कमिसन लगायतका अन्य संस्था छन् । मौसम परिवर्तन विश्वव्यापी समस्याका रूपमा सम्पूर्ण मानवताकै लागि खतराका रूपमा देखिएको बेला सचेतना बढाउन फेसन शोको आयोजना गर्न लागिएको हो । हिमाल आरोहण गर्नेको संख्या बढेसँगै सगरमाथासहित सबै हिमाल प्रदूषित बन्दै गएका छन् । अपघटन नहुने जैविक सामानबाट बनेका उत्पादनको प्रयोग निरुत्साहन गर्नु सो कार्यक्रमको उद्देश्य रहेको कासा बुटिकले जनाएको छ । फेसन शोका साथै सो स्थानमा अपघटन हुने जैविक सामग्रीबाट नेपालामै उत्पादित पश्मिना र फेल्टसम्बन्धी जानकारीमूलक वर्कशपको पनि आयोजना हुनेछ । वर्कशपमा हिमाल आरोहण तथा ट्रेकिङ गर्नेहरूलाई अपघटन हुने जैविक कपडा प्रयोग गर्न प्रेरित गरिनेछ । फेल्ट र पश्मिनाजस्ता ‘मेड इन नेपाल’ कपडा प्रयोगबाट प्रकृति र हिमाललाई नोक्सान नहुने कासा बुटिकले जनाएको छ । कासा बुटिक नेपालमा स्थापित अन्तर्राष्ट्रिय फेसन ब्रान्ड हो ।
क्यानका महानिर्देशकले दिए राजीनामा, निमित्तको जिम्मा क्षेत्रीलाई
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का निमित्त प्रमुखको जिम्मा राजकुमार क्षेत्रीलाई दिईएको छ । महानिर्देशक राजन पोखरेलले पदबाट राजीनामा दिएसगैँ उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बनेका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बरिष्ठताको आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिएको क्षेत्रीले बताए । असोज ८ गते स्वतः अवकाश हुने पोखरेलले तीन दिन अगाडि मंगलबार साँझ पदबाट राजीनामा दिएका हुन् । २०४७ साल मंसिर २९ गते सेवाप्रवेश गरेका पोखरेल २०७२ साल असोज ११ गते उपमहानिर्देशका रुपमा बढुवा भएर २०७६ असार १३ गते महानिर्देशक नियुक्ति भएका थिए । १२ औं तहको ६ वर्षे अवधि पूरा गर्दै उनि स्वतः रुपमा अवकाश हुन लागेका हुन् । महानिर्देशको कार्यकाल ४ वर्षको भए पनि प्राधिकरणको १२ औं तहमा बढुवा भएपछि ६ वर्षसम्म पदमा रहन पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार उनी कार्यकाल अवधिभन्दा अगाडी नै अनिवार्य रुपमा अवकाश पाउनेभएसगैँ राजीनामा दिएका हुन । कानुनी रुपमा केही नबुझिएकाले पनि झन्झट बाट टाढै रहनका लागि आफूले राजीनामा दिएको महानिर्देशक पोखरेलले जानकारी दिए । पोखरेलले राजीनामा दिएसँगै अब प्राधिकरणमा नयाँ महानिर्देशकको दौड पेचिलो बनेको छ । पर्यटन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको मन्त्रिपरिषद् बैठकमा महानिर्देशक नियुक्तीको प्रस्ताव लैजाने तयारी गरेका छन्। नयाँ महानिर्देशकको दौडमा पाँच जना देखिएका छन्। प्राधिकरणका दुई जना उपमहानिर्देशकले भने यसअघि नै राजीनामा दिइसकेका छन् । महानिर्देशकको दौडधुपमा अनिवार्य अवकास पाउन लागेका उपमहानिर्देशक राजकुमार क्षेत्री र भोला गुरागाइँ, राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको निर्देशनालयका निर्देशक प्रदिप अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताव बाबु तिवारी महानिर्देशकको दौडमा छन् । साथै पर्यटन मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखा प्रमुख बुद्धसागर लामिछाने पनि दौड छन्। सरकारले जिम्मेवारी दिए आफू पछि नहट्ने उनको भनाइ छ। सम्बन्धित समाचार क्यान महानिर्देशक बन्न ५ जना दौडमा, कसले मार्ला बाजी ?