दशैंको बेला भरिभराउ हुने सौराहाका होटल यसबेला भने सुनसान, पर्यटकको पर्खाइमा व्यवसायी

चितवन । दशैंको मुखमा सौराहाका ६५ हात्तीले दैनिक चार पटक पर्यटकलाई वन घुमाउँदा धेरैले पालो पाउँदैनथे । कतिपय कुरेर हात्ती चढ्थे भने कतिपय त्यसै फर्कनु पर्दथ्यो । यही पर्यटकको चापसँगै कोभिडले सुनसान बनाएको सौराहाको पर्यटन क्षेत्र यस वर्ष पनि पूर्ववत् अवस्थामा फर्कन सकेन । विगतको तुलनामा यतिबेला सौराहा सुनसान छ । सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी पर्यटकको पर्खाइमा रहेको बताउँछन् । उनका अनुसार अहिले दैनिक १०/१५ हात्तीले मात्र पर्यटक बोक्ने अवसर पाएका छन् । ६५ बाट घटेर हात्तीको सङ्ख्या ३२ मा झरेको छ । विगत चार वर्षअघिसम्मको अवस्थालाई स्मरण गर्दै तिवारीले भने“यतिबेला हाम्रा ६५ हात्तीले दैनिक चार ट्रिप गर्दा पनि पर्यटकले पालो पाउँदैनथे । अहिले १०/१५ वटाभन्दा बढी हात्तीले एक ट्रिप पनि पाएका छैनन् ।” आफूहरु पर्यटकको आगमन हुनेमा आशावादी रहेको तिवारी बताउँछन् । क्रमशः पर्यटक बढ्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । राप्ती किनारस्थित होटल सनसेटभ्यूका सञ्चालक दिपेन्द्र खतिवडा विगतमा दैनिक एक सयभन्दा बढी पर्यटक दैनिक रेष्टुरेन्टमा आउने भए पनि अहिले २० जना पनि पुग्न मुस्किल हुने गरेको बताउँछन् । उनले भने, “ग्राहक नै कम हुन्छन् । त्यसमा पनि पहिले जस्तो खर्च गर्ने अवस्था देखिँदैन ।” पहिले पहिले मन फुकाएर ग्राहकले खर्च गर्ने गरेको भन्दै खतिवडाले अहिले त्यस्तो अवस्था नरहेको बताए । उनले भने, “कोभिड–१९ को असर बल्ल देखिएको जस्तो लाग्छ ।” क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे घुम्ने समय परिवर्तन भएको आँकलन गर्छन् । दसैँमा मात्र नभएर अन्य समयमा घुम्न थालेकाले यतिबेला सोचे जस्तो पर्यटक नआएको हुनसक्ने उनी बताउँछन् । घिमिरेले भने, “नेपाली मात्र होइन विदेशी पनि आएका छैनन् ।” सडकको दुरावस्थाले पर्यटकलाई रोकेको हुनसक्ने उहाँको अनुमान छ । जङ्गल क्राउनका कार्यकारी प्रमुख सन्तोष गिरी कोभिड–१९ का वर्षमा जति पर्यटक यो वर्ष सौराहामा नआएको बताउँछन्। उनले भने, “कोभिडको वर्ष दसैँमा खुल्दै गर्दा होटल भरिएका थिए ।” यसले राम्रो सङ्केत नदेखिएको उनको भनाइ छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दिपक भट्टराई सौराहामा आन्तरिक र बाह्य पर्यटक नआएको बताउँछन् । भट्टराईको भनाइमा यतिबेला होटल ८० देखि ९० प्रतिशत भरिन्थे । यस वर्ष ३० प्रतिशतसमेत पुगेका छैनन् । तिहारसम्म राम्रो हुने अपेक्षा उनले गरे । कोभिड–१९ को समयमा भन्दा कम पर्यटक सौराहा आएपछि व्यवसायी चिन्तित छन् । भट्टराईले भने, “हाम्रो अवस्था श्रीलङ्काकोभन्दा कम छैन । खर्च गर्ने पैसा नभएर यस्तो अवस्था आएको हो भन्ने मलाई लाग्छ ।” विगतमा यतिबेला सबै कर्मचारी होटलमा हुन्थे । यस वर्ष बिदा दिनुपरेको भट्टराईको गुनासो छ । उनले भने, “अहिले हामीले कर्मचारीलाई बिदा पठाउन थाल्यौँ । विगतमा यस्तो थिएन । होटलमा पर्यटक आए आउने गरी बिदा गरेका हौं ।” आफूहरु तयारी अवस्थामा रहेको उनी बताउँछन् । सौराहामा एक सय २० होटल क्षेत्रीय होटल सङ्घमा आबद्ध छन् । सङ्घमा दर्ता नभएका अरु साना होटल पनि छन् । भट्टराईका अनुसार सौराहाका होटलमा आठ हजार पर्यटक अट्नसक्ने क्षमता छ ।

हिमालयन बैंकका कार्डबाहकलाई विशेष सुविधा दिँदै भिस्तारा एयरलाइन्स

काठमाडौं । भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका कार्डबाहकलाई विशेष सुविधा दिने भएको छ । सो सम्बन्धमा हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच असोज १३ गते सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रायोरिटि चेक इन सुबिधा प्रदान गर्ने भएको छ । यस सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जवल राजभण्डारी र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्ताक्षर गरेका हुन् । बैंकले हाल कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटीएम र ६ हजारभन्दा बढी पीओएस टर्मिनल्सबाट सेवा प्रदान गर्दै आएको छ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु जस्तै अमेरिकन एक्सप्रेस, मास्टरकाड, भीसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर, आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन बैंक नेपालको एक मात्र बैंक हो । यसैगरी, भिस्तारा एयरलाइन्स भारत भित्र तथा बाहिर गरी ३९ गन्तव्यहरुमा आफ्ना ५० वटा वायुयानहरु बाट दैनिक २५० भन्दा बढी उडानहरु संचालन गर्दै आएको छ ।

नेपाली पर्यटन व्यवसायी एसियन टुरिजम फेयरमा सहभागी

काठमाडौं ।  नेपाली पर्यटन व्यवसायीहरुले नर्वौ एसियन टुरिजम फेयर (एटीएफ)मा सहभागिता जनाएको छ । उक्त फेयर बंगलादेशको ढाकामा आज(बिहीबार)बाट सुरु भएकाे छ । कोभिड–१९ ले प्रभावित पर्यटन व्यवसाय पुनः सुचारु तथा नेपालमा पर्यटन सिजन शुरु हुन लागेको समयमा नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)सँग आवद्ध नेपाली पर्यटन व्यवसायीहरूले सो फेयरमा सहभागिता जनाएको हो । एशियन टुरिजम फेयर बंगलादेशमा हरेक वर्ष आयोजना हुने एक महत्वपूर्ण कार्यक्रम हो । उक्त कार्यक्रममा विश्वका विभिन्न देशहरूबाट पर्यटन व्यवसायीहरुले आ–आफ्नो देशको पर्यटन प्रवद्र्धन गर्न प्रदर्शन गर्ने, विटुवि तथा विटुसि सञ्चालन हुनेछ । उक्त कार्यक्रमको आयोजना बंगलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको सहकार्यमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बसुन्धरा बंगलादेशमा गर्ने गरिएको छ । यस वर्षको प्रदर्शनीमा नेपालबाट १२ पर्यटन व्यवसायीहरु सहभागी हुन बंगलादेश प्रस्थान गरेका छन् । नाट्टाका तर्फबाट कार्यक्रम संयोजन कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल तथा सह संयोजन कार्यसमिति सदस्य श्रद्धा जोशीले गरेका छन् । बंगलादेश प्रस्थान गर्ने नेपाली टोलीको नेतृत्व वरिष्ठ उपाध्यक्ष प्रमोद दाहालले गरेको हो । कार्यक्रममा सहभागीताको लागि नाट्टाले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट प्रदर्शनी गरिने भएको छ । यस वर्षको कार्यक्रममा आयोजकले नेपाललाई पार्टनर कन्ट्रीको रूपमा स्थान उपलब्ध गराएको छ । कार्यक्रम अन्तर्गत: बंगलादेशस्थित नेपाली राजदुतावासले नेपाली व्यवसायी लगायत विभिन्न देशका पर्यटन व्यवसायीको प्रतिनिधी तथा कार्यक्रम आयोजक र पत्रकारलाई रात्रीभोजसहित नेपाल नाइटको आयोजना गर्नेछ ।