तनहुँको छिम्केश्वरी पर्यटन मार्गमा कालोपत्र गर्न सरकारको ५४ करोड लगानी
तनहुँ । आँबुखैरेनी गाउँपालिका ५ मा पर्ने छिम्केश्वरी पर्यटन मार्ग कालोपत्र गर्नका लागि तीन तहकै सरकारले लगानी गरेका छन् । गण्डकी प्रदेशको ४७ करोड, सङ्घीय सरकारको समपुरक छ करोड रुपैयाँ र आँबुखैरेनी गाउँपालिकाको एक करोड रुपैयाँ गरी ५४ करोड रुपैयाँ लगानी हुने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको धार्मिक पर्यटकीयस्थल छिम्केश्वरी मन्दिर जाने मार्ग कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रेको ठेक्का शर्मा काष्ठमण्डप निर्माण सेवा पाएको छ । छिम्केश्वरी मन्दिर धार्मिक आस्थाको केन्द्र रहनुका साथै त्यहाँबाट देखिने प्राकृतिक दृश्य हेर्न पर्यटक आउने गरेका छन् । यहाँबाट हिमशृङ्खला, हरियाली डाँडाकाँडा तथा समथर फाँट सजिलै देख्न सकिन्छ । जिल्लाको आँबु, भाँगे, छिम्केश्वरी, हिलेखर्क, बाहुन भञ्ज्याङ, छिम्केश्वरी सडक पर्यटक मार्गको नामले परिचित हुँदै आएको अध्यक्ष चुमानले बताए । आँबुखैरेनी–३ गाउँपालिका चोकदेखि छिम्केश्वरी डाँडासम्म करिब १६ किलोमिटरमध्ये ५० लाख रुपैयाँको लागतमा तीन किमी सडक स्तरोन्नती गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको थियो ।
आज र भोलि जुनसुकै बेला रेल सेवा सञ्चालन हुँदै
जनकपुरधाम । जयनगर जनकपुरधाम कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले कात्तिक २२ र २३ गते अतिरिक्त समयमा पनि रेल सञ्चालन गर्ने निर्णय गरेको हो । कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपाल र भारतबाट तीर्थालु आउने गरेका छन् । ‘जतिबेला यात्रु आउँछन् त्यतिबेला नै रेल चलाइहाल्छौँ’, उनले भने, ‘यात्रुको सुविधाकै लागि हामीले यस्तो निर्णय लिएका हौँ’, कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले भने । जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर(कुर्था अन्तर्गतको ३५ किलोमिटरमा २०७८ चैत २० देखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । रेल सञ्चालन भएसँगै यहाँ धार्मिक पर्यटक बढ्ने र स्थानीय उत्पादन निर्यात बढाउन सकिने स्थानीयवासीको विश्वास छ । रेलामार्ग अन्तर्गत कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा रेल्वे स्टेशन छन् । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत छन् । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जिनियर रहेको प्रबन्ध सञ्चालक झाले जानकारी दिए । रासस
कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण
चितवन । गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो । प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासीपूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर जङ्गलमा अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जङ्गलमै छाड्नका लागि स्थानान्तरण गरिएको हो । संरक्षण विज्ञ डिबी चौधरीका अनुसार कसरामा सन् २००८ देखि हुर्काइएका माउ एवं चल्ला गिद्ध कावासोतीस्थित नमूना मध्यवर्ती सामुदायिक वनमा खोलिएको जटायु रेष्टुरेन्ट नजिकबाट प्रकृतिमा जङ्गलमा छाड्नका लागि तयारी गरिएको छ । कसराको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ५९ गिद्धलाई अहिलेसम्म जङ्गलमा छाडिसकिएको छ । जङ्गलमा छाडिएका गिद्धको गणना गर्न ढाड र खुटामा सेटलाइट ट्याग लगाएर छाडने गरिएको संरक्षणविज्ञ चौधरीले बताए । ‘खुट्टामा नम्बर ट्याग र ढाडमा सेटलाइट ट्याग लगाइएको छ’, उनले भने ‘यहाँबाट छाडिएका गिद्ध कहाँ र कुन अवस्थामा छन् दैनिक मनिटरिङ गरिन्छ ।’ अहिले ल्याइएको गिद्धलाई आगामी मार्च महिनामा जङ्गलमा छाड्ने तयारी गरिएको छ । जङ्गलमा छाड्नुभन्दा अगाडि तिनीहरूलाई प्रकृतिमा बाँच्न, आहारा खोज्न, मौसमअनुसार बस्न अभ्यस्त गराउने गरिएको छ । लोपोन्मुख गिद्धको संरक्षण गरेर सङ्ख्या बढाउन भन्दै विसं २०६३ भदौमा कावासोतीको पिठौलीस्थित सामुदायिक वनमा गिद्ध रेष्टुरेन्ट सुरु गरिएको हो । त्यो रेष्टुरेन्टमा बुढ्यौली लागेका चौपाया आहारा दिएर गिद्धलाई लोभ्याइन्छ । नेपालबाट सुरु गरिएको गिद्ध प्रजनन केन्द्र र जटायु रेष्टुरेन्ट प्रोजेक्ट संसारमै सफल मानिएको छ । नेपालमा अहिलेसम्म ५९ वटा गिद्ध प्रजनन केन्द्रमा हुर्काएर जङ्गलमा छाडिएको छ । जङ्गली ४० गिद्ध समातेर सेटलाइट ट्याग लगाएर जङ्गलमै छाडिएको छ । लोपोन्मुख गिद्ध संरक्षणको अभियानस्वरुप नेपालमा हाल नौ प्रजातिका गिद्ध पाइन्छ । नेपालमा पाइने गिद्धमध्ये जटायु रेष्टुरेन्ट पिठौलीमा आठ प्रजातिको गिद्धको बासस्थान रहेको छ । नेपालभर करिब १५ हजारको सङ्ख्यामा गिद्ध रहेको अनुमान गरिन्छ ।