कालिगण्डकीमा र्याफ्टिङ शुरु भएसँगै बढे आन्तरिक पर्यटक

काठमाडौं । पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा र्याफ्टिङ शुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ । शाहसिक प्रतियोगिता मानिने र्याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानिमहल घुम्न पुग्ने पर्यटकसमेत बढेका हुन् । कोभिड १९ का कारण करिव दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेल बताउँछन् । उनीहरुले पछिल्लो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय बिस्तारै उठ्न थालेको र आम नागरिकहरु पनि यस्ता रोचक स्थानको भ्रमण गर्न मन पराउने गरेको जानकारी दिए । शर्माले रानीमहल मात्रे भनेर घुम्न गएपनि र्याफ्टिङ रहेको थाहा पाएपछि र्यायाफ्टिङ चढेको बताइन् । नेपाललाई नै राम्रोसँग चिन्ने हो भने रमाइलो मनाउनका लागि विदेश गइरहनु नपर्ने पौडेलको भनाइ थियो । रानीमहलको बायाँबाट बग्ने पवित्र कालिगण्डकीमा दैनिक सयौंको संख्यामा स्थानियदेखि वाह्य पर्यटक र्यायाफ्टिङको मज्जा लिन आउने गरेका छन् । हाल रानीमहलको परिसरदेखि पुलसम्म एक किलोमिटर जलयात्रा शुरु भएको पाल्पाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी बताउँछिन् । गण्डकी प्रदेशको स्याङ्जास्थित कालीगण्डकी गाउँपालिका,पाल्पाको बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाले संयुक्त गुरुयोजना निर्माण गरी रुरु क्षेत्रधाम रिडिदेखि राम्दीसम्म करिव २५ किलोमिटर जलयात्रा सञ्चालनमा ल्याउने तयारी थालेको जानकारी गराइन् । उनले जिल्लाको सम्रग पर्यटन विकासको लागि जलपर्यटनप्रति पर्यटकको आकर्षण बढाउन दुई जिल्लाका तीन वटै पालिकाबीच आपसी समन्वय,छलफल र सहकार्यमा जुटेको बताइन् । जल यात्रामा रमाउन लाखौं रुपैयाँ खर्चिएर नेपालीहरु विदेशमा जानुपर्ने बाध्यता बनिरहेका बेला स्वदेशमा नै शुरु भएको र्याफ्टिङप्रति वाह्य पर्यटकको आकर्षण बढाउनसकेको खण्डमा विदेशी मुद्राको आर्जन हुनुका साथै नेपालको पर्यटनसमेत उकासिने पर्याप्त आधार देखिन्छ ।

पर्यटनको उत्कृष्ट गन्तब्य ‘टिकापुर पार्क’

कैलाली । दशैं–तिहारपछि कैलालीको टीकापुर उद्यान पार्क पर्यटकले भरिभराउ भएको छ । पार्कमा विशेषगरी देउसीभैँलो खेलेर वनभोज पिकनिक खान आउने बढी भरिन्छन् । यसका साथै देशका विभिन्न जिल्लाका आन्तरिक पर्यटक एकपटक घुम्नैपर्ने ठाउँ भन्दै पार्क हेर्न आउने गर्दछन् । आजभोलि पार्कमा दैनिक एक हजारदेखि तीन हजारसम्म पर्कटक पुग्ने गरेका छन् । पार्कमा देशका अधिकांश जिल्लाका मानिस पुग्छन् । पार्कमा पूर्व झापासम्मका पर्यटक आउने गर्दछन् । झापाबाट पार्क घुम्न आएका सुभाष शर्माको परिवारले पार्क निकै रमाइलो मानेको बताए । ‘तिहारमा जम्मा भएका परिवार घुम्न भनेर आएका हौँ, टीकापुर पार्क र कर्णाली पुल चिसापानी हेर्नकै लागि यहाँ पुगेका हौँ’, उनले भने, ‘पार्कमा पुगेपछि स्व राजा महेन्द्र बसेको आवास पनि हेर्यौँ, पार्क किनारमा कर्णाली बगिरहेको रहेछ, यहाँ पुगेपछि शान्त महसुस हुनुका साथै रमाइलो भयो ।’ कपिलवस्तुको चन्द्रौटका हरिप्रसाद सुवेदीको परिवार पनि पार्कमा रमाएका थिए । ‘कति रमाइलो ठाउँ रहेछ, राज्य सञ्चालन भएको यो ठाउँ त्यत्तिकै शान्त र सुन्दर रहेछ’, उनले भने, ‘राजा बसेकोे घरभित्र अवलोकन गर्न पाउनुपर्ने थियो, गर्न पाइएन । साथै घरहरू रङ्गरोगन गरेको भए हुन्थ्यो ।’ नेपालगञ्जबाट कृष्ण रानासहित ४० जनाको समूह पिकनिक खान आएको थियो । उनीहरूले पार्कमै पकाउने खाने गरे । पार्कमा पकाएर खानेहरू त्यही नाचगान गर्ने, फोटो खिच्ने र रमाइलो गर्ने गर्दछन् । यसका साथै कर्णाली नदीमा र्याफ्टिङको आनन्द लिएर फर्कन्छन् । निशा उखेडा र उनका ४५ साथी कञ्चनपुरको बेल्झाडीबाट पार्क घुम्न आएकी थिइन् । उनीहरूले पार्कमा अलौकिक आनन्द मिलेको महसुस भएको बताए । ‘स्वर्गजस्तै लाग्यो, शान्त वातावरणमा चिरबिर चराको आवाज, कलकल कर्णाली बगेको आवाज, चिटिक्क सजाएका घर, फूल बगैँचा देख्दा छुट्टै आनन्द लाग्यो’, उखेडाले भनिन्, ‘त्यसैमाथि र्याफ्टिङको आनन्द । धेरै साथीको यात्रामा टाउको दुखेको थियो, यहाँ पुगेपछि सञ्चो भयो ।’ बाँके जिल्लाको बासगढीका रामबहादुर चौधरी सिराहा र सप्तरीबाट आएका सम्धी–सम्धिनी घुमाउन पार्क आए । उनीहरूले दिनभरि पार्कमा रमाइलो गरे । ‘पार्क सुन्दर छ । उनीहरूलाई घुमाउनकै लागि यहाँ ल्याएको हुँ’, रामबहादुर भन्छन्, ‘पार्कमा रहेका रेलिङ मर्मत आवश्यक छ, बगैँचामा फूल थप्न आवश्यक छ, पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।’ स्थानीय भुवनेश्वर अधिकारी पार्कको विकासमा सबैको ध्यान जानुपर्ने बताउँछन् । ‘पार्कमा भीड हेर्दा रमाइलो लाग्छ, फर्कँदा पीडा हुन्छ’, उनी भन्छन्, ‘पार्कमा पूर्वाधार विकास गर्न सकिएन, गेट हेर्दा राम्रो छ तर भित्र सरसफाइलगायतका कार्यमा पछाडि छौँ । राजनीतिक दलले पनि पार्क विकासमा ध्यान दिएको देखिँदैन ।[‘ गुलाबको बगैँचा भनेर चिनिने टीकापुर पार्कमा यतिखेर स्थानीय तथा बाह्य पर्यटक भरिभराउ भएका छन् । दसैँ–तिहारपछि टीकापुर पार्कमा दैनिक सयौँ नागरिक पिकनिक खान र घुम्न आउने गरेका छन् । पार्कमा आउनेहरू पार्कमा पकाउने खाने, नाचगान गर्ने, फोटो खिच्ने र बेलुका घर फर्कने गर्दछन् । कतिपय नागरिक पार्क हेर्नकै लागि यहाँ पुग्छन् । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी–बेमौसमी फूलहरू टीकापुर पार्कका आकर्षण हुन् । मुटुरोगबाट पीडित भएका राजा महेन्द्रले विसं २०२४ मा टीकापुरमा आएर करिब डेढ महिना शयन गरेका थिए । टीकापुर बसेर राज्य चलाउन अप्ठ्यारो भएपछि राजा काठमाडौँ फररकेका र टीकापुर क्षेत्रमा सहर विकास गर्न र कर्णाली किनारमा पार्क बनाउन उनले निर्देशन दिएको स्थानीय बताउँछन् । विसं २०२८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत टीकापुर विकास समिति स्थापना गरी तीन हजार एक सय ७३ बिघा जमिन दिएर सहर विकास गर्ने अधिकार सरकारले दिएको थियो । लाखौँ लगानी भएका र करोडौँ खर्च भइसकेका यी पूर्वाधार टीकापुर विकास समिति हटेपछि नगरपालिकाको स्वामित्वमा छन् । त्यतिखेर विकास समितिले आफूसँग भएको जग्गा घडेरीका रूपमा बिक्री गर्दै पार्क संरक्षणका लागि खर्च जुटाउँदै आएको थियो । विकास समिति हटेपछि विसं २०६४ मङ्सिर ५ गतेबाट पार्क नगरपालिकाको स्वामित्वमा आएको हो । नगरपालिकाको स्वामित्वमा गएपछि बजेटको अभावमा लगानी भने सोचेजति हुनसकेको छैन । टीकापुर बजारबाट चार किलोमिटर टाढा कर्णाली नदी किनारमा पार्क छ । पार्क ८५ बिघा क्षेत्रफलमा फैलिएको छ जसमध्येको बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ । टीकापुर विकास समितिले नै पार्क क्षेत्रमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यानलगायत करोडौँ रुपैयाँ लागतका पूर्वाधार खडा गरेको हो । पार्कमा बनाइएको काठका रेलिङ कुहिनु र भत्किनुका साथै आरोग्य गृह र विश्राम बाटिका पनि जीर्ण हुँदै गएपछि हरेक वर्ष नगरपालिकाले मर्मत गर्दै आएको छ । करिब चार दशकसम्म टीकापुर विकास समितिको सहयोगमा चलेको टीकापुर बृहत् उद्यान नगरपालिकाले सञ्चालन गरेपछि पार्कको गेट निर्माण, टिकट काउण्टर, पिकनिकस्थल बस्ने चौतारीलगायतका केही पूर्वाधार बने तर, बजेट अभावमा ठूला पूर्वाधार र लगानी भने गर्न सकेको देखिएन । प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाही पार्क व्यवस्थापनमा असुविधा नहोस् भनी टीकापुर नगरपालिका लागिरहेको बताउँछन् । ‘पूर्वाधार निर्माणमा प्रयासरत छौँ, पार्क हाम्रो गौरव मात्र होइन पहिचान पनि हो । पूर्वाधार विकास गर्दै लैजाने हो’, शाहीले भने, ‘गत वर्ष महेन्द्र आरोग्य गृह पुनःनिर्माण गर्याैँ, यस वर्ष ऐश्वर्य उद्यान पुनःनिर्माण हुन्छ ।’ उनी पार्क प्रदेश, सङ्घको पनि गौरव भएकाले पार्कमा सङ्घ, प्रदेशको पनि सहयोग हुनुपर्ने बताउँछन् । ‘सबैले सहयोग गरुन् भनी नगरपालिका लागिरहेको छ’, उनले भने, ‘लगानी भएमा पार्कलाई थप व्यवस्थित गर्न सकिन्छ ।’ रासस

कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा एकै दिन ५ हजार पर्यटक पुगे

तनहुँ । सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् । मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा रात बिताएका छन् भने शनिबार बिहानैदेखि पर्यटकको भीड बढेको स्थानीय युवा अनिल अधिकारीले जानकारी दिए । ‘यस वर्षको सबैभन्दा बढी भीड आज भएको छ, पाँच हजारभन्दा बढीको उपस्थिति छ’, उनले भने, ‘आन्तरिक पर्यटकको आगमनले सवारी व्यवस्थापनमा समस्या भएको थियो ।’ व्यास नगरपालिका–२ निवासी कृष्णचन्द्र पाण्डेले मानुङकोटले जिल्लाको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याएको बताए । ‘सूर्यास्त, सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि जिल्ला तथा जिल्ला बाहिर आन्तरिक पर्यटक यहाँ आइपुग्छन्, यसले गर्दा यहाँको होटल व्यवसाय पनि फस्टाएको छ’, उनले भने, ‘हामीले पनि एकरात मानुङकोटमा बिताएर सूर्योदय हेर्यौँ ।’ केही दिनयता मानुङकोटमा सञ्चालित होटल आन्तरिक पाहुनाले भरिएका छन् । होटल भ्यू मानुङका सञ्चालक चुडामणि दाहालले मानुङकोटमा पर्यटकको आकर्षण बढेको बताए । चिसो मौसम सुरु भएसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न मानुङकोटमा पर्यटक बढेका छन् । चिसो मौसममा कुहिराले दमौली बजारलाई ढपक्क ढाकेको छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमशृङ्खला । पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको उनको भनाइ छ । मानुङकोटबाट धवलागिरि, माछापुछ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् । दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । खानेपानीको अभावमा विसं २०५२ मा मानुङकोट छाडेकी वसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आएकी छिन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उनले बताए । रासस