पर्यटनले रोजगारी र स्थानीय अर्थतन्त्र चलायमान बनाइरहेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् । काठमाडौंमा आयोजित 'लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन' विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन तथा स्थानीय जीविकोपार्जनमा महत्वपूर्ण आधार रहँदै आएको बताए । साथै, उनले होमस्टे तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रवर्द्धन भइरहेको बताए । 'पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो । देशको आर्थिक विकासमा आन्तरिक तथा बाह्य दुवै पर्यटनको उत्तिकै योगदान रहेको छ । यद्यपि, पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदै गएको छ । यसले रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग गरेको छ,' उनले भने । पर्यटन क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको र यसले महिलाहरूलाई आत्मनिर्भर बन्न सघाएको चर्चा गर्दै अध्यक्ष ढकालले उद्योग वाणिज्य महासंघले महिलाहरूको उद्यमशीलता विकास तथा नेतृत्व विकासमा थुप्रै नीतिगत सुधार गरेको जानकारी दिए । महासंघको नेतृत्वमा महिला सहभागिता अभिवृद्धि गर्न विधान संशोधन गरी महिला सहभागिता अभिवृद्धिका लागि पहल गरिएको समेत उनले जानकारी दिए । अध्यक्ष ढकालले नेपालमा थुप्रै सम्भावनाहरू रहेको उल्लेख गर्दै नेपालमा केही भएको छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए । साथै, उनले नेपालमै आन्तरिक पुँजी परिचालन गरेर पनि पूर्वाधार निर्माण तथा अन्य उद्यमशील कार्य गर्न सकिन्छ भन्ने सोचका साथ महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरी काम भइरहेको जानकारी दिए । उनले आन्तरिक बचतलाई एकीकृत गर्न तथा उद्यमशीलताका लागि आवश्यक पुँजी व्यवस्थापन दुवैका लागि कम्पनीले सहयोग गर्ने बताए । नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

नगरकोट रिसोर्टले ल्याउँदै आईपीओ, धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । नेपालको पुँजी बजारमा होटल तथा पर्यटन क्षेत्रबाट नगरकोट रिसोर्ट लिमिटेडले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ । रिसोर्टले नेपाल धितोपत्र बोर्डमा साधारण सेयर निष्काशनको लागि दिएको निवेदन नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएको छ ।  नगरकोट रिसोर्ट लिमिटेडले १५ करोड रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्नेछ । जसअनुसार रिसोर्टले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुको लागि जारी गर्नेछ ।  रिसोर्टको साधारण सेयर निष्काशनको कार्य गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटललाई नियुक्त गरेको छ भने कर्पोरेट एडभाइजरी सम्बन्धी कार्य ज्योति क्याटिपल लिमिटेडले गर्दै आइरहेको छ ।  नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएसँगै होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताहरूका लागि नयाँ लगानी अवसर थपिएको छ । पछिल्लो समय पर्यटन उद्योगमा सुधार देखिन थालेसँगै यस क्षेत्रका कम्पनीहरूप्रति लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ । नगरकोट रिसोर्ट लिमिटेडको आईपीओ स्वीकृति तथा निष्कासनसम्बन्धी आगामी प्रक्रिया नेपाल धितोपत्र बोर्डको नियामक निर्णयअनुसार अगाडि बढ्नेछ ।

धनगढीमा २ अर्ब २० करोड लगानीमा पाँचतारे ‘होलिडे इन आईएचजी’ निर्माण हुँदै

काठमाडौं । धनगढीमा पाँचतारे होटल ‘होलिडे इन आईएचजी’ निर्माण हुने भएको छ । मंगलबार उक्त होटलको व्यवस्थापनसम्बन्धी होटल इन आईएजी र क्लब चौलानीबीच सम्झौता भएको छ ।  सम्भौता पत्रमा क्लब चौलानीको तर्फबाट डा. राजेन्द्र केसी र आइएचजीको तर्फबाट दक्षिण एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन् ।  अध्यक्ष केसीका अनुसार धनगढीमा निर्माण हुन लागेको उक्त होटल सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गतको पहिलो पाँचतारे होटल हुने छ । उनका अनुसार होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन् ।  त्यस्तै, १८ हजार ५ सय वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहुपरिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू तथा विशेष निजी डाइनिङ सुविधा समावेश रहनेछन् । परियोजनाको कुल लगानी २ अर्ब २० करोड रहेको छ । जसमा ६५ प्रतिशत अर्थात १ अर्ब ४३ करोड रुपैयाँ बैंक ऋण र ३५ प्रतिशत अर्थात ७७ करोड प्रवद्धकहरूको स्व–पूँजीमार्फत व्यवस्थापन गरिने होटलले जनाएको छ । होटल २०८४ को सुरुबाट सञ्चालनमा आउने तयारी छ । आवास, व्यवसायिक पर्यटन र अन्तर्राष्ट्रिय ब्रान्डेड आतिथ्य सेवाको नयाँ युगको सुरुआतका रूपमा लिइएको । यसले स्थानीय रोजगारी सिर्जना गर्दै क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने क्लब चौलानीका सीए दीपक पाण्डेले बताए । पाण्डेका अनुसार होटल सञ्चालनपछि २ सय जना स्टाफ, ५ सय क्यासिनो कर्मचारी गरी ७ सयले रोजगारी पाउनेछन् । धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा, जैविक विविधता र आतिथ्यताले सम्पन्न क्षेत्र हो । भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको यो सीमावर्ती सहरले ठूलो संख्यामा भारतीय पर्यटकको आकर्षण गर्ने सम्भावना बोकेको छ ।  धनगढी सुदूरपश्चिमका ७ जिल्लाको प्रमुख जङ्सनको रूपमा विकसित हुँदै गएको छ । महेन्द्रनगर नजिक तथा धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित छ ।