दियालो बङ्गलाको ६३ हजारभन्दा बढीले गरे अवलोकन, ५३ लाखभन्दा बढी आम्दानी
चितवन । एक वर्षअघि आजकै दिनबाट सर्वसाधारणका लागि खुला गरिएको दियालो बङ्गलामा ६३ हजार ४४८ जनाले अवलोकन गरेका छन् । जसबाट ५३ लाख १६ हजार ८५० राजस्व सङ्कलन भएको जनाइएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबार भरतपुर महानगरपालिकाले व्यवस्थापनमा सर्वसाधारणका लागि खुला गरिएको हो । दरबार प्रवेशका लागि सर्वसाधारण नेपालीलाई १०० तथा ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । यस्तै छिमेकी राष्ट्रहरु भारत र चीनका पर्यटकका लागि १५०, अन्य सार्क राष्ट्रका पर्यटकका लागि २०० र सार्कबाहेकका मुलुकका पर्यटकका लागि ३०० शुल्क निर्धारण गरिएको छ । सङ्कलित राजस्वमध्ये ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत महानगरपालिकाले पाउने गरी सम्झौता गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दियालो बङ्गला सर्वसाधारणलाई खुला गर्दै गर्दा ट्रष्ट र महानगरपालिका मिलेर भौतिक पूर्वाधारका काम गरिएको बताइन् । महानगरपालिकाले भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्षित गरी दियालो बङ्गला सञ्चालनमा ल्याउन पहल गरेको थियो । प्रमुख दाहालले दियालो बङ्गलाको ऐतिहासिक महत्व भएकाले यहाँ अध्ययन तथा घुम्न आउनेहरुको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताइन् । तत्कालीन समयमा जाडो महिनामा राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेका थिए । यो राजपरिवारले सिकार खेल्न आउँदा बस्ने ठाउँ पनि हो । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा तत्कालीन राजाहरु महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भर्याङमा विसं २०२६ मा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ भने बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ । दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । एक नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नंम्बर राजा र ३ नंम्बर रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले जस्ताको तस्तै राखिएको छ । दरबारको छेउमा महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वार्टर छ । केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ । महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले चितवन घुम्न आउने पर्यटकका लागि बसाइ लम्भ्याउन दियालो बङ्गला सहयोगी भएको बताए । चितवन हुँदै राजधानी भित्रिने र बाहिरने एवं जिल्ला हुँदै यात्रा गर्ने जो कोहीका लागि सहज पर्यटकीय गन्तव्य दियालो बङ्गला बनेको अधिकारीको भनाइ छ । रासस
मन्त्री गुरुङ बोली फेरेपछि जहाज चढ्ने सपना अधुरै
काठमाडौं । लमजुङको बेँसीशहर नगरपालिका-९ बिम्दाबेँसीका सेवा निवृत्त भारतीय सेनाका सुवेदार गोपीप्रसाद गुरुङलाई हिजो झैँ लाग्छ, २१ वर्षे लक्का जवानीमा पहिलो छुट्टी लिएर घर फर्किँदा बुवा, छरछिमेक र आफन्तहरू सबै नाल्माको सित्तलेस्वाँरामा हवाई मैदान खन्न लर्को लागेर गएका थिए । केही दिन उनी पनि त्यहाँ पुगे । सित्तलेस्वाँरा आसपासका बाग्लुङ पानी, नाल्मा, गाउँशहर, पुरानकोटबाट मात्रै नभएर आसपासका तुर्लुङकोट, सिन्दुरे, दुराडाँडादेखिका धेरै गाउँलेहरू डोको र ढाकरमा सामल, तुमल, गल, गैंती, कुटो कोदालो, हँसिया, खुर्पा, बञ्चरो बोकेर हवाई मैदान खन्न जुटेका थिए । यो ६० वर्ष अघिको कुरा हो । उनलाई त्यति खेर सित्तलेस्वाँरामा श्रमदान गर्न जुटेका गाउँले देख्दा चैते दशैँको मेला लागे जस्तै लागेको थियो । कोही खन्ने, कोही रुख बुट्यान फाँड्ने त कोही ढुङ्गा माटो फाल्ने । उनीहरुको एउटै सपना थियो, केही दिनमै मैदान तयार गर्ने र जहाज आएपछि पक्कै चढ्न पाइएला । तर विडम्बना जिल्लावासीको सपना अझै साकार भएको छैन । विसं २०२१/२२ मा साविक नाल्मा गाविस-२, हालको बेँसीशहर नगरपालिका-५ सित्तलेस्वाँरामा विमानस्थल निर्माण थालिए पनि आवश्यक बजेट विनियोजन नहुँदा खेलमैदान र गौचरमा सीमित बनेको छ । स्थानीयले उत्साह देखाए पनि सरकारले निर्माण पूरा गर्न आवश्यक बजेट विनियोजन नगरेपछि सो योजना सम्पन्न हुन नसकेको हो । स्थानीयले हवाई मैदानका लागि आवश्यक मैदान भने खनेका थिए । तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य दुराडाँडाका श्रीकान्त अधिकारी हेलिकप्टरमा आएर ३ हजार ३ सय रुपैयाँमा मौखिक ठेक्का दिएका थिए । बाख्रे जगतका स्थानीयहरुका अनुसार अधिकारीले ठेक्का दिएसँगै पुनः बाख्रे जगत, नाल्मा, पुरानकोट, गाउँशहर, बाग्लुङ पानीलगायत विभिन्न गाउँकाले श्रमदान गरेका थिए । निर्माण सुरु भएको ४३ वर्षसम्म अलपत्र परेपछि नाल्मा, पुरानकोट, गाउँशहर, बाग्लुङ पानीका स्थानीयको अगुवाइमा विसं २०६४ माघमा निर्माण समिति दर्ता गरेर सम्पन्न गर्ने पहल भएको तत्कालीन निर्माण समितिका अध्यक्ष श्याम बहादुर गुरुङले बताए । उनकै पहलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०६४/६५ मा १८ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको थियो । जिविस, गाविस लगायतबाट ७ लाख रुपैयाँ जुटाएर पहिलो चरणमा करिब २५ लाख रुपैयाँ बराबरको काम भएको थियो । आर्थिक वर्ष २०६५/६६ मा दोस्रो चरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट २० लाख रुपैयाँ र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट १५ लाख रुपैयाँ उपलब्ध गराइएको थियो । मैदान फराकिलो बनाउने, पर्खाल उठाउने, स्थानीयले उपभोग गर्दै आएको खानेपानीको लाइन स्थानान्तरण तथा व्यवस्थापन गर्ने गरी दुई चरणमा कूल ६० लाख रुपैयाँ बराबरको काम भएको समितिको तथ्याङ्कमा देखिन्छ । पृथ्वी सुब्बा गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हुँदा हवाई मैदान निर्माणका लागि बजेट विनियोजन गरेको निर्माण समितिका अध्यक्ष गुरुङको भनाइ छ । उति बेला मन्त्री गुरुङकै निर्देशनमा नागरिक उड्डयन प्राधिकरणका प्राविधिक समूहले विमानस्थलको विस्तृत अध्ययनसमेत गरेका थिए । ट्वीनअटर विमानका लागि कूल ८५० मिटर लम्बाइ, १५० मिटर चौडाइ अर्थात् २४५ रोपनी क्षेत्रफलको मैदान निर्माण गर्नुपर्ने नक्सा प्राविधिक समूहले तयार पारेको थियो । करिब ५० प्रतिशत कामसमेत सम्पन्न भएको थियो । तर, बाँकी कामका लागि कुनै निकायबाट बजेट विनियोजन नगरिएको निर्माण समितिका अध्यक्ष सुवेदार गोपीप्रसाद गुरुङको भनाइ छ । बजेट अभावमा काम रोकिएपछि अहिले सो मैदान स्थानीयका लागि गौचरन र खेलमैदान बनेको हो । सोही मैदान हुँदै बेँसीसहर-नाल्मा सडक निर्माण भएको छ । जिल्लामा हवाई मैदान आवश्यक भएकाले आफूले सुरुवातदेखि पहल गर्दै आएको र गर्न सक्ने वातावरण मिल्दासम्म प्रयास गरिरहने सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं जिल्लाका सङ्घीय सांसद पृथ्वी सुब्बा गुरुङले बताउँदै आएका छन् । उनले निर्वाचनमा समेत हवाई मैदानको एजेण्डालाई प्राथमिकतामा राखेका थिए । तर पछिल्लो समयमा उनले समेत सो हवाई मैदान बन्न नसक्ने बताएको निर्माण समितिका अध्यक्ष गुरुङ बताउँछन् । ‘जहाज आउला र चढौँला भन्ने आशा राखेका अघिल्लो पुस्ता त सबै बितेर गइसक्नु भयो,’ अध्यक्ष गुरुङले भने, ‘सायद अब लमजुङ वासीले आफ्नै विमानस्थलबाट जहाज चढ्ने रहर पूरा नहुने रहेछ ।’
४ वटा एटीआर विमान ल्याउँदै सौर्य एयरलाइन्स
काठमाडौं । सौर्य एयरलाइन्सले एटीआर विमान ल्याउने तयारी गरको छ । गत वर्ष साउन ९ गते एकमात्र बम्वार्डियर सिआरजे विमान दुर्घटनामा परेपछि विमानविहीन बनेको सौर्य एयरलाइन्सले ४ वटा एटिआर विमान ल्याएर पुनः उडान सुरु गर्ने तयारी गरेको जनाएको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका अनुसार नागरीक उड्डयन प्राधिकरणबाट ४ वटा एटीआर विमान भित्र्याउने स्वीकृति अन्तिम चरणमा पुगेको छ । जनवरी २०२६ सम्ममा उडान सुरु गर्ने लक्ष्यसहित तयारी भइरहेको र एटीआर खरिद प्रक्रियाका लागि आफू युरोपमै रहेको उनले बताए ।