सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटक लक्षित रामेछाप-लुक्ला हवाई उडान सुरु
काठमाडौं । रामेछाप-लुक्ला हवाई उडान सुरु भएको छ । शरद ऋतुमा सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरूका लागि लक्षित हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विभिन्न कम्पनीहरूले काठमाडौंबाट सडक मार्ग हुँदै मन्थलीसम्म पर्यटक ल्याउने र यहाँबाट हवाई उडानमार्फत लुक्ला लैजाने गरेका छन् । विमानस्थलबाट सीता, तारा र समिट लगायतका कम्पनीले सेवा दिँदै आएका छन् । मौसम अनुकूल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्ज्वल गुरागाईँले जानकारी दिए ।
हिमालहरूको आम्दानी १८.२१ करोड रुपैयाँ, आरोहीहरूको आकर्षण मनास्लुमा
काठमाडौं । शरद ऋतुमा हिमाल आरोहीहरूको आकर्षण मनास्लु (८ हजार १६३ मिटर) मा देखिएको छ । असोज १२ गतेसम्म मनास्लु आरोहणका ३१ समूहका ९५ महिला र २७९ पुरुषसहित ३७४ आरोहीले आरोहणको अनुमति लिएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए । निर्देशक गौतमका अनुसार केही आरोहीले मनास्लु आरोहण गरिसकेका छन् भने केहीले तयारी गरिरहेका छन् । उनका अनुसार गत वर्षको यही याममा मनास्लु आरोहणका लागि २८ आरोही समूह थिए । मनास्लु आरोहणका लागि सेभन समिट ट्रेक्स प्रालि, सतोरी एड्भेन्चर प्रालि, इलाइट एक्सपेडलगायतका कम्पनी मनास्लुको आधार शिविर पुगिसकेका छन् । हाल मौसम अनुकूल रहेकाले विश्वको आठौँ अग्लो मनास्लुसँगै धौलागिरि हिमाल आरोहण जारी छ । त्यसबाहेक आमादब्लम, मेरापिक, आइल्यान्ड पिकलगायत हिमाल आरोहणका लागि आरोहीहरू गन्तव्यमा पुगेको विभागको भनाइ छ । विभागका अनुसार यस याममा विभिन्न ३६ हिमाल तथा पिक आरोहणका लागि नेपालसहित ६७ देशका १५२ महिला र ५१५ पुरुष गरी ६६७ आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार सगरमाथा आरोहणका लागि दुई आरोही समूहले अनुमति पाएका छन् । धौलागिरिमा एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन् भने मकालु र ल्होत्सेमा समान एक समूहले अनुमति पाएको छ । हिम्लुङ हिमालमा ६ आरोही समूहका ४८ जनाले अनुमति लिएका छन् । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि यस याममा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेको निर्देशक गौतमको भनाइ छ । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य ऋषिराम भण्डारीले यस वर्ष समग्र रुपमा मनास्लु आरोहण उत्साहजनक रहेको बताए । सतोरी एडभेन्चर प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका ऋषिराम भण्डारीले ३५ भन्दा बढी आरोही मनास्लु आरोहणमा गएका छन् । आमादब्लमलगायत हिमालमा पनि आरोहीको आकर्षण छ । नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष मिङ्मा ग्याबु शेर्पाले पनि मनास्लु आरोहण उत्साहबद्र्धक रहेको बताए । ‘विगतको भन्दा यो पटक धेरै सङ्ख्यामा आरोही आएका छन् । समग्रमा पर्वतारोहण उत्साहजनक रहेको छ,’ उनले भने । सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङमा शेर्पाले यस पटक मनास्लु आरोहण राम्रो भएको बताए । ‘यसपटक मनास्लुमा आरोहीको आकर्षण देखिएको छ, मनास्लु आरोहणमा पठाउने सबै व्यवसायीको आरोहणमा कुनै समस्या भएन । विगतमा जस्ता कुनै किसिमका अप्रिय घटना भएनन् । अहिलेसम्म आरोहण उत्साहजनक छ,’ उनले भने । उनका अनुसार समग्रमा पर्वतारोहणमा यस याममा उत्साह छ । तर पदयात्रामा केही बुकिङ भने रद्द भएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० का अध्यक्ष सागर पाण्डेका अनुसार यस पटक तुलनात्मक रुपमा कम पदयात्री गन्तव्य गएका छन् । पछिल्लो परिस्थिति सृजना भएपछि सेप्टेम्बरसम्मका लागि मात्रै २५ प्रतिशत बुकिङ रद्द भएको छ । यद्यपि अक्टोबरमा भने उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउने विश्वास गरिएको छ । जेनजी आन्दोलनले केही दिन नेपालको पर्यटन आगमन खुम्चिएको थियो । अहिले विस्तारै पर्यटक आगमन बढिरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । आन्दोलन पूर्व दैनिक तीन हजार २०० हाराहारी विदेशी पर्यटक आइरहेकामा विषम परिस्थितिपछि यो सङ्ख्या घटेर दैनिक १६ सयको हाराहारीमा आएको थियो । यद्यपि यस साता भने दैनिक औसतमा २९ सयको हाराहारीमा यात्रु आइरहेका छन् । १८ करोडभन्दा बढी रोयल्टी पर्यटन विभागका अनुसार यस याममा हिमाल आरोहणबाट हालसम्म १८ करोड २१ लाख ६८ हजार ६२४ रुपैयाँ रोयल्टी जम्मा भएको छ । मनास्लुबाट मात्रै १५ करोड रुपैयाँ रोयल्टी उठेको छ । विभागका निर्देशक गौतमले शरद ऋतुमा मनास्लुसहित विभिन्न हिमाल आरोहणमार्फत हालसम्मकै बढी रोयल्टी जम्मा भएको बताए । विगतमा यस याममा ७ करोड रुपैयाँदेखि ८ करोड रुपैयाँको हाराहारी रोयल्टी उठ्ने गरेको थियो । मनास्लुमा नयाँ रेकर्ड निमा छिरिङ शेर्पाले सबैभन्दा कम उमेरमा मनास्लु आरोहण गरी नयाँ कीर्तिमान कायम गरेकी छिन् । उनले असोज १२ गते बिहान ६:२४ बजे १६ वर्ष ४ महिना १८ दिनको उमेरमा मनास्लु आरोहण गरेकी हुन् । साथै मनास्लुमा यस याममा स्पेनका ८६ वर्षका आरोहीले आरोहण गरेर रेकर्ड बनाएका छन् । पोल्याण्डका साहसिक पर्वतारोही आन्द्रेज बार्गिएलले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट कृत्रिम अक्सिजन प्रयोग नगरी स्की चढेर हिउँमा चिप्लेटी खेल्दै तल ओर्लिएर रेकर्ड बनाएका छन् । उनी सेभेनसमिट ट्रेक्स प्रालिमार्फत स्कीका लागि सगरमाथा गएका थिए । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले ८ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको २ दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लो आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए । लामो आरोहण इतिहास कायम रहेको गोरखामा अवस्थित मनास्लु हिमालको विसं २०७३ मा ६० वर्षे हीरक महोत्सव मनाइएको थियो । नेपालको सुदूरपश्चिम भागमा रहेको मनास्लु जसलाई कुताङ भनेर पनि चिनिन्छ । यो हिमाललाई हृदयको हिमाल पनि भनिन्छ । मानसिरी पर्वतशृङ्खलामा रहेको यो संसारको आठौँ अग्लो हिमाल हो । विसं २०७७ असोज २९ गते बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली मनास्लु आरोहण गरेपछि विश्वभर मनास्लु हिमाल र नेपालको चर्चा चुलिएको थियो । रासस
मुस्ताङमा १ लाख ८ हजार विदेशी पर्यटक भित्रिए
काठमाडौं । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सप्टेम्बर २८ तारिखसम्ममा १ लाख ८ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा यहाँ १ लाख २ हजार ८९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । गत वर्षको तुलनामा ५.३२ प्रतिशतले वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा कुल १ लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । यो अनुपात कायम राख्न सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा थप २७ हजार ३३ जना अर्थात् १९.९१ प्रतिशत विदेशी पर्यटक वृद्धि हुनुपर्छ । तर, यस यामको अनुकूल पर्यटक ‘सिजन’मा प्रतिकूल मौसम र युवाहरुको जेनजी आन्दोलनको उत्पन्न परिस्थितिका कारण कम विदेशी पर्यटक आएका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले बताए । उनका अनुसार सन् २०२४ को सप्टेम्बरमा ११ हजार ७८५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत यहाँका पृथक भूगोल, प्राचीन धार्मिक गुम्बा, मठमिन्दर, माने छोर्तेन, पुराना मानव निर्मित गुम्बा र यहाँको मनोरम हिमशृङ्खला अवलोकन गर्न विदेशी पर्यटक भित्रिने गरेका छन् । उपल्लो मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार, छोसेर गुफा, मुक्तिनाथ मन्दिर, ढुम्बाताल लगायतका पर्यटकीय गन्तव्यहरु यहाँका महत्वपूर्ण पर्यटकीय सम्पदाहरु रहेको एक्यापले उल्लेख गरेको छ ।