काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले हाल संसद भवन रहेको बिरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसीसी) हल तत्काल खालि गर्नुपर्ने बताएका छन् । उनले काठमाडौंमा अन्तराष्ट्रिय स्तरको हलको आवश्यक रहेको बताउँदै तत्काल खालि गराएर अन्तराष्ट्रिय प्रदर्शनी हलका रुपमा सञ्चालन गर्नुपर्ने बताए ।
‘त्यो संसद बस्ने स्थान होइन, बिआईसीसी हललाई जति सक्दो खालि गराउनुपर्छ, त्यो अन्तराष्ट्रिय प्रदर्शनी हल हो, सरकार चलाउने हल होइन, बिआईसीसी अन्तराष्ट्रिय प्रदर्शनी हल चिन सरकारको सहयोगमा बनेको हो, मेला महोत्सव तथा प्रदर्शनी गर्न हामीलाई दिईएको सम्पत्ति हो, जुन प्रयोजनाका लागि दिइएको हो त्यसैका लागि प्रयोगमा ल्याउनुपर्छ,’ उनले भने ।
सोमबार नेपाल उधोग बाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा मेला महोत्सवको महत्त्व, बिधमान चुनौती र आगामी तयारी कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक ऐरले सरकारले ठूलाठूला मेला महोत्सव आयोजना गर्न हल निर्माण गर्नु पर्नेमा जोड दिए । उनले पर्यटन बोर्डले मेला महोत्सव आयोजना गर्दा निजी क्षेत्रलाई सहकर्मीको रुपमा लिने गरेको बताए ।
पूर्व पश्चिमका विभिन्न स्थानमा हुने मेला महोत्सवमा पर्यटन बोर्ड सधैं सयोग गर्दै आएको उनको भनाइ छ । साथै मेला महोत्सव आयोजना गर्दा भारतीय बजारलाई समेत समेट्नु पर्ने उनले बताए ।
‘नेपालको बजारले हामीलाई भ्याउँदैन, नेपालको बजारलाई अन्तराष्ट्रिय स्तरमा जोड्ने हो भने धेरै नजिक सीमामा छौं, भारतीय पूर्व सिलगुडी देखि लिएर पश्चिम बरेलीसम्मको बजार र नेपालको बजार एउटै प्रकृतिको छ, समान भिजनमा पूर्व सिलगुडीदेखि लिएर विराटनगर, विरगञ्ज, नेपालगञ्ज हुँदै धनगढीसम्म भारतीय बजारलाई जोड दियो भने मेला महोत्सवलाई नयाँ आयाम दिन सक्छ,’ उनले भने । दुवै देशको पर्यटन विस्तार गर्न विजनेश टू कन्जुमर (बिटुसी) गर्ने उनको भनाइ छ ।
पदर्शनी स्थल पुर्वाधार विकासका लागि पर्यटन बोर्डले सकरात्मक भूमिका निर्वाह गर्ने उनले बताए ।