उहिले बाढीको त्रास भएको महाकाली तटीय क्षेत्रमा अहिले पर्यटकीय गन्तव्य
महेन्द्रनगर । विसं २०७० अघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३ पिपरीया क्षेत्रमा सयौँ बिघा जमिन बगरमा परिणत भएको थियो । महाकालीको बाढीका कारण सयौँ परिवार विस्थापित बने । तर अहिले महकालीको तटीय क्षेत्र पर्यटकीय गन्तव्यमा परिणत भएको छ । सधैँ बाढीको त्रास रहने उक्त क्षेत्र पर्यटकीय गन्तव्य बनेकामा स्थानीयवासीमा खुसीको सीमा छैन । यहाँ पुलसँगै निर्माण भएको पहुँचमार्ग भाइरल रोडका रुपमा परिचित बन्दा यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । ‘जहिल्यै वर्षात्मा महाकाली उर्लेर आउँथ्यो, कहाँ गएर आश्रय लिनेभन्ने समस्याले सताउँथ्यो’, भीमदत्त नगरपालिका–१२ की चन्द्रकला सोनहाले भनिन्, ‘बाढीले कटान गर्ने ठाउँमा अहिले छ लेनको सडक बनेको छ, सेल्फी खिच्न आउनेको यहाँ घुइँचो लाग्छ ।’ महाकाली नदीमा अर्बौंको लगानीमा चार लेनको पक्की पुलसँगै गड्डाचौकीदेखि दोधारा चाँदनीको सुक्खाबन्दरगाह प्रस्तावस्थलसम्म छ लेनको कालोपत्र सडक बनेपछि यहाँ बाढीको त्रासदी हटेको छ । ‘बाढीले बगाउँछ भने यहाँ जग्गा किन्न कोही पनि आउँदैनथे, अहिले जग्गाको मूल्य अकासीएको छ’, भुजेलाका रामसिंह सुनारले भने, ‘अहिले जग्गाको मूल्य महेन्द्रनगर बजारको हाराहारी छ ।’ बाढीका बेला सुरक्षा निकायले उद्धार गरेर नजिकैको स्कुलमा हप्तौ बसेको विगत सुनाउँदै सुनारले सो क्षेत्रको विकासले यहाँको स्थानीयको अवस्थामा पनि व्यापक सुधार आउने बताए । ‘दिनहुजसो यहाँ जग्गा खरिदका लागि आउँछन्’, उनले भने, ‘उहिलेको र अहिलेको भुजेलामा धेरै अन्तर भइसकेको छ ।’ विसं २०७० सम्म वर्षात्का बेला महाकाली उर्लिंदा मुलुककै ध्यान तान्ने गरेको विपत्को स्थिति गुजारेको तटीय क्षेत्रमा अहिले दिनहुजसो भाइरल रोड र पक्की पुलमा फोटो खिच्न आउनेको घुइँचो नै लाग्ने गरेको स्थानीयवासी बताउँछन् । गड्डाचौकीदेखि दक्षिणतर्फ महाकाली नदीमा निर्माण भएको पुलसम्मको पहुँच मार्ग निर्माणले यहाँका धेरै बस्ती बाढीको जोखिमबाट मुक्त भएका छन् । गत वर्ष कात्तिकमा आएको बाढीले यहाँ सडकमा समान्य क्षति पु¥याए पनि बाढी बस्तीमा पस्नबाट सडक नै सहयोगी बनेको स्थानीयवासीको भनाइ छ । सो समयमा पोखरी निर्माणका लागि ढुङ्गाको व्यवस्थापन नहुँदा बाँध निर्माण सुरु भइसकेको थिएन । बाँध नहुँदा नै पहुँच मार्गमा क्षति पुगेको निर्माण कम्पनीले जनाएको छ । विगतमा भुजेलादेखि पिपरियासम्मको तटीय क्षेत्रमा महाकाली नदीमा जनताको तटबन्ध कार्यालय तटबन्ध निर्माण गरी बस्ती जोगाउन सक्रिय थियो । ‘तटबन्ध नहुँदा विगतमा स्थानीयका घरदेखि विद्यालयसम्म बगे ।’ भुजेलाकै मानवीर भट्टले भने, ‘वर्षात्मा त स्थानीय प्रशासनको ध्यान यहाँकै जनता र बस्ती कसरी जोगाउने भन्नेमा हुन्थ्यो ।’ महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले गड्डाचौकीदेखि निर्माणाधीन पुलसम्मको पहुँच मार्ग कालोपत्र सकिन लागेको जानकारी दिए । आठ दशमलव छ किलोमिटर कालोपत्रमध्ये छ किलोमिटर सडक निर्माण भइसकेको उनले बताए । पुल ओहोरदोहोरका लागि मात्रै नभएर पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको इञ्जिनीयर पाण्डेयको भनाइ छ । ‘पुलको दुवैतर्फ उत्तर र दक्षिण बाँध बाधेर आँखा आकारका पोखरी निर्माण पुलकै प्याकेजभित्र छ’, उनले भने, ‘पोखरीका लागि बाँध बाध्ने काम विगत एक महिनायता जारी छ ।’ इञ्जिनीयर पाण्डेयले पोखरी निर्माण सकिए यहाँका पालिकाको आयस्रोतसमेत बढ्ने बताए । ‘पोखरीको बीचमा तीन/तीन वटा टापु बन्ने छन्, त्यहाँ ढुङ्गा चढेर आउन जान सकिनेछ’, इञ्जिनीयर पाण्डेयले भने, ‘पोखरीमा माछापालनदेखि ढुङ्गा सञ्चालन गरेर यहाँका पालिकाले पर्यटकलाई लोभ्याउन सक्छन् ।’ तीन अर्ब ६६ करोड रुपैयाँँको लागतमा निर्माण हुन लागेको उक्त पुलको सबै काम आगामी वर्षभित्र सक्नेगरी निर्माण अघि बढेको छ । पुलको उत्तरपट्टी एक वर्गकिलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ ० दशमलव तीन वर्ग किलोमिटरका दुई गरी चार वटा पोखरी निर्माण हुँँदैछन् । त्यसैगरी पक्की पुलबाट करिब अढाइ किलोमिटरको दूरीमा दक्षिण एशियाकै लामो दोधाराचाँदनी झोलुङ्गे पुल रहेको छ । यहाँ हरेक दिन आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने गरेका छन् । भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहरा झोलुङ्गे पुलदेखि चार लेनको पक्की पुलसम्मको सडक कालोपत्र गर्नसके स्थानीयका साथै पर्यटकलाई आवतजावत गर्न सहज हुने बताउँछन् । उनले भने, ‘यति सडक मात्रै बनाउनसके यहाँ पर्यटकीय गतिविधि बढ्छ ।’ लामो समय महाकाली तटीय क्षेत्रका नागरिकले कष्ट व्यहोरे पनि पुल बनेसँगै आर्थिक गतिविधि बढिरहेको बोहराले बताए । ‘सुक्खा बन्दरगाह र त्रिदेशीय नाका बनाउने एजेण्डाले जग्गाको कारोबार नै आकासिएको छ’, उनले भने, ‘सुक्खा बन्दरगाहदेखि नेपाल–भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकास भए सुदूरपश्चिमकै कायापलट हुनेछ ।’ पक्की पुल पारी दोधाराचाँदनी नगरपालिका–१ मा दुईवटा सामुदायिक वनमा सुक्खा बन्दरगाह प्रस्ताव गरेर प्रक्रिया अघि बढाइएको छ । यसैगरी पहुँच मार्गलाई गड्डाचौकीबाट उत्तरतर्फको ब्रह्मदेवसम्म विस्तार गरेर त्यहाँबाट जोगबुढा हुँदै दार्चुलासम्मको महाकाली करिडोरलाई जोड्ने योजना छ ।
पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधि
पोखरा । पर्यटकीय नगरी पोखरा साहसिक पर्यटनको सहर पनि हो । सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन् । पोखराको सराङ्कोटबाट हावा खाँदै जिपलाइन, प्याराग्लाइडिङसँगै बन्जीजम्प, स्वीङ, अल्ट्रालाइटदेखि माउन्टेन फ्लाइटसम्मका विभिन्न गतिविधिले पोखरामा पर्यटकलाई लोभ्याउने गरेको छ । स्वदेशी एवं विदेशी पर्यटकका साथै उच्चपदस्थ अधिकारी, चर्चित अभिनेता तथा कलाकारको पनि पोखरामा साहसिक पर्यटनका गतिविधिले आकर्षित गर्ने गरेको छ । हालै नेपालको भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायले पोखरामा साहसिक पर्यटनका जिपलाइन, स्वीङ आदिमा रमाएका तस्वीर यतिखेर विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका छन् । पोखराको यही साहसिक पर्यटन प्रतिको आकर्षणलाई दृष्टिगत गरी पर्यटन क्षेत्रका लगानीकर्ता पनि यसतर्फको लगानीमा हौसिएको देखिन्छ । पोखरामा जिपलाइन, बञ्जीजम्प, स्वीङ लगायतका पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको हाइग्राउन्ड एडभेन्चर प्रालि नेपालले पर्यटकलाई लक्षित गरी हालै एटिभी राइडिङ सञ्चालनमा ल्याएको छ । कम्पनीले सुरु गरेको एटिभी राइडिङमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढेको कम्पनीका निर्देशक दिनश महर्जनले बताए । ‘पछिल्ला समयमा पोखरामा आउने पर्यटक यहाँ सञ्चालित जिपलाइन, स्वीङ, बञ्जी आदिमा आकर्षित बन्दै गएका छन्’, उनले भने, ‘हालै नेपाल भ्रमणका क्रममा पोखरामा बलिउड अभिनेता बिबेक ओभरायले जिपलाइन, स्वीङ लगायतका साहसिक पर्यटनका गतिविधि गर्दा त्यसले पोखराको साहसिक पर्यटनलाई थप चर्चामा ल्याएको छ ।’ पोखराको साहसिक पर्यटनको बढ्दो आकर्षणलाई देखेर हाइग्राएनड एडभेन्चर प्रालिले पोखरामा नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालनमा ल्याएको उनले बताए । उनका अनुसार एटिभी राइडिङमा फोर ह्वीलर चक्का कच्ची रोडमा सहजै गुड्ने गरी बनाइएको हुन्छ । कम्पनीका कर्मचारी राजेश लम्साल मोटरसाइकल चलाउनेले यो सजिलै चलाउन सक्ने बताउँछन् । फेवातालको किनारमा चलाउने गरी व्यवस्था गरेको कम्पनीले आउने पर्यटकलाई प्रारम्भमा सेदीस्थित कार्यालयमा प्राविधिकबाट यसका विधि र प्रत्रियाबारे जानकारी गराउने गरिएको उनले जानकारी दिए । ‘नयाँका लागि हामीले कार्यालय परिसरमा नै टेस्टड्राइभ गराउँछौँ’, निर्देशक महर्जनले भने, ‘टेस्ट ड्राइभका लागि टेस्ट ट्रेल निर्माण गरेका छौँ ।’ अनुभवीका लागि सेदी–भकुण्डे–सेदीको आठ किलोमिटर दूरीको मार्ग निर्धारण गरिएको उनले जानकारी दिए । उक्त सडक भकुण्डेसम्म एक किलोमिटर पक्की छ भने सात किलोमिटर कच्ची रहेको छ । यस मार्ग पार गर्न करिब दुई घण्टा समय लाग्ने र उक्त मार्गमा फेवाताल, जङ्गल, खोलानाला आदिको प्रत्यक्ष अनुभव लिन सकिन्छ । कम्पनीमा हाल एटिभी गाडी आठवटा रहेको बताउँदै उनले बढ्दो आकर्षणलाई दृष्टिगत गरी आठवटा थप्न लागिएको बताए । नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालन गरिएको उल्लेख गर्दै महर्जनले यसले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन थप सहयोग पुग्ने विश्वास लिइएको बताए ।
एमएस ग्रुपले कमलादीमा एशियाकै दोस्रो ‘मोक्सी’ होटल खोल्दै, अर्ब बढी लगानीमा सयलाई रोजगारी
फाइल तस्वीर काठमाडौं । काठमाडौंको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण हुने भएको छ । व्यापारिक घराना एमएस समूहले भने काठमाडौंमा तारे होटल बनाउन लागेको हो । कूल एक अर्ब ३५ करोड लागतमा निर्माण हुने होटल अन्तर्राष्ट्रिय स्तरको हुनेछ । समूहले मोक्सी ब्रान्डको अन्तर्राष्ट्रिय चेन होटल काठमाडौंको कमलादीमा बनाउन लागेको हो । यस सम्बन्धमा मेरियट इन्टरनेसनल र हिमालय हस्पिटालिटीबीच सम्झौता भइसकेको छ । काठमाडौंमा बन्ने मोक्सी एसियाकै दोस्रो हुने बताइएको छ । यस्तो होटल पहिलो जापानमा बनिसकेको छ भने युरोप र अमेरिका पनि फैलिसकेको छ । संसारका जुनसुकै कुनामा ठूला होटल निर्माण सक्न कम्तीमा तीन–चार वर्ष लाग्छ । सन् २०२५ भित्र होटलको निर्माण सकेर सञ्चालनमा ल्याउने योजना छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको दुई रोपनी जग्गामा बन्ने यो होटलमा डाइनिङ आउटलेट, टेक अवे, रूफटप बार, लगायत सेवा हुनेछ । होटलमा रेष्टुराँ, व्यायाम हल, स्वीमिङ पुललगायतका सेवा सुविधा उपलब्ध हुनेछन् । होटलमा कूल ९४ कोठामा दुई सय शय्या हुनेछन् । जसमा आठ वटा स्वीट रुम हुनेछन् । बेसमेन्ट दुई र भुई तल्ला गरी कूल नौ तले सो होटल इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटल प्रालिले निर्माण गर्न लागेको हो । होटलको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि केही दिन पहिले वन तथा वातावरण मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको छ । होटल निर्माण क्षेत्र वरपरको वातावरणीय प्रभावका बारेमा आवश्यक जानकारी दिन मन्त्रालयले सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ । सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम ईन्भाइरोन्मेन्टल सर्भिसेज प्रालिले गरिरहेको छ । होटल सञ्चालन आएपछि करिब एक सय जनाले रोजगारी पाउने छन् । होटलमा आठ तलासम्म चार वटा ट्वीन रुम, छ वटा क्वीन रुम र एउटा स्वीट रुम रहनेछन् भने नवौँ तलामा दुई वटा ट्वीन रुम र चार वटा क्वीन रुम रहनेछन् । होटलमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचका लागि ¥यामका साथै दुई वटा कोठा निर्माण गरिनेछ ।