गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन क्यानलाई सकस, हिमालयले रोक्यो उडान

<p>काठमाडौं । गत जेठ २ गतेबाट औैपचारिक रुपमा सञ्चालनमा आएको भैरहवास्थीत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)लाई सकस परेको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पीक विमानस्थलको रुपमा हेरिएको भैरहवामा उडान गर्न वायुसेवा कम्पनीले चासो नदेखाउँदा विमानस्थल सञ्चालनमा सकस परेको हो । करिब ३२ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा निर्माण गरिएको विमानस्थल [&hellip;]</p>

काठमाडौं । गत जेठ २ गतेबाट औैपचारिक रुपमा सञ्चालनमा आएको भैरहवास्थीत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)लाई सकस परेको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पीक विमानस्थलको रुपमा हेरिएको भैरहवामा उडान गर्न वायुसेवा कम्पनीले चासो नदेखाउँदा विमानस्थल सञ्चालनमा सकस परेको हो ।

करिब ३२ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा निर्माण गरिएको विमानस्थल सञ्चालनमा आएको ७ महिना हुँदा सीमित उडान मात्रै भएका छन् । सुरुवाती चरणमा दैनिक उडान गर्दै आएको जजिरा एयरवेजले पर्याप्त यात्रु नभएको भन्दै आफ्नो उडान कटौती गरेको छ ।

जजिराले सुरुवाती चरणमा हप्तामा ३ उडान गर्दै आएको थियो । बीचमा उडान थप गरेर गत ३१ भदौदेखि दैनिक गरेको थियो । तर, दैनिक उडानका लागि पर्याप्त यात्रु नभएको भन्दै जजिराले असोज २६ गतेबाट पुनः सातामा ३ उडान मात्रै गर्दै आएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनका अनुसार अन्य वायुसेवा कम्पनीले भैरहवा विमानस्थल उडानमा चासो नदेखाउँदा समस्या भएको छ ।

‘नेपालबाट कुवेतका लागि उड्ने यात्रु कम भएकाले यात्रुको उपलब्धताका आधारमा उडान संख्या घटाउने तयारी गरेको छ, हामीले आन्तर्राष्ट्रि उडान गर्ने सबै वायुसेवा कम्पनीसँग अनुरोध गरिसकेका छौँ, उडानका लागि चासो देखाएका वायुुसेवा कम्पनीले समेत उडान नगर्दा समस्या भयो,’ उनले भने ।

भारत सरकारले समेत उडान अनुमति नदिँदा समेत समस्या भएको उनले बताए । नेपाल वायुसेवा निगमले मलेसिया र कतारको दोहा उडान गर्न तालिका पेश गरेको भएपनि हालसम्म उडान सुरु गरेको छैन । यस्तै, निगमले भारतको नयाँ दिल्लीमा उडान गर्ने भने पनि भारतीय सरकारले अनुमति पाएको छैन । त्यो बाहेक अन्य गन्तव्यमा उडान गर्ने वा नगर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रवक्ता निरौलाले बताए ।

नवीकरण नहुँदा हिमालयले रोक्यो

क्यानले हिमालय एयरलाइसको दिएको ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ सेवा नवीकरण नगरेपछि हिमालयले भैरहवा उडान कटौती गरेको छ ।

क्यान स्रोतका अनुसार तत्कालका लागि भैरहवाबाट उडान गर्ने यात्रु नभएको भन्दै उडान कटौती गरेको भनिएपनि सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाको नवीकरण नगरेकाले उडान कटौती गरेको छ ।

सातामा ३५ भन्दा बढी नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ दिने प्राधिकरणको नियम अनुसार क्यानले हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाकोे अनुमति दिएको थियो । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको आम्दानी खासेको भन्दै चौरर्फि विरोध भएपछि तत्कालका लागि हिमालयलाई दिएको अनुमति रोकिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुयानहरूको भूमिस्थ प्रबन्ध ग्राउन्ड ह्यान्डलिङ तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिकाअनुसार अनुमति प्राप्त भएको एक वर्षभित्र ग्राउन्ड इक्विपमेन्ट खरिद गरेर सेवा सुचारु गर्नुपर्ने हुन्छ । तर, हिमालयले निर्देशिका अनुसार कुनै पनि काम नगरेपछि अनुमति स्थगन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अनुमति रोकेपछि हिमालयले उडान नै कटौती गरेको हो ।

यता हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ भने यात्रु अभावका कारण उडान कटौती भएको बताउँछन् । हिमालयले कात्तिक १७ गतेदेखि भैरहवामा उडान सुरु गरेको थियो । क्यानका प्रवक्रा निरौला हिमालयले उडान कटौती नगरेको दाबी गर्छन् । जहाजमा समस्या आएर उडान रोकिएको उनको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडानका लागि जोड दिएपछि हिमालयले चार्टर्ड उडान सुरू गरेको थियो । केही समय चार्टर्ड उडान गरेको हिमालयले पनि केही दिन यता भैरहवा उडान गरेको छैन ।

Share News