पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५५० भन्दा बढी राइडर सहभागी हुने

काठमाडौं । नेपालको साहसिक तथा अनुभवमा आधारित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरमा आठौँ नेपाल राइडर्स मिट आयोजना हुने भएको छ । आगामी फागुन २ देखि ४ गतेसम्म ललितपुरको गोदावरी नगरपालिका–२ स्थित चापाखर्कमा कार्यक्रम सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् । नेपाल पर्यटन बोर्डको सभाहलमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत द हिमालयन मोटरसाइकल एक्सपेरियन्सका संयोजक अर्जुन थापाले नेपाल राइडर्स मिटबारे जानकारी गराएका हुन् । उनका अनुसार कार्यक्रममा नेपालसहित भारत, भुटान र म्यानमारलगायत मुलुकबाट ५५० भन्दा बढी राइडर सहभागी हुनेछन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले मोटरसाइकल राइडिङ नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण माध्यम हुने बताए । उनले यस्ता कार्यक्रमले परम्परागत पदयात्रा र पर्वतारोहणभन्दा बाहिरका पर्यटन उत्पादनलाई प्रवर्द्धन गर्दै रोड ट्रिप, साहसिक पर्यटन तथा सीमापार पर्यटन विस्तारमा सहयोग पुग्ने उल्लेख गरे । थपलियाले भने, 'नेपाल राइडर्स मिटले साहसिक र अनुभवमा आधारित पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्नेछ । भारतमा बढ्दो बाइक राइडिङ संस्कृतिलाई लक्षित गरी नेपालमा राइडर भित्र्याउन सके पर्यटक आगमनमा उल्लेखनीय वृद्धि हुनेछ । यसले नेपालको संस्कृति र प्रकृतिसँग नजिकबाट साक्षात्कार गर्ने अवसर पनि प्रदान गर्छ ।' त्यसैगरी आयोजक संस्था फोरे नेपालका सकिल गौचन, सहयोगी संस्था रोयल इन्फिल्डका निर्देशक मेगराज पौडेल तथा द हिमालयन क्लबका प्रमुख अनिल काफ्लेले नेपाल राइडर्स मिट राइडिङ समुदायको महत्वपूर्ण पर्व भएको बताउँदै बाइक राइडिङलाई पर्यटन प्रवर्द्धनको प्रमुख उत्पादनका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनीहरूले यस कार्यक्रमले राइडरबीच भाइचारा विकास गर्नुका साथै नेपालको संस्कृति र पहिचान प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सन् २०१३ मा बर्दियाबाट सुरु भएको नेपाल राइडर्स मिट सुरुआतमा सीमित सहभागिताबाट सुरु भएको भए पनि हाल ५०० भन्दा बढी राइडर सहभागी हुने स्तरमा विस्तार भएको छ । यस कार्यक्रममार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, रमणीय राजमार्ग तथा आतिथ्य संस्कृतिको प्रचार–प्रसार गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । यसअघि बर्दिया, चितवन, मनाङलगायत विभिन्न स्थानमा आयोजना भइसकेको नेपाल राइडर्स मिटले डिजिटल प्लेटफर्म, राइडर नेटवर्क तथा सञ्चारमाध्यममार्फत नेपाली पर्यटन गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं । नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिबीच भेटवार्ता भएको हो ।      भेटघाटमा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवद्र्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो ।       विशेषगरी नेपाल र कतारबीच सिधा हवाई उडानको सङ्ख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित थियो ।      छलफलका क्रममा मन्त्री सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कतार एयरवेजको भूमिकालाई महत्वपूर्ण हुने बताए । उनले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको पनि जानकारी दिए ।      नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले नेपाल–कतारबीच पर्यटन, लगानी, उड्डयन, होटल तथा पूर्वाधार क्षेत्रमा विस्तारको सम्भावना भएको बताए  । उनले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा सेवा क्षेत्रमा आकर्षक सम्भावना रहेको उल्लेख गरे ।       कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा कतार निजी क्षेत्रको चासो रहेको उल्लेख गर्दै उड्डयन र पर्यटन सहकार्यले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।      उक्त भेटघाटले नेपाल–कतार सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने, पर्यटन प्रवद्र्धन तथा हवाई सम्पर्क विस्तारमार्फत आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कतारी प्रतिनिधि मन्डल नेपाल कतार संयुक्त व्यवसाय परिषद् (जेबिसी) को बैंठकका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा आइतबार नेपाल आएको हो ।    

होटेल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन रहेको छ । माघ २२ गतेदेखि  बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयर विदेशमा रोजगार गरिरहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ ।  दोस्रो चरणमा बाँकी रहेको ३३ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।  कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।