चुरियामाई सुरुङमार्ग : आठ महिनामा तीन हजारभन्दा बढीले गरे अवलोकन
बागमती । दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग घुम्न आउनेको सङ्ख्या उल्लेख्य देखिएको छ । हेटौँडा उपमहानगरपालिका अनुसार आठ महिनामा तीन हजारभन्दा बढीले सुरुङमार्ग अवलोकन गरेका छन् । सुरुङमार्ग अवलोकनका लागि धेरैजसो विद्यार्थी आउने गरेको सुरुङमार्गको व्यवस्थापन र सुरक्षामा खटिएका उपमहानगरपालिका नगरप्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिए । शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन विद्यार्थी तथा सर्वसाधारणको सङ्ख्या बाक्लो हुने उनको भनाइ छ । लामो समयसम्म जीर्ण रहेको सुरुङमार्ग पुनःनिर्माणपछि पर्यटकका लागि खुला गरिएको हो । कूल चार करोड ५७ लाखमा प्रदेश यातायात पूर्वाधार निर्देशनालयले सुरुङको पुनःनिर्माण गरी व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । सुरुङमार्ग विसं २०८१ पुस ८ गते उद्‌घाटन गरी सर्वसाधारणका लागि खुला गरिएको थियो । हेटौँडा उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख मनोजकुमार सुवेदीले पर्यटकबाट रु एक लाख १७ हजार राजस्व संकलन गरिएको बताए। चालु आर्थिक वर्षको साउनमा मात्रै ४५५ जना पर्यटकले सुरुङमार्ग अवलोकन गरेको र त्यसबापत रु २० हजार ५५० राजस्व संकलन भएको छ । सुरुङमार्ग अवलोकनका लागि नेपालीलाई प्रतिव्यक्ति रु ५०, विदेशीलाई प्रतिव्यक्ति रु १००, विद्यार्थीलाई प्रतिव्यक्ति रु २० निर्धारण गरिएको छ । मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग विसं १९७४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । सो सुरुङमार्गबाट विसं २०२० सम्म सवारिसाधन सञ्चालन हुँदै आएका थिए । सुरुङमार्गको विसं २०७९ वैशाख १९ गते जीर्णोद्धार सुरु भएको थियो । रासस
‘गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’
काठमाडौं । नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ । भक्तपुरको रोयल थाईमा बुधबार सम्पन्न भोजनलिपि स्वादको छैटौँ संस्करणमा ऊर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले संयुक्त रूपमा स्वाद लिएर दुवै परिकारको प्रवर्द्धन अभियान सुरु गरेका हुन् । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजकत्वमा भोजनलिपि स्वाद र रोयल थाई हस्पिटालिटीले दुवै देशका खानाको प्रस्तुत गरेका हुन् । यहाँ दुवै देशका गरी करिब एक दर्जन परिकार प्रस्तुत गरिएका छन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाली र थाई खानाको सांस्कृतिक महत्त्वलाई जोड दिँदै नेपाल र थाइल्यान्डको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन र नेपाली भोजनको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि भोजनलिपि स्वाद कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपालका लागि थाई राजदूत सुवापोङ सिरिसोर्न र रोयल थाईका सञ्चालक गणेश ढकालले नेपाली र थाई खाद्य संस्कृतिबीचको सम्बन्धलाई सुदृढ बनाउन दुवै देशका तर्फबाट प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताए । यसअघि नेपाली खानाका परिकार मात्र प्रस्तुत गर्दै आएको अभियानले छैटौँ संस्करणमा नेपाली र थाई खानालाई संयुक्त रूपमा प्रस्तुत गरी दुवै देशका खाना पारखीको इच्छा पूरा गरिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए । खाना प्रदर्शनीका अतिरिक्त हरितालिका तीजका अवसरमा महिलालाई दर खुवाउने विशेष कार्यक्रम पनि राखिएको थियो । भोजनलिपि स्वादका सर्जक सेफ घनश्याम कँडेलले नेपाली खानालाई नेपालभित्र र नेपाल बाहिरका तारे होटलमा बिक्रीको व्यवस्था मिलाउन खानाको गुणस्तर सुधारमा लाग्ने प्रतिबद्धता जनाए । प्रस्तुत नेपाली खानाको तयारीमा सेफ टङ्कराज मगर, इङ्वा सुब्बा, मानबहादुर तामाङलगायतले सहयोग गरेका थिए । भोजनलिपि स्वाद अन्तर्राष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रस्तुति हो ।
सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, १ कित्ता हुनेले ०.८० कित्ता पाउने
काठमाडौं । सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ ०.८० कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।