बन्दीपुर केवलकारले भदौ ११ गतेदेखि दोस्रो चरणको आईपीओ बिक्री गर्ने
काठमाडौं । बन्दीपुर केवलकार एंव टुरिजमले भदौ ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात् ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ४३ करोड ४१ लाख ८ हजार रुपैयाँको ४३ लाख ४१ हजार ८० कित्ता सेयर बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण बिक्री नभएमा आवेदन दिने समय भदौ २५ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
आम्दानीभन्दा खर्च बढी हुँदा होटलको नाफामा गिरावट, कुन होटलको अवस्था कस्तो छ ?
काठमाडौं । होटल तथा पर्यटन क्षेत्रको नाफा सामान्य घटेको छ । पुँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ०.९१ प्रतिशत अर्थात् १ करोड १५ लाख २४ हजार रुपैयाँ घटेर १ अर्ब २४ करोड ६४ लाख २६ हजार रुपैयाँ गरेका हुन् । अघिल्लो वर्ष यी ६ वटा होटलहरूले १ अर्ब २५ करोड ७९ लाख ५० हजार रुपैयाँ नाफा गरेका थिए । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियण्टेल होटल्स, चन्द्रागिरि हिल्स, कालिन्चोक दर्शन र सिटी होटल सूचीकृत छन् । जसमध्ये सिटी होटल नोक्सानीमा छ भने ओरियण्टेल होटल र तारागाउँ रिजेन्सी होटलको नाफा घटेको छ । हवाईमार्गबाट यात्रा गर्ने पर्यटकहरूको आगमन संख्यामा वृद्धि भएतापनि स्थल मार्ग प्रयोग गरी नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्यामा खासै सुधार नभएकाले व्यवसायमा वृद्धि हुन नसकेको को होटल कम्पनीका सञ्चालकहरू बताउँछन् । साथै, केही अन्तराष्ट्रिय घटनाक्रम तथा विवादहरुको प्रत्यक्ष असर पर्यटकहरूको आवागमनमा परेको उनीहरुको भनाइ छ । अप्रत्याशित रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाहरूको कारणले पर्यटन उद्योगमा ठूलो असर पर्ने गरेको छ । सोबाट होटलको आयआर्जनमा प्रभाव पार्ने गरेको बताइएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका होटललाई कर्जाको किस्ता तथा ब्याज भुक्तानीले असर परिरहेको जनाएका छन् । चन्द्रागगिरि हिल्सको गत वर्ष २०८१/८२ मा खुद नाफा ५.४६ प्रतिशत बढेर २१ करोड ८ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १९ करोड ९९ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको सञ्चालन आम्दानी ९.७६ प्रतिशत घटेर ९० करोड २४ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब १ लाख १५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको अन्य आम्दानी १८.२७ प्रतिशत घटेर ३ करोड ४ लाख ३२ हजार र कुल आम्दानी १०.७६ प्रतिशत घटेर ७८ करोड २४ लाख ८३ हजार रुपैयाँ गरेको छ । समीक्षा वर्षमा कम्पनीको वित्तीय खर्च बिक्री लागत २.६९ प्रतिशत घटेर ११ करोड ९९ लाख रुपैयाँ, कर्मचारी खर्च १.५७ प्रतिशत बढेर १७ करोड ३१ लाख रुपैयाँ, प्रशासन खर्च ९.५२ प्रतिशत घटेर १० करोड ७ लाख ७३ हजार रुपैयाँ, वित्तीय खर्च ३४.६८ प्रतिशत घटेर १५ करोड ६५ लाख १२ हजार रुपैयाँ र कुल खर्च २.८१ प्रतिशत घटेर २७ करोड ३८ लाख ७४ हजार रुपैयाँ गरेको छ । १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ११ करोड ६८ लाख ४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.५४ गुणा रहेको छ । कालिञ्चोक दर्शनको गत वर्ष खुद नाफा ४७.०८ प्रतिशत बढेर २ करोड ७८ लाख २ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ करोड ८९ लाख २ हजार रुपैयाँ नाफा गरेको थियो । गत वर्ष कम्पनीको आम्दानी ३४.६९ प्रतिशत बढेर ७ करोड ९३ लाख ५५ हजार रुपैयाँ, सञ्चालन आम्दानी ३५.६५ प्रतिशत बढेर ७ करोड ६३ लाख ६१ हजार रुपैयाँ, अन्य आम्दानी ११८ प्रतिशत बढेर १२ लाख ९०५ हजार रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीको कर्मचारी खर्च ३६.०७ प्रतिशत बढेर १ करोड ३३ लाख ९७ हजार रुपैयाँ, अन्य खर्च २६.३४ प्रतिशत बढेर १ करोड ११ लाख ४५ हजार रुपैयाँ र वित्तीय खर्च २६.२४ प्रतिशत बढेर ९२ लाख ४४ हजार रुपैयाँ गरेको छ । ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ३ करोड १६ लाख ५३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४४.५१ गुणा छ । सोल्टी होटलको गत वर्ष खुद नाफा ११.७७ प्रतिशत बढेर ६७ करोड ७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६० करोड ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको कुल आम्दानी १०.८७ प्रतिशत बढेर २ अर्ब ७७ करोड ८९ हजार रुपैयाँ र कुल खर्च ११.११ प्रतिशत बढेर १ अर्ब ९४ करोड १६ लाख १४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले २ अर्ब ४९ करोड ८४ लाख १८ हजार रुपैयाँ कुल आम्दानी गरेर १ अर्ब ७४ करोड ७४ लाख ६८ हजार रुपैयाँ कुल खर्च गरेको थियो । गत वर्ष कम्पनीको कर्मचारी खर्च १२.३८ प्रतिशत बढेर ६३ करोड २३ लाख २१ हजार रुपैयाँ, प्रशासन खर्च १४.१९ प्रतिशत बढेर ३८ करोड ५८ लाख १४ हजार रुपैयाँ र वित्तीय खर्च ७.०७ प्रतिशत बढेर ३८ लाख ५७ हजार रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी १० प्रतिशत बढेर १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ र सञ्चित नाफा २१.९१ प्रतिशत बढेर १ अर्ब ७५ करोड २९ लाख ७४ हजार रुपैयाँ पुगेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १.५४ रुपैयाँ बढेर ६.५६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २७.१५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८८ गुणा रहेको छ । ओरियण्टल होटल्सको गत वर्ष खुद नाफा ८३.४२ प्रतिशत घटेर २ करोड ५ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १२ करोड ३९ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको सञ्चान आम्दानी ९.१९ प्रतिशत घटेर १ अर्ब ४ करोड ९३ लाख ४३ हजार रुपैयाँ, अन्य आम्दानी ५६.९१ प्रतिशत घटेर २ करोड ६३ लाख ४५ हजार रुपैयाँ र कुल नाफा ११.५९ प्रतिशत घटेर १ अर्ब ७ करोड ५६ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीको प्रशासन खर्च ७.२८ प्रतिशत घटेर १४ करोड ७८ लाख ३८ हजार रुपैयाँ, वित्तीय खर्च १.८२ प्रतिशत घटेर ९ करोड ७८ लाख ८७ हजार रुपैयाँ र कुल खर्च २.७९ प्रतिशत घटेर ९३ करोड ९९ लाख ५० हजार रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी ४.९९ प्रतिशत १ अर्ब १८ करोड ४४ लाख ९४ हजार रुपैयाँ र जगेडा कोष १.०८ प्रतिशत घटेर २ अर्ब ७१ करोड ७८ लाख ४ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३२८.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७०२ गुणा छ । तारागाउँ रिजेन्सी होटल्सको गत वर्ष खुद नाफा ०.५४ प्रतिशत घटेर ५१ करोड ५४ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५१ करोड ८२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको सञ्चालन आम्दानी १.६८ प्रतिशत बढेर १ अर्ब ५२ करोड १६ लाख ४९ हजार रुपैयाँ, अन्य आम्दानी ११.४१ प्रतिशत घटेर २१ करोड ४३ लाख ७ हजार रुपैयाँ र कुल आम्दानी ०.१३ प्रतिशत घटेर १ अर्ब ७३ करोड ५९ लाख ५६ हजार रुपैयाँ गरेको छ । यस्तै, गत वर्ष कम्पनीको प्रशासनिक खर्च ९.२३ प्रतिशत बढेर २४ करोड ७२ लाख ९० हजार रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ र जगेडा कोष ३२.२५ प्रतिशत बढेर १ अर्ब २० करोड ९६ लाख ८६ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २६.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.०२ गुणा छ । सिटि होटल गत वर्ष १९ करोड ८९ लाख ६५ हजार रुपैयाँ नोक्सानीमा छ । अघिल्लो वर्ष कम्पनीले २० करोड ३२ लाख २४ हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो । कम्पनीको सञ्चालन आम्दानी ३.४४ प्रतिशत घटेर ४८ करोड ६८ लाख ४८ हजार रुपैयाँ, अन्य आम्दानी ५४.६४ प्रतिशत घटेर ३ करोड ५४ लाख ६६ हजार रुपैयाँ र कुल आम्दानी १०.३२ प्रतिशत घटेर ५२ करोड २३ लाख १५ हजार रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च ४.५१ प्रतिशत बढेर १० करोड ६९ लाख १० हजार रुपैयाँ, प्रशासन खर्च १.९० प्रतिशत बढेर १२ करोड ८४ लाख ८३ हजार रुपैयाँ र कुल खर्च १.४६ प्रतिशत घटेर ३७ करोड २० लाख रुपैयाँ गरेको छ । १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ३२ करोड ९ लाख ६ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँ ऋणात्मक छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ८०.८३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७३.५० गुणा छ ।
तलब वृद्धिको माग गर्दै एयर क्यानडाका १० हजार उडान सहायक आन्दोलनमा, यात्रुहरू प्रभावित
काठमाडौं । एयर क्यानडाका करिब १० हजार उडान सहायक कर्मचारीहरूले पारिश्रमिक तथा कामको उचित मूल्याङ्कनको माग गर्दै शनिबारदेखि राष्ट्रव्यापी हडताल सुरु गरेका छन् । हडताल सुरु भएपछि एयर क्यानडाले सबै उडानहरू स्थगित गर्दै यात्रुहरूलाई विमानस्थल नजान आग्रह गरेको छ । क्यानाडियन युनियन अफ पब्लिक इम्प्लोइज (सीयुपीइ) का अनुसार शनिबार बिहान १२ः५८ बजेबाट आन्दोलन औपचारिक रूपमा सुरु गरिएको हो । कम्पनीले आन्दोलन सुरु हुनु अगावै शुक्रबार साँझसम्म ६२३ उडान रद्द गरिसकेको थियो भने शनिबारका लागि तोकिएको सम्पूर्ण ७०० उडान पनि रद्द गरिएका छन् । यात्रु सेवाका क्रममा बोर्डिङ र तयारीका कामहरूमा पारिश्रमिक नदिइने परिपाटी हटाइनुपर्ने तथा मुद्रास्फीतिलाई मध्यनजर गर्दै तलब समायोजन गरिनुपर्ने युनियनको प्रमुख माग हो । युनियनका अनुसार एयर क्यानडाले पेस गरेको प्रस्ताव महँगीदरभन्दा पनि तल रहेको छ । विशेषज्ञहरूका अनुसार यो आन्दोलन लामो नजाने अनुमान छ, तर यसले मुलुकको आन्तरिक यातायात, पर्यटन र व्यापार क्षेत्रमा तत्काल प्रभाव पार्ने देखिन्छ । व्यवसायिक महासंघले यस्तो समयमा हवाई यातायात रोकिँदा आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने चेतावनीसमेत दिएको छ । रासस