नेपालञ्जका होटलमा प्रहरीको छापा, ४५ जना पक्राउ

नेपालगञ्ज । नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ । ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।  उनले होटेल तथा रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताए । प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउपर्नेमा आठ जना भारतीय युवकसमेत रहेका छन् ।  

दैनिक पर्यटन आगमन १६ सयबाट ४२ सयसम्म पुग्यो : सीईओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताएका छन् । नेपाल पर्वारोहण संघको ३५ औं विशेष साधारण सभालाई सम्बोधन गर्दै सीईओ जोशीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै सुरक्षाको प्रत्याभूति बिना पर्यटन क्षेत्र आत्मबलपूर्वक अघि बढ्न नसक्ने बताए । उनले भने, ‘जेनजी आन्दोलनका क्रममा नेपालको पर्यटन क्षेत्रमा पनि क्षति भएको छ । त्यसका लागि हामीले पर्यटन क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ ।’ जोशीले निजी क्षेत्र र सरकारी निकाय मिलेर पर्यटन क्षेत्रको पुनरुत्थानका लागि समन्वित प्रयास आवश्यक रहेको पनि बताए । उनका अनुसार जेनजी आन्दोलन भएको अवधिमा औसत दैनिक पर्यटन आगमन १६ सयमा झरेको थियो, तर पछिल्लो समय उक्त संख्या पुनः बढ्दै गएको छ । ‘सेप्टेम्बर ८ र ९ पछि १६ सयमा झरेको पर्यटक आगमन फेरि दैनिक औसत ४२ सयसम्म पुगेको छ,’ उनले भने, ‘हामीले नेपाल भ्रमण सुरक्षित रहेको र सबै कुरा सामान्य अवस्थामा आइसकेको सन्देश दिनका लागि पर्यटन बोर्डले निरन्तर काम गरिरहेको छ । सीईओ जोशीले विगतका अनुभव उद्धृत गर्दै हरेक १० वर्षमा मुलुकले कुनै न कुनै संकटको सामना गर्नुपरेको उल्लेख गरे । उनले यस्तो परिस्थितिमा पनि काम गर्न सक्ने एक स्थायी संरचना विकास गर्नुपर्नेमा जोड दिए ।

६ महिनापछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदै, एयर एसियाले २६ अक्टोबरदेखि उडान भर्ने

काठमाडौं । ६ महिनासम्म अन्तर्राष्ट्रिय उडान ठप्प रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । थाईल्यान्डको थाई एयर एसियाले आगामी अक्टोबर २६ बाट उडान सञ्चालन गर्ने पक्का भएको छ । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार थाई एयर एसियाले हप्तामा दुईपटक उडान भर्ने अनुमति माग गरेको छ ।  उनले भने, ‘थाई एयर एसियाले २६ अक्टोबरदेखि नियमित रूपमा हप्तामा दुई उडान गर्ने गरी अनुमति माग गरेको छ । त्यस्तै, जजिरा पनि उडानको तयारीमा छ ।’ भुलका अनुसार विमानस्थलमा स्लटको तयारी भइरहेको छ । तयारी पुरा हुनासाथ उडान अनुमति दिएर भैरहवामा उडान हुने छ । कुवेती विमान कम्पनी जजिरा एयरवेजले पनि तिहारपछि उडान सुरु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए। ‘जजिरा एयरवेजका र विमानस्थल व्यवस्थापनबीच समन्वय भइरहेको छ,’उनले भने। यसअघि गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतकै कारण वैकल्पिक रूपमा भैरहवाबाट चारवटा अन्तराष्ट्रिय विमान कम्पनीले उडान गरेका थिए । त्यो अवधिमा सातामा २० वटासम्म उडान भैरहवाबाट भएका थिए । भैरहवा विमानस्थलवाट नियमित उडानको तयारी भइरहेको खबरसँगै भैरहवाका व्यापारीहरूमा पनि उत्साह छाएको छ । लामो समयदेखि विमानस्थल सञ्चालनको माग गर्दै विभिन्न अभियान सन्चालन गर्दै आएका स्थानीय व्यापारी नारायणप्रसाद भण्डारी भन्छन्,‘भैरहवाको विमानस्थल रुपन्देहीको विकासको मेरुदण्ड हो । यसको सञ्चालनले यो क्षेत्रमा छुट्टै उत्साह सिर्जना गर्नेछ ।’ गत अप्रिलदेखि बन्द रहेको नियमित अन्तर्राष्ट्रिय उडानको पाँच महिनाको अवधिमा २ सयभन्दा बढी उडानमार्फत करिब ७ हजार यात्रुले सेवा लिएका थिए । त्यसयता केवल केही चार्टर उडान मात्र भएको थियो । २०७९ साल जेठ २ गते, २५६६औं बुद्ध जयन्तीको अवसर पारेर उद्घाटन गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चरणमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाई एयर एसिया र हिमालय एयरलाइन्सले नियमित उडान गरेका थिए ।