एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्म मार्फत भुक्तानी सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत साता एनसेल आइकन, लैनचौरमा एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने र अन्य सुविधाहरु रहेको एनसेलको ‘सधैं अन’ योजना अन्तर्गत यस सम्झौता अनुसार, अब माछापुच्छ्रे बैंकमा आफ्नो खाता भएका एनसेलका ग्राहकहरुले बैंकको मोबइल बैंकिङ एप एमबीएल एम–स्मार्टको चेकआउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधा खरिदका लागि भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताहरुले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैंकको खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई अहज बनाउँदै सधैं अन रहन सहयोग गर्ने एनसेल र माछापुच्छ्रे बैंकले अपेक्षा गरेका छन् । एनसेल एपमा अन्य सुविधाहरू पनि रहेका छन् जसले ग्राहकहरूलाई देशभित्र मात्र नभई देश बाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्नेछ । माछापुच्छ्रे बैंक नगदरहित बैकिङलाई बढावा दिँदै पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यका साथ निरन्तर अगाडि बढि रहेको छ ।

माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी मोबाइल सेवा विस्तार गरेको छ । कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा सेवा सञ्चालनमा ल्याएको हो । यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टुजी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाईमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटक तथा यस भेगका पर्यटनलगायत अन्य व्यवसायीसमेत नेपाल टेलिकमको फोरजी मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको छ ।

लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट कम्पिटिसन’ को विजेता घोषणा असार ९ गते

काठमाडौं । लाइफ कम्प्युटरले छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’ का विजेता घोषणा गर्ने भएको छ । २०७४ सालदेखि एसईई दिएर बसेका विद्यार्थीको सहभागितामा गरिँदै आएको वेबसाइट कम्पिटिसन–६ को विजेता घोषणा कार्यक्रम असार ९ गते नाचघर जमलमा गर्न लागिएको संस्थाका अध्यक्ष रमेश पोखरेलले जानकारी दिए । आईटी ट्रेनिङको क्षेत्रमा क्रियाशील संस्थाले एक दशकभन्दा लामो समयदेखि हजारौं विद्यार्थीलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिँदै आएको अध्यक्ष पोखरेलले जानकारी दिए । ‘लाइफ कम्प्युटरले राज्यको नीति नै प्रविधिमैत्री बन्नुपर्ने र नेपाल आईटी हबको रूपमा स्थापित हुनुपर्ने मान्यता राख्छ, संस्थाका हरेक गतिविधि यसैतर्फ केन्द्रित छन्, वेबसाइट कम्पिटिसन पनि यसकै प्रयास हो,’ उनले भने । स्थापनाकालदेखि नै सूचना प्रविधि क्षेत्रको सुधारका लागि विभिन्न काम गर्दै आएको र अहिलेको पुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउनका लागि विद्यालयदेखि नै सक्रिय बनाउनुपर्छ भन्ने मान्यता आत्मसात् गर्दै वेबसाइट कम्पिटिसनको अवधारणा ल्याएको उनको भनाइ छ । ‘सूचना प्रविधिको विकासलाई हेर्दा अहिलेको समय आर्टिफिसियल इन्टेलेजेन्स (एआई) को हो, विद्यार्थीहरूले कम्तिमा कोडिङसम्बन्धी जानकारी राख्नुपर्छ भन्ने उद्देश्यले वेबसाइट डिजाइनमा हामीले जोड दिँदै आएका छौं, ’ उनले भने, ‘विद्यालयस्तरमा यस विषयमा अध्ययन नगरेको भएपनि विद्यार्थीको स्वाभाव जिज्ञासु हुने हुनाले एसईई पछिको तीन महिनामा प्रतियोगितामा सहभागी हुनकै लागि पनि यस विषयमा तयारी गर्छन् र जानकारी हासिल गर्छन् भन्ने मान्यता यो प्रतियोगिताले राख्छ ।’ यसवर्ष देशभरिका १ हजार १ सय २ जना प्रतियोगी प्रतिस्पर्धामा भाग लिएको उनले बताए । प्रतियोगीहरूलाई जेठ अन्तिमसम्मका लागि समयसीमा दिइएको र उक्त समयावधिमा विद्यार्थीले आफ्नो प्रोजेक्ट बुझाएको उनको भनाइ छ । ‘विज्ञहरूको सहायतामा ती प्रोजेक्टमध्ये उत्कृष्ट २० लाई छनोट गरिएको छ, उत्कृष्ट २० जनाका वेबसाइटलाई परिमार्जन गर्न समय दिएर उत्कृष्ट २० मध्येबाट आईटी विज्ञको सहभागितामा उत्कृष्ट १० हुँदै पहिलो, दोस्रो र तेस्रो छान्ने प्रक्रिया छ,’ उनले भने । विद्यार्थी स्वयमले बनाएको सुनिश्चित भएपछि मात्र उनीहरू थप प्रक्रियाको लागि योग्य हुने उनको भनाइ छ । उनले भने, ‘ मूल्यांकनको आधार बनाउँदा डिजाइन, फोल्डर म्यानेज, कलर तथा ब्राण्डिङ, लोगो र टेक्स्ट, प्रोग्रामिङ, टिचर गाइडेन्स, व्यवस्थापन, आईटी टिमको अब्जरभेसन, प्रिजेन्टेसन लगायतलाई समेटिन्छ ।’ विगतका सिजनका विजेताले सूचना प्रविधिको क्षेत्रमा अध्ययन अगाडि बढाउँदै यसै धेरै राम्रो काम गर्दै आएको उनले बताए । ‘ हाम्रो संस्थाको उद्देश्य आईटी क्षेत्रका विज्ञ जन्माउने हो, अवसर पाए नेपालमा पनि विल गेट्स, स्टेभ जब्स, मार्क जुकरवर्कस् जन्माउन सकिन्छ भन्ने अभिलाशा संस्थाले बोकेको छ, विश्वस्तरमा नेपाललाई आईटी हबको रूपमा स्थापित गराउनको लागि सामान्य भए पनि भूमिका निर्वाह गर्ने हामीले उद्देश्य राखेका छौं, लाइफ कम्प्युटर यस क्षेत्रमा केही गर्न चाहनेको लागि राम्रो प्लेटफर्म बन्न चाहान्छ, राज्यको आवश्यक सहयोग भएको अवस्थामा सूचना प्रविधिको ज्ञानलाई गाउँ गाउँसम्म पुर्याउने हाम्रो लक्ष्य छ,’ अध्यक्ष पोखरेलले भने । सहभागी छनोट गर्दा जतिसक्दो धेरै सहभागी गराउने योजना हुने उनको भनाइ छ । उनले भने, ‘पहिलो सिजनमा काठमाडौं उपत्यका विद्यार्थीमात्र सहभागी थिए, पहिलो सिजनामा ४२७ जना सहभागी भएका थिए, दास्रो सिजनमा ७००, तेस्रो सिजनमा १२७५, चौथो सिजनमा ८४०, पाँचौंमा ९७५ र छैटौंमा ११०२ जना प्रतिस्पर्धामा सहभागी छन् ।’ संस्थाले एसईई दिएका विद्यार्थीमात्र नभई अध्ययन गर्ने सबै विद्यार्थीलाई उनीहरूको सीप तथा क्षमताका आधारमा काममा जोडिने वातावरण पनि बनाउँदै आएको उनले जानकारी दिए । उनले भने, ‘अन्य कलेजमा आईटीसम्बन्धी अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नसीपको व्यवस्था पनि गरेका छौं, अहिलेसम्म हामीले तयार गरेका विद्यार्थी व्यवसाय, आईटीसम्बन्धी जागिरमा समेत रहेर राम्रो काम गर्दै आउनुभएको छ ।’