इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको समाचारमा सत्यता छैन : एनसेल
काठमाडौं । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको समाचार कपाेलकल्पति भएकाे जनाएकाे छ । कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको उल्लेख गरेकाे छ । एक जिम्मेवार सेवा प्रदायकको रूपमा एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको एनसेलले जनाएकाे छ । नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णयमात्र गर्ने विज्ञप्तिमा उल्लेख छ । साथै एनसेलले आफूसम्बन्धित समाचारहरू प्रकाशन, प्रसारण गर्नुअघि आधिकारिक धारणा बुझिदिन पनि सम्पूर्ण सञ्चारकामाध्यमलाई अनुरोध गरेकाे छ । केही सञ्चारमाध्यममा एनसेलले क्लासिक टेककाे सेयर खरिद गरेकाे समाचार प्रकाशित भएकाे थियाे । साेही विषयलाई लिएर एनसेलले स्पष्टिकरण दिएकाे हाे । एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्याउन निरन्तर कार्य गरिरहेको छ ।
एनसेल फाउन्डेसनले गर्यो पलेशा र अन्य पारा खेलाडीहरूलाई सम्मान
काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशालाई सम्मान गरेकाे हाे । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो । पलेशासँगै अन्य ४ सदस्यीय टोलीलाई पनि सम्मान गरिएकाे छ । पलेशाकी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले ३ लाख रुपैयाँ, तेक्वान्दो खेलाडी भरतसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । पारा खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणि उपाध्याय, एनपीसीकी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्तरूपमा पुरस्कार वितरण गरेका थिए । सोही कार्यक्रममा एनपीसी नेपालले पारालिम्पिक खेलप्रति चासो राखी यसको विकासमा पुर्याएको सहयोगको उच्च मूल्याङ्कन गर्दै पारा खेलाडीहरुलाई उच्च मनोबल र हौसला प्रदान गरकोमा एनसेललाई पनि सम्मान गरेको छ । पलेशाले ऐतिहासिक पदक जितेपछि एनसेलले नगद पुरस्कारसहित उनलाई र अन्य सहभागी पारा खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गर्ने घोषणा गरेको थियो । एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो सीएसआरअन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यस सहकार्य अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहयोग गर्दै आएको छ ।
नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा विभिन्न अफरहरू ल्याएको छ । कम्पनीका अनुसार यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुने छ । ‘यसैगरी डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने कम्पनीको भनाई छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । सो अफर बुधबार (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुने कम्पनीले बताएको छ ।