खल्तीबाट अर्को खल्ती अकाउन्टमा १०० रुपैयाँमाथि पैसा पठाउँदा सेवाशुल्क लाग्ने

काठमाडौं । डिजिटल वालेट खल्तीले दैनिक तीन पटकभन्दा बढी १०० रुपैयाँमाथिका कारोबार गर्दा शुल्क लिने भएको छ । कम्पनीले बिहीबार एक सूचना प्रकाशन गरी यस्तो व्यवस्था सुरु गरिएको जानकारी दिएको हो । नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्णपाठमा उल्लेखित ‘व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआरमार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था’लाई प्रोत्साहन गर्न स्ट्यान्डर्ड ट्यारिफ र सेवाशुल्क परिवर्तन गरेको कम्पनीले उल्लेख गरेको छ । ‘यही मिति २०८१ साउन १७ बाट लागु हुने गरी एक खल्ती प्रयोगकर्ताले अर्को खल्ती प्रयोगकर्तालाई गर्ने १०० रुपैयाँसम्मको फन्ड ट्रान्सफर सेवा निःशुल्क रहने, साथै एक दिनमा अधिकतम तीन पटक र महिनाको ३० पटकसम्म गरिने फन्ड ट्रान्सफर सेवा पनि निःशुल्क रहने जानकारी गराउन चाहन्छौं,’ कम्पनीले जारी गरेको सूचनामा छ । यसअन्तर्गत १०० रुपैयाँसम्मका सबै कारोबार निःशुल्क हुनेछन् । एक दिनमा १०० रुपैयाँ बढीका तीन ओटा कारोबारमा कुनै शुल्क लाग्ने छैन । तर, त्यसभन्दा माथिका कारोबारमा प्रतिकारोबार १० रुपैयाँ सेवा शुल्क लाग्नेछ ।

नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

काठमाडौं । नेपाल टेलिकमको सेवा अवुरुद्ध हुने भएको छ । नेपाल टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति गरिने भएकाले सेवा अवरुद्ध हुने भएको हो । टेलिकमका अनुसरा बिलिङ्ग प्रणाली स्तरोन्नति गरिने भएकाले आज (साउन १७ गते) राति ११ बजेदेखि ४ घण्टासम्म सेवा अवरुद्ध हुनेछ । सो अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र क्वेइरी सेवाहरू प्रभावित हुने टेलिकमले जनाएको छ । ११ बजे अगाडि नै ब्यालेन्स रिचार्ज र प्याकेज खरिद गर्न कम्पनीले आग्रह गरेको छ । तर, उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस र पीएसटीएन तथा एफटीटीएच, भ्वाइस, डाटा, आईपीटीभी सेवा भने यथावत रूपमा सञ्चालन हुनेछन् । रिचार्ज तथा प्याकेज सब्स्क्रिप्सन वा अन्य सेवा सम्बन्धी समस्याका लागि १४९८ र १९८ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

अफवाह फैलाउने ३१ युट्युब च्यानल सञ्चालक कारबाहीमा, २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्तिरकम्पनी) लाई कारबाही गरेको छ । काउन्सिलले मंगलबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्तारसूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको जनाएको हो । दर्ता नभए पनि समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने ती युट्युब च्यानल सञ्चालकलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ । मिडियाअन्तर्गत सूचीकृत भएका तीन युट्युब च्यानललाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगनगरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ । हेल्लोटिभी नेपाल फेसबुक पेज, पिएनपी मिडिया र नागरिकपत्र युट्युब च्यानललाई उक्त निर्देशन दिइएको हो । काउन्सिलले हिंसा, आतंकलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिइ भ्रमपूर्ण, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने त्यस्ता युट्युब च्यानल सञ्चालकलाई कारबाही प्रक्रिया अघि बढाएको विज्ञप्तिमा उल्लेख छ । मिडियासँग सम्बन्धित नभएका तर मिडियाकै शैलीमा अश्लील सामग्री सम्प्रेषण गर्ने २८ युट्युब च्यानललाई त्यस्ता सामग्री तत्काल हटाउन तथा थप अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरिएको काउन्सिलले जनाएको छ । गत आर्थिक वर्षमा काउन्सिलले त्यस्ता ४३ वटा विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई कारबाही गरेको थियो । ‘प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्री अनुगमन गरिरहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘द्वन्द्वलाई बढावा दिने किसिमका सामग्री सम्प्रेषण गर्ने, गालीगलौजपूर्ण भाषाशैली प्रयोग गर्ने, हिंसा, त्रासलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गर्ने, तथ्यगत पुष्ट्याइँबेगर अप्राकृतिक रूपमा भ्युअर बढाउने उद्देश्यले अतिरञ्जनागरी सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।’