हुम्लामा आजदेखि एनटी फाइबर सेवा सुरू, ७७ जिल्लामा पुग्यो उच्च गतिको इन्टरनेट

काठमाडौं । हुम्लाको सिमीकोटबाट आजदेखि उच्च गतिको इन्टरनेट सेवा (फाइबर टू द होम–एफटिटिएच) प्रविधिबाट टेलिफोन तथा इन्टरनेटसहितको ‘एनटी फाइबर’ सेवा प्रारम्भ भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित कार्यक्रममा भर्चुअल माध्यमबाट सो सेवा शुभारम्भ गरेका हुन् । योसँगै नेपालका ७७ वटा जिल्लामा एफटिटिएचमार्फत इन्टरनेट सेवाको पहुँच पुगेको छ । भौगोलिक तथा पूर्वाधार विकासका हिसाबले दुर्गम मानिएको कर्णाली प्रदेशका १० दुर्गम जिल्लामध्ये हुम्लामा मात्रै एफटिटिएच सेवा सञ्चालन हुन बाँकी थियो । मन्त्री गुरुङले एफटिटिएचमार्फत इन्टरनेटको प्रारम्भसँगै देशलाई डिजिटलाइज बनाउने सरकारको उद्देश्यमा सघाउ पुगेको बताए । उनले आफू मन्त्री भएपछि सय दिनभित्र सम्पन्न गर्नुपर्ने कार्यसूचीअन्तर्गत हुम्लामा दु्रतगतिको इन्टरनेट सेवा प्रवाह गर्ने कार्य पूरा भएको जानकारी गराए। ‘मन्त्रालयको कार्यसूचीअनुसार हुम्लामा एफटिटिएच पुर्याउने लक्ष्य पूरा भएको छ । जनस्तरबाट बोल्दाबोल्दै फोन नसुनिने गुनासो आएपछि टावर राखेर सञ्चार अवरोध हटाउन मन्त्रालयले कार्ययोजना अघि सार्न थालेको हो । अब नेपालका ७७ जिल्लामा एफटिटिएचको पहुँच पुगेको छ,’ मन्त्री गुरुङले भने । मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको सबैभन्दा दुर्गम जिल्लामा दु्रतगतिको इन्टरनेट सेवा प्रवाह हुनुले डिजिटल विकासको राम्रो सङ्केत गरेको बताए । उनले यसको पहुँचलाई चुस्त र सहज बनाउन नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई सुझावसमेत दिए । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले थुप्रै चुनौतीको सामना गर्दै हुम्ला जस्तो भौगोलिक रूपले दुर्गम क्षेत्रमा टेलिकमले दु्रतगतिको इन्टरनेट सेवा प्रवाह गर्न सक्नु सरकारको महत्वपूर्ण उपलब्धि रहेको बताईन् । कार्यक्रममा भर्चुअल माध्यममार्फत टेलिकमका कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक उमेश साह, प्रादेशिक कार्यालय सुर्खेत प्रमुख सुस्मा गौतमलगायतले हुम्लामा इन्टरनेटको अवस्था र प्रगतिबारे जानकारी दिईन् । एफटिटिएच पहुँच पुगेसँगै हुम्लावासीले खुसी व्यक्त गरेको समेत उनी वेभ कन्फ्रेन्समा बताइन् ।

कस्तो हुनुपर्छ राष्ट्रिय साइबर सुरक्षा नीति ? यस्ता छन् विज्ञका सुझाव

काठमाडौं । नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ पार्न इनफर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपालले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० सम्बन्धी परामर्श बैठक गरेको छ । टिमले नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ पार्न महत्त्वपूर्ण प्रयासमा सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इन्नोवेसन र टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीको सहयोगमा राष्ट्रिय साइबर सुरक्षा नीति २०८० सम्बन्धी परामर्श बैठक आयोजना गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई समावेश गरी सबल र समावेशी साइबर सुरक्षा नीति विकासमा योगदान पुर्याउने अवसर प्रदान गरेको टिमका अध्यक्ष चिरन्जीवी अधिकारीले बताए । उनका अनुसार परामर्शको उद्देश्य नीति सबै सरोकारवालाहरूको विविध दृष्टिकोण र आवश्यकतालाई समेट्ने रहेको थियो । जसले गर्दा देशभर एक सुरक्षित र लचिलो डिजिटल वातावरणलाई प्रोत्साहन दिन सकियोस् । कार्यक्रममा साइबर सुरक्षा चुनौतीहरूका बारेमा प्रमुख विचार राख्दै अधिकारीले व्यापक राष्ट्रिय साइबर सुरक्षा नीतिको आवश्यकतामा जोड दिएका छन् । अधिकारीले नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ गर्नुपर्ने महत्त्वलाई रेखांकित गर्दै यसले बढ्दो साइबर खतराबाट जोगाउन र देशका डिजिटल सम्पत्तिको दीर्घकालीन लचिलोपन सुनिश्चित गर्न मद्दत पुर्याउने बताए । त्यस्तै पूर्वडिआईजी डा. राजीव सुब्बाले नेपालमा साइबर सुरक्षा शिक्षाको महत्त्वमाथि ध्यान केन्द्रित गरे । उनले आगामी पुस्ताका साइबर सुरक्षा विशेषज्ञहरूलाई तयारी गराउन व्यावहारिक सीप विकासमा केन्द्रित शैक्षिक कार्यक्रमहरूलाई सुधार गर्नुपर्ने माग गरेका छन् । फिनटेक विशेषज्ञ गणेश घिमिरेले नेपालमा सीमापार आर्थिक लेनदेनका सम्भावना र चुनौतीहरूको गहिरो विश्लेषण गरे । उनले अन्तर्राष्ट्रिय वित्तीय लेनदेनमा रहेका साइबर सुरक्षा कमजोरीहरूलाई उजागर गर्दै यी लेनदेनलाई सुरक्षित बनाउन सुरक्षा उपाय सुदृढ गर्नुपर्ने आग्रह गरे । घिमिरेको विशेषज्ञताले सुरक्षित सीमापार आर्थिक गतिविधिको लागि नियामक र प्राविधिक सुधार आवश्यक रहेको देखाउँछ। साइबर साक्षरता प्रवर्द्धन र नीति कार्यान्वयनको कमीमा ध्यान दिँदै इनफो डेवलपर्सको तर्फबाट प्रतिनिधित्व गर्दै रेशम भण्डारीले ग्रासरुट लेभलमा साइबर साक्षरताको महत्त्वमा जोड दिए । उनले सामान्य जनसंख्यामा साइबर खतराको बारेमा चेतना र बुझाइ वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउएका छन् । जसले सुरक्षित डिजिटल वातावरणको सिर्जना गर्न मद्दत गर्ने उनको भनाइ छ। भण्डारीको समुदायस्तरीय शिक्षा पहलमा केन्द्रित रणनीतिले राष्ट्रिय साइबर सुरक्षालाई तलबाट माथि सुधार गर्न उद्देश्य राखेको देखाउँछ । त्यस्तै, शरदचन्द्र प्याकुरेलले अहिलेका अनुकूल नीति हुँदाहुँदै पनि कार्यान्वयनको गति ढिलो रहेकोमा ध्यान दिएका छन् । प्याकुरेलले नीति निर्माण र कार्यान्वयनबीचको खाडललाई स्पष्ट गर्दै यस खाडललाई मेटाएर मात्र साइबर सुरक्षामा सार्थक प्रगति सम्भव हुने बताए । वीरेन्द्र सिंह धामीले देशमा बढ्दो साइबर अपराधको रोकथामका लागि प्रभावकारी कानुनी संरचनाको आवश्यकता औंल्याएका छन् ।

साढे ६ अर्ब नाफा गरेको नेपाल टेलिकमको जगेडा कोष पौने १ खर्ब पुग्यो

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा साढे ६ अर्ब बढी नाफा गरेको छ । गत असारसम्म कम्पनीको खुद नाफा १६.४४ प्रतिशत घटेर ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म कम्पनीको आम्दानी ४.९९ प्रतिशत घटेर ३४ अर्ब ४६ करोड ११ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३६ अर्ब २७ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको वित्तीय आम्दानी १६.६८ प्रतिशत घटेर ६ अर्ब ४८ करोड ९१ लख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ७७ करोड ९२ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६.३२ प्रतिशत घटेर ४१ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४४ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ७.२४ रुपैयाँ घटेर ३६.७७ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५.४३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ । १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष पौने १ खर्ब पुगेको छ । अघिल्लो वर्ष ७५ अर्ब ९४ करोड ५० लाख रुपैयाँ जगेडा कोष १ प्रतिशत बढेर ७६ अर्ब ५७ करोड ७० लाख रुपैयाँ सञ्चित छ ।