नेपाल टेलिकमको नयाँ एक्सचेन्ज रुपन्देहीको नहरपुरमा
काठमाडौं, १० कात्तिक । नेपाल टेलिकमले रुपन्देही जिल्लाको नहरपुरमा नयाँ एक्सचेन्ज सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की (राम कार्की) ले सो एक्सचेन्जको उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेन्जको उद्घाटन गरेका छन् । सो अवसरमा मन्त्री कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई आफ्नो सीप र क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दैै यसबाट मात्रै नेपाली युवाहरुलाई श्रम बेच्नका लागि विदेश जानबाट कम गर्न सकिने बताएका छन् । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले आफ्ना भइरहेका सेवालाई गुणस्तरीय बनाउन विभिन्न कार्य गरिरहेको बताइन् । साथै थ्रिजी सेवालाई प्रत्येक क्षेत्रमा पुर्याउन र फोरजी सेवा छिट्टै नै सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताइन् । बुधबार उद्घाटित नहरपुर एक्सचेन्ज ९६ लाइन क्षमताको रहेको छ । यस मध्ये ६४ लाइन टेलिफोन र ३२ पोर्ट एडीएसएल डाटा क्षमता रहेको छ । अब सो क्षेत्रका ग्राहकहरु पनि टेलिफोन तथा इन्टरनेट सेवाबाट लाभान्वित हुने भएका छन् । लामो समयदेखि प्रतिक्षारत ग्राहकले समेत सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले कम्पनीले विभिन्न स्थानमा यस्ता एक्सचेन्ज स्थापना तथा सञ्चालन गर्दै आएको बताएको छ ।
तपाईलाई अल्छि अनुभव भइरहेको छ, गुगलमा ‘आई एम फिलिङ क्युरियस’ सर्च गर्नुस्
काठमाडौं, ७ कात्तिक। गूगलले भर्खरै आफ्नो लोगो परिवर्तन गर्दै नयाँ फिचर पनि सार्वजनिक गरेको छ । नयाँ फिचरले आवश्यक जानकारी दिनुका साथै आलस्य भएको समयमा पढ्नका लागि रमाइला सामग्री पनि प्रस्तुत गर्छ । यसका लागि गूगलको सर्च इञ्जिन अर्थात् खोजका लागि टाइप गरिने बाकसभित्र अङ्ग्रेजीमा ‘आई एम फिलिङ क्युरियस’ वा ‘फन फ्याक्ट’ टाइप गर्नुपर्छ । यसो गरेपछि गूगलले पढ्दा रमाइला लाग्ने अनौठा प्रश्न र तिनको रोचक उत्तर पनि प्रस्तुत गर्छ । गूगलको फिचरले हाम्रा सामु राख्ने प्रश्नका बारेमा हामीले शायदै सोचेका हुन्छौं । यसो गर्दा कुनै एक विषयका बारेमा जान्ने अवसर त प्राप्त हुन्छ नै, लगत्तै तल अर्को प्रश्न सोध्ने विकल्प पनि प्रस्तुत हुन्छ । स्क्रिनमा लेखिएको ‘आक्स अनदर क्वेशन’मा क्लिक गरी आफ्नो चाहनाअनुसार विभिन्न विषयका बारेमा जानकारी लिन सकिन्छ । फुर्सदमा रहेर गूगलबाट केही जानकारीमूलक सामग्री पढ्न चाहने जो कोहीका लागि यो फिचर उपयोगी छ । अहिलेका लागि गूगलले अङ्ग्रेजी भाषामा मात्रै कमाण्ड लिइरहेको छ । तर, निकट भविष्यमा नै अन्य भाषामा समेत कमाण्ड दिन सकिने सम्भावना प्रबल छ । एजेन्सीको सहयोगमा
टेलिकमले ‘फोर जी’ सेवा सञ्चालन गर्ने अनुमति पायो, पुसदेखि सेवा सञ्चालन गर्ने
काठमाडौँ, ७ कात्तिक । नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको हो । टेलिकमको प्रस्तावबमोजिम प्राधिकरणको गत शुक्रबारको बोर्ड बैठकले फोर जी सेवा सञ्चालनका लागि अनुमति दिएको टेलिकमका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । उनका अनुसार पुस २०७३० देखि सेवा सञ्चालन तथा विस्तार गर्नेगरी प्राधिकरणले अनुमति दिएको छ । अब फोर जी सेवासँगै टेलिकमले १० मेगाहर्जबाट ‘टु जी’ र ‘थ्री जी’ सेवालाई निरन्तरता दिनुका साथै ५ मेगाहर्जबाट ‘फोर जी’ सञ्चालन गर्ने जनाएको छ । टेलिकमले दसैँअघि नै प्राधिकरणलाई कार्ययोजना बुझाएको थियो । उक्त कार्ययोजनाअनुरुप दुई महिनाभित्र काठमाडौँ र पोखरामा ‘फोर जी’ सेवा सञ्चालनमा ल्याउने जनाएको छ । रासस