सामसुङको दाबी – ‘ग्यालेक्सी एस सेभेन सुरक्षित छ’, अब पड्किदैन

काठमाडौं, ७ मंसिर। सामसुङले उसको पछिल्लो स्मार्टफोन उत्पादन ग्यालेक्सी एस सेभेन सुरक्षित रहेको जनाएको छ। सामसुङले एक विज्ञप्ति निकाल्दै ग्यालेक्सी एस सेभेन सिरिजका स्मार्टफोन पूर्णरुपमा सुरक्षित रहेको दाबी गरेको हो। ब्याट्रीको समस्याका कारण ग्यालेक्सी नोट सेभेन उत्पादन बन्द गर्नुपर्दा करोडौँ डलर घाटा बेहोरेको सामसुङले अहिले आफ्नो ध्यान एस सेभेनमा केन्द्रित गरेको जनाएको छ। विज्ञप्तीमा ग्यालेक्सी एस सेभेन सिरिजको गुणस्तर तथा सुरक्षाका लागि सामसुङ पूर्ण रुपमा प्रतिबद्ध छ । अमेरिकामा करीब १ करोड प्रयोगकर्ताले ग्यालेक्सी एस सेभेन सिरिजका स्मार्टफोन प्रयोग गरिरहेका छन् र आन्तरिक रुपमा ब्याट्री फेल भएको भन्ने कुनैपनि पुष्ट खबर अहिलेसम्म आएको छैन । बाहिरी कारणले स्मार्टफोनमा नोक्सानी भएका केही घटना बाहिर आएका छन् । जबसम्म सामसुङलाई त्यस्ता कुनैपनि डिभाइस प्राप्त हुँदैनन् र त्यसको जाँच हुँदैन तबसम्म यस्ता प्रकारका घटनाको सत्यता बुझ्नु असम्भव हुन्छ । अाफ्नो ब्राण्ड इमेजमा परेको नोक्सानीलाई परिपूर्ति गर्नका लागि एस सेभेन पूर्ण रुपमा सुरक्षित रहेको विषयमा उपभोक्तालाई विश्वस्त गराउन भरमजदुर काम गरिरहेको कम्पनीले जनाएको छ। नोट सेभेनको उत्पादन बन्दसँगै सामसुङले ग्यालेक्सी एस सेभेन र एस सेभेन एज स्मार्टफोनका विज्ञापनमा जोड दिएर आर्थिक नोक्सानीबाट समेत माथि उत्रने कोसिस गरिरहेको छ । सामसुङ आफ्ना ग्राहकको विश्वास जित्नका लागि हरसम्भव कोसिस गरिरहेको छ । आगामी सिजन उसले एस सेभेन स्मार्टफोनको बिक्रि अझै बढाउने कोसिस गर्नेछ ।

आइटी पार्क सञ्चालनको माग, क्यानले भन्यो- ‘हामी चलाउँछौं’

काठमाडौं,७ मंसिर। काभ्रेको बनेपामा निस्क्रिय रहेको आइटी पार्क सञ्चालनका लागि सरोकारवालाहरुले पुनः माग गरेका छन्। पार्कको बनोटको जिम्मेवारी र प्रकृति अनुसार काम नभएको भन्दै पार्क पुन सञ्चालनका लागि माग उठेको हो। कम्प्युटर एसोसियसन अफ नेपाल महासङ्घ काभ्रेको १२ औँ वार्षिक साधारणसभामा यस्तो माग उठेको हो। कम्प्युटर एसोसियसन नेपालका अध्यक्ष विनोद ढकालले आइटी पार्क जुन प्रयोजनका लागि स्थापना भएको हो त्यसको लागि मात्रै प्रयोगमा आउनुपर्ने बताएका छन्। आइटी पार्क केयु वा कुनै संस्थालाई सञ्चालन गर्न दिनु महासङ्घका लागि मान्य नहुने उनको भनाइ थियो। सरकारले आइटी पार्क सञ्चालन गर्न सक्दैन भने त्यसको जिम्मेवारी क्यान महासङ्घले लिन तयार भएको भन्दै अध्यक्ष ढकालले आइटी पार्कको भौतिक पूर्वाधारदेखि सबै काम प्रभावकारी ढङ्गले सञ्चालन गरिने तर्क गरे। सांसद कञ्चनचन्द्र वादेले सरकारले स्मार्ट सिटीका रुपमा व्याख्या गरे पनि बजेट दिन नसकेको आरोप लगाउँदै धुलिखेल, बनेपा र पनौतीलाई बजेट भए मोडेलको रुपमा विकास गर्न सकिने बताए।

चीनमा रोबोटले मान्छेलाई कुट्यो, मान्छेको युग समाप्त, रोबोटको युग सुरुवात भएको भन्दै आलोचना

बेइजिङ: चीनको एक प्रविधि मेलामा एउटा रोबोटले मान्छेमाथि हमला गरेको समाचार आएको छ । रोबोटको आक्रमणबाट एक जना युवा गम्भीर घाइते भएका छन् । यो रोबोटलाई घरेलु कामका लागि बनाइएको थियो । यस रोबोटको नाम ‘फ्याटी’ राखिएको थियो । मानिसलाई रोबोटले आक्रमण गरेको चीनको यो पहिलो घटना हो । यो घटना दक्षिण चीनमा बिहीबार भएको हो । यहाँ एक प्रविधि मेला चलिरहेको थियो । मेलामा हजारौँको सङ्ख्यामा मानिस पुगेका थिए । त्यहीबेला फ्याटी नामको यस रोबोटले सिसाको बुथ फुटाएर मानिसमाथि हमला गरेको हो । रोबोटको आक्रमणबाट गम्भीर घाइते भएका ती मानिसलई उपचरका लागि तत्कालै अस्पताल गलिएको छ । मानिसलाई आक्रुमण गरेपछि फ्याटीलाई प्रविधि मेलाबाट हटाइएको छ । यो मेला १६ देखि २१ नोभेम्बरसम्म चलेको हो । यो मेलामा ३७ देश सहभागी छन् । यो मेलाका आयोजकले एक अपरेटरको गल्तीबाट मानिसमाथि रोबोटले हमाला गरेको बताएका छन् । अपरेटरले रिभर्सको सट्टा फरवर्ड बटन थिचिदिँदा यस्तो घटना भएको हो । यसबाट रोबोट त्यस दिशातर्फ मोडियो जुन दिशातर्फ सिसाको ढोका थियो । यो रोबोट बनाउन १३००० युआन अर्थात् २ लाख ५६ हजार नेपाली रुपैयाँको लागतमा बनाइएको थियो । घटनापछि घाइते भएका मानिसको बारेमा कुनै जानकारी दिइएको छैन।  पुलिसले पनि यो घटनाबारे जानकारी दिन इन्कार गरेको छ । तर मानिसमाथि आक्रमण गर्ने यो रोबोटको फोटो भने सामाजिक सञ्जालमा भाइरल भएको छ । मानिसहरूले सामाजिक सञ्जालमा ‘रोबोटले मानिसमाथि आक्रमण गर्ने समय सुरु भयो?’ भन्दै प्रश्न गरेका छन् । चिनियाँ सामाजिक सञ्जालमा रोबोटबाट मानिस कुटिने समय सुरु भएको बताउँदै के अब रोबोट युग सुरु भएको भन्दै जिज्ञासायुक्त सामाग्री पोस्ट गरिरहेका छन् ।