फेसबुकले स्ट्रिम भिडियोमा ‘एप्पल टिभी’ र ‘क्रोमकास्ट’ थप गर्यो

काठमाडौं, १ कार्तिक। इन्टरनेट र सोसियल साइट जाइन्ट फेसबुकले लाईभ स्ट्रिम भिडियोमा दुईवटा आइपी टिभी थप गरेको छ। फेसबुकले एप्पलको अनलाईन टिभी सर्भिस ‘एप्पल टिभी’ र गुगल क्रोमको ‘क्रोमकास्ट’ थप गरेको हो। कम्पनीले स्थापित टेक कम्पनीहरुसँग अझ धेरै सहकार्य तथा प्रयोगकर्तालाई फेसबुकमा आएपछि अरु सोसियल साइटमा जान नपरोस भनेर यो सुविधा थप गरिएको जनाइएको छ। तपाई स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यो सुविधा प्रयोग गर्नका लागि फेसबुक खोलेपछि टप कर्नरको दाहिने भागमा रहेको टिभीको संकेतलाई थिच्नुपर्दछ। त्यसपछि तपाई कुन भिडियो स्ट्रिम खोल्न चाहनुहुन्छ त्यसलाई सेलेक्ट गरेर प्रयोग गर्न सकिन्छ। तत्काल एप्पलका डिभाइसहरुमा मात्र उपलब्ध यो सेवा केहि समयपछि एन्ड्रोइड अपरेटिङ सिस्टम भएका डिभाइसमा पनि आउने कम्पनीले जनाएको छ। फेसबुकका प्रोडक्ट डाइरेक्टर ब्रेन्ट ऐरेले फेसबुकका प्रयोगकर्ताले अब लाईभ स्ट्रिम हेर्न अरु ब्राउजर वा साइटमा जान नपर्ने तरिकाले डिजाइन गरिएको जनाएको छ।  प्रयोगकर्ताले उक्त भिडियोमा तत्काल प्रतिक्रिया जनाउन वा कमेन्ट गर्न सक्ने सुविधा दिइने जनाइएको छ।

एनसेलले पायो फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ अवार्ड

काठमाडौं, ३० असोज । नेपालको पहिलो निजी क्षेत्रको मोबाईल सेवा प्रदायक कम्पनी एनसेल प्राईभेट लिमिटेड लगातार दोस्रो वर्ष फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवाप्रदायक २०१६ अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कार एनसेललाई अन्र्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले प्रदान गरेको हो । यो पुरस्कार फ्रोस्ट एण्ड सलिभनले प्रदान गर्ने एशिया प्रशान्त सर्वश्रेष्ठ अभ्यास पुरस्कार उप–समुह अन्र्तगत पर्दछ । यसले एशिया प्रशान्तको अटोमोटिभ, उर्जा, भवन निर्माण तथा पर्यावरण, स्वास्थ्य सेवा र सूचना तथा संचार प्रविधिलगायतका क्षेत्रहरुमा हजारौ कम्पनीहरु मध्ये सबैभन्दा राम्रो अभ्यास गर्दै आएको कम्पनीलाई यो सम्मान प्रदान गर्ने गरेको छ । ग्राहक संख्या, मोबाईल सेवाको आम्दानी, प्रतिग्राहक मिश्रित औषत आय, प्रतिग्राहक आयको वृद्घि, सेवा अथवा व्यवसायमा नविनता लगायतका बजारमा कम्पनीहरुको वास्तविक विविध सूचकहरुको आधारमा पुरस्कार पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको आयोजकले जनाएको छ । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स् भनेका छन्–‘ग्राहकमा ध्यान केन्द्रित गर्दै उनीहरुको विभिन्न संचार सेवाको आवश्यकताहरुलाई परिपुर्ति गर्ने हाम्रो प्रयासले फेरी एक पटक अन्र्तराष्ट्रिय रुपमा सम्मान पाएको छ ।’ लगातार दोस्रो वर्षको यो सम्मानबाट प्रात्साहित एनसेल, आफ्नो नेटवर्कमा महत्वपूर्ण सुधार ल्याउन र अझ थप नविन सेवाहरु देशैभर पुर्याउन प्रतिवद्ध रहेको उनको भनाई छ । ‘हामी नेपालीजनतालाई निरन्तर रुपमा उत्कृष्ट र दिगो सेवाप्रदान गर्न कतिवद्घ छौ’ प्रबन्ध निर्देशक पर्किन्सको भनाई उदृत गर्दै कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भाइबरले नेपालमा प्रस्तुत गर्यो फ्रि भाइबर क्षेत्र, अनलिमिटेड इन्टरनेट चलाउन पाइने

काठमाडौं ३० असोज। भाइबरले काठमाडौं उपत्यकाभित्र फ्रि भाइबर क्षेत्र आरम्भ गरेको छ । नेपाली भाइबर प्रयोगकर्ताहरुलाई दृष्टिगत गर्दै भाइबरले थप उत्कृष्ट सेवा र सुविधाहरु उपलब्ध गराएको छ । भाइबरले संघ संस्था, ब्राण्ड र चर्चित हस्तीहरुलाई उनीहरुका फ्यानहरु र फलोअरहरुसँग पब्लिक च्याट मार्फत् सम्पर्क बनाइराख्ने सेवा उपलब्ध गराएको छ । यसका साथै भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई उनीहरुकै नेपाली भाषामा आफ्नो मनोभाव साटासाट गर्न भाइबरको स्टिकर बजारमा नेपाली स्टिकरहरु समेत उपलब्ध गराएको छ । हालैमात्र भाइबरले नेपालका भाइबर प्रयोगकर्ताहरुमाझ विश्वका ५२ राष्ट्रहरुमा भाइबर आउट मार्फत् फ्रि कल गर्ने सुविधा प्रदान गरेर नेपाली प्रयोगकर्ताहरुलाई थप सेवा उपलब्ध गराएको थियो । फ्रि भाइबर क्षेत्रको नयाँ सेवा ५ वटा प्रख्यात स्थानहरु ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट (शान्तिनगर, नयाँ बानेश्वर), निमन्त्रणा रेष्टुरेन्ट (काठमाडौं मल) र डिजी टेक काठमाडौं (पाको न्यूरोड– ताम्राकार हाउसको अगाडी) मा उपलब्ध हुनेछ । सुबिसु केबल नेट द्वारा उपलब्ध यी फ्रि भाइबर क्षेत्रहरुमा प्रयोगकर्ताहरुले असिमित निःशुल्क इन्टरनेट सर्भिस प्राप्त गर्नेछन्, जसबाट उनीहरुले भाइबरको प्रयोग सित्तैंमा गरेर कल गर्न, सन्देश पठाउन र भिडियो कल गर्न सक्नेछन् । यी स्थानहरुमा प्रयोगकर्ताहरुले फ्रि भाइबर जोनमा लग अन गरेर चाहे जति इन्टरनेटको सुविधा उपभोग गर्न सक्नेछन् । नेपालमा बढ्दो भाइबरको बजारलाई मध्यनजर राखेर नै फ्रि भाइबर क्षेत्र निर्धारण गरेको हो। महान चाडको सेरोफेरोमा रमाइरहेका नेपाली प्रयोगकर्ताहरुलाई फ्रि भाइबर क्षेत्रले उल्लेखनीय सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ। भाइबरले दशैंलाई ध्यानमा राख्दै दशैं स्टिकर पनि नेपालभर सित्तैंमा दिएको थियो।