एटिएम ठगीको नयाँ शैली, अनलाइनबाटै डाटा ह्याक गरेर तीन करोड ३१ लाख चोरी
काठमाडौं । नक्कली एटिएममार्फत भइरहेको नयाँ शैलीको ठगी प्रहरीले पत्ता लगाएको छ । नेपालमै बसेर विदेशमा रहेका व्यक्तिहरूको एटिएम डाटा अनलाइनबाटै ह्याक गरेर एक समूहले करोडौँ पैसा निकालिसकेको प्रहरीले पत्ता लगाएको हो । त्यस्तो गिरोहका आठजना पक्राउ परेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ । दुई वर्षदेखि नक्कली एटिएमबाट पैसा चोरी गर्दै आएको गिरोहका नाइके सुरेश केसीसहितका आठजनालाई महानगरीय अपराध महाशाखाले तीन दिनको अनुसन्धानपछि पक्राउ गरेको हो । उनीहरूले हालसम्म काठमाडौं तथा पोखराका होटेल तथा पसलमा रहेका प्वाइन्ट अफ सेल ९पिओएस० मेसिनहरूबाट तीन करोड ३१ लाख रुपैयाँ ठगी गरिसकेका छन् । गिरोहमा आबद्ध भारतीय नागरिक अभिषेक पाण्डेलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले बताए । पक्राउ पर्ने अन्यमा केवलशमशेर जबरा, अभिषेक नकर्मी, अनुज नकर्मी, विजय लामा र नदिम खान छन् । केवलशमशेर दुई वर्षअघि पनि एटिएम ठगी अपराधमा जेल परेर छुटेका हुन् । अभिषेक र अनुजले गिरोहका लागि सहयोगीका रूपमा काम गरेका थिए । त्यस्तै, लामा र खान प्वाइन्ट अफ सेल (पिओएस)मेसिन दुरुपयोग गरी ठगीमा सघाउने व्यवसायी हुन् । खानको क्षेत्रपाटीमा डी सोभिनियर नामको पसल छ भने लामाको भक्तपुरमा पौराणिक थान्का पसल छ । आफ्नो पसलमा रहेको पिओएस मेसिन दुरुपयोग गरेर उनीहरूले लाभ लिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले बताए । एटिएम ठगीको नयाँ शैली स् बिटक्वाइन कारोबारी र आइसिक्वु नामक एप्समार्फत सो गिरोहले विदेशी नागरिकको डेबिट तथा क्रेडिट कार्डहरूको डाटा चोरी गरेको अनुसन्धान अधिकृत रहेका महाशाखाका डिएसपी अजय केसीले बताए । आइसिक्वु एप्समा रहने ब्रोकरहरूमार्फत उनीहरूले एटिएमको डाटा बेच्ने गर्दथे । ५० देखि ५ सय अमेरिकन डलरसम्म तिरेर उनीहरूले त्यस्ता एटिएम पिन नम्बरसहितको डाटा किन्ने र सोही डाटाबाट नक्कली एटिएम कार्ड बनाउँदै आएका थिए । नयाँ पत्रिका दैनिकबाट ।
टेलिकम सेवामा ३२ प्रतिशत कर, करकाे भारले सूचना नै महँगाे
काठमाडौं । नेपालको टेलिकम सेवाबाट सरकारले ३२ प्रतिशत कर उठाउने गरेको छ । सरकारले दुर सञ्चार सेवा प्रदायक कम्पनीबाट विभिन्न शिर्षकमा ३२ प्रतिशतसम्म कर उठाएको हो । सरकारले दुर सञ्चार सेवा शुल्क ११ प्रतिशत, स्वामित्व कर २ प्रतिशत, भ्याट १३ प्रतिशत, रोयल्टी ४ प्रतिशत र ग्रामिण दुर सञ्चार विकास कोषमा २ प्रतिशत गरि ३२ प्रतिशत कर असुल्दै आएको छ । दुर सञ्चार सेवा प्रदायक कम्पनीले दुर सञ्चार कम्पनीले उपभोक्तालाई एक सय रुपैंयाँको सेवा बिक्रि गर्दा दुर सञ्चार सेवा शुल्क वापत ८ रुपैंयाँ ६० पैसा, स्वामित्व करका लागि एक रुपैंयाँ ७३ पैसा, भ्याट वापत ११ रुपैंयाँ ५१ पैसा तिर्नुपर्छ । त्यसपछि बचेको रकमबाट पनि ४ प्रतिशत रोयल्टी शुल्क र २ प्रतिशत ग्रामिण दुर सञ्चार विकास कोषमा बुझाउनु पर्छ । नेपाल टेलिकमका चिफ फाइनान्सियल अफिसर सुर्यभक्त पोखरलले कम्पनीले सरकारको राजश्वमा ठुलो योगदान गरेको बताए ।‘हामीले एक सय रुपैंयाँको सेवा बिक्रि गर्दा ३२ रुपैंयाँ त सरकारलाई कर नै तिरिरहेका छौं’, पोखरेलले भने । टेलिकमले उपभोक्तालाई सेवा बिक्रि गरेवापत २६ प्रतिशत कर बुझाउँछ भने बाँकी ६ प्रतिशत कर आफ्नो नाफाबाट तिर्ने गरेको छ । नेपाल टेलिकमले आर्थिक बर्ष २०७२/७३ मा कुल २३ अर्ब ११ करोड कर तिरेको थियो । कुल राजश्वमा टेलिकमले मात्रै ५ दशमलब शुन्य २ प्रतिशत योगदान गरेको छ । चाँडो नाफा कमाउन सकिने व्यवसायका रुपमा स्थापित टेलिकम बिजनेशबाट मुलुककै राजश्व प्रणालीमा पनि ठुलै योगदान प्राप्त भैरहेको छ । नेपाल टेलिकमले गत आर्थिक बर्षमा १३ अर्ब २७ करोड नाफा गरेको थियो ।
त्रिविको फारम अब अनलाइनबाट, त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नु नपर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ । त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ । त्यसमा पहिलो चरणमा त्रिविले उपत्यकाबाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गर्न लागेको हो । उपत्यका बाहिरका विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झञ्झट हटाउन अनलाइनबाट फाराम भर्ने तयारी थालिएको त्यस कार्यालयले जनाएको छ । विगत ६ महिनादेखि अनलाइनबाट नै फाराम भर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको त्यस कार्यालयको कार्य तालिकाअनुसार यो अनलाइन प्रणाली अहिलेसम्म सुरु भइसक्नु पथ्र्यो तर प्राविधिक काम अझै बाँकी रहेकाले एक महिना थप गरिएको बताइएको छ । ‘उपत्यका बाहिरका विद्यार्थीलाई वार्षिक परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फारम भर्न काठमाडौँ आउनुपर्ने झञ्झटबाट मुक्ति दिन यो अनलाइन प्रणालीको विकास गर्न थालिएको हो, तर प्राविधिक काम समयमै नसिकिएकाले एक महिनाको समय थप गरेका हौँ, अब छिट्टै अनलाइन प्रक्रिया सञ्चालन गर्छौं,’ परीक्षा नियन्त्रक केशवराज बास्तोलाले भने। कार्यालयले सञ्चालनमा ल्याउने अनलाइन वेबसाइटमा आधारित ९वेब बेस्ड० सफ्टवेयर त्रिविले आफ्नै जनशक्तिबाट तयार गर्न लागेको हो। ‘हामी अहिले यो प्रणालीको परीक्षण चार विकास क्षेत्रका पाँचवटा आङ्गिक क्याम्पसबाट गर्दैछौँ। यसका लागि चाहिने इन्टरनेट र भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) नेपाल टेलिकमसँगको सहकार्यमा जोड्ने प्रक्रिया अगाडि बढेको छ’, उनले भने। परीक्षा नियन्त्रक बास्तोलाका अनुसार २०५४ सालअघिको विद्यार्थीका सबै तथ्याङ्क पुरानो सफ्टवेयरमा रहेकाले नयाँ सफ्टवेयरमा ती विद्यार्थीको तथ्याङ्क सार्ने कार्य भइरहेको छ। अनलाइन फाराम भरेको एक हप्ताभित्र केन्द्रीय कार्यालयबाट विद्यार्थीले ट्रान्सक्रिप्ट पाउनेछन्। पहिलो चरणमा इलाम, सिराहा, भरतपुर, बुटवल, धनगढीमा रहेका त्रिविका पाँचवटा आङ्गिक क्याम्पसमा परीक्षणको रूपमा अनलाइन फाराम भर्ने प्रविधि सञ्चालन गर्ने तयारीमा परीक्षा नियन्त्रक कार्यलय जुटेको छ । ‘हामीले उपत्यकाबाहिरका विद्यार्थीलाई सजिलो होस् भनेर अनलाइन फाराम सञ्चालनमा ल्याउन लागेका हौँ, अनलाइनबाट फाराम भर्ने प्रणाली सुरु भएपछि विद्यार्थीले आफ्नो ठाँउबाट अनलाइनमा फाराम भरेर सिधै केन्द्रीय कार्यालयमा आएर ट्रान्सक्रिप्ट लिन पाउँछन्’, नियन्त्रक बास्तोलाले भने । त्यसो त केही वर्षयता त्रिविले निजी अनलाइनबाट सबै नतिजा प्रकाशन गदैँ आएकोमा अनलाइन फाराम सञ्चालनसँगै सबै नतिजा त्रिविकै वेब साइटमार्फत प्रकाशन गर्ने जनाएको छ। गोरखापत्र दैनिकबाट ।